दलितमाथि किन दमन ?
तीन हजार वर्षदेखि हेपिएको, थिचिएको दलित समुदाय सात दशकदेखि आन्दोलनमा होमिँदै आएको छ । कहिले सडक आन्दोलन त कहिले सदन आन्दोलन गर्दै आएको यो समुदाय अहिले सडक र सदन दुवै आन्दोलनमा छ । नयाँ बन्ने संविधानमा पहिलो संविधानसभाले सर्वसम्मतिले पारित गरेका आफ्ना मागहरू संविधानको पहिलो मस्यौदामा नपरेको भन्दै अहिले यो समुदाय आन्दोलित बनेको हो । राष्ट्रको हितको निम्ति सधैं बलिदानी दिँदै आएको यो समुदाय अहिले आफ्ना मुद्दाहरू समावेश गर्न आन्दोलित छ ।
आन्दोलनका घोषित कार्यक्रमअन्तर्गत एकघन्टे चक्का जाम गर्न खोज्दा निर्मम दमन गरियो । राज्यद्वारा गरिएको यस्तो दमनले दलित समुदायप्रति राज्य कति अनुदार छ भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । दमनपछि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले दिएको अभिव्यक्तिले झन् दलित समुदायको घाउमा नुनचुक लगाएको छ । उहाँले पनि आफूलाई प्रमाणित गर्नुभएको छ कि, कम्युनिस्ट हुँदैमा बाहुनवादी चरित्र हराउँदैन भन्ने कुरा ।
प्रहरी दमनपछि दलित आन्दोलनलाई भने फाइदा भएको देखिन्छ । किनकि घरमा सुतेर बसेकाहरू अब जाग्न थालेका छन, घरमा लुकेकाहरू जुट्न थालेका छन् । अब हामी यो राज्यसँग प्रश्न गरिरहेका छौं, ‘यो राज्य हाम्रो हो कि होइन ? यहाँ बस्ने अधिकार हामीलाई छ कि छैन ? यदि छ भने यहाँ बराबर हुन जरुरी छ कि छैन ? सबैलाई समान अधिकार हुन जरुरी छ कि छैन ? तिमीले कुरा गरेको मानव अधिकार दलितका लागि हुन जरुरी छ कि छैन ? यदि छ भने दलितमाथि विभेद हुँदा मानव अधिकार आयोगबाट कति वटा विज्ञप्ति निक्लियो, कुन–कुन पार्टीबाट विज्ञप्ति निक्लियो, मिडियाले चर्चामा ल्याएर थाहा पाएका घटनामा आफ्नो उचाइँ बढाउनका लागि विज्ञप्ति निकाल्ने दलहरूले चर्चामा आएका दलितमाथि भएको विभेदको घटनामा कति विज्ञप्ति निकालियो त ?’ यसले पनि प्रस्ट पार्छ कि राजनीतिक दल दलित मुद्दाप्रति कति गम्भीर छन् भन्ने कुरा । हिजो इतिहासमा जयस्थिति मल्लले गरेको जात प्रथालाई जंगबहादुरले गरेको कानुनी मान्यताले यी दुई पात्र जो दलितको आँखामा कलंक ठहरिए र रहिरहनेछन् । अब चार दलका शीर्ष नेतालगायत मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले सोच्नुपर्ने बेला आएको छ, तपाईं जयस्थिति मल्ल वा जंगबहादुर बनेर कलंक साबित हुने कि सबैलाई न्याय दिने नेल्सन मन्डेला वा अब्राहम लिंकन बन्ने ? यदि तपाईंहरूलाई कलंक बन्नु छ भने हाम्रो भन्नु केही छैन । हामी त हाम्रो अधिकार जसरी पनि प्राप्त गर्छौं, फरक ढिलो र चाँडोको मात्रै हो ।
बलिदानीको कुरा गर्ने हो भने नेपालका प्रत्येक परिवर्तनका आन्दोलनमा दलितले समानुपातिक योगदान गरेका छन । राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको कुरा उठाइरहँदा केही बुद्धिजीवीको तर्क छ, काठमाडौंका दलितलाई आरक्षण दिनुभन्दा जुम्लाको गरिब बाहुनलाई दिनु उपयुक्त हुन्छ । कुरा ठीक छ तर काठमाडौंको दलितले छोएको जुम्लाको गरिब बाहुनले खाएको छ, खान सक्छ ? जुम्लाको बाहुनले चलाएको चिया पसल र काठमाडौंको दलितले चलाएको चिया पसल समान ढंगले चल्न सक्छ ? दलितलाई सधैं दलित बनाएर शोषण गर्न पल्केका सामन्ती सोचबाट ग्रसित महामानवहरू अझै पनि दलितलाई हेपेर, झुक्काउन सकिन्छ भन्ने सपनाबाट मुक्त हुने हो कि ?
सिरहामा डोम समुदायमाथि भएको दुव्र्यवहार र बबरमहलमा शान्तिपूर्ण आन्दोलनमाथि भएको निर्मम दमनपछि दलित समुदायको पक्षमा खुलेर बोल्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सिनेमाका महानायकदेखि नेपालका ठूला मिडियाका सम्पादकहरूले दलित आन्दोलनलाई साथ दिइरहेको देखिन्छ । यो साथ पटक–पटक आउँदैन त्यसैले यस्तो साथ पाइरहेको बेलामा आन्दोलनलाई बिनारुकावट निरन्तरता दिन आवश्यकता छ । आन्दोलन पटक–पटक गरिने चिज होइन । अब यस्तो आन्दोलन गरौं, जसले दलित समुदायलाई सधैं आन्दोलन गर्न नपरोस् । आन्दोलनको कुनै सीमा हँुदैन त्यसैले आन्दोलन आफ्नो बिन्दुमा नपुगेसम्म रोकिनु हँुदैन ।
आन्दोलनकै क्रममा पक्राउ परेका बागलुङका राजकुमार बस्याललाई प्रधानमन्त्री र गृहमन्त्रीले रिहा गर्न आग्रह गर्दा पनि त्यहाँको सीडीओ र डीएसपीले टेरेनन् । आफूमातहतका कर्मचारीलाई पनि तह लगाउन नसक्ने हुतिहाराहरूलाई लाज लाग्नुपर्ने हो । ती बाहुनवादी चरित्र भएका कर्मचारीलाई कारबाही गर्न योग्यता र क्षमता राख्न नसक्ने व्यक्ति पदमा बस्नुको कुनै तुक छैन । तसर्थ, आफूलाई असफल घोषणा गर्दै राजीनामा दिइयोस् ।
दस राजनीतिक दलसँग सम्बद्ध संयुक्त दलित राजनीतिक संघर्ष समिति र नागरिक समाजको यो आन्दोलनलाई अझै निरन्तरता दिनु आवश्यकता छ । आफूले अघि सारेको नौबुँदे माग संविधानमा समावेश गराए मात्र आन्दोलनको औचित्य र सान्दर्भिकता रहनेछ ।
–रामलाल राजवंशी
गुल्मी, हाल : कीर्तिपुर, काठमाडौं
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply