हामी नमुना प्राविधिक शिक्षालय बनाउन चाहन्छौं
देशका राजनीतिक एवम् सामाजिक रूपान्तरणको दिशामा विशिष्ट योगदान अर्पण गर्ने राजनेताहरूका नाममा थुप्रै शैक्षिक संस्थाहरू खोलिएका छन् । त्यस्ता शैक्षिक संस्थाहरूमध्ये कुनै कुनैले राजनेताहरूले अपनाएको राजनीतिक/वैचारिक मार्ग र भावनालाई प्रतिनिधित्व गर्न सकेका छन् भने कुनै शैक्षिक संस्थाहरूको उद्देश्य चाहिँ विशुद्ध रूपमा मुनाफा कमाउनु मात्रै रहेको छ । तर, नेपालको प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनका धरोहरद्वय मदन भण्डारी र जीवराज आश्रितको नाममा ६ वर्षअघि काठमाडौंको तत्कालीन गोठाटार गाविस र अहिलेको कागेश्वरी मनहरा नगरपालिकामा स्थापित मदन–आश्रित स्मृति प्राविधिक शिक्षालयले भने नेताद्वयले अंगिकार गरेको राजनीतिक जीवन, सिद्धान्त र वैचारिकतालाई समेत पुट पुग्ने गरी शैक्षिक क्षेत्रको विकासमा अहम् योगदान पुर्याउँदै आएको छ ।
उक्त शिक्षालयका प्राचार्य खेमराज पोखरेल प्रस्ट शब्दमा भन्छन्– ‘एमालेका दुई धरोहर मदन र आश्रितका नाममा धेरै संस्थाहरू खोलिए । नेताहरूको नाम बेचेर संस्थालाई अघि बढाउनेहरू पनि देखिए । तर हामीले मदन–आश्रितको नाम जोडिएको कलेज भएको हुँदा दिवगंत नेताद्वयको भावनालाई समेत प्रतिनिधित्व हुने गरी कलेज सञ्चालन गरिरहेका छौं ।’ पोखरेलले थपे– ‘हामीले ग्रामीण क्षेत्रका जनताले पाउनुपर्ने र गाउँलाई समुन्नत बनाउनुपर्छ भन्ने भावनाले तिनै विषयहरूका कक्षा सञ्चालन गर्दै आइरहेका छौं ।’ अहिले उक्त शिक्षालयमा भेटेनरी जेटीए र सिभिल सबओभरसियरको पढाइ सञ्चालन हुँदै आइरहेको छ । प्राविधिक एसएलसीअन्तर्गत ती दुई विषयमा शिक्षालयको स्थापनाकालदेखि नै पढाइ हुँदै आइरहेको छ । उक्त शिक्षालयले दुर्गम क्षेत्र, दलित समुदाय, महिला, सहिद परिवार र जनआन्दोलनका घाइतेहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै पोखरेलले भने– ‘हामीले गएको वर्ष दुर्गम क्षेत्र र दलित समुदायलाई लक्षित गरेर ८० जना विद्यार्थीलाई नि:शुल्क रूपमा पढायौं । र, शुल्कको हकमा पनि अरू कलेजभन्दा हामीकहाँ आधा नै सस्तो छ ।’
शैक्षिक गुणस्तरीयताको दृष्टिले हेर्दा देशकै उत्कृष्ट कलेजहरूको लहरमा पर्ने पनि प्राचार्य पोखरेलले बताए । पोखरेल बताउँछन्– ‘हामीकहाँ सुविधा सम्पन्न पूर्वाधारहरू छन् । योग्य र दक्ष जनशक्ति रहेको छ । आधुनिक शैक्षिक सामग्रीहरू प्रयोग गर्ने गरेका छौं । हामीले प्रयोगात्मक कक्षमा बढी ध्यान केन्द्रित गरेका छौं । र, हाम्रो कलेजबाट उत्पादन भएका विद्यार्थीहरूले काम नपाउने भन्ने समस्या रहेको छैन ।’ अहिलेसम्म उक्त कलेजबाट प्राविधिक एसएलसीअन्तर्गत ५ ब्याच र डिप्लोमा सिभिल सबओभरसियरतर्फ एउटा ब्याच उत्तीर्ण भइसकेको छ ।
०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जनताको बहुदलीय जनवादका प्रणेता तथा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको हत्या भएपछि नेताद्वयका स्मृतिलाई चीरस्थायी तुल्याइराख्न र जबजको विकासमा योगदान पुर्याउने उद्देश्यले ०५१ सालमा मदन–आश्रित स्मृति प्रतिष्ठान स्थापना भयो । लामो समयसम्म राजनीतिक र वैचारिक कार्यहरू गर्दै आएको प्रतिष्ठानले ०६५ सालमा भने प्राविधिक शिक्षालय खोल्न आवश्यक ठान्यो । र, व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र प्रतिष्ठानको साझेदारी कार्यक्रमअनुरूप उक्त पोलिटेक्निक स्थापना भएको हो ।
सुरुमा भौतिक पूर्वाधारबिना नै उक्त शिक्षालयले काम अघि बढायो । ‘हामीले दुई वटा टहराबाट यो शिक्षालय सञ्चालन गरेका हौं’ सीटीईभीटीबाटै शिक्षालयको नेतृत्व गर्ने जिम्मेवारी पाएको प्राचार्य पोखरेल भन्छन् । त्यसपछि भने पूर्वाधार विस्तारका लागि सरकारले दुई करोड दियो भने अहिलेसम्म उक्त शिक्षालयलाई सरकारले ६ करोड सहयोग गरिसकेको छ । पोखरेल भन्छन्– ‘हामीलाई दैनिक कार्य सञ्चालन गर्नका लागि सीटीईभीटीले बर्सेनि अनुदान दिइरहेको छ भने शैक्षिक गुणस्तर कायम गर्न र भौतिक पूर्वाधार विकासका लागि इभेन्ट परियोजनाले सहयोग गर्दै आइरहेको छ ।’ त्यसो त, भारतीय दूतावासको सहयोगमा २४ कोठाको छात्रवास भवन पनि निर्माण भइसकेको छ । अहिले पनि ५० कोठा भएको ५ तले शैक्षिक भवन निर्माणकै चरणमा रहेको छ ।
‘हाम्रो कलेजबाट उत्पादन भएका विद्यार्थीहरूलाई कतै पनि रोजगारीका लागि समस्या छैन’ पोखरेल भन्छन् । उक्त शिक्षालयबाट उत्पादित शैक्षिक जनशक्तिमा भेटेनरी जेटिएहरूले ग्रामीण क्षेत्रमा काम पाइरहेका छन् भने सबओभरसियरहरूले भने विभिन्न जिल्ला, नगर, गाउँका साथै जलविद्युत्, सडक र गैरसरकारी संस्थाहरूमा काम पाइरहेका छन् । त्यसो त, उक्त शिक्षालयले नेपालको पर्यटन क्षेत्रलाई अझ उन्नत र गुणस्तरीय बनाउन सघाउ पुगोस् भनेर डिप्लोमा तहको होटल म्यानेजमेन्टको कार्यक्रम पनि सुरु गर्न लागेको छ । अहिले अधिकांश कलेजहरूमा होटल म्यानेजमेन्टको पढाइ हुँदै आएका छन् । अरू कलेज र उक्त कलेजले पढाउन थालेको होटल म्यानेजमेन्टको पढाइबीच केही अन्तर छ त ? प्राचार्य पोखरेल भन्छन्– ‘अधिकांश कलेजले सञ्चालन गरेको होटल म्यानजेमेन्टको पढाइ र हाम्रो कलेजको पढाइबीच अन्तर छ । हामीकहाँ तीन वर्षसम्म होटल व्यवस्थापन विषयमा पूरै प्रयोगात्मक रूपमा अध्ययन हुन्छ ।’ त्यस्तै, उक्त शिक्षालयले दुबई, मलेसियालगायतका देशका होटलहरूमा विद्यार्थीहरूलाई इन्टर्नसिपका लागि पठाउने व्यवस्था पनि गरेको छ । पोखरेल भन्छन्– ‘हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तहमा जब मार्केट विस्तार गर्ने लक्ष्य लिएका छौं ।’
उक्त शिक्षालयले अरू थप कार्यक्रम पनि ल्याउन लागेको छ । पोखरेल भन्छन्–‘मदन–आश्रितको सपना साकार पार्नकै लागि प्राविधिक शिक्षाको क्षेत्रमा, ग्रामीण र विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो भावी लक्ष्य रहेको छ । र, मदन–आश्रितको भावनालाई ग्रामीण तहसम्म पुर्याई जीवन्त राख्ने पनि हाम्रो लक्ष्य हो । तसर्थ, यी कार्य गर्नका लागि अहिलेका कार्यक्रमहरू मात्र पर्याप्त नभएको हुँदा अब हामी स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रमहरू थप गर्ने र वन विज्ञानका साथै कृषितर्फ स्तर वृद्धि गर्ने तयारीमा जुटेका छौं ।’
प्राविधिक शिक्षालयमा डेढ दशकको अनुभव सँगालिसकेका पोखरेलले ०६१ सालमा सीटीईभीटीमा अधिकृत तहमा प्रवेश गरेसँगै प्राविधिक शिक्षातर्फ नाता जोड्न पुगेका हुन् । ०३२ सालमा पाँचथरको थर्पूमा जन्मिएका पोखरेल उक्त शिक्षालयको स्थापनाकालदेखि नै त्यहीं कार्यरत छन् । भन्छन्– ‘म यो शिक्षालयलाई नेपालको नमुना शिक्षालय बनाउन प्रयासरत रहेको छु । हामीभन्दा वर्षौंंं पहिले स्थापना भएका शिक्षालयभन्दा यसलाई भौतिक तथा शैक्षिक गुणस्तर कायम गर्ने दिशामा अघि बढेका छौं । त्यसका निम्ति अध्यक्ष प्रदीप नेपालको सोच, निरन्तरको सहयोग र चिन्तनले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ ।’ पोखरेलले थपे– ‘हामी नमुना प्राविधिक शिक्षालय बनाउन चाहन्छौं र प्राविधिक क्षेत्रमा उच्चतम र दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य रहेको छ ।’
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply