कस्तो छ प्रधानमन्त्री ओलीको टिम ?

प्रधानमन्त्री केपी ओलीले सल्लाहकार समूहमा अहिलेसम्म ११ जनालाई नियुक्त गरिसकेका छन् । जसमध्ये ६ जनालाई सल्लाहकारकै नियुक्ति दिइएको छ भने पाँच जनालाई वरिष्ठ विज्ञको । वरिष्ठ विज्ञका रूपमा नियुक्ति पाएकाहरूको सम्बन्धित विषयमा विज्ञता हुनुपर्ने भएकाले एमाले पंक्ति मात्र होइन, प्रधानमन्त्री ओलीनिकट समूहभित्रै पनि चर्चा हुने गरेको छ ।
सल्लाहकारको नियुक्ति पाउनेमा मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार प्रमोद दाहाल, जनसम्पर्क सल्लाहकार देवेन्द्र दाहाल, विज्ञान प्रविधी तथा समाजिक तथा सांस्कृतिक सल्लाहकार अजय क्रान्ति शाक्य, सुरक्षा सल्लाहकार प्रकाशबहादुर बस्नेत र राजनीतिक सल्लाहकार वसन्त नेम्वाङलाई राज्यमन्त्रीसरहको नियुक्ति दिइएको छ भने विज्ञका रूपमा नियुक्ति पाएका वरिष्ठ जनसम्पर्क विज्ञ निरु पाल, वरिष्ठ विदेश मामिला विज्ञ गोपाल खनाल, वरिष्ठ राजनीतिक विज्ञ ज्ञानेन्द्र शाक्य, वरिष्ठ सञ्चार विज्ञ चेतन अधिकारी, वरिष्ठ प्रशासनिक विज्ञ डा. राजेन्द्रप्रसाद यादवले विशिष्ट श्रेणीको सेवा सुविधा पाएका छन् ।
विष्णु रिमाल
छैटौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा आएका विष्णु रिमाल पार्टीको पोलिटब्युरो सदस्य छन् । नवौ महाधिवेशन पछि उनी एमालेमा आर्थिक विभागका प्रमुख छन् । बाहिर देखिनेभन्दा भित्री कामहरूमा बढी क्षमता राख्ने नेताका रुपमा एमाले पंक्तीमा चिनिएका उनी एमालेनिकट ट्रेड युनियन महासंघको अध्यक्षसमेत हुन् ।
औपचारिक पढाइको हिसाबले इन्जिनियर रिमालको सूचना प्रविधिमा विशेष दख्खल रहेको मानिन्छ । नुवाकोट घर भएका उनी अघिल्लो संविधानसभामा समानुपातिक सभासद् थिए । यसबाहेक अन्य कुनै राजकीय जिम्मेवारी नपाएका उनी अहिले प्रधान मन्त्री ओलीको मुख्य सल्लाहकार छन् । प्रधानमन्त्री ओलीको राजनीतिक सम्पर्क–सम्बन्ध व्यवस्थापनदेखि कार्यालय व्यवस्थापनसम्मको मुख्य जिम्मेवारी उनले बहन गरिरहेका छन् ।
प्रमोद दाहाल
बारा घर भएका पत्रकार प्रमोद दाहाललाई प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार नियुक्त हुनुभन्दा पहिलादेखि नै सघाइरहनेमा पर्दछन् । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दाहालको लामो समय जनपक्षीय पत्रकारितामै बितेको छ । लामो समयसम्म दृष्टि साप्ताहिकमा आबद्ध उनी पछिल्लो समय रेडियो नेपालमा कार्यरत छन् । प्रेस चौतारीको महासचिवको जिम्मेवारी पनि पूरा गरिसकेका उनको दिनचर्या प्रधानमन्त्री ओलीका दैनिक कार्यक्रमहरूका बारेमा पत्रकारसँग सम्पर्कमा रहेर जानकारी दिनमै व्यस्त छ ।
देवेन्द्र दाहाल
प्रधानमन्त्री ओलीले जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका देवेन्द्र दाहाललाई चािहँ खास क्षमता भएका व्यक्तिका रूपमा चिनिँदैनन् । झापामा एमालेको राजनीतिमा लामो समय लागेका उनी अवसर पाएर पनि क्षमता देखाउन नसकेका र ओलीका नाममा मात्रै टिकेका भनेर कार्यकर्ता पंक्तिमा आलोचित छन् । सल्लाहकारको नियुक्ति दिइएको भए पनि प्रधानमन्त्री कार्यालयमा उनको जिम्मेवारी इन्धनको व्यस्थापनसम्बन्धी भएको बालुवाटार स्रोतले बतायो । नवौं महाधिवेशनमा पार्टी अध्यक्षमा निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले उनलाई आफ्नो स्वकीय सचिवालयमा राखेका थिए । झापामा पनि ओलीकै निर्वाचन क्षेत्रका उनी पार्टीको झापा जिल्ला कमिटीको प्रमुखसम्म बनेका थिए । लामो समय शिक्षण पेसामा पनि संलग्न उनी पनि अहिलेसम्म राजनीतिक लाभको पद पुगेका थिएनन् ।
अजय क्रान्ति शाक्य
विज्ञान प्रविधि तथा सामाजिक तथा सांस्कृतिक सल्लाहकार अजय क्रान्ति शाक्य प्रधानमन्त्री ओलीको ससुरालीतिरका नातेदारका रूपमा चिनाउन रुचाउँछन् । अलिक परकी साली नाता पर्ने अन्जान शाक्यको श्रीमान् उनी पार्टीगत हिसाबले एमालेसँग नजिक भए पनि पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । प्रधानमन्त्री हुनुअघि पनि ओलीको स्याहार–सुसारमा सक्रिय उनी ओली बिरामी भएर बैंकक उपचार गराउन जाँदा सँगै गएका थिए । केही समय सञ्चार व्यवसायीका रूपमा पनि काम गरेका उनले एफएम रेडियो पनि चलाएका थिए ।
प्रकाशबहादुर बस्नेत
सुरक्षा सल्लाहकार प्रकाशबहादुर बस्नेत नेपाली सेनाका पूर्वजर्नेल हुन् । गुपचुप रूपमै सल्लाहकार बनेका उनी गत मंसिर ८ गते लैनचौरस्थित भारतीय राजदूतावास रातको समयमा सुटुक्क छिरेको प्रसंगले खैलाबैला मच्चिएको थियो ।
सेनामा रहँदा पनि दरबारका तत्कालीन प्रमुख सैनिक सचिव विवेक शाहका निकट भनेर चिनिएका बस्नेत कसरी ओलीनिकट बन्न पुगे भन्ने कुरा चाहिँ खुलेको छैन । दरबारकै आशीर्वादमा सम्भाररथी विभागको प्रमुख भएर अकुत सम्पत्ति आर्जन गर्न सफल अवकाशप्राप्त उपरथी बस्नेत अवकासपछि अमेरिका पलायन भएको बताइन्छ ।
वसन्त नेम्वाङ
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार नेम्वाङ पूर्वसांसद हुन् । ०५६ सालको आम निर्वाचनमा पाँचथरबाट जितेका नेम्वाङमा पछिल्लो समय राजनीतिमा भन्दा बढी जलविद्युत् व्यवसायमा बढी संलग्न थिए । पूर्वसभामुख सुवास नेम्वाङको नजिकैको भाइ नाता पर्ने उनलाई सुवासकै विशेष आग्रहमा प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाहकारमा नियुक्त गरेको बताइन्छ ।
निरु पाल
प्रधानमन्त्री ओलीको वरिष्ठ जनसम्पर्क विज्ञमा नियुक्त निरु पाल पार्टीको वैकल्पिक केन्द्रीय सदस्य छिन् । महेश बस्नेतलाई मन्त्री बनाएपछि युवा संघको अध्यक्ष घोषण गरिएकी पालको कार्यकालमा युवा संघमा समानान्तर कमिटी बनेर विवाद चर्किएपछि उनलाई बिदा गर्न ओलीनिकट नेताहरू नै बाध्य भएका थिए । गुटभित्र पनि उपगुटबाहेक अरू केही नदेख्ने पाललाई जनसम्पर्कको जिम्मा दिएपछि त्यता जाने कार्यकर्ताको संख्यामा कमी आएको छ ।
गोपाल खनाल
वरिष्ठ विदेश मामिला विज्ञका रूपमा प्रधानमन्त्री ओलीले नियुक्त गरेका झापाका गोपाल खनाल पेसाले पत्रकार हुन् । उनी लामो समयसम्म कान्तिपुर दैनिकमा कार्यरत थिए । पत्रकारितामा आबद्ध हूँदा विदेश मामिलामा कलम चलाउँदै आएका खनालले केही समय भारतमा रहेर पनि पत्रकारिता गरेका थिए । पत्रकारिता, राजनीतिशास्त्र र अंग्रेजीमा स्नातकोत्तर उनले फरेन अफेयर्स डटकम चलाइरहेका छन् ।
ज्ञानेन्द्र शाक्य
प्रधानमन्त्रीको वरिष्ठ राजनीतिक विज्ञका रूपमा नियुक्त ज्ञानेन्द्र शाक्य प्रधानमन्त्री ओलीका साला हुन् । ०५४ को स्थानीय निकाय निर्वाचनमा उनी ललितपुर उपमहानगरपालिकाको वडा नं ८ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित थिए । पार्टीको क्षेत्रीय कमिटी सदस्यसम्म भएका उनी पार्टीको नवौं महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । पाटनमा उनको ह्यान्डीक्राफ्टसम्बन्धी व्यवसाय छ ।
चेतन अधिकारी
वरिष्ठ सञ्चार विज्ञमा नियुक्त झापा दमकका पत्रकार चेतन अधिकारी ०५२देखि पत्रकारितामा आबद्ध छन् । लामो समय कान्तिपुर मिडिया ग्रुप तथा दमककै सप्तरंगी एफएममा आबद्ध उनी साथीभाइहरूबीच घुलमिल हुन सक्ने स्वभावका छन् । जनसङख्या तथा वातावरणमा स्नातकोक्तर गरेका उनले प्रधानमन्त्री ओलीका दैनिक सूचना सम्प्रेषण गर्ने गर्दछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply