जर्किनमा पेट्रोल ओसारेर बढुवा हुने दाउ
काठमाडौं । नेपाल प्रहरीको कल्याण कोषद्वारा प्रहरी मुख्यालय परिसरमा सञ्चालित ‘नेपाल प्रहरी कल्याण कोष पेट्रोलपम्प’ बाटै पेट्रोलियम पदार्थको कालोबजारी हुने गरेको रहस्य सार्वजनिक भएको छ ।
स्रोतका अनुसार हालको अघोषित नाकाबन्दीका कारण देशभर पेट्रोलियम पदार्थको चरम अभाव भएको मौकाको फाइदा उठाउँदै प्रहरी कल्याण कोषका प्रमुख एसएसपी लव विष्टले कल्याण कोषद्वारा सञ्चालित पेट्रोलपम्पहरूमा अनावश्यक हस्तक्षेप गर्दै पेट्रोलियम पदार्थको कालोबजारीलाई प्रश्रय दिइरहेका छन् । पेट्रोलपम्प प्रमुखको जिम्मेवारीमा प्रहरी निरीक्षक चिन्तामणि भट्टराई कार्यरत छन् । तर, एसएसपी विष्टले पेट्रोलियम पदार्थको वितरणमा अनावश्यक हस्तक्षेप गर्दै नेपाल आयल निगमले तोकेको मापदण्डविपरीत आफू निकटका केही व्यक्तिलाई प्रयोग गरेर अनियमित तवरले पेट्रोलियम पदार्थ वितरण गर्ने गरेको र सोही पेट्रोलियम पदार्थ उपत्यकाका विभिन्न ठाउँमा प्रतिलिटर पाँच सय रुपैयाँसम्म बिक्री हुने गरेको स्रोतको दाबी छ ।
कल्याण कोषमा प्रहरी महानिरीक्षक उपेद्रकान्त अर्यालले आफू निकटका एसएसपी विष्टलाई प्रधान कार्यालयको शाखामध्ये आकर्षक मानिने उक्त कोषको प्रमुखका रूपमा केही महिनाअगाडि सरुवा गरेका थिए । केही महिनादेखि कल्याण कोषमा हालीमुहाली गर्दै आएका एसएसपी विष्ट विवादास्पद छविका मानिन्छन् । उनी केही वर्षपहिले लमजुङ र नवलपरासीमा कार्यरत हुँदा आर्थिक विवादमा परेपछि कारबाहीस्वरूप केन्द्रमा तानिएका प्रहरी अधिकारी हुन् ।
डीआईजी बढुवाको मुखमा रहेका विष्टले हालको पेट्रोलियम पदार्थको चरम हाहाकारमा आफ्नो भावी बढुवाका लागि चाकडीस्वरूप गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयको उच्च पदस्थ व्यक्ति र उनीहरूका आफन्तहरूलाई जर्किन र ड्रममा राखेर पेट्रोल उपहार पठाइदिने गरेको थाहा भएको छ । स्रोतका अनुसार निगमले अत्यावश्यक सेवामा प्रयोगका लागि आवश्यक पेट्रोलियम पदार्थ उपलब्ध गराइदिनू भन्दै दिएको सिफारिसलाई समेत लत्याउँदै एसएसपी विष्टले आफ्नो व्यक्तिगत स्वार्थअनुरूप पेट्रोलियम पदार्थ वितरण गर्ने गरेको प्रहरी प्रधान कार्यालयमा कार्यरत एक प्रहरीले बताए ।
एसएसपी विष्टको हालीमुहालीका कारण उक्त पेट्रोलपम्पबाट वितरण गरिने इन्धन वितरणमा नेपाल प्रहरीका कर्मचारी समेत वञ्चित भएका छन् । त्यही कारण नेपाल प्रहरीका कर्मचारीहरूमा आफ्नै संगठनप्रति वितृष्णा बढ्दै गएको समेत पाइएको छ । स्रोतका अनुसार निगमले सरकारी निकायका पेट्रोलपम्पहरूलाई मात्र पेट्रोल उपलब्ध गराउने निर्णय गरेपछि आईजीपी अर्यालले सस्तो लोकप्रियताको नाममा नेपाल प्रहरीको पेट्रोलपम्पबाट कुनै पनि प्रहरी कर्मचारीलाई पेट्रोल नदिन उर्दी जारी गरेका थिए ।
आईजीपी अर्यालको उर्दीबमोजिम प्रहरी कर्मचारीहरूलाई पेट्रोल नदिने कल्याण कोष पेट्रोलपम्पले एसएसपी विष्टको आदेश भन्दै आफूखुसी केही नेता तथा एजेन्टहरूलाई लाइन नबसी हेडक्वार्टरको भित्रपट्टिबाट चाहेजति पेट्रोल उपलब्ध गराउने गरेको स्रोतको दाबी छ । प्रधान कार्यालयमा कार्यरत एक एसएसपी भन्छन्, ‘नेपाल प्रहरीबाहेक अन्य दुई सुरक्षा संगठन नेपाली सेना र सशस्त्र प्रहरी बलद्वारा उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित पेट्रोलपम्पमा आफ्नो सुरक्षा संगठनका सदस्यहरूलाई आवश्यकता हेरी इन्धन उपलब्ध गराइरहँदा नेपाल प्रहरीको कल्याण कोष पेट्रोलपम्पले आईजीपीको आदेशको हवाला दिँदै आफ्ना सहयात्री सदस्यहरूलाई एक लिटर इन्धन पनि उपलब्ध नगराई निराश पारिरहेको छ ।’
उनले ब्यारेकमा बस्नेहरूलाई त खासै समस्या नहोला तर उपत्यकामै घर अथवा डेरा लिएर बसेका र निजी सवारीसाधनमा आवतजावत गर्नेहरूलाई निकै समस्या भएको बताउँदै उक्त विषयमा सम्बन्धित निकायको ध्यान जानु अत्यन्तै जरुरी
रहेको बताए ।
उता आईजीपी अर्यालले प्रहरीको युनिफर्म लगाएर आएका प्रहरी कर्मचारीहरूलाई कत्ति पनि तेल नदिनू भन्दै ‘सर्कुलेसन’ जारी गरिरहँदा आईजीपी अर्यालको सचिवालय र निवासमा कार्यरत प्रहरी अधिकृतहरूले आईजीपी साबको आदेश भन्दै आफन्तहरूकोमा समेत जर्किनमा पेट्रोल पुर्याउने गरेको स्रोतको दाबी छ ।
यस्तै, पेट्रोलियम पदार्थको बढ्दो अभावसँगै सशस्त्र प्रहरी बलको कल्याण कोषद्वारा भक्तपुरको ठिमीमा सञ्चालित गुह्येश्वरी फ्युल स्टेसनमा पनि पेट्रोलियम पदार्थ वितरणमा व्यापक अनियमितता भइरहेको सार्वजनिक हुँदा पनि दोषीहरूलाई कारबाही गर्नुको सट्टा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले नै अनियमितताका दोषीहरूलाई संरक्षण गर्दै आइरहेको स्रोतको दाबी छ ।
उक्त फ्युल स्टेसनमा इन्धन वितरणमा अनियमितता भएको सम्बन्धमा स्थानीयवासीहरूले गत असोज २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मौखिक उजुरी गरेपछि अख्तियारको निर्देशनबमोजिम वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले सोही दिन उक्त फ्युल स्टेसनमा छापा मारेको थियो । पेट्रोलपम्पका प्रमुख रहेका सशस्त्र प्रहरी निरीक्षक जयबहादुर दथेपुथे र लेखापाल सशस्त्र प्रहरी नायब निरीक्षक राजीव पाण्डेले ‘कमिसन’ लिएर निगमले तोकेको मापदण्डविपरीत आर्थिक प्रलोभनमा परेर पेट्रोलियम पदार्थ बिक्रीवितरण गरेको भन्दै ठिमीका स्थानीय बासिन्दाले गत असोज २८ गते अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मौखिक उजुरी गरेपछि आयोगका प्रवक्ता सहसचिव कृष्णहरि पुस्करले उक्त पेट्रोलपम्पमा तत्काल छापा मार्न वाणिज्य विभागका महानिर्देशक शम्भुप्रसाद कोइरालालाई निर्देशन दिएपश्चात् वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासे नेतृत्वको टोलीले असोज २८ गते साँझ साढे ६ बजे छापा मारेको थियो ।
स्रोतका अनुसार वाणिज्य विभागले उक्त दिन छापा मार्दा उक्त फ्युल स्टेसनमा करिब १० हजार लिटर पेट्रोल मौज्दात रहेको भेटिएपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेले लाइनमा रहेका पाँच सयवटा निजी मोटरसाइकलहरूलाई तीन लिटरका दरले पेट्रोल वितरण गर्न निर्देशन दिएका थिए । विभागको निर्देशनपछि गत असोज २९ गते बिहान पाँच सयवटा निजी मोटरसाइकललाई तीन लिटरका दरले पेट्रोल उपलब्ध गराउन उक्त फ्युल स्टेसन बाध्य भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार उक्त पेट्रोलपम्पमा कार्यरत सशस्त्र प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मले बर्दीको दुरुपयोग गर्दै पेट्रोलियम पदार्थको खुलेआम कालोबजारी गर्ने गरेका छन् । उक्त फ्युल स्टेसनसँगै रहेको आर प्लस आर प्लस आर खाजाघरका सञ्चालकले प्रतिलिटर पाँच सय रुपैयाँसम्म लिएर सर्वसाधारणका मोटरसाइकल बर्दीवाला सशस्त्र प्रहरी कर्मचारीहरूलाई मोटरसाइकल चलाएर वा डोर्याएर पेट्रोलपम्पमा छिराउने र भित्र लगेर मनपरी पेट्रोल भर्ने गरेको विषय यसभन्दा अगाडि नै सार्वजनिक भइसकेको छ । सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोलपम्पमा पेट्रोलियम पदार्थको खुलेआम कालोबजारी भइरहेको तथ्य सार्वजनिक हुँदा समेत सशस्त्रको प्रधान कार्यालयले छानबिनको कुनै प्रक्रिया अगाडि नबढाई मौन समर्थन जनाउनु निकै अर्थपूर्ण मानिएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply