अंगुलिमाल र नेपालका नेताहरू
गौतम बुद्ध नेपालका मात्र होइनन्, संसारकै महान् चिन्तक हुन् । वर्तमानको विकसित चेतना र विज्ञानको कसौटीमा जाँचेर भन्ने हो भने चार्वाक, कपिल, वृहस्पतिको दर्शनकै उन्नत अवस्था गौतम बुद्धको जीवन र जगत्बारेको दृष्टिकोणमा थियो । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद र माक्र्सवादको दार्शनिक धारासम्म पुग्नुअघिको पूर्वीय चिन्तन प्रणालीमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादका दाशर्निक विचारक गौतम बुद्ध नै हुनुहुन्थ्यो ।
तर, अपसोच नेपाल आमाका तिनै महान् सन्ततिबारे हालैको एक समारोहमा केही मानिससँग तुलना गर्ने प्रयास गरिएको पाइयो । प्राज्ञिकताको अंश पनि नभएको र खेताला लगाएर लेखिएको भनिएको किताबको स्तुतिगानमा व्यक्त भएको भनाइले बुद्ध र माक्र्सलाई एउटै चिहानमा पुर्ने कोसिस भएको पाइयो । खेताला लगाएर एसएलसी र अन्य परीक्षा दिने तथा उमेर सच्चाएका नक्कली कागजका आधारमा जनवर्गीय संगठन र पार्टीमा प्रवेश गरेर फुट विभाजन, विकृति, विसंगतिको खेती गर्नेहरूलाई तथा पार्टी सदस्यता प्राप्त गरेको र कमिटीहरूमा संगठित भएको समेत नक्कली विवरण बनाउने र नयाँलाई पुरानो एवम् पुरानोलाई नयाँ बनाउने खेलखण्ड गर्नेहरूबारे कहीँकतै जाँचबुझ नगर्ने, कारबाही गर्न नसक्नेहरूले गौतम बुद्धको ‘योग्यता र सर्टिफिकेट’ माथि शंकाको भाषण छाटेछन् । ‘गौतम बुद्धले कति पढेका थिए’, ‘मेरो योग्य मानसपुत्र यो किताबका लेखक अंगुलिमाल हैनन्’ आदि भाषणसमेत व्यक्त भएछ ।
अंगुलिमाल तत्कालीन कोशल राज्यमा एक कुशल लडाकु र आतंक फैलाउने डाका थिए । उनलाई मार्न राजा प्रसेनजितको नेतृत्वका सेनाहरूले खोजी गरिरहेका थिए । तर, त्यही समय उनी गौतम बुद्धको सम्पर्कमा आएर सधर्म मार्ग अपनाउँदै भिक्षु संघमा सामेल भइसकेका थिए । अंगुलिमाललाई भिक्षुहरू उपली र सारिपुत्तले लगातार दिएको शिक्षाबाट उनमा आएको परिवर्तनपछि उनको नाम अहिंसक राखिएको थियो । तिनै अहिंसकलाई राजा प्रसेनजितले भेट्दा पक्रिनुको सट्टा माफी दिएका थिए । साथै, राजाले चिवर (कपडा), भोजन र औषधि उपहार दिँदा अंगुलिमाल अर्थात् भिक्षु अहिंसकले धन्यवादसहित फर्काइदिएका थिए ।
तर, काठमाडौंमा अंगुलिमालको चर्चा हुँदा प्रश्न उठ्छ, संकेत गरिएका मानिस अंगुलिमाल थिए वा थिएनन् ? थिएनन् भने किन चर्चा गर्नुपर्यो र थिए भने भिक्षु अहिंसक बने कि बनेनन् ? व्यक्तिलाई अंगुलिमाल बनाउनेहरू धेरै छन् तर अहिंसक बन्न सिकाउने कमै छन् । नत्र एक जना राजनीतिमा क्रियाशील व्यक्तिलाई अंगुलिमालसँग किन दाँज्ने ? यदि अहिंसक बनाएकै हो भने अंगुलिमाललाई परिवर्तन गर्ने ‘पढ्दै नपढेका’ बुद्धले आफ्नो छोरालाई समेत छोरा भनेनन् भने काठमाडौंमा अंगुलिमाल कसरी छोरा भयो ? भिक्षु संघमा गौतम बुद्धलाई पालन पोषण गर्ने माता गौतमी (महाप्रजापति), पत्नी यशोधरा, पुत्र राहुलसहित धेरै परिवारजन र मित्रहरू थिए । तर, ती कुनैसँग पनि बुद्धको विगतको नाताको सम्बन्ध र व्यवहार हुँदैनथ्यो । भिक्षु संघमा रहँदा परिवारका सबै सदस्यहरूलाई अरू सबै भिक्षुसरह शिल आचरणमा रहनुपर्दथ्यो । त्यहाँ कसैलाई पनि गौतम बुद्धसँग विशेष सम्बन्धको लाभ थिएन । स्वयम् बुद्धबाट पनि कुनै पनि व्यक्तिलाई त्यस्तो विशेष सम्बन्ध र सुविधाका लागि कहिल्यै निर्देशन भएन । तर, यहाँ राजनीतिमा ‘बुबा’ बनाउने र ‘छोराछोरी’ बनाउने कुरा गर्नेहरू उदाहरण गौतम बुद्धको दिँदै हिड्दा देख्ने सुन्नेहरूलाई उदेक लागेर आउँछ ।
भिक्षु संघमा योग्यभन्दा योग्य व्यक्तिलाई विशेष जिम्मेवारी दिने व्यवस्था थियो तर त्यो स्वार्थ र लाभमा आधारित, नाता गोता ‘बुबा–आमा र ‘छोराछोरी’मा आधारित हँुदैन थियो । अगुवा भिक्षुहरू सारिपुत्त, आनन्द, उपली, किम्बिल आदि बुद्धका ‘छोराछोरी’ थिएनन् । त्यसैले यति मात्रै होइन, हाम्रो नेपाली राजनीतिमा रहेको विकृतिपूर्ण चरित्रलाई सद्मार्ग देखाउँदै बुद्धसँग जोडिएको एउटा प्रसंग छ । बुद्धपछिका पहिलो दर्जाका उत्तराधिकारी मान्य भिक्षु आनन्दले आफूलाई प्रमुख सहायक स्वीकार गर्नुअघि आठ वटा सर्त राख्नुभएको थियो ।
अन्त्यमा, बुद्ध कालमा सारनाथ, गया, विक्रमशीला, कौशल, मगध, बैशाली आदि ठाउँहरूमा गुरुकुल एवम् विश्वविद्यालय शिक्षा प्रणालीको विकास भइसकेको पाइन्छ । गौतम बुद्धले ‘बुर्जुवा शिक्षा बहिष्कार’ गरेर होइन, उच्च शिक्षापछि प्राप्त ज्ञानको आधारमा बोधित्व प्राप्त गरेका थिए । त्यो बेला नेपाल र बैशालीलगायतका राज्यहरूमा लिच्छवि शासन थियो जुन कालखण्डमा वास्तुकला, लिपि को विकास एवम् शिक्षा प्रणाली रहेको प्रयाप्त प्रमाणहरू पाइन्छन् ।
– कुलप्रसाद भट्ट, बैतडी
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply