‘ठग’लाई मन्त्रीको संरक्षण
काठमाडौं । सहरी विकास मन्त्री डा.नारायण खड्काले संरक्षण दिँदा थामखर्क विमानस्थलको सुरक्षा भवनको ठेक्का पाएर समयमै काम सम्पन्न नगरी बदमासी गर्ने ठेकेदार दिनेश थापाले उन्मुक्ति पाउँदै आइरहेका छन् । खोटाङको सिम्पानी गाविसमा निर्माणको अन्तिम चरणमा रहेको उक्त विमानस्थलको सुरक्षा भवन बनाउने ठेक्का पाएका थापाविरुद्ध सोही विमानस्थलको काम समयमै नगरेको र अरू बदमासीहरूलाई लिएर उजुरी पर्दा पनि मन्त्री डा.खड्काले संरक्षण दिई उनलाई जोगाउने काम गरेका छन् । अहिले थामखर्क विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । ०५१ सालमा माधवकुमार नेपाल उपप्रधानमन्त्री हुँदा नेपालकै पहलमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीलाई आग्रह गरेर उक्त विमानस्थल निर्माणका लागि बजेट छुट्याइएको थियो । तत्कालीन एमाले सरकारले सडक सञ्जालले नछोएका जिल्लाहरूमा विमानस्थल निर्माण गर्ने योजनाअनुरूप नै बजेट छुट्याइएको थियो । करिब दुई दशकपछि अहिले उक्त विमानस्थल तयार हुँदैछ र अब कालोपत्र बिछ्याउन मात्र बाँकी रहेको छ ।
निर्माणाधीन अवस्थामै रहेको उक्त विमानस्थलको सुरक्षा भवन निर्माणका लागि दिनेश कन्स्ट्रक्सन प्रालिले ०६९ साल जेठमा ठेक्का हात पारेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ५६ लाखको योजना भए पनि उक्त कन्स्ट्रक्सनले ३५ लाख रुपियाँमै निर्माण गर्ने भनेर ठेक्का हात पारेको थियो । प्राधिकरणले टेन्डर निकालेपछि अनेक चलखेल गरी ठेक्का हात पारे पनि पहिलो किस्तास्वरूपको रकम बुझेपछि उक्त कन्स्ट्रक्सनका सञ्चालक थापा फरार भए । पहिलो किस्तास्वरूपको रकम बुझेको करिब अढाई वर्षसम्म थापा फरार रहेपछि सुरक्षा भवन निर्माण हुने त कुरै भएन, प्राधिकरणलाई पनि तनावको विषय बन्यो । विमानस्थल निर्माण क्ष्ँेत्र खोटाङको सिम्पानी नै घर भएका थापाले उक्त ठाउँमा गएर भवन निर्माणको काम गर्न स्थानीयहरूले बाधा, व्यवधान गर्ने भएपछि ०७१ साल मंसिरमा स्थानीय केशवप्रसाद न्यौपानेसँग सम्झौता गरी, निर्माण कार्य गर्ने अख्तियारीसमेत न्यौपानेलाई सुम्पिन पुगे । अढाई वर्षदेखि रोकिएको काम न्यौपानेले थालेपछि प्रँधिकरणले पनि दोस्रो किस्ता निकासा गरिदियो । दोस्रो किस्ताको रकम कामदारहरूलाई वितरण गरे पनि तेस्रो किस्ताको रकम काम गरेबापत न्यौपानेले पाउनुपर्नेमा थापाले बदमासी गर्न सुरु गरे । न्यौपानेले पाउनुपर्ने करिब ९ लाख रुपियाँ थापाले दिन आनाकानी गर्न थालेपछि थापाले बदमासी गरेको ठहर गर्दै न्यौपानेले काठमाडौं र खोटाङको जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरे । दुइटै जिल्ला प्रशासन कार्यालयमा थापाविरुद्ध ठगीको उजुरी परेपछि प्राधिकरणले पनि उनलाई कालोसूचीमा राख्ने तयारी गरिरहेको बुझिएको छ ।
यसैबीच, ठेकेदार थापालाई मन्त्री डा.खड्काले पूरै संरक्षण दिइरहेको कुरा खोटाङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रीले फोन गरेर उक्त मुद्दा निस्क्रिय बनाउन दबाब दिएपछि पुष्टि हुन पुगेको हो । आफूविरुद्ध ठगी मुद्दा दायर भएपछि थापाले मन्त्री डा.खड्कालाई भेटेर आफ्नो बताऊ गरिदिन आग्रह गरेका थिए । आफ्नै छिमेकी जिल्लाबासीका साथै नेपाली कांग्रेसकै कार्यकर्ता भएको हैसियतले थापालाई बचाउ गर्न अहिले मन्त्री डा.खड्का दिलोज्यान दिएर लागिपरेको बुझिएको छ । तर, न्यौपानेले पनि गृहमन्त्री वामदेव गौतम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पालाई भेटी थापाको सबै बदमासी बताएपछि गृहमन्त्रीले थापामाथि कारबाही चलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको बुझिएको छ । तर, थापा भने मन्त्री डा.खड्काको आडभरोसा पाएर पक्राउ पुर्जी जारी भए पनि खुलेआम हिँडिरहेका छन् । न्यौपानेलाई ठग्ने थापाविरुद्ध यसअघि पनि दुई जनाले आफूहरूलाई थापाले ठगी गरेकोमा उजुरी परिसकेको बताइन्छ । थापाले खोटाङका लेखनाथ घिमिरेसँग साढे २ लाख र तनहुँकी हरिमाया मल्लसँग २ लाख लिएर फिर्ता नगरेको हुँदा उनीहरूले ठगीको आरोप लगाउँदै उजुरी दिएका थिए ।
यसैगरी, अहिले थामखर्क विमानस्थलको कालोपत्रे गर्नका लागि सरकारले ९ करोड बजेट छुट्याएको छ । उक्त विमानस्थल कालोपत्रे गर्ने ठेक्का आफ्नो टिमलाई दिलाउन अहिले खोटाङकै केही नेताहरू लागिपरेका छन् । मोटो कमिसन आउने लोभमा आफ्ना निकटस्थ ठेकेदारहरूलाई कालोपत्रे निर्माणको ठेक्का दिलाउन ती नेताहरू लागिपरेका हुन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply