एक योद्धाको स्मरण
मध्यपश्चिमको दाङ जिल्ला बहुदलीय व्यवस्था स्थापना भएपछि कांग्रेसको दबदबामा बाँच्न बाध्य भयो । र, जनयुद्ध प्रारम्भ भएपछि माओवादी हिंसा र बर्बरताको जाँतोमुनि पिसिनुपर्यो । त्यही दाङको ग्रामीण भेगमा संघर्षशील छवि बनाउँदै एमालेका एक नेता घनश्याम बुढाथोकी भने निडरतापूर्वक राजनीतिक गतिविधिमा क्रियाशील रहे । सैघा गाविसमा जनप्रतिनिधि हुँदा उनले स्थानीय जनताका दु:ख–सुखमा आफूलाई सरिक तुल्याए, विकास–निर्माणको काममा अहोरात्र खटे । तर, स्थानीय रूपमा जनप्रतिनिधिको राम्रो छवि बनाएका र राजनीतिक सिँढीहरू क्रमश: नापिरहेका बुढाथोकीको तीन वर्षअघि सडक दुर्घटनामा निधन भयो ।
‘आस्थापुञ्ज’ तिनै जनप्रिय नेता बुढाथोकीको संघर्षशील जीवन–यात्राको दस्तावेज हो । उक्त किताब बुढाथोकीकै कान्छा भाइ सूर्य बीसीले तयार पारेका हुन् र किताबमा बुढाथोकीको राजनीतिक यात्रा, सक्रियताबारे उल्लेख भए पनि यो आफ्नो जेठा दाइको अकल्पनीय निधनप्रति शोकाकुल र विक्षिप्त स्थितिबीच उभिएका भाइको अनुभूति र पीडाको आवाज पनि हो भन्नुपर्छ । किनकि, काठमाडौंमा रहेर शिक्षण तथा लेखन पेसामा बाँधिएका बीसीले दाङमा जेठा दाइको निधन भएपछि बेहोर्नुपरेको शोकसन्तप्त क्षणहरूलाई अत्यन्तै मिहिन रूपले उतारेका छन् ।
बुढाथोकीको निधन राजनीतिक सक्रियताकै क्रममा भएको थियो । तत्कालीन डा.बाबुराम भट्टराई नेतृत्वको सरकार विरुद्ध एमालेले आयोजना गरेको विरोध कार्यक्रममा भाग लिन जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी बुढाथोकीको निधन भएको थियो । उनको निधनपछि दाङका जनताले दर्साएको अपार स्नेहले नै उनको राजनीतिक छवि कति उच्च थियो भन्ने प्रस्ट पार्दछ । हुन पनि, बहुदल स्थापना भएपछि कांग्रेसको गढ मानिने र कांग्रेसहरूको चकचकीले सताएको दाङमा उनले स्थायी शिक्षकको जागिर छाडेर ०४९ सालमा गाविस अध्यक्षमा चुनाव लडेका थिए र जितेका थिए । त्यसपछि ०५४ को स्थानीय चुनावमा पनि उनले त्यही सैघा गाविसमा दोस्रो पटक चुनाव जिते । तर, स्थायी शिक्षकको जागिर छाडेर राजनीतिमा हाम्फालेका उनलाई स्थानीय कांग्रेसहरूले ‘बहुलाएको’ भनी प्रचार पनि गरेका थिए । बीसी लेख्छन्– ‘भलै दाइ अकालमै मर्नुभयो । तर पनि साराका सारा सम्पन्न मानिस जो हिजो घनश्याम बौलायो भनेर रुवाबासी गर्दै थिए, ती भन्दै थिए, घनश्याम एकदम त्यागी नेता थियो । जनता भनेपछि मरिमेट्ने नेता थियो । यस्तो नेता त कमै पाइन्छन् । मैले सोचें, मेरो दाइ त आखिर महान् हुनुहुँदोरहेछ । उहाँ त जनताको सेवाका लागि बहुलाउनुभएको रहेछ ।’
बुढाथोकीको निधनपछि भाइ बीसीमा उत्पन्न अनेक तरंग र अनुभूतिहरूले नै पुस्तकमा बढी ठाउँ पाएका छन् । आफ्नो प्रिय दाइलाई चितामा जलाउन लागिरहेको क्षणलाई सम्झिँदै उनी लेख्छन्– ‘मलाई लागेको थियो कि, मेरो ठुल्दाइले पनि अति नै साधारण जीवन जिउनुभयो । खेतबारीको काम कहिल्यै छोड्नु भएन । किसानसँगको सहकार्य सधैँ राख्नुभयो । नेताका रूपमा काम गर्दा पनि व्यवहारत: अति सामान्य रहनुभयो । आफ्नो जीवनको पर्वाह नगरी पार्टी र जनताको काममा निरन्तर खट्नुभयो । त्यसैले दाइ नै क.नेत्रलालको उत्तराधिकारी हुनुहुन्छ ।’
बीसीले घरको आर्थिक स्थिति कमजोर हुँदाहुँदै पनि आफूलाई उच्च शिक्षा दिलाउन दाइले निर्वाह गरेका अभिभावकीय भूमिकाको उच्च प्रशंसा मात्र गरेका छैनन्, त्यस क्रममा गरेका दु:ख र संघर्षका क्षणहरूलाई समेत अत्यन्तै मसिना ढंगले उतारेका छन् । उच्च शिक्षा अध्ययनका लागि दाइले सहयोग नगरेका भए आफ्नो अध्ययन धर्मराउन सक्ने संकेत पनि उनले गरेका छन् । र, अहिले आफू जुन स्थानमा पुगेका हुन्, ती सबै दाइकै सहयोग र प्रेरणाका कारण रहेको पनि उनले स्पष्ट खुलाएका छन् ।
‘आस्थापुञ्ज’ मा बीसीले अकालमै मृत्युवरण गर्न पुगेका आफ्नो प्रिय दाइप्रति श्रद्धा–सुमन अर्पण गर्ने ध्येय राखेका त छन् नै, त्यससँगै दाङको भूगोलमा रहेर राजनीति गर्न कठिन हुँदाहुँदै स्थानीय रूपमा विरोधीहरूसँग बुढाथोकीले जुधेका प्रसंग, घर–व्यवहार, आर्थिक स्थिति, परिवारका सदस्यहरूको बेग्लाबेग्लै राजनीतिक लाइन, स्थानीय समस्याहरूलाई समेत किताबमा अटाउने इच्छा राखेका छन् । यो किताबले बुढाथोकीको राजनीतिक जीवन यात्राबारे प्रस्ट पार्दापार्दै पनि दाङको ग्रामीण भेगको सामाजिक, आर्थिक र राजनीतिक स्थितिबारे उल्लेख गर्नसमेत चुकेको छैन ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply