केन्द्रीय सदस्यको जोड प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
काठमाडौं । नेकपा (एमाले)ले आफ्नो सम्पूर्ण शक्ति साउन मसान्तभित्रमा नयाँ संविधान जारी गर्नमा केन्द्रित गर्ने भएको छ । आइतबार सुरु भएको बैठकको मंगलबार समापन गर्दै अध्यक्ष केपी ओलीले सम्पूर्ण सदस्यहरूलाई साउनभित्र संविधान ल्याउनमा आ–आफ्नो ठाउँबाट भूमिका खेल्न निर्देशन दिनुभएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरूलाई शासकीय स्वरुप, निर्वाचन प्रणाली, संघीयता, नागरिकतालगायतका विषयमा लिखित सुझाव दिन भनिएको थियो । अधिकांश सदस्यले जनताबाट आएकै सुझावअनुरूप प्रत्यक्ष निर्वाचित कार्यकारी, थ्रेसहोल्ड, वडाध्यक्षको प्रत्यक्ष निर्वाचनलगायतका सुझाव दिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । केन्द्रीय सदस्यका सुझाव लिएपछि अध्यक्ष ओलीले ती सुझावहरूलाई समेटेर पार्टीको धारणा बनाउने र संविधान निर्माणका लागि हुने छलफलमा प्रस्तुत हुने बताउनुभएको थियो । बैठकले संविधान निर्माणको विपक्षमा, नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको विपक्षमा, हिमाल, पहाड र तराईको एकता भड्काउने र संविधान निर्माण हुन नदिने अभिव्यक्ति विभिन्न कोणबाट आएकाले त्यस्ता कुराको भत्र्सना गर्दै संविधान निर्माणविरोधी ती कुराहरूको एकताबद्ध रूपमा सामना गर्न सबै राजनीतिक दल र सभासद्हरूलाई आग्रह गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।
बैठकमा केन्द्रीय सदस्यहरूले नेपाली भूमि लिपुलेकका बारेमा पार्टीले बोल्नुपर्ने माग गरेपछि त्यसमाथि पनि अध्यक्ष ओलीले जवाफ दिनुभएको थियो । त्यस विषयमा विगतका सन्धि सम्झौता, ऐतिहासिक प्रमाण आदिका आधारमा उच्चस्तरीय कूटनीतिक पहल गरेर समाधान गर्ने उहाँको आश्वासन थियो । त्यस्तै बैठकले संविधानको प्रारम्भिक मस्यौदामा उत्साहजनक सहभागिता देखाएर सुझाव दिने सबैलाई धन्यवाद दिँदै ती सुझाव संविधानमा समावेश गर्न अन्तिम समयसम्म प्रयत्न गर्ने निर्णय गरेको पनि भट्टराईले बताउनुभयो ।
केन्द्रीय कमिटी बैठकले संविधान निर्माणसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । साथै, वरिष्ठ नेपाल माधवकुमार नेपालको स्वास्थ्य लाभको कामना पनि गरेको छ । बैठकले भारतका पूर्वराष्ट्रपति अब्दुल कलामको निधनमा शोक व्यक्त गर्नुका साथै पोलिटब्युरोका तत्कालीन सदस्य रामनाथ ढकालको निधनप्रति श्रद्धाञ्जलीलगायतका प्रस्ताव पारित गरेको छ ।
विद्याको आपत्ति
बैठकमा उपाध्यक्ष विद्या भण्डारीले चरित्रहीन मान्छेलाई एमालेजस्तो पार्टीले मन्त्री बनाएको भन्दै आपत्ति जनाएको थाहा भएको छ । गुट मिलेपछि जस्तै चरित्रहीन मान्छे पनि चोखो हुने र त्यस्ता चरित्रहीनलाई पनि पुरस्कृत गरिने गरेको भन्दै भण्डारीले चरित्रहीनलाई मन्त्री बनाउने कुरा सह्य नहुने बताउनुभएको थियो । यस्तो प्रवृत्ति एमालेजस्तो पार्टीलाई शोभायमान नहुने भण्डारीको भनाइ थियो । अनेक पत्नीका धनी कृपासुर शेर्पालाई पार्टीको निर्णयबिना नै पर्यटनमन्त्री बनाइएपछि एमालेभित्र तीव्र असन्तुष्टि छ ।
खनाल र कार्कीको छुट्टै माग
हिजोको बैठकमा भण्डारीबाहेक वरिष्ठ नेता झलनाथ खनाल र केन्द्रीय सदस्य टंक कार्कीले पनि बोल्नुभएको थियो । खनालले पार्टीका बैठक व्यवस्थित र नियमित नभएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गर्नुभएको थियो भने कार्कीले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा बोल्नुभएको थियो । ‘३५/३६ जना प्रधानमन्त्री भएको देशमा ५ वर्ष कसैले चलाउन सकेनन्, हाम्रै पार्टीका एउटै केन्द्रीय कमिटीका पालामा दुई जना प्रधानमन्त्री हुनुभयो, यो अवस्था अन्त्य गरेर स्थायित्व प्रदान गर्नका लागि पनि प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ’– कार्कीको भनाइ थियो ।
वर्षमा ६ करोड खर्च
आर्थिक विभाग प्रमुख विष्णु रिमालले बैठकमा पार्टीको वार्षिक बजेटसम्बन्धी नीतिगत प्रस्ताव पेस गर्नुभएको थियो । दैनिक कार्यालय सञ्चालन, यातायात, बैठक व्यवस्थापन आदिमा गरेर वार्षिक ६ करोड रुपियाँ खर्च हुने बैठकमा रिमालले बताउनुभयो । उक्त प्रस्ताव पारित गर्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ ।
नियमावलीको जिम्मा पनि स्थायीलाई
केन्द्रीय कमिटी बैठकमा पार्टीको प्रस्तावित नियमावलीमाथि पनि सदस्यहरूबाट लिखित सुझाव माग गरिएको थियो । सदस्यहरूले दिएका सुझावलाई समेटेर त्यसलाई अन्तिम रूप दिने जिम्मा पनि स्थायी कमिटीलाई दिइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply