नमुना बन्दैछ राहदानी विभाग
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयको परिसरमा अवस्थित राहदानी विभागमा केही वर्षअघि राहदानी लिने र फर्म दर्ता गराउनेहरूको पंक्ति धेरै लामो देखिन्थ्यो । चर्को घाममा सेवाग्राहीहरू ६–७ घन्टासम्म लाइन बसेर फर्म दर्ता गराउँथे । दिनभरि लाइन बस्न फुर्सद नपाउनेहरू बिचौलियाको सहारामा सेवा लिन्थे र विभागका कर्मचारीलाई आर्थिक सहयोग गरेर काम गराउँथे ।
तर, एक वर्षयता त्यहाँको परिदृश्य पूरै बदलिएको छ । अचेल त्यहाँ कुनै भीड देखिँदैनन् र काम लिएर जानेहरू पनि १०–१५ मिनेटमै काम सम्पन्न गराउँछन् । राहदानी समयमा निकाल्नका लागि ठूला–ठूला नेतादेखि मन्त्रीको शक्ति लगाउनुपर्छ र घुस खुवाउनुपर्छ भन्ने आम जनतामा परिसकेको धारणा क्रमिक रूपमा बदलिएको छ । कागजात पुर्याएर गएपछि अहिले सर्वसाधारणले बिनाझन्झट राहदानी पाउन थालेका छन् । उत्तिकै संख्यामा रहेका जनशक्तिलाई उत्प्रेरणा जगाएर व्यवस्थित ढंगले काममा परिचालन गर्दा यो सम्भव भएको राहदानी विभागका महानिर्देशक लोकबहादुर थापा बताउँछन् । उनले सरकारले सबै जनतालाई सेवा प्रवाह दिने सरकारी कार्यालयमध्ये नमुना कार्यालयका रूपमा विभागलाई विकास गर्न लागेको समेत बताए । त्यसका लागि आफूले सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुका साथै सर्वसाधारणलाई पर्याप्त रूपमा सुसूचित गरी छरितो रूपमा सेवा प्रवाह गरेको बताए ।
सूचना सम्प्रेषणमा विषेश ध्यान
विभाग परिसरमा अहिले ठूला आकारका विद्युतीय बोर्ड राखिएको छ । त्यसबाट सम्पूर्ण सूचनाहरू पारदर्शी तरिकाले दिइने गरिएको छ । राहदानी बनाउनका लागि के–के कागजात चाहिने, कति बेला सम्पर्क राख्ने, कुन कोठामा सम्पर्क राख्नेलगायत पूर्ण जानकारी उक्त सूचनाबाट पाइन्छ । त्यतिमात्र होइन, कतिबेला कार्यालय खुल्छ, कतिबेला टोकन बाँडिन्छ र कतिबेला सेवाग्राही आउने भन्ने सूचना पनि त्यसैमा छ । भित्र र बाहिर गरी ३ वटा विद्युतीय बोर्ड रहेका छन् । वेभसाइट, फेसबुक र ट्विटरबाट सूचना प्रवाह हरेक क्षणमा भइरहेको पाइन्छ । ‘यसअघि पासपोर्टको बारेमा राम्रोसँग सूचना नै नपाएर यो लिन त साह्रै कठिन कार्य हो भन्ने भ्रम परेको थियो । हामीले त्यस भ्रमलाई चिर्न सफल भएका छौं । सूचना सबै माध्यमबाट सम्प्रेषण गरिदिएर कौतुहल कम गरिदिएका छौं ।’ महानिर्देशक थापाले भने, ‘जसबाट सेवाग्राहीलाई निकै सहज भएको अनुभव हामीले गरेका छौं ।’
हटे बिचौलिया
जब सेवामा सुधार र विश्वसनियता हुन्छ, तब बिचौलिया आफैंं घट्छन् । महानिर्देशक थापा पनि सेवामा सुधार गरेरै बिचौलिया नियन्त्रण गरिएको बताउँछन् । ‘सेवाग्राहीले अनुमानयोग्य किसिमले मैले सात दिनमा राहदानी पाउँछु भन्ने ढुक्क हुन्छन् भने किन बिचौलियालाई घुस खुवाउनु ?’
हिजोका दिनमा सरदर ७ घन्टा लाइन बस्नुपर्ने कार्यालयमा छिटो, छरितोका लागि घुसको चलखेल हुने भए पनि अब भने ७ मिनेटमा काम सकिने गरेको छ । त्यसले गर्दा कसैले पनि बिचौलीयाको सहारा लिनु नपर्ने उनी बताउँछन् । त्यति मात्र होइन, उनले सूचना बोर्डमा सेवाग्राहीलाई कुनै समस्या परे सिधै महानिर्देशक र निर्देशकहरूको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने भन्दै मोबाइल नम्बरसमेत खुला गरिदिएका छन् । विभागमा सुधार गरेपछि गलत नियतका मान्छेहरू आफैं पाखा लागेको महानिर्देशक थापाको बुझाइ छ । उनले भने, ‘छिटो सेवा दिएर बिचौलिया हटाइयो भने अर्को चाहिँ सही सूचना सर्वसुलभ तुल्याएर पनि बिचौलिया हटाइयो । जो यस कार्यमा संलग्न थिए, उनीहरूलाई हामीले कारबाही पनि गर्यौं ।’ विगतमा कर्मचारीको मिलेमतोमा पनि बिचौलियाले प्रश्रय पाएको गुनासो आउँथ्यो । तर, अहिले उनले कडाइ गरेपछि विभाग बिचौलिया निषेधित क्षेत्र बन्नपुगेको छ । आन्तरिक नियन्त्रणलाई चुस्त बनाएर पनि सुधारको जग बसालेको थापाले सुनाए । भन्छन्, ‘कर्मचारीले आचारसंहिताविपरीत कार्य गर्छ भने ऊ कारबाहीको भागिदार बन्छ । आचारसंहिता अहिले कडाइका साथ निगरानी हुन्छ ।’
विगतमा ‘आफन्तको’ भन्दै एउटै व्यक्तिले दर्जनौंको राहदानी दर्ता गर्ने र बुझ्ने चलन थियो । त्यसले गर्दा दलालीकरणले प्रश्रय पाए पनि अहिले व्यक्ति आफैं अनिवार्य उपस्थित हुनुपर्ने नियम रहेको छ । यस्तो नियम भएपछि अर्काको फर्म बोकेर बिचौलिया आउने क्रम रोकिएको उनको अनुभव छ । ‘वृद्ध र बच्चालाई छुट छ । त्यसबाहेक परिवारकै सदस्यको छ भने पनि एउटाको राहदानी फर्म अर्कोले दर्ता गर्न र राहदानी लिन मिल्दैन’– उनले भने ।
एसएमएस प्रणाली प्रभावकारी
पहिले फर्म, फोटो भरेर बुझाँउदा केही बिग्रिएको रहेछ भने पासपोर्ट लिन आउँदा मात्र थाहा पाइन्थ्यो । तर, अहिले एसएमएसमार्फत सेवाग्राहीले तत्काल खबर पाउन सक्ने प्रणाली रहेको छ । जिल्ला प्रशासनबाट प्राप्त भएको फर्म पनि प्राप्त भएको २–३ दिनमै निरूपण हुन थालेको छ । ‘तपाईले जिल्ला प्रशासन कार्यालयमार्फत दिएको आवेदन हामीकहाँ प्राप्त भयो, तपाईको यो कागजात नमिलेकाले त्यहाँ सम्पर्क राख्नुहोला भनेर एसएमएस गरिदिन्छौं । त्यही सूचना जिल्ला प्रशासनमा फ्याक्स गरिदिन्छौं’– उनले भने– ‘यसले पनि काम छिटो हुनथालेको छ र सर्वसाधारण अलमलिनु परेको छैन ।’त्यति मात्र होइन, त्यही सूचना फेसबुक र ट्विटरमा जान्छ । वेभसाइटदेखि सबैमा अपडेट हुन्छ । गुनासो सुन्न र नबुझेको जानकारी लिनका लागि एउटा छुट्टै कोठाको व्यवस्थासमेत गरिएको छ ।
हस्तलिखित पूर्णतया विस्थापित हुँदै
हस्तलिखित राहदानी आगामी नोभेम्बर २४ बाट पूर्णतया विस्थापित हँुदैछ । मंसिर ८ सम्ममा पूर्णतया विस्थापित हुन आफैंमा चुनौतीपूर्ण रहे पनि आफूहरू त्यसमा लागिरहेको उनी बताउँछन् । लाखौं हस्तलिखित राहदानी नेपालमा होइन, विदेशमा रहेको अनुमान छ । विभागले आगामी अक्टोबरबाट १० वटा कूटनीतिक नियोगबाट अनलाइनबाटै राहदानी लिन फर्म भर्न सकिने व्यवस्था गर्न लागेको छ । धेरै नेपालीहरू रहेका विदेशस्थित मिसनबाट यो क्रम सुरुआत हुने महानिर्देशक थापाले बताए । बाँकी हस्तिलिखितलाई एमआरपीमा बदल्न आफूहरू सक्षम रहे पनि सबैले समय छँदै विभागमा सम्पर्क राख्नुपर्ने उनले बताए ।
विगत २ वर्षको तथ्यांकमा १४ लाखले राहदानी लिएका छन् । अहिलेसम्म पाँच वर्षको अवधिमा ३७ लाख वितरण गरिएको छ । पछिल्लो अवधिमा तराई बन्दको कारणले भने राहदानी लिनेहरूको अनुपात केही घटेको छ । ‘तर अहिले पनि कुनै दिन २५ सय हुन्छ त कुनै दिन ५२ सय हुन्छ । हामीले पहिलेजस्तो ल्याएर काम पेन्डिङ राख्दैनौं । आजको आजै, भोलिको भोलि नै कार्यान्वयनमा जान्छ । हरेक फर्म उत्पादनमा लगिहाल्छौं’– उनले भने, ‘त्यसो गर्दा राहदानी बनाउने क्रम बढिरहेको छ ।’अहिले प्रवाहको हिसाबले राहदानीमा हरेक दिन ६ हजार भन्दा बढीको आवेदन आउला भन्ने विभागको अनुमान थियो । वैदेशिक रोजगार क्षेत्रको हडतालले पनि केही आएको उनले बताए । विभागसँग दैनिक ६ हजारभन्दा बढी राहदानी छाप्नसक्ने क्षमता छ ।
नमुना कार्यालय बन्दै
सरकारको जनसेवा सुविधामध्ये परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागलाई नमुनाकै रूपमा विकास गर्ने योजना रहेको बताइन्छ । आफूहरू त्यसरी नै क्रियाशील भएको महानिर्देशक थापाले जानकारी दिए । विभाग अहिले बिहान ७ बजेदेखि ५ बजेसम्म चालू हुन्छ । बिहान ६ बजे नै खुल्छ । साढे छ बजे टोकन बाँडिन्छ । र, सात बजेबाट त सेवा नै सुरु हुन्छ । पहिले पासपोर्ट लिन बोलाएको दिनमा नगए अर्को हप्ता मात्र दिने चलन थियो । त्यसले गर्दा विभागमा अनावश्यक भीड लाग्थ्यो । ‘त्यसलाई हामीले विश्लेषण गरेर बिहान सात बजेबाट पाँच बजेभित्रमा वितरण पनि हुने, जहिलेदेखिका पासपोर्ट लिन बाँकी भए पनि लिन आउन सकिने व्यवस्था गर्यौं । त्यसले गर्दा मान्छे आएर बाहिर रोकिनुपर्ने, विवाद गर्नुपर्ने अनि कुनै व्यक्तिलाई भनेर सोर्सफोर्स लगाउनुपर्ने अवस्थाको स्वत: अन्त्य भयो’– उनले भने– ‘विभागबाट सेवा लिन यसअघि ६ देखि सात घन्टा चर्को घाममा सेवाग्राहीले लाइन लाग्नुपथ्र्यो । बिहानको समयमा आधा घन्टादेखि एक घन्टासम्म र १०–११ बजेबाट ५–७ मिनेटभित्र फर्म दर्ता भइसक्छ । कतिपय मान्छेहरू सरकारी अफिसमा यति छिटो पनि सेवा हुँदो रहेछ भनेर अचम्म मानेर फर्कने गरेका छन् ।’
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply