तुल्सीलाललाई सम्झिँदा
दिवंगत कम्युनिस्ट नेता तुल्सीलाल अमात्य (जन्म वि.सं.१९७१ जेठ १४ मृत्यु २०५४ साउन १७)ले करिब ८१ वर्षको आफ्नो जीवनकालमा, अधिकांश समय नेपालका गरिब, शोषित उत्पीडित मजदुर किसान र आम श्रमिक जनता र देशका लागि समर्पण गर्नुभएको थियो । निरंकुश जहानियाँ राणा शासनविरुद्ध प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनहरूमा तुल्सीलालले खेल्नुभएको भूमिकाको चर्चा तल गरिनेछ । त्यसपछि २००७ मा प्रजातन्त्र प्राप्तिपछि देशी–विदेशी षड्यन्त्र, मुलुकको प्रजातन्त्र, सार्वभौमसत्ताको रक्षाका लागि दिल्ली सम्झौताविरुद्ध संघर्ष गर्दा भारतको मोतीहारी र भागलपुर जेलमा आठ महिना बन्दी हुनुभएको थियो । २००८ सालमा नेपाल कम्युनिस्ट पार्टीमा प्रतिबन्ध लागेपछि भूमिगत पार्टी कार्यशैली अपनाएर पार्टी काम र अखिल नेपाल किसान संघको अध्यक्षको हैसियतले देशका किसानहरू माझ काम गर्नुभएको थियो । ०१५ सालको आमनिर्वाचनमा उपत्यकाको ललितपुर निर्वाचन क्षेत्रबाट निर्वाचित अमात्य नेपालको इतिहासमै प्रथम जननिर्वाचित कम्युनिस्ट पार्टीको नेता हुनुभएको थियो । त्यसबखत संसद्मा ७४ सिट प्राप्त गरी नेपाली कांग्रेसले प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा सरकार बनाएको थियो । उक्त संसद्मा अमात्यको तर्क र तथ्यपूर्ण विरोधको कारण डाल्डा ध्यू भारतबाट आयात गर्ने र भारतसँग गरिने गण्डक सम्झौता सरकारले रोक्नुपरेको थियो । ०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित संसद् र सरकार विघटन गर्न शाही सेना परिचालन गरे । महेन्द्रले पार्टीहरूमाथि पनि प्रतिबन्ध लगाएको हुँदा अमात्य पनि भूमिगत हुनुभयो । त्यसबेलादेखि निरंकुश निर्दलीय पञ्चायती व्यवस्था, महेन्द्रको हुकुमशाही विरुद्ध नेकपाको अग्रणी नेताको हैसियतले ३० वर्ष लामो जनसंघर्ष–आन्दोलन संगठित गर्न अग्रणी भूमिका निर्वाह गरेको र २०४६ सालको संयुक्त जनआन्दोलनमा वाममोर्चाको मानार्थ अध्यक्षको हैसियतले २०४६ फागुन ७ गते हसियाँ हथौडा अंकित रातो झन्डा फहराउँदै संयुक्त जनआन्दोलनको थालनी गर्दै काठमाडौंको सुन्धाराबाट गिरफ्तारी दिने प्रथम वामपन्थी कम्युनिस्ट नेता अमात्य नै हुनुहुन्थ्यो ।
नेपालमा लोकतन्त्र, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई सामन्तवाद–साम्राज्यवादविरोधी राष्ट्रिय प्रजातन्त्रको कार्यक्रममा ढालेर र गैरपुँजीवादी–समाजवादमुखी बाटो हिँडेर मात्रै नेपाल एक स्वतन्त्र, आत्मनिर्भर, गरिबी, शोषण र उत्पीडनबाट मुक्त समानता र न्यायमा आधारित समाज निर्माण गर्न सकिन्छ भन्ने दृष्टिकोण दिने अमात्य आफनो समयको प्रखर माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट नेता हुनुहुन्थ्यो । नेपाल कम्युनिस्ट पार्टीको निर्माण, सञ्चालन र त्यसको सैद्धान्तिक, वैचारिक मार्गदर्शन, जनसंघर्ष र आन्दोलनसँग जोडेर पार्टीको संगठनात्मक विकासमा तुल्सीलालको योगदान पुष्पलाल र मनमोहनकै हाराहारीमा रहेको थियो । नेकपाको प्रथम महासचिव (२००६–८) पुष्पलाल, दोस्रो महासचिव २०१० सालमा मनमोहन अधिकारी र तेस्रो महासचिव २०१९ सालमा तुल्सीलाल हुनुहुन्थ्यो ।
राणा शासनविरुद्ध तुल्सीलाल
सानो उमेरबाट गरिब दुखीप्रति दया र प्रेमभाव राख्ने तुल्सीलालको चेतनाको विकास आफ्नै कपडा व्यापारी उच्चमध्यम वर्गीय परिवार र बौद्ध विहारहरूमा बुद्धका जीवन गाथा, कथाहरू अष्टशील, पञ्चशीलका कुराहरू सुनेर नै भएको थियो । सानैदेखि तुल्सीलालको दिमागमा मानवतावादी चेतना प्रवेश भएको थियो । करिब १२ को उमेरमा नै उहाँले तुल्सीमेहर, रुद्र मुल्मीसँग मिलेर पाटन शंखमूलमा बसी गान्धीका विचारहरू प्रचार गर्ने र खादीको लुगा लगाउने गर्नुभएको थियो । सादा जीवन र सादा पहिरन रुचाउने तुल्सीलाल पढन–अध्ययन गर्न बढी रुचि राख्नुहुन्थ्यो । २५ वर्षको उमेरमा उहाँ त्रिचन्द्र कलेजबाट बीए पास गरी एमए पढन भारतको लखनउ जानुभएको थियो । लखनउ विश्वविद्यालयबाट वि.सं. २००१ सालमा उहाँले अर्थशास्त्रमा एमए पास गर्नुभएको थियो ।
सन् १९४२ मा लखनउ विश्वविद्यालयको विद्यार्थी रहेको अवस्थामा २८ वर्षको युवा तुल्सीलालले ब्रिटिस साम्राज्यवादविरुद्ध भारतीय स्वतन्त्रता संग्राममा भारत छोडो आन्दोलनमा भाग लिनुभएको थियो । २००४ साल साउन ३१ दिन भारत स्वतन्त्र भएको समर्थनमा शंखमूलबाट मंगलबजार हुँदै टंगाल पुग्दा तुल्सीमेहर र तुल्सीलालले नेतृत्व गरेको जुलुसबाट तुल्सीमेहर, तुल्सीलाललगायत २५ जनालाई गिरफ्तार गरिएको थियो र पहिला हनुमानढोका खोर त्यसपछि भद्रगोल जेल चलान गरिएको थियो । यो तुल्सीलालको प्रथम जेलयात्रा थियो । जेल परेको तेस्रो दिन पिताजी रिद्धिनरसिंह अमात्यको मृत्यु भएको हुँदा उहाँले बन्दी अवस्थामा नै क्रिया गर्नुपरेको थियो । जेलबाट छुटेकै दिन मेरी पहिलो श्रीमती रत्न बाबाको मृत्यु भएर जलाउन शंखमूल घाटमा लगेको थाहा पाएर त्यही सिधै जानुभएको थियो । यो कुरा तुल्सीलालले आफ्नो संस्मरण सुनाउने क्रममा यो पंक्तिकारलाई भन्नुभएको थियो ।
२००५ सालमा गोपालप्रसाद रिमालसँग मिली तुल्सीलालले ‘पञ्चायत आन्दोलन’ नाम दिएर श्री ३ मोहनशमशेरको विरुद्ध नागरिक अधिकार प्राप्ति आन्दोलनको नेतृत गर्नुभएको थियो । उक्त आन्दोलनमा करिब ४ सय युवालाई बन्दी बनाएको हुँदा आन्दोलन शिथिल भएको थियो । त्यसपछि गोपालप्रसाद रिमाल, तुल्सीलाल आदिले सल्लाह गरी राणाविरुद्ध हतियार उठाएर संघर्ष गर्ने निधो गरी सुवर्णशमशेर, प्रेमबहादुर कंसाकारसँग भेट्न रक्सौल पुगेको तर बाटोमा नै केदारमान व्यथित भेट भएर उनकै आग्रहमा विश्वेश्वरप्रसाद कोइराला र गणेशमानको पार्टी राष्ट्रिय कांग्रेसको सदस्यता लिनुभएको थियो ।
२००५ सालमा नै श्री ५ महाराजाधिराज त्रिभुवनसँग उनका पुजारी शिव बाजेसँग सम्पर्क गरी गोप्य रूपमा पूर्णबहादुर एमएको सहयोगमा नारायणहिटी दरबारको उत्तर पश्चिम भागको पर्खाल चढी भेटेको र राणा शासन अन्त्य गर्न हतियार उठाएर संघर्ष गर्नुपर्ने भएको हुँदा ३ लाख सहयोग सरकारबाट हुन पर्यो भनी कुरा राख्दा राजा त्रिभुवनले बीपी, डिल्लीरमण रेग्मी र सुर्वणशमशेरलाई मिलाउन आग्रह गरेको र राणाविरुद्ध संर्घषमा सहयोग गर्ने वचन दिएका थिए ।
२००५ सालमा कांग्रेस पार्टीमा रहँदा नै नेपालको इतिहासमा प्रथमपल्ट मजदुर किसान संघ रौटहट, बारा, सर्लाहीका गाउँ–गाउँमा गठन गरिएको थियो । मातृकाप्रसाद कोइरालासँग कार्यक्रम र संगठन निर्माण सञ्चालन आदिमा कुरा नमिलेपछि कांग्रेस पार्टीमा बसेर नेपालको मजदुर किसानको मुक्ति नहुने देखेपछि ००६ सालमा भारतको कलकत्ता पुग्दा त्यहाँ गौरीभक्त प्रधानसँग भेटेको र गौरीभक्तले पुष्पलालसँग भेट गराएपछि नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो । क्रमश:
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply