बेग्लै परिवेशका लेखन
प्रत्येक समाजका नारीहरूले भोग्ने अनुभूति फरक होलान् । तर, ती फरक अनुभूतिका बीच पनि उनीहरूका कतिपय पीडा भने समान हुन्छन् । अरू धार्मिक समुदायभन्दा मुस्लिम धर्म मान्नेहरूका समाजभित्र भने नारीहरूले स्वतन्त्र अनुभूति सायदै सँगाल्न पाउलान् । मुस्लिम समाजभित्र व्याप्त धार्मिक कट्टरताले नारीहरूलाई स्वतन्त्र ढंगले विचरण गर्ने छुट प्रदान गरेको छैन । यो वर्तमान विश्वमा मुस्लिम समाजभित्रको यथार्थ तस्बिर हो ।
पाकिस्तानका कथाकार जाहिदा हिनाको एउटा कथा ‘नाकुजा आबाद’ले मुस्लिम समाज र संस्कृतिभित्र व्याप्त पीडा र छट्पटीको सिंगो तस्बिर उतारेको छ । एउटा बन्द समाजभित्र नारीहरूको उपस्थिति, आवाज र स्वतन्त्र विचारको हिस्सा कति हुन्छ, त्यही पक्षलाई उक्त कथाले उजिल्याउन चाहेको छ । पाकिस्तानका प्रख्यात कथासर्जक हिनाको शक्तिशाली विम्ब, कथ्यले भरिपूर्ण कथाहरूलाई नेपाली पाठकसामु परिचित गराउने हेतुले नारी स्रष्टा गायत्री विष्टले नेपाली भाषामा अनुवाद गरेकी छिन् । र, हिनाका कथाहरूलाई ‘आँखाको निशाना’ नामक कृतिभित्र अटाएकी छिन् ।
‘पुतलीहरूको खोजी’ स्वतन्त्रता प्राप्तिका लागि जीवन आहूति दिने एउटी साहसी, निडर र अधिक स्वतन्त्रताप्रेमि महिलाको कथा हो । स्वतन्त्रता चाहने एउटी महिलालाई आफ्नो एउटा बच्चासहित जेलमा राखिएको हुन्छ । माफी माग्दा ती महिलालाई फाँसीमा नचढाइने सम्भावना रहे पनि उनी आफ्नो जीवनभन्दा पनि बहुमूल्य स्वतन्त्रतालाई ठान्छिन् । तर, आफूसँगै रहेकी बच्चालाई भने फाँसीको तख्तामा चढ्न जानुअघि उनी सान्त्वना दिँदै भन्छिन्– ‘म पुतलीहरू खोज्न धेरै टाढा जानु पर्नेछ । म आउँदिन, तिमी मामासँग जाऊ ।’ मूलत: यो कथाले स्वतन्त्रता आन्दोलनका बेला महिलाहरूमा व्याप्त जागरुकता, समृद्ध चेतना र साहसको उत्कृष्ट परिचय दिन्छ ।
मानिसहरूबीच जति मीठो र सौहार्द सम्बन्ध हुन्छन्, ती सम्बन्धहरूमा उत्तिकै कटुता, तनाव र तिक्तता पनि भरिएका हुन्छन् । वर्षौं पहिलेदेखिका असल र उच्च सम्बन्धहरूलाई टुटाउन सानोभन्दा सानो कारणले नै भूमिका खेलिरहेको हुन्छ । ‘पीडाहरूको घरमा’ मा कथाले मानिस–मानिसबीचको सम्बन्ध र त्यसमा उत्पन्न दरारले निम्त्याउने सामाजिक, पारिवारिक समस्यालाई उठाउन चाहेको छ । यो प्राय: हरेकजसो परिवारभित्र उत्पन्न हुने समस्या हो र कथाकारले त्यसैलाई इंगित गर्न चाहेकी छिन् । ‘मीठो पानीको खोजी’ एउटी नारीको अन्तरआत्माको आवाज हो । हरेक मानिसले तिर्खा लाग्दा पानी पिउने गर्दछन्, पानी तिर्खालाई मेट्ने आधार हो । तर, मीठो पानी पिउने परिकल्पना थोरै मानिसहरूमा हुन्छ । यो कथाले कथातत्वलाई भन्दा पनि कवितात्मक भाव र प्रस्तुतिलाई बढी प्रश्रय दिएको छ र काव्यिक क्षमताले भरिपूर्ण मानिसहरूको हृदयलाई छाम्ने कथाको श्रेणीमा उभिएको छ ।
‘सातौं रात’ प्रेमको संसारमा आकण्ठ डुबेकी एक युवतीको कथा बन्न पुगेको छ । प्रेमले मानिसहरूबीचको भावना, सम्बन्ध र अपनत्वलाई कस्ने मात्र होइन, खल्बल्याउने पनि गर्दछ । प्रेमको सुनौला क्षितिजमा हराउनेहरू संसारका सबै कुरा बिर्सेर आफ्नै कल्पनाको उडानमा निमग्न हुन्छन् । मूलत: यो कथाले कवितात्मक शैलीलाई पछ्याएको छ र प्रेमको सर्वोच्च उडान भर्नेहरूप्रति समर्पित छ ।
हरेक मानिसमा द्वैध चरित्र मौजुद हुन्छन् । मानिसहरू, बाह्य रूपमा जे–जस्तो आवृत्तिमा प्रकट भए पनि उसको भित्री क्रियाकलाप भने अर्कै पनि हुन सक्छ । अर्थात्, बाह्य रूपमा सभ्य, सौहार्द र असल ठानिएका मानिसहरू भित्री रूपमा भने पूरै कुटिल, आक्रामक र असभ्य पनि हुन्छन् भन्ने दृष्टान्त ‘हनु नहुनुको पीडा’ कथाले व्यक्त गरेको छ । मानिसको भित्री हृदयमा कोही पनि पस्न सक्दैनन् । तर, पस्दा विचित्रका रूपहरू प्रकट हुन्छन् । एउटी नारीले आफूले वर्षौदेखि संगत गर्दै आएका एउटा पुरुषमा देखिएको दोहोरो चरित्रलाई अत्यन्तै कलात्मक रूपले यो कथामार्फत् पस्किन चाहेका छन् ।
मूलभूत रूपमा हिनाका कथाहरू मुस्लिम समाजभित्र नारीहरूले झेल्नुपरेका सानादेखि ठूला समस्याहरूको विरूप तस्बिर देखाउन सक्षम ठहरिएका छन् । यसको साथै, कुनै पनि समाजभित्र नारीभित्र गुम्सिएर बसेका पीडाका तहहरू खोतल्न पनि उनका कथाहरू सफल भएका छन् । नारीवादी दृष्टिकोणको ऐनामा निर्मित उनका कथाहरूले परिवर्तनको चाह भने कमै मात्रामा राखेका देखिन्छन् । तथापि, कतिपय कथाहरूले भने विद्रोहको सूक्ष्म स्वर भने ओकलेका छन् । विष्टले बेग्लै समाज र परिवेशका समस्या र अवस्थालाई नेपालीपन दिन यथेष्ट प्रयत्न गरेका छन् । विष्टको प्रयास स्तुत्य छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply