विषको खेती होइन, अमृतको खेती !
सिर्जनाको हिसाबले रूपन्देहीका बहुमुखी प्रतिभाका धनी युवा कवि मीनबहादुर राना स्पष्ट विचार भएका जनवादी व्यक्तित्व हुन् । उनका कवितामा युगीन परिवर्तनको आकांक्षा झल्किएको हुन्छ । कतिपय युवा यस उमेरमा गन्तव्यविहीन भएर उपभोक्तावादी चिन्तनमा रुमल्लिएका हुन्छन् भने यिनीसँग देश र जनताप्रतिको दायित्वबोधको भावना अदम्य रूपमा रहेको देख्न सकिन्छ । यी कुराहरू उनको कविता संग्रह ‘विषको खेती’मा जताततै रहेको अनुभूति गर्न सकिन्छ । कविता संग्रहको शीर्षक ‘विषको खेती’ रहे पनि यसको सौन्दर्य पक्ष, विचार पक्ष र शिल्प पक्ष आदिले गर्दा अमृतको खेती रहेको अनुभूत हुन्छ ।
साहित्यशास्त्रको अनेकौं सिद्धान्तहरूमध्ये एउटा ध्वनिवादको सिद्धान्त छ । त्यसका अनेकौं भेद र उपभेदहरू हुन्छन् । त्यसमध्येको एउटा भेद जसको नाम ‘अन्यन्ततिरष्कृतवाच्यध्वनि’ भन्ने हुन्छ । यसको तात्पर्य कुनैले अर्कोलाई ‘खूब गरिस् †’ भन्ने हुन्छ । यसको तात्पर्य स्थान र परिस्थितिले गर्दा सबै काम बिगारिस् भन्ने अर्थ ध्वनित हुन्छ । अर्थात् खूब गरिस्को ठीक उल्टो ‘सबैथोक बिगारिस्’ भन्ने अर्थ लाग्छ । यसै सन्दर्भमा संस्कृत साहित्य रहेको अर्को उदाहरण पनि छ । एउटा मित्रले अर्को मित्रलाई आफ्नो साथीकै कारणले गर्दा आफ्नो सम्पूर्ण काम बिग्रिएको अवस्थामा ‘उपकृतं बहुतत्र किमुच्यते’ अर्थात् तिमीले गरेको मेरो उपकारका विषयमा के भन्नु ? योभन्दा ठूला उपकार हुनै सक्दैन भनेको अवस्थामा तिमीले मेरो जस्तो उपकार गर्यौ मैले त्यसलाई कहिल्यै पनि भुल्न सक्दिन भन्ने अर्थ ध्वनित भएको हुन्छ । यहाँ पनि यस कविता संग्रहको नाम ‘विषको खेती’ राखिएको अवस्थामा यसभित्रका कविताका भावहरू र कविको सिर्जनात्मकताका हिसाबले यो कवितासंग्रह अमृतको खेती बन्न पुगेको अनुभव हुन्छ ।
यस कविता संग्रहको पृष्ठभूमि बताउन खोज्दा कविले आफ्नो जीवनदर्शनलाई स्पष्ट पारेका छन् । उनले आफ्नो कविता लेखनको उद्देश्यलाई स्पष्ट पार्दै भन्दछन्– ‘विचार मेरो फरक होला तर मैले यो समाजमा सुधार हुनुपर्छ भन्ने चाहन्छु । मान्छेले अनाहकमा दु:ख पाउनुहुँदैन, शोषणको रूप फेरिएको छ । मान्छे मान्छेको रूपमा सम्मानित हुन सक्नुपर्छ ।’ यसै जीवन दर्शनलाई केन्द्रबिन्दु बनाएर रचिएका यी कविताहरू केही अत्यन्त उत्कृष्ट रहेका छन् भने केही मध्यमस्तरका कविता पनि छन् । जम्माजम्मी ३७ वटा कविताको यो संग्रह मैले संग्रह नछापिँदै पनि सुुनेको थिएँ, जसको मैले उच्च मूल्यांकन पनि गरेको थिएँ । त्यस्ता प्रतिनिधि कविताहरूमध्ये,
नैराश्य मेट्ने हतियार मेरो
आस्था सुनौली छ विचारको यो
सन्देश धेरै जनमाझ छर्ने
आहा † उषा यो छ समानताको
(कोसेली पृ. १६)
यो कविता समग्र रूपमा हेर्दा माझिएको देखिन्छ । यसैमा कविको आफ्नो अठोट पनि देख्न सकिन्छ । छन्दमा बाँधिएको यस कवितामा कुनै प्रकारको यति भंग पनि छैन । यसरी पनि कवि लेख्न सकिन्छ भन्ने कुरा कविले सन्देश दिइरहेको देखिन्छ । यस कविता संग्रहको शीर्ष कविता स्वयम् ‘विषको खेती’ नै हो र यसै कविता संग्रहको उत्कृष्ट कविताभन्दा पनि कुनै फरक पर्नेवाला छैन । किनभने आज संघीयताको कारण देश र जनताले जुन प्रकारको बेथितिपूर्ण त्रासदी व्यहोर्नुपरिरहेको छ त्यस्तो पीडालाई यस कविताले पूर्णरूपमा बहन गरिरहेको छ । छँदाछँदैको सिंगो देशलाई संघीयतामा घिसारेर लैजाँदा आज देशले जुन प्रकारको दुर्दशा व्यहोर्नुपरेको छ, त्यसमा यिनै विषको खेती गर्नेहरूले नै देश र जनतालाई यस प्रकारको धरापमा पारेका छन् भन्ने कविको ठम्याइ छ । यसै प्रसंगमा कवि भन्दछन्–
मेरो साथी
आफू हिँड्ने बाटो
आफ्नै पाइलाले नाप्नुपथ्र्यो
आफूले खाने गास
आफ्नै मुखको नापोमा
अड्कल्नु पथ्र्यो
साथी
यो विषवृक्षको बिज हो
अपशोच
तिमीले खेती नै त्यसैको रोज्यौ
(विषको खेती– पृ. १७)
अत्यन्त समसामयिक भावमा आधारित यस कवितामा कविले कसरी संघीयताले देश–देशान्तरलाई टुक्राटुक्रा पारिदियो भन्ने विषयको ठूलो सँची रहेको देखिन्छ । मानिस सधैंभरि आशावादी र सकारात्मक हुनुपर्छ र विचारमा दृढता हुनु नै मानिसको मुख्य चिनारी हुनुपर्छ भन्ने विषयलाई लक्षित गर्दै कवि भन्छन्–
हुरीले जता लैजान्छ त्यतै तानिनु हुँदैन
सम्झेर पछि पछुतो हुने गर्नु नै हुँदैन
अडिग बनौं विचारमा आफ्नो नर्बिसौं आधार
निरन्तर दिऔं काममा गति तीव्रता आधार
(आशाको गीत, पृ. १३)
कविको यो कविता संग्रहमा जति कविताहरू संकलित भएका छन् ती सबै कविताहरूलाई तीन भागमा वर्गीकरण गरेर हेर्न सकिन्छ । पहिलो राष्ट्रियताको भावधारा दोस्रो लोकतन्त्र भनिए पनि त्यसको मर्म बुझ्न नसकेको अवस्थासँग दाँजिएका कविताहरू छन् भने तेस्रो जनजीविकाप्रति लक्षित भएका कविताहरूको त्रिवेणी रहेको छ । यस कविता संग्रहमा समाविष्ट कविता यसै त्रिवेणीलाई आफ्नो आधार बनाएको देखिन्छ । र, अन्तमा कवि मीनबहादुर राना बुटवल र सिद्धार्थनगरमा प्रतिष्ठा आर्जन गरिसकेका इमान्दार युवा कविको चिनारी बनाइसकेका छन् । त्यसमा पनि अहिले आफ्नो प्रथम कविता संग्रह विषको खेती भनिए पनि यो आफैंमा अमृतको खेती बन्न पुगेको छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply