नयाँ सेनापतिका के छन् नयाँ योजना ? व्यावसायिकतामा मुख्य जोड

‘प्रधानसेनापति हुन के गर्नुपर्दोरहेछ ?’
९२ हजार सैनिकको नेतृत्व सम्हाल्न लागेका राजेन्द्र क्षेत्रीलाई यो प्रश्न सोध्दा अकमकाएनन् । ‘तीनवटा कुरा महत्त्वपूर्ण हुँदा रहेछन्’– उनले क्रमश: सुनाए– ‘पहिलो त मिहिनेत गरेर योग्यता तयार पार्नुपर्यो । दोस्रो– तालमेल मिल्नुपर्यो । तेस्रो चाहिँ भाग्य पनि हुनुपर्दोरहेछ जस्तो लाग्छ ।’
योग्यताको विषयमा प्रश्न उठाउन नमिल्ला । अनि भाग्य पनि मान्छेको विश्वास हो, बहस गर्न नसकिएला । तर, यो तालमेल भनेको चाहिँ के होला नि ? क्षेत्रीले व्याख्या सुनाए– ‘सेनामा तीनवटा अवस्थामा अवकाश पाइन्छ । उमेरको हदबन्दी, सेवा अवधिको हदबन्दी र सम्बन्धित पदको हदबन्दी । यी तिनै मिल्नुपर्यो ।’
‘त्यसका लागि ?’
‘त्यसका लागि समय–समयमा बढुवा हुनुपर्यो, चलखेल हुनुभएन, आफू पनि कुनै लोभमा फस्नुभएन ।’ यही बीचमा कसैको सेवा अवधि थपिन्छ, कसैको थपिँदैन । यसैलाई उनले ‘तालमेल’ भनेका रहेछन् ।नेपाली सेनामा त्यस्तो ‘तालमेल’ बदल्ने खेल पटक–पटक भएको पाइन्छ । तर, बसेको रीति नभत्किएकै कारण सोझा स्वभाव र सेनाभित्र चलखेल नगर्ने भनेर चिनिने राजेन्द्र क्षेत्रीले मौका पाएका छन् । उनले भनेझैं तालमेल बलशाली नहुँदो हो त उनका भाइ रतिन्द्रले चार वर्षअघि नै महासेनानीबाट अवकाश पाउने थिएनन् । पछिल्ला दिनमा सेनाभित्र राजनीति हुल्ने कोसिस नभएको होइन ।
त्यसको सबभन्दा ठूलो उदाहरण कुलबहादुर खड्का प्रकरण सबैका स्मृतिमा ताजै छ । बल्लतल्ल त्यो प्रकरण सकिएर छत्रमानसिंह गुरुङ प्रधान सेनापति बनेपछि उनले नै निकट अतीत भुले र सेनाभित्र राजनीतिक हुल्ने प्रयास गरे । वरिष्ठतामा अघि रहेका गौरवशमशेर राणासँगै नेपालभूषण चन्दलाई भिडाउने गरी एकै दिन बढुवाको फाइल रक्षामा पठाए । तत्कालीन रक्षामन्त्री विष्णुप्रसाद पौडेलको बुद्धिमानी निर्णयले सेनामा चलखेल बढ्न पाएन । गौरवले चाहिँ चलखेल रुचाएनन् । रथी पवनबहादुर पाण्डेको अवधि थपिएको भए अहिले फेरि चलखेल हुने पक्का थियो । खेलकुद नभएको होइन । अर्थमन्त्री रामशरण महतसँगको पारिवारिक नातादेखि अनेक कुरा आए पनि त्यो उपलब्धिमूलक भएन । र, नेपाली सेनाले विवादबिना सहज रूपमा नयाँ सेनापति पाएको छ ।
‘सेनालाई रानजीतिबाट टाढा राख्नुपर्छ, यो गैरराजनीतिक संगठन हो’– कामु प्रधानसेनपति क्षेत्री भन्छन्– ‘त्यस काममा उता र यता दुवैतिरबाट भूमिका खेल्नुपर्छ ।’ उनको संकेत आफ्नै संगठनमा रहेर चलखेल गर्ने अधिकारीहरूतिर पनि छ ।
पुराना कमजोरी हट्छन् ?
प्रधानसेनापति भएपछि पक्कै राजेन्द्र क्षेत्रीका केही योजना छन् । ती सबैको फेहरिस्त उनले बनाइरहेका पनि छन् । आगामी भदौ २६ गते विधिवत् रूपमा कार्यभार सम्हालेपछि सार्वजनिक पनि गर्लान् । अघिल्ला प्रधानसेनापति गौरवशमशेर राणाको कार्यकालमा भएका केही कामको आलोचना भइरहेको छ । कामु भएकै बेला क्षेत्रीलाई सोधियो– ‘के तपाईंले ती कमजोरी सुधार्नुहुन्छ ?’
जवाफ दिनुभन्दा अघि क्षेत्रीले प्रतिप्रश्न गरे– ‘जस्तो ? कुनै स्पेसिफिक कुरा ?’
‘फास्ट ट्रयाक बढुवाका नाममा मन परेका मानिसलाई बढुवा गर्ने र अरुलाई घर पठाइदिने, एउटा व्यक्ति (नरेश बस्नेत) का लागि नियम नै परिवर्तन गरिदिने, धेरै समय विदेश भ्रमणमा जाने……’
कतिपय कुरा सुधार्ने योजना क्षेत्रीले सुनाए भने कतिपयका विषयमा तटस्थ जवाफ दिए ।
‘फास्ट ट्रयाकले नराम्रो मात्रै गरेको छैन’– उनले भने– ‘त्यसबाट जो अफिसर बढुवा भएका छन्, ती राम्रा नै छन् । तर, माथिल्ला पद कम भएका कारण सबै बढुवा हुन सकेनन् । उनीहरु सेवाभित्र रहिरहन सकेनन् । राम्रा पनि बाहिरिए । यो चाहिँ समस्या नै भएको छ ।’ तिनीमध्ये कतिपयलाई कल्याणकारी कोषको काममा लगाएको जानकारी दिँदै उनले उमेर, योग्यता र रुचि भएकाहरुलाई नेपाल सरकारले पुनर्निर्माणको काममा लगाए हुन्थ्यो भनेर सोचेको पनि बताए ।
नरेश बस्नेत प्रकरणका बारेमा छोटोमा टिप्पणी गरे– ‘त्यसलाई नजिर बनाइँदैन, अब त्यो घटना नै अन्तिम हुन्छ ।’ एउटा व्यक्तिमा भर पर्नुभन्दा त्यसपछि योग्य मान्छे तयार गर्नु उचित हुने आफ्नो विचार पनि उनले सुनाए । ‘नेतृत्वले पनि तयार गर्नुपर्छ, पछिको तयार पनि हुनुपर्छ’– क्षेत्रीले उदाहरण दिए– ‘जस्तो, चीफसाबले छोड्ने कुरा पहिल्यै तय थियो । त्यतिबेलासम्म म पनि तयार भइसक्नुपर्यो ।’
के छन् नयाँ योजना ?
संसारभरि सेनाका दुई कार्यादेश हुन्छन् : पहिलो, राष्ट्रको बाह्य सुरक्षा र दोस्रो पेसागत क्षमता, विकास निर्माण आदि । अहिलेको दुनियाँमा सबैतिर बाह्य सुरक्षामा सेना त्यति व्यस्त रहनु पर्दैन । सेनाको ध्यान पछिल्लो काममा केन्द्रित छ । प्रधानसेनापतिका रूपमा राजेन्द्र क्षेत्रीसँग छ योजना छन् । चलिआएका योजनामा सुधार गर्ने र केही नयाँ काम गर्ने उनको योजना छ ।
पहिलो, व्यावसायिकतामा जोड
मुलुक संघीयतामा जाँदैछ । यही मौकामा धमिलो पानीमा माछा मार्न अनेक तत्त्व सक्रिय हुन्छन् भन्ने सेनालाई थाहा नहुने कुरा भएन । त्यस कुरालाई ध्यानमा राखेर सेनालाई व्यावसायिक बनाउने उनको योजना छ । उनी भन्छन्– ‘राष्टिय सुरक्षामा आँच आउने जुनसुकै कामसँग मुकाबिला गर्ने गरी अघि बढ्छौँ । त्यसमा कसैसँग सम्झौता हुँदैन ।’ सेनालाई व्यावसायिक बनाउन आवश्यक तालिम र अभ्यासलाई अघि बढाउने उनको योजना छ ।
दोस्रो, पुनर्निर्माणको चुनौती
मुलुक भूकम्पको चपेटामा छ । ज्यान दिएर भूकम्पको सामना गर्ने सेना आफैँ भूकम्पपीडित छ । स्वयम् प्रधानसेनापतिको कार्यालय आर्मी क्लबमा छ । पहिलादेखि नै सेनाले चलाएको बंकर टु ब्यारेक अभियान पूरा गर्नु पनि छँदैछ । ‘यही चुनौतीका बीचमा काँधमा पुनर्निर्माणको चुनौती थपिएको छ । हामी त्यसलाई योग्यताका साथ सामना गर्छौं, थप त्यस्ता प्रकोपहरूसँग जुध्ने गरी क्षमता विकास गर्छौं’ – क्षेत्री भन्छन् ।
तेस्रो, कल्याणकारी कोषको उपयोग
शान्ति सेनामा जाने सैनिकहरूको पेट काटेर खडा गरिएको सैनिक कल्याणकारी कोषलाई लिएर बेलाबेलामा प्रश्न उठ्ने गरेका छन् । क्षेत्रीले त्यसमा प्रश्न नउठ्ने गरी पारदर्शी रूपमा चलाउने योजना साँचेका छन् । ‘भनेर मात्र भएन, सबैलाई फिल हुने गरी त्यसलाई सञ्चालन गर्छु’, क्षेत्री भन्छन् । अहिलेसम्म केन्द्रमा मात्र केन्द्रित रहेका कल्याणकारी योजनाहरूलाई क्षेत्रीय तहसम्म विस्तार गर्ने र त्यसबाट सबैलाई लाभ हासिल गराउने उनको लक्ष्य छ ।
चौथो, शान्ति सेनाको भूमिका बृद्धि
नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिन र गौरव गर्नका लागि शान्ति स्थापना मिसन एउटा प्रमुख माध्यम बनेको छ । छ वर्षअघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल संयुक्त राष्ट्र संघको महासभामा जाँदा शान्ति स्थापनामा सैनिक पठाउने पाँच प्रमुख राष्ट्रका कार्यकारी प्रमुखका रूपमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले विशेष बैठकमा आमन्त्रण गरेका थिए । अहिले त्यस्तै मौका पारेर न्युयोर्कमा बैठक हुँदैछ । विश्वमा छैटौं ठूलो संगठनका रूपमा शान्ति स्थापनामा खटिएको नेपाली सेनाका सदस्यहरूलाई संख्यात्मकसँगै गुणात्मक रूपमा सक्षम बनाउने क्षेत्रीको अर्को योजना छ । ‘संख्यात्मक रूपमा ठीक छौँ’, उनी भन्छन्, ‘गुणात्मक रूपमा पनि अरूभन्दा सक्षम बनाउने मेरो प्रयास रहन्छ ।’
पाँचौँ, विकास निर्माणमा गति
सरकारले सेनालाई सडक निर्माण, आरक्ष सुरक्षा, चुरे संरक्षण, द्रूत मार्ग निर्माण जस्ता काम दिएको छ । तिनलाई तोकिएको मितिमा पारदर्शी रूपमा सम्पन्न गर्नुलाई पनि उनले चुनौती ठानेका छन् । ‘हामीले जिम्मा लिएका ती कामलाई समयमै पूरा गर्नुपर्नेछ’, उनी भन्छन् ।
छैटौँ, हवाई साधनमा सुधार
हालै भूकम्प जाँदा १४ जिल्लाका ५ सय ९६ स्थानमा सेना खटियो । पैदल हिँडेर सम्भव नभएका ठाउँमा हेलिकोप्टर मात्रै उपाय छ । तर, सेनाका लागि पर्याप्त हवाई साधन छैनन् । भएका पनि बिग्रिएका छन्, मर्मत गरेका पनि धेरै उपयोगी छैनन् । त्यही भएर सेनाले पुराना छ वटा हेलिकोप्टर लिलाम गर्न सरकारसँग अनुमति मागिसकेको छ । १० बर्से कार्ययोजनाअन्तर्गत ०७५ सालसम्म थप पाँच वटा पनि बेच्ने सेनाको योजना छ । हालै दुईवटा हेलिकोप्टर खरिद गरिएको छ । साथै, एउटा एक्वेरल र एउटा एमआई १७ मर्मत गरिएको छ भने अर्को एक्वेरल चाँडै मर्मत गरेर तयार हुने अवस्थामा छ । सबै गरेर चालू हालतमा सेनासँग कम्तीमा १५ वटा जहाज भएमा तत्कालका लागि पुग्ने अनुमान छ ।
‘हाम्रा हवाई साधनलाई व्यावसायिक काममा प्रयोग गर्दा पनि ५० प्रतिशत राजस्व सरकारको खातामा जम्मा हुन्छ’, क्षेत्री भन्छन्, ‘बाँकी ५० प्रतिशत प्रधानमन्त्री अध्यक्ष रहने सञ्चालन समिति मातहतमा रहन्छ । तिनले आफ्नो खर्च आफैँ उठाइरहेका हुन्छन् ।’
कसैमाथि भेदभाव हुँदैन
सेनामा कोही कसैको प्रतिस्पर्धी नहुने उल्लेख गर्दै कामु प्रधानसेनापति क्षेत्री कुनै पनि आधारमा कसैमाथि भेदभाव नहुने बताउँछन् । उनको भनाइ छ, त्यस्तो कल्पना पनि गर्न मिल्दैन । विगतमा केही कारणले कसैमाथि अन्याय भए जस्तो लागेको छ भने पनि अब त्यो हुँदैन । भेदभाव हुन्छ कि भन्ने अलिकति पनि शंका नगर्दा हुन्छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply