सरकारले खुट्टा कमाउनु भएन
गत साउन २३ गते अबेर राति चार राजनीतिक दलका शीर्ष नेताहरूले गरेको ६ प्रदेशको प्रान्तीय संरचनामा व्यापक विरोध भएपछि र भदौ ४ गते ७ प्रदेश बनाउने निर्णय भएपछि उत्पन्न असन्तोषले अहिलेसम्म १० जना सुरक्षाकर्मी र १९ जना सर्वसाधारणको ज्यान गइसकेको छ । जातिवादी, विखण्डनकारी र धार्मिक अतिरञ्जनाको दुस्प्रयास अझै जारी नै छ । भदौ ७ गते कैलालीमा एसएसपीसहित ७ जना प्रहरीको आन्दोलनको नाममा नृशंस हत्या भयो ।
कैलालीलगायत देशका विभिन्न भागका दु:खद् घटनाहरू राजनीतिको नाममा भएका आपराधिक क्रियाकलाप हुन् । यसमा सरकार र दलहरू गम्भीर हुन जरुरी छ । केही दिनपहिले केही राष्ट्रघातीहरू कैलाली टीकापुर पुगी स्थानीयलाई हातहतियार बोकेर पहाडियाहरूलाई लखेट्नुपर्छ भन्दै हिंसात्मक क्रियाकलापमा उत्रिन लगाए । त्यसै अनुसार उक्त घटना भयो ।
हाम्रा नेताहरू पूर्वीय दर्शन र परम्पराको चर्चा एवम् प्रशंसा गर्दछन् तर त्यही पूर्वीय दर्शन र परम्पराबाट भने शिक्षा लिँदैनन् । राज्य पुन:संरचनामा प्रान्त र प्रदेशको संख्या र सीमांकन जस्तो दूरगामी र अत्यधिक जनचासोको विषयमा आवश्यक सावधानी, सतर्कता र पूर्वतयारी नगरिँदा राष्ट्रसेवक र जनताको अनाहकमा ज्यान गयो । पूर्वीय वेद इतिहासमा चर्चा गरिएको छ, जनकपुर नेपालका राजा जनकले धनुष यज्ञको आयोजना गर्दा सीताको विवाह शिव धनुषमा ताँदो चढाउन सक्नेलाई गरिदिने घोषणा भएको थियो । उक्त यज्ञमा धेरै वीरहरूले ताँदो चढाउन त परै जाओस्, उचाल्न पनि नसकेको धनुषलाई अन्त्यमा पालो आएका श्रीरामले उचाल्नुअघि नै भाइ लक्ष्मणलाई परिस्थिति सम्हाल्ने जिम्मा लगाएका थिए । श्रीरामले धनुष उचालेर तीर चढाउनुअघि लक्ष्मणले एक हातले आकाश र अर्को हातले पृथ्वीलाई थामेका थिए । यो आकाश र पृथ्वीलाई सम्हाल्ने सांकेतिक भनाइ हुनसक्छ तर के हाम्रा नेताहरू र सरकारले उत्पन्न हुने सम्भावित गलत परिणाम रोक्ने तयारी गरे ? आफ्नो पार्टी, पार्टीका नेता कार्यकर्तालाई जिम्मा दिए ? दिएनन् । बरु उल्टै आफ्नो पार्टीका नेता, कार्यकर्ता र सभासद्हरूको समेत भावनाविपरीत निर्णय गरेर परिस्थितिलाई जटिल बनाउने काम भयो ।
नयाँ संविधान जारी हुने र प्रान्त र प्रदेशहरूको गठन हुने सम्भावना देखेपछि जनकपुरमा श्रीरामले शिवको पुरानो धनुष भाँचेको कम्पनबाट क्रोधित भएका परशुराम जस्तै केही दलहरू र नेताहरू जनता भड्काउने कुकृत्यमा लागेका छन् । तर, अहिलेका परशुरामहरूलाई थाहा हुनुपर्दछ संविधानसभाको दोस्रो निर्वाचनबाट जनताले अब तिम्रो भूमिका र शक्ति समाप्त गरिसकेको छ । जसरी रामायणकालीन र अहिलेसम्म पनि अष्ठ चिरञ्जीवी कहलिएका परशुरामको फर्सा (बन्चरो)ले लक्ष्मणको टाउको काट्न सकेन । त्यसैगरी, तिमीहरूको भूमिका र शक्ति समाप्त भइसकेको छ । केही बाह्य आडभरोसामा केही दिन जनता मारे पनि अब यस्ता राष्ट्रघातीहरूलाई कारबाही गर्न सरकार डराउनु हुँदैन । कार्यपालिका अर्थात् सरकार आफूले गर्नुपर्ने कर्तव्यलाई संसद्, संविधानसभामा जाहेरी उजुरी गर्न पुग्नु जनभावनाको सम्मान होइन । राष्ट्र विप्लवको धम्की दिने, सामाजिक सद्भाव खल्बल्याउने र जनतामा उत्तेजना फैलाउने जो सुकैलाई सरकारले नै कारवाही गर्नुपर्दछ । दोस्रो संविधानसभा निर्वाचनले जनभावना अनुसार गठित संसद् र नेपाली जनता सरकारको साथमा रहेको छ । तर, दृढतापूर्वक उभिनु सरकारको कर्तव्य हो ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply