युद्धकालीन विम्बहरू
यात्राका क्रममा समेटिएका अनुभूतिहरूलाई कलात्मक रूपले पस्किने खुबी कमै स्रष्टाहरूमा हुन्छन् । कतिपयले यात्रा–अनुभूतिलाई विवरणको तहसम्म मात्र उभ्याउछन् भने कतिपय स्रष्टाले भने त्यसलाई रोमाञ्चक रुपले पस्किएर पठनीय बनाउने क्षमता राख्छन् । युवा–निबन्धकार युवराज नयाँघरेको भने बेग्लै र विशिष्ट शैली छ । पाठकहरूलाई बाँधेर राख्ने प्रचुर क्षमता रहेकै कारण उनका लेखनमा सदैव अब्बल ठहरिँदै आएका छन् ।
नयाँघरले आफ्नो निबन्धात्मक कृति ‘स्वाहा’ मा पनि अरू पूर्वप्रकाशित कृतिहरूभन्दा बेग्लै स्वाद र छनक दिएका छन् । समसामयिक घटना र सन्दर्भहरूलाई कलात्मक रङ र रूप दिएर लेख्ने नयाँघरेले ‘सिनामको लाटो’मा विगतको द्वन्द्वकालीन समय र क्रुरताको झल्को दिन चाहेका छन् । ताप्लेजुङको सिनामका एउटा लाटो, बोल्न नसकेकै कारण सेनाको सिकार बन्छ । द्वन्द्वले मानिसको बाँच्न पाउने अधिकारलाई कसरी छिनेको थियो ? विगतको त्यही दृश्य–चित्र उतारिन्छन्, यो निबन्धमा ।
‘कृष्णविक्रम र उत्तरआधुनिकता’ भने चर्चित लोकगायक कृष्णविक्रम थापाले नेपाली जनजिब्रोका शब्दलाई लोकलयमा ढालेका कुरा उल्लेख छन् । तर, उनले लोकलयमा ढालेका गीतहरूलाई रिमिक्सका नाममा अरू गायकहरूले बिगारेर गाएको पक्षप्रति नयाँघरको चासो अर्पण भएको छ । ‘बस्ती विलाप’ युद्धकालीन झ–झल्को दिने निबन्ध हो । उमेरदार छोराहरूले गाउँबस्ती छाडेपछि एक्लिएका नैनकलाहरूको व्यथा पस्किन यो निबन्ध सक्षम ठहरिएको छ । द्वन्द्वले बस्तीहरूमा निम्त्याएको समस्याको आद्योपान्त बयान गरिएको छ ।
कुनै पनि विरोध वा असन्तुष्टिको निसानामा सडक पर्नुलाई दुर्भाग्य नै ठान्नुपर्ने हुन्छ । तर, राजनीतिक आन्दोलन वा अरू आन्दोलनहरूका नाममा सडकलाई नै तारो बनाउने गरिएको छ । ‘लास रुङ्ने प्याज’ निबन्धमा भने आफ्नो माग पूरा गराउन, कुनै पनि राजनीतिक, सामाजिक वा आर्थिक मुद्दा टुंग्याउन सडकलाई रोज्ने परिपाटीप्रति व्यंग्य गरिएको छ । ‘फूलमायाको हाँक’ भने युद्धकालीन समयमा मानिसहरू हताहत हुँदा चम्किएको फूलमालाको व्यापारप्रति इंगित छ । फूलमाला बेच्नेहरूलाई कसको लास भन्नेसित सरोकार हुँदैन, आज कति माला बिक्यो भन्नेमात्रै सरोकार हुन्छ । मानवीय संवेदना र व्यापारबीचको तादाम्यता खोज्ने जमर्को यो निबन्धमा गरिएको छ ।
‘आँधीखोलोका पीरो आँसु’ले पनि युद्धकालीन समय–विम्ब उतारेको छ । युद्धका क्रममा धेरै मानिसहरूले विस्थापनको पीडा झेल्नुपर्यो । आफ्नो पुख्र्यौली थातथलो छाड्नुपर्यो । आँधीखोला एउटा त्यस्तो विम्ब हो, जहाँ पीडा र वेदनाका चाङ मात्रै लागेको छ । युद्धकालीन समयमा आँधीखोलाले बोक्नुपरेको कहरलाई नयाँघरले यसरी अभिव्यक्त गरेका छन्– ‘के गर्नु, सबैतिरबाट बिग्रिएपछि आँधीखोलेहरूको मुटुमा भक्कानाहरू ओइरिन थाले । रगतका खेलहरू बाजी ठोकीठोकी खेलिन थालिए । आँसुका प्रतियोगिताहरू बिट राखी–राखी आयोजना हुन थाले । जताततैबाट घर छाड्ने उर्दीहरू आउन थाले ।’ अहिले धरहराको अस्तित्व छैन । तर, विगतमा निबन्धकारले धरहरा चढ्दा र त्यसको झ्यालबाट सिंगो काठमाडौंलाई नियाल्दा अनेक अनुभूतिहरू सँगालेका थिए । ‘धरहराको ध्वाँस’मा उनले धरहराको सानलाई पर्गेलेका छन्– ‘धरहरा एउटा जोधाहा नाम पनि हो । समयका अनन्त पदचापमा इतिहास र सत्ताको लुकामारी देख्छु म धरहराको बार्दलीबाट । हारजितका कथामा उभिएका कट्कटाउँदा रगतपच्छे नायक र खलनायकहरू देखिरहेछु यो अग्लाइबाटै ।’
मूलत: नयाँघरेले ‘स्वाहा’भित्र व्यक्ति–चित्र, युद्धकालीन समयका विम्बहरू र यात्रा–अनुभूतिहरूलाई निकै सटिक, आफ्नै लेखनशैलीअनुरूप पस्किन रुचाएका छन् । नेपाली निबन्ध क्षेत्रमा बेग्लै पहिचान बनाइसकेका नयाँघरेको यो निबन्धकृतिभित्रका केही निबन्धहरू सामान्य पाठकले छिचोल्न अप्ठेरो पर्ने भए पनि पठनीयताका हिसाबले निबन्धहरू निकै अब्बल रहेकोमा दुईमत छैन ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply