नारी उत्पीडनका जीवन्त प्रस्तुति
युवा–स्रष्टा माधव सयपत्री मानवीय संवेदना, चरित्र र उतारचढावलाई आफ्नो सिर्जनाको धरातलमा उतार्न चाहने सर्जक हुन् । अझ, ग्रामीण र सहरी दुवै क्षेत्रमा कष्टप्रद जीवन गुजारिरहेका नारीले सामाजिक उत्पीडन, अत्याचार र व्यभिचारलाई शिरोधार्य गर्दै कसरी नारकीय जीवन बिताइरहेका छन् र उनीहरूको विपक्षमा सिंगो समाज कसरी उभिएको छ भन्ने यथार्थ उनका सिर्जनामा छर्लङ्गै देखिन्छ । सयपत्रीको कथाकृति ‘मखमलीका राजाहरू’भित्रका दुई वटा कथालाई मात्रै आधार माने पनि सहरी र ग्रामीण भेगमा रहेका नारीहरूको दारुण तस्बिर प्रस्ट खिचिन्छन् । ती कथाहरू हुन्– जन्मिनुको अपराध र सुकुम्बासी बस्तीमा ।
‘जन्मिनुको अपराध’मा उनले पुरुषवादी मानसिकतामा जकडिरहेको नेपाली समाजमा महिला समुदायले भोग्नुपरेको उत्पीडनको जीवन्त रेखा कोरेका छन् । नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै पनि दरिद्र रहेको छ । दृष्टिकोणको प्रश्नमा मात्र होइन, व्यवहारगत हिसाबमा पनि महिलाहरू वर्षौंदेखि प्रताडित छन् । र, उनीहरूका निम्ति दमन, उत्पीडन, शोषणजस्ता यस्ता अनगिन्ती साङ्लाहरू तयार पारिएका छन्, जसलाई पुरुषवादी चिन्तनले वर्चस्व पाएको समाजले कुनै पनि बेला बलजफ्ती बेहोर्न सक्छ । उक्त कथामा झड्केली छोरीसँग यौनसम्बन्ध कायम राख्ने एउटा पतित बाबुले आफ्नी पत्नीमाथि गरेका दमन र उत्पीडनको बयान छ । र, आफूमाथि थोपरिएको उत्पीडनबाट छुट्कारा पाउन भौंतारिएर हिँडेकी एउटी महिलाको दयनीय स्थिति सम्हाल्दै कथाले गति लिएको छ । ‘सुकुम्बासी बस्तीमा’ चाहिँ महानगरको एउटा सुकुम्बासी बस्तीमा बसोवास गर्ने एउटी युवतीमाथि आवारा केटाहरूले गरेको दुव्र्यवहार देखाउन चाहेको छ । सहरमा बढ्दै गइरहेको विकृति, बढ्दो लुट्पाट र नारी अस्मितामाथि धावा बोल्ने क्रमको विकासलाई उक्त कथाले उजागर गर्न चाहेको छ ।
ब‘पर्दा पछाडि ऊ’ कथा भने अलि फरक छ । उक्त कथामा नारीहरू अविश्वसनीय क्रियाकलाप गर्न र त्यस्तै कदम चाल्न उद्यत हुन्छिन् भन्ने पक्ष देखाउन खोजिएको छ । नारीहरू भरोसा गर्नलायक र योग्य हुँदैनन् भन्ने मान्यतामा अडिएर यो कथा सिर्जना भएको छ । ‘बार’ भने दुई होटलवालाबीचको व्यापारिक प्रतिस्पर्धालाई केन्द्रमा राखेर लेखिएको कथा हो । पहिला राम्रो मित्रता रहेका दुई होटल सञ्चालकबीच पछि कटुता उत्पन्न भएसँगै बार नै लगाउनुपर्ने बाध्यता आइपर्छ । उक्त कथाले तिनै दुई छिमेकीबीचको मित्रता र तनावमा आएको उतारचढावलाई केलाउने प्रयत्न गरेको छ । ‘उत्तरआधुनिक शव’ मा उनले उत्तरआधुनिकतावादीलाई तीव्र प्रहार गरेका छन् । उत्तरआधुनिकताको प्रखर विरोधी एक जना प्राध्यापकको मृत्यु हुँदा उसको लास गायब गर्ने कार्यमा उत्तरआधुनिक अस्पताल र चिकित्सकहरू नै तल्लिन हुन्छन् । व्यंग्यात्मक फ्रेममा सजाइएको उक्त कथाले उत्तरआधुनिकतावादले मानिसहरूको दैनिक जीवनमा पुर्याइरहेको असर र प्रभावबारे कथाले प्रतीकात्मक रूपमा
बोलेको छ ।
‘भीमसराको जोडी’मा कथाकारले नेपाली समाजमा व्याप्त सद्भाव, मानवीय प्रेम र आत्मीय व्यवहारलाई देखाउन खोजेका छन् । नेपालीहरू जुनसुकै भूगोलमा पुगे पनि, देशको एउटा कुनाबाट अर्को कुनामा पुगे पनि सामाजिक र पारिवारिक सद्भाव कायम राखेर बाँच्न सक्छन् भन्ने पुष्टि गर्न चाहेको छ, उक्त कथाले । तर, ‘कालेको आरन’ भने ठीक विपरीत कथा बन्न पुगेको छ । नेपाली समाजलाई युगौंदेखि जातीय विभेद र छुवाछूतको साङ्लोले बाँधेर राखेको छ । कथित उच्च जातिका मानिसले अछूत मानिने तल्ला जातिका मानिसहरूप्रति गर्ने भेदभाव, हेलाँहोचो, अशिष्ट शब्द–प्रहार वर्षौंदेखि कायम रहँदै आएको छ । उक्त कथामा जातीय विभेदले पूरै बिथोलेको समाजको सजीव चित्रण छ । साथै, कथित दलितहरूमा सल्बलाउन थालेको चेतनाको विम्ब पनि उक्त कथामा स्पष्ट रूपमा झल्किएको देखिन्छ ।
विकास, निर्माणमा खर्च गर्न भनेर गाउँहरूमा लाखौं बजेट विनियोजन हुन्छ । तर, गाउँमा विनियोजित बजेट गाउँका टाठाबाठा र लाउकेहरूले आफ्नै स्वार्थमा खर्च गर्ने गर्छन् र बजेट कागजी रूपमा मात्रै खर्च हुन्छ । ‘एकलालको ह्विलचियर’ ग्रामीण क्षेत्रमा हुने भ्रष्टाचार र त्यसमा संलग्न लाउकेहरूको चरित्र उतार्न सक्षम देखिएको छ । ‘मखमलीको राजाहरू’ चाहिँ पारिवारिक दमन र उत्पीडन झेल्न बाध्य एउटी निमुखा, निरीह र दरिद्र महिलाको कथा हो । गाउँमा हुने पुराणवाचनमा सासु र आफ्ना पतिले दैनिकजसो उपस्थिति जनाउँछन् । तर त्यही पुराण सुन्न एकदिन मात्र पुराणस्थलमा गएकी मखमलीलाई उनका पतिले त्यहाँ ढिम्किनै दिँदैन । मखमली पुराण सुन्न गएपछि घरका गाईवस्तुहरूलाई स्याहार गर्ने कोही नहुँदा त्यही विषयलाई उठाएर उनका पतिले लखेट्छन् । पतिको दुव्र्यवहार सहन नसकेपछि मखमलीभित्र प्रश्न उब्जिन्छ–‘सहरमा त राजा गए भन्थे तर अझै पनि सानातिना राजाहरू रहेछन् ।’ मखमलीको व्यंग्यमिश्रित यो भनाइमा नेपाली समाजमा नारीहरूले भोग्नुपरेको उत्पीडनको संग्लो चित्र मात्र उतारिएको छैन, नारी वेदनाको भयावह पाटो पनि उजागर गरेको छ ।
मूलत: सयपत्रीका कथाहरू छोटो संरचनामा उभिएका भए पनि त्यसले दिनुपर्ने सन्देश गहकिलो हुनुका साथै कथावस्तु पनि सम्पुष्ट रहेका छन् । जसले गर्दा उनका कथाहरू वजनदार बन्न पुगेका छन् । तथापि, एकाध कथाहरू भने कताकता अल्मलिएको, खज्मजिएको र रुमल्लिएको जस्तो प्रतीत पनि हुन्छन् । सायद, कथाकारमा विषयवस्तु छनोट र त्यसको प्रस्तुतीकरणमा अलमल भएर त्यस्तो समस्या आएको हुनसक्छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply