बल्खुमा विद्याले बोल्दा ताली
काठमाडौं । केन्द्रीय सदस्यहरूले बोल्न पाएनौँ भनेर बबाल मच्चाएको एमालेको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पदाधिकारीहरूलाई नै मन फुकाएर बोल्ने इच्छा रहेछ । दुई खेमामा विभाजित एमालेमा उपाध्यक्ष विद्या भण्डारीले बैठकमा बोल्दा उनको खेमाका अँध्यारो मुख लगाउने र अर्को खेमाकाले ताली बजाउने अवस्था किन उत्पन्न भयो होला ?
गत मंगलबार त्यस्तो भयो । केन्द्रीय कमिटीको बैठक हतार–हतार सकेर चार दलको बैठकमा जानुपर्ने हतारमा रहेका नेताहरूले केन्द्रीय सदस्यहरूलाई बोल्ने मौका दिन चाहेका थिएनन् । आइतबार नै बैठक सक्ने योजनामा रहे पनि टंक कार्की, खगेन्द्र चुँडाल, रामकुमारी झाँक्रीलगायतका केन्द्रीय सदस्यहरूले हामीले बोल्न नपाउने ? त्यसो भए घरबाटै लिखित सुझाव पठाऊ भनेको भए भइहाल्थ्यो नि भनेर चर्को विरोध गरेपछि मंगलबारलाई सारिएको थियो । तर, मंगलबार पनि उनीहरूले मन खोलेर बोल्न चाहिँ पाएनन् । जाँगर चलेकाले लेखेर चिट दिए भने त्यति पनि जाँगर नभएकाहरूले यस्तो हो कमरेड भन्दै चित्त बुझाए ।
अध्यक्ष केपी ओलीको कार्यशैलीका बारेमा अर्को पक्षका नेताहरूले त आलोचना गर्ने नै भए, स्वयम् उनकै पक्षका नेता कार्यकर्तालाई पनि चित्त बुझेको छैन । तर, एकातिर दसौं महाधिवेशनबाट अध्यक्ष हुने अभियानमा लागिसकेका माधव नेपाललाई सहयोग पुग्ला अनि अर्कातिर आफ्नै समूहकाले के भन्लान् भनेर उनीहरू मुख खोल्न सकेका छैनन् । यस्तो बेलामा उपाध्यक्ष विद्या भण्डारीले भने खुलेरै अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेर ताली खाइन् । विद्याले त्यहाँ उठाएका केही गम्भीर प्रश्नका कारण अर्को पक्षकाले पनि ताली बजाएका थिए भने ओलीकै पक्षमा रहेकाहरूले अँध्यारो मुख लगाएका थिए ।
अनैतिकलाई किन पुरस्कार ?
पार्टीमा कुनै छलफल नै नगरी बहुपत्नीका धनी कृपासुर शेर्पालाई पर्यटनमन्त्री बनाएर पुरस्कृत गरिएको एमालेका धेरै नेतालाई झैँ उपाध्यक्ष भण्डारीलाई पनि चित्त बुझेको छैन । उनले स्थायी समितिका बारम्बारका बैठकमा त्यसलाई एजेन्डा बनाउन लगाए पनि अध्यक्ष ओलीले त्यसलाई कुनै महत्व दिएनन् । फलत: आक्रोशित भएकी भण्डारीले केन्द्रीय कमिटीको बैठकमै प्रश्न गरिन्, अनैतिक मानिसहरूलाई किन संरक्षण गरिएको छ ? किन पुरस्कृत गरिएको छ ? गुटकै आधारमा त्यस्ता अनैतिक र सामाजिक रूपमा पनि बदनाम मानिसलाई संरक्षण गर्न नहुनेमा उनको जोड थियो ।
कृषिमन्त्री रहेका बेला हरिप्रसाद पराजुलीले गरेको हर्कतप्रति संकेत गर्दै उनले सोधिन्, मन्त्री हुँदा जे पनि गर्न पाइन्छ ? मन्त्रीको कुनै मर्यादा र आचरण हुँदैन ?
बल्खुबाट केन्द्रीय कार्यालय किन सार्ने ?
उपाध्यक्ष भण्डारीलाई आफ्नै पतिका नाममा नामकरण भएको मदननगर बल्खुबाट केन्द्रीय कार्यालय सार्न लागेको पनि पटक्कै चित्त बुझेको रहेनछ । उनले भावुक हुँदै भनिन्, बल्खुसँग हाम्रा नेता कार्यकर्ताको भावना जोडिएको छ । हामीले देशभर कार्यकर्ता परिचालन गरेर हामीले ३०औँ हजार घर बनायौँ । हामी हाम्रो केन्द्रीय कार्यालय पनि कार्यकर्ता परिचालन गरेर बनाउन सक्छौँ । अहिले टहरा बनाऔँ । सबैलाई भूकम्प लागेको छ, हामीलाई पनि फरक पर्दैन ।
उपाध्यक्ष भण्डारीले पार्टीका निर्णय प्रक्रियामा आफूलाई सामेल नगराएकोमा पनि चित्त दुखाइन् । उनको भनाइ थियो, म त राखिदिएको कुर्सीमा बस्ने, बैठकमा आफ्ना कुरा राखेर जाने मान्छे परेँ । अरू जो–जो साथीहरू हर्ताकर्ता हुनुहुन्छ, उहाँहरूलाई मैले स्थायी समितिको पहिलाको बैठकमा पनि भनेकी थिएँ, बल्खुबाट कार्यालय नसारौँ । तर, मान्नुभएन । आज पनि भन्छु, केन्द्रीय कार्यालय नसारौँ । उनले त्यसो भनिरहँदा केन्द्रीय सदस्यहरूको ध्यान महासचिव ईश्वर पोखरेलतिर सोझिएको थियो, जसले केन्द्रीय कार्यालय कृपासुर शेर्पाको हालीमुहाली रहेको पासाङ ल्हामु प्रतिष्ठानको धुम्बराहीस्थित भवनमा सार्ने कामको अगुवाइ गरिरहेका छन् । र, सबैले बुझे पनि त्यही, विद्याले ईश्वरलाई नै भनिरहेकी छन् ।
आधा महिला, आधा पुरुष हुने घोषणा
उपाध्यक्ष भण्डारीले महिलालाई जुनसुकै ठाउँमा पनि हेपाहा दृष्टिले हेर्ने गरिएकोमा आपत्ति जनाइन् । बोमबहादुर विश्वकर्मालगायतले जोडतोडले दलितका मुद्दा उठाएकोप्रति लक्षित गर्दै उनले भनिन्, तपाईंहरू ज–जसले आफ्नो समुदाय पछाडि परेको कुरा गरिरहनुभएको छ, त्यहाँ महिलालाई कति स्थान दिनुभएको छ ? अब अर्को महाधिवेशनपछि यो ड्यासमा र त्यता पनि दुवैतिर एक लहरमा महिला र अर्को लहरमा पुरुष बराबरी हुन्छन् ।
बाबुराम किन उकास्दै छन् त्यस्तालाई ?
बिनाकारण एमाओवादी नेता बाबुराम भट्टराईले संविधानविरोधी, स्वदेशप्रतिभन्दा अरूप्रति नै लोयल्टी भएका र समग्र प्रक्रिया बिथोल्न लागेकाहरूलाई बोलाई–बोलाई अन्तरक्रियाका नाममा संविधान बन्न नदिने हर्कत गरेकोमा भण्डारीले कडा आपत्ति जनाइन् । आफ्नै पार्टी नेतृत्वसँग उनका त्यस्ता हर्कत रोक्नका लागि पनि उनले माग गरिन् । उनको प्रश्न थियो, बाबुरामलाई त्यस्तो अधिकार कसले दियो ? किन त्यो काम नरोकेको ?
झलनाथले बनाए ओलीलाई सहज
बैठक राम्ररी चलेन, सबैले बोल्न पाएनन् भन्दै भाषण गर्न सुरु गरेका झलनाथ खनालले अन्तत: अध्यक्ष ओलीलाई नै सहज हुने गरी कुरा टुंग्याए । कमरेडहरू अब यहाँ सबै कुरा गरेर साध्य हुँदैन, कुनै दिन लामो समय लिएर बैठक गर्नुपर्छ र सबैले बोल्नुपर्छ । आज जति पनि विषय छन्, ती सबैका बारेमा निर्णय गर्ने जिम्मा स्थायी समितिलाई दिनूस् । बस, ओलीलाई यही चाहिएको थियो । पछि उनले प्रस्ताव गरे, अघि जेएन कमरेडले पनि भनिसक्नुभएको छ, अब सबै निर्णय गर्ने अधिकार स्थायी समितिलाई दिऔँ ।
खगेन्द्रले बनाए बाध्य
आइतबारको बैठकमा बोल्दै नबोली प्रतिवेदन पारित भएको घोषणा गर्ने अध्यक्ष ओलीको प्रस्तावका विपक्षमा खरो गरी उत्रिए, पुरानो नेता भए पनि पहिलो पटक केन्द्रीय कमिटीमा पुगेका खगेन्द्र चुँडाल । चर्को स्वरका कारण परिचित उनले बैठकमा बोल्न नदिने हो भने किन बोलाएको त ? घरबाटै लेखेर पठाइदेऊ भने हुन्थ्यो भन्दै बबाल मच्चाएपछि अरूले पनि हात उठाएर विरोध गरेका थिए । माइक नदिइए पनि चर्को स्वरमा उनले कराएपछि त्यस दिन २७ जनाले आफ्नो कुरा राख्न पाएका थिए । बैठकमै केही केन्द्रीय सदस्यले चुँडाललाई ०२८ सालको धंगधंगी गएको रहेनछ कि क्या हो कमरेड भन्दै व्यंग्य पनि गरेका थिए ।
पछि प्रचार विभागको कार्यालयतिर भेट हुँदा ओलीले घोरिएर हेर्दै चुँडाललाई भने, यहाँ ताली बजाउन यो बैठक आयोजना गरिएको हो । ताली बजाउने, जाने । यत्ति बुझे हुन्छ । जवाफ दिनमा माहिर अर्का झापाली चुँडाल पनि के कम ? उनले भनिहाले, हिटलरी पाराले त के चल्ला तर पार्टी कमरेड ?
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply