चेतना र आग्रहले भरिपूर्ण
आमा, एउटा त्यस्तो शक्तिशाली विम्ब हो, जसको प्रतिच्छायाँमा अरू सबै विम्बहरू फिका सावित हुन्छन् । हरेक मानिसका लागि पहिलो पाठशाला मानिने आमाको सन्दर्भ उप्किनेबित्तिकै जतिसुकै कठोर हृदय बोकेकाहरूमा पनि स्वाभाविक रूपमै भावुकता उत्पन्न हुन्छ । प्रगतिशील स्रष्टा अशोक सुवेदीले पनि आफूलाई जन्म दिने, संसार चिनाउने र ममता पोख्ने आमाप्रति गहिरो सद्भाव र स्नेह पोख्न चाहेका छन् । उनको काव्य–सँगालो ‘आमा’भित्रका प्रत्येक कविताले नेपाली समाजमा महिलाहरूले भोग्नुपरेका समस्या र उनीहरूले गरेका संघर्षका अनेक बान्कीहरूलाई पस्किने प्रयत्न गरेका छन् ।
‘प्यारी हाम्री आमा’मा उनले आमाको प्रशंसामा शब्दहरू खर्च गरेका छन् । हुन पनि, आफूलाई संसारको साक्षात्कार गराउने, आफ्ना दु:ख, कष्ट र पीडाहरूमा मल्हम लगाइदिने र सधैँभरि शिखरतिर लम्किन उत्प्रेरित गर्ने आमाप्रति को चाहिँ प्रशंसाभाव व्यक्त नगरीरहन सक्छन् र ? त्यसैले सुवेदी लेख्छन्–‘दृढताकी प्रतीक आमा ममताकी खानी/पीडा–कष्ट पचाएर हाँसखेल गर्ने बानी/छङछङ गर्ने झरनाजस्तै स्वच्छ हाम्री आमा/संसारमै सबैभन्दा असल हाम्री आमा ।’ सुवेदीको अर्को कविता ‘केटाकेटी हुने रहर’मा उनले बाल्यकालतिर फर्किने इच्छालाई जाहेर गरेका छन् । सबैको बाल्यकाल रमाइला हुन्छन् । संसारका सम्पूर्ण दु:ख, पीडा र संकटहरू पैतालामुनि थिचेर रमाउने बेला हो, बाल्यकाल । स्वतन्त्र, स्वच्छन्द र निस्फिक्री रूपले आफ्नै संसार सिर्जना गरेर क्रियाशील हुने बाल्यकालीन क्षणहरूलाई स्मृतिको पर्दामा उतार्दै कवि लेख्छन्–‘आमा, मलाई फेरि एक पटक/देवीथानको ठूलढुंगाबाट लडेर/मन लागेको छ पुर्पुरो फुटाउन/मन लागेको छ देवीथानमा परेवा पूजा गर्न/मन लागेको छ खार खोलाको लुकुवा पूजामा जान/मन लागेको छ ढुंगेपानीमा/गोठाधूप र कुलपूजामा जान ।’
नेपाली समाजमा वर्षौंदेखि व्याप्त सामन्ती राज्यव्यवस्थाले शोषण, उत्पीडन र दमनलाई टेको दिँदै आयो । शोषणकै सहारामा टिकेको सामन्ती व्यवस्थाको अन्त्य भए पनि त्यसले उब्जाएका पीडाहरूबीच अझै पनि कैयौं नेपालीहरू छट्पटिइरहेका छन् । ‘नयाँ जिम्मेवारी’ मा उनले पहाडी क्षेत्रमा सामन्तहरूले निमुखा र निर्धाहरूमाथि गरेका अत्याचारको तीतो बयान समेटेका छन् । ग्रामीण क्षेत्रका जिम्मुवाल र मुखियाहरुले निर्धो जनतामाथि कसरी शोषण गर्दथे ? शोषणमा परेकाहरू सधैँभरि किन निरीह हुन्थे ? किनकि, शोषण गर्नेहरूलाई तत्कालीन राज्यव्यवस्थाले नै पोषण गरेको हुँदा निमुखाहरूको आवाजको कतै सुनुवाइ हुँदैनथ्यो । यो पक्षलाई राम्ररी आत्मसात् गरेका कविले शोषणबाट मुक्ति पाउने उपाय विद्रोह नै रहेको र संघर्षबिना सामाजिक दमन, उत्पीडन र शोषणको अन्त्य हुन नसक्ने पक्षमा वकालत गरेका छन् । नेपाली समाजमा नारीहरूले सयौं वर्षदेखि सामाजिक, पारिवारिक दमन र उत्पीडन झेल्दै आइरहेका छन् । पितृसत्तात्मक समाजमा नारीहरूले कति कष्टकर जीवन भोग्दै आइरहेका छन् ? प्रत्येक शताब्दी, दशक, वर्ष र दिनहरू साक्षी छन् । ‘आमालाई’ मा कविले नेपाली नारीहरूले पुरुष–निर्देशित राज्यसत्ताबाट पाएका कष्ट, दमन र उत्पीडनलाई उजागर गर्ने प्रयत्न गरेका छन् । र, वर्षौंदेखि विभेदको जाँतोमुनि थिचिएका नारीहरूले आफ्नो मुक्तिका निम्ति र आफूलाई युगौंदेखि शोषण गर्दै आएका सत्ता विरुद्ध हतियारबद्ध लडाइँ लड्नुपर्ने आव्हान पनि गरेका छन् ।
‘कोदालो र चपरी’ मा उनले संघर्ष गर्नेहरूले नै आफूलाई यो धर्तीमा स्थापित गराउने यथार्थलाई उजागर गर्न चाहेको छ । उनी लेख्छन्–‘ फेरि आमाले भन्नुभयो/आफू नचल्मलाएसम्म/नहुने रहेछ आफ्नो/कोदाली पनि/नउठेसम्म आफैं/नहुने रहेछ आफ्नै/माटो पनि ।’ अर्को कविता ‘जून नउदाएको रात’ मा भने उनले आमाको अभावले पिरोल्दाको अवस्थातिर इंगित गर्न खोजेका छन् । आमा नहुँदाको पीडा कति भयावह हुन्छ र त्यसले दिने तनाव, छट्पटी र वेदनाको तह कति बाक्लो हुन्छ ? यिनै कुरालाई दर्साउन चाहेको छ–‘औंसी पनि होइन/बदली पनि छैन आकाश/तर/जून छैन/कति उदासीन–उदासीन हुन्छ/जून नउदाएको रात/तारा नटम्टमाएको रात/अर्थात् आमा नभएको जीवन †’
कवि सुवेदीले आमाको स्मृतिमा कविताहरू कोरे पनि प्रत्येक कवितामा उनले वर्गीय चेतनालाई प्राथमिकताको पहिलो सूचीमा राखेका छन् । आमा, नारी समुदायको एक प्रतीक भएकी हुँदा समाजभित्र नारी वर्गले हजारौं वर्षदेखि भोग्नुपरिरहेको दु:ख, कष्ट, यातनालाई अन्त्य गर्ने आधार वर्गीय युद्ध भएको तार्किक निष्कर्षसहित उनले कवितालाई सम्पुष्ट बनाएका छन् । वैचारिक चेतना र आग्रहले भरिपूर्ण उनका कविताले नेपाली समाजभित्र नारी वर्गले भोग्नुपरेका समस्याहरूलाई गहिराइसम्मै पुगेर खोतल्ने प्रयत्न मात्र गरेका छैनन्, त्यसबाट उम्किने उपायसमेत पत्ता लगाउन चाहेका छन् ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply