निगम सुधारको यस्तो छ योजनो
काठमाडौं । कुनै पनि संस्थालाई सुधार गर्न स्पष्ट दृष्टिकोण, व्यवस्थापकीय कौशल र नेतृत्व क्षमता भएको व्यक्तिको आवश्यकता पर्दछ । अहिले नेपाल वायुसेवा निगमले त्यस्तै नेतृत्व पाएको छ । तेस्रो पटक निगमको नेतृत्व सम्हाल्न पुगेका महाप्रबन्धक सुगतरत्न कंसाकारले केही महत्वाकांक्षी योजना अघि सार्दै निगमलाई सुधार गर्न चाहेका छन् । महत्वाकांक्षी योजना र जोखिम लिन चाहने स्वभावका उनले चालु हालतको २ वटा बोइङ बेच्ने र त्यसलाई विस्थापित गर्दै फ्रान्सेली एयरबस भित्र्याउने योजना अघि सारेका छन् ।
जहाज थप्ने योजना
अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जेट विमान छन् । त्यसमध्ये २ वटा ट्विनटर र २ वटा पछिल्लो पटक चीनले दिएको विमान हो । निगमको ३० बर्से अवधिमा बजार विस्तार भए पनि विमान भने थपिएका छैनन् । बजार विस्तारलगायत सही नियत राखेर विमान खरिद गर्ने योजना अघि सार्दा पनि माफियागिरीको हात रहेको देख्ने नियतका कारण अहिलेसम्म विमान खरिद गर्ने कार्य सफल हुन नसकेको महाप्रबन्धक कंसाकार बताउछन् । तसर्थ, निगमलाई जसरी भए पनि उभो लगाउने उद्देश्यले तेस्रो पटक नेतृत्व सम्हाल्न आएका उनले जसरी पनि जहाज थपेरै छोड्ने योजना बनाएका छन् । अहिले घरेलु र अन्तर्राष्ट्रिय दुवै सेवामा पहिलेभन्दा निकै बजार बढेको निगमको दाबी छ । त्यसो त विश्वका ९५ प्रतिशत वायुसेवाको बजार अन्य मुलुकको हातमा र ५ प्रतिशत बजार मात्र निगमले ओगटेको पाइन्छ ।
अन्यथा ‘एब्रो’को हालत
अहिले २ प्रकारका जेट विमान प्रचलनमा छ । त्यसमध्ये एकथरी वाइड बडी र अर्को न्यारो बडी हो । न्यारो बडीमा एक सय ५० देखि ६० सिट हुन्छ भने साढे ४ घन्टा उड्ने क्षमता राख्दछ । त्यस्तै वाइड बडीमा दुई सय ५० देखि ३ सयसम्म सिट क्षमता हुन्छ भने १० देखि ११ घन्टा उड्ने क्षमता राख्दछ । तसर्थ, महाप्रबन्धक कंसाकारले तत्काल २ वर्षभित्र २ वटा वाइड बडी भित्र्याउने र त्यसपछि घरेलु उडानका लागि २ वटा न्यारो बडी भित्र्याउने योजना अघि सारेका छन् । ‘जतिसक्दो चाँडो वाइड बडी भित्र्याउने योजना रहेको छ ।’ कंशाकारले बताए । अहिलेको बोइङ २९ वर्ष पुरानो भएकाले मर्मत र तेल खर्च बढी लाग्ने बताइएको छ । सञ्चालन खर्च बढी लाग्ने भएकाले सक्दो छिटो विस्थापित गर्न पाए चालु हालतमा रहेको विमान बेचेरै पनि केही रकम आर्जन गर्न सकिने उनको विश्वास छ– ‘केही समयपछि चल्न छोड्छ । त्यसपछि बेच्दा त कवाडीकै भाउमा बेच्नुपर्छ ।’ उनले निगमले ६ वर्षपहिले एब्रो विमान टुक्रा–टुक्रा पारेर कवाडीको भाउमा बेचेको स्मरण गर्दै भने, ‘अन्यथा त्यस्तै हालत हुन्छ ।’ ग्लोबल टेन्डर गरेर जसले एक रुपियाँ भए पनि बढी दिन्छ, उसैलाई बेच्ने उनले बताए ।
केही सकारात्मक प्रभाव
निगममा उनी आएसँगै कर्मचारीहरूको मनोबल उच्च भएको र कर्मचारीहरूमा सकारात्मक प्रभाव परेको बताइन्छ । यसअघि हिसिला यमी पर्यटन मन्त्री हुँदा महाप्रबन्धक र शरदसिंह भण्डारी पर्यटन मन्त्री हुँदा अध्यक्ष भइसकेका उनी फेरि महाप्रबन्धक भएको ३ महिना पूरा भएको छ । यस अवधिमा कंसाकारले केही आशा जगाउनुका साथै काम गर्ने जाँगर फैलाएको चर्चा अहिले कर्मचारी वृत्तमा छ । उनले लघु व्यवस्थापन तहमा केही जनगुनासो रहेको बुझेरै त्यसमा सुधारको प्रयत्न गरिरहेका छन् । एयर होस्टेजको मुस्कान भएन, समयमै जहाज उडेन, कार्यमा तत्परता देखिएन भन्नेलगायतका गुनासो आएपछि उनले त्यसलाई सम्बोधन गर्न अभियान नै सुरु गरेका छन् । उनले कर्मचारीहरूलाई विश्वासमा लिएर काम गरिरहेका छन् भने जहाज निर्धारित समयमा नै उडाएर निगमको गुमेको साख फिर्ता गराउने अभियानमा लागेका छन् । उनले काममा तत्परता र विकासमा पछि परेको भन्दै निगममा एउटा नारा नै सिर्जना गरी त्यसलाई मूलमन्त्र बनाएर काम गर्न हरेक कर्मचारीको टेबुलमा उक्त नारा लेखाएका छन् । अंग्रेजीमा सेन्स अफ अर्जेन्सी अर्थात ‘अविलम्बिताको बोध’ लेखिएको नाराले सबैलाई काममा गम्भीर बनाएको उनी बताउँछन् ।
ग्राउन्ड ह्यान्डलिङ अरूलाई नदिइने
निगमको आम्दानीको मुख्य स्रोत ग्राउन्ड ह्यान्डलिङको काम निगमबाट फुत्काएर अन्य निजी क्षेत्रलाई दिन लागिएको भन्दै कर्मचारी संघ–सगठनले केही अघि विरोध गरेका थिए । आफ्नो पुरानो साधन स्रोत उपयोग गरेर बिनालगानी राम्रो आय आर्जन भइरहेको सो सेवा निगमबाट फुत्काउन केही माफियाहरू लागेको उनीहरूको आरोप थियो । उनीहरूले पूर्व पर्यटनमन्त्री दीपकचन्द्र अमात्य र नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारी समेत यस विषयमा सकारात्मक बनेर प्रक्रिया सुरु भइसकेको थियो । बीचमा रोकिएको काम निगमसँग नै राख्नुपर्ने कंसाकारको माग छ । ‘निगमले गर्न थालेको ४० वर्ष भइसक्यो, नयाँले एकैचोटि लिनका लागि पनि कम्तीमा २ अर्बको उपकरण चाहिन्छ, त्यो हामीसँग बाहेक अरूसँग एकैचोटि हुने कुरा भएन ।’ उनले भने–‘त्यसैले पनि कुनै हालतमा फुत्किँदैन ।’
त्यसो त, भूकम्पपछि विदेशी पर्यटकको नेपाल आगमनको कमीले गर्दा निगम केही घाटामा गए पनि त्यसअघि भने नाफामै रहेको तथ्यांकले देखाएको छ । नेपाल हवाई भाडाका दृष्टिकोणले संसारकै महँगो गन्तव्य भएको छ । त्यस कारण पनि पर्यटक बढ्न नसकेको कंसाकार बताउँछन् । सबै राष्ट्रसम्म उडानको पहुँच नेपालले स्थापित गर्न नसकेको तथा अन्य कम्पनीहरूले अन्य मुलुकमा भन्दा बढी नेपाल आउन भाडादर कायम गरेका कारण पनि पर्यटक आउने क्रम कम भएको उनले बताए । अमेरिका, जापान, चीनभन्दा नेपाल आउन ४० देखि ५० प्रतिशत महँगो पर्ने उनी बताउँछन् ।
अन्यथा एयरबस नै चाहन्थे सुगत
निगमको नेतृत्व सम्हाल्न पहिलोचोटि आएपछि कंसाकारले विमान थप्ने योजना त बनाए तर बोइङ वा एयरबस के किन्ने भन्ने सवालमा ठूलै विवाद भयो । केहीले अमेरिकी कम्पनीको बोइङको पक्ष लिए भने केहीले फ्रान्सेली कम्पनी एयरबसको । निगमका कर्मचारीसँग आन्तरिक रूपमा छलफल गर्दा ३० वर्षदेखि बोइङ नै चलाइरहेकाले कर्मचारीहरू त्यसमा अभ्यस्त भएको भन्दै कर्मचारीहरूले बोइङ नै ल्याउन सुझाव दिए । तिनको सुझाव अनुसार कंसाकारले टेन्डर नगरी सिधै बोइङ किन्ने र त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गरिदिनुपर्ने प्रस्ताव तत्कालीन पर्यटनमन्त्री हिसिला यमीसमक्ष राखे । ६ वर्षअघि कंसाकारले हिसिलासँग सो प्रस्ताव राख्दा उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रस्ताव राखेकी थिइन् । प्रधानमन्त्रीले प्रचलित मापदण्ड मिचेर सिधै एउटा कम्पनीसँग खरिद गर्ने गरी निर्णय गर्न नसकिने जवाफ दिएका थिए । त्यसपछि टेन्डरमा जाँदा जसले सस्तो दर पेस गर्यो, उसले नै विमान सप्लाई गरेको उनी बताँउछन् । आफूलाई एयरबसको मान्छे भनेकोमा उनको गुनासो छ । अन्तत: विभिन्न कारणले ढिलासुस्ती भएर पनि निगमले एयरबसकै विमान भित्र्याएको र ३ वर्ष ढिलो हँुदा बजार मूल्य पनि ३० प्रतिशत बढेको उनले बताए ।
सञ्चयकोष २२ अर्ब दिन तयार
निगमले एयरबस किन्दा पनि कर्मचारी सञ्चय कोषसँग १० अर्ब ऋण लिएर किनेको थियो । हाल सावाँ त परै जाओस्, ब्याज तिर्न पनि निगमलाई हम्मेहम्मे परेको छ । ११ प्रतिशत ब्याज अहिले ७ प्रतिशतमा झरेपछि केही सहज भएको कंसाकार बताउछन् । ‘सञ्चयकोषले अझै पनि विमान किन्न ऋण दिने संकेत गरेको छ । २०–२२ अर्ब उसका लागि ठूलो कुरा होइन तर हामी सरकारबाटै लिन चाहन्छौं’– उनले भने– ‘राष्टिय ध्वजाबाहकलाई हरेक देशले अनुदान दिएरै बचाएको पाइन्छ ।’ भारतमा पनि डुब्न लागेको एयर इन्डियालाई भारत सरकारले ७ खर्ब अनुदान दिएर बचाएको दृष्टान्त कंसाकारले दिए । जापानमा पनि त्यसैगरी सहयोग भएको उनी बताउँछन् ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply