देशप्रेमीको बयान
हरेक मानिसले आफू जन्मिएको भूगोलप्रति अपार माया दर्साउँछन् । आफूले टेकेको माटोप्रति गर्व उमार्छन् । हुन पनि, आफ्नो धर्ती, परिवेश र प्राकृतिक एवम् सांस्कृतिक सुन्दरता र सम्पन्नताप्रति गर्व नगर्ने मानिस संसारमा कहाँ होलान् र ? आफू जन्मिएको देश र माटोप्रति श्रद्धा अर्पण गर्ने र देश चिन्तन, विकास र उत्थानमा लाग्नेहरू नै वास्तवमा असल धर्तीपुत्र हुन् ।
युवाकवि विवश अतृप्तयात्रीले आफ्नो लामो कविता ‘मभित्रको मेरो देश’ मा आफूलाई एक देशप्रेमी, देशप्रति चिन्तनशील स्रष्टाका रूपमा उभ्याएका छन् । आफ्नो भूगोल र विविध सांस्कृतिक पहिचानयुक्त माटोप्रति गर्व गर्ने उनी कवितामा यसरी प्रकट हुन्छन्–‘पोतिएको हिमालको भित्तातिर हेर्छु/कतै सातकल्प बाँचेका मार्कन्डेय/कतै मिथकका महापुरुष व्यास पनि/तर कोही देखिदैनन् आँखाले भ्याउन्जेल हेर्दा/नजर जुधाउँछु मान्छेजस्तै मान्छेसँग/कतै हृदयमा सह छ कि/ती जंगली फूलहरूको बास्ना/यो कंक्रिटको जंगलमा कहाँ पाउँछु ।’
हामी बाँचिरहेको धर्ती मानिसहरूको सीप, सौन्दर्यचेत र परिश्रमले नै सुन्दर र बसोवासयोग्य बनेको हो । तर, यही धर्तीभित्र कतिपय धर्तीपुत्रमाथि विभेदजन्य व्यवहार यथावत् रहेको छ । कतिपय मानिसप्रति, मानिसहरूले नै भिन्न र अमानवीय व्यवहार प्रदर्शन गर्दै आइरहेका छन् । सुन्दर धर्तीमाथि पोतिएका यस्ता दागहरूप्रति कवि क्षुब्ध छन्– ‘अमान्छे हुनुको पीडामा/बर्बराउँछु चिच्याउँछु/त्यतिबेला मेरो मस्तिष्कमा उठ्छ ज्वार/चपाउँछु बालुवाको कण/रिस मर्छ कि भन्ने मनको आर्तनाद छ/पछारिन्छ तनलाई कावुमा राख्न/तब आँखामा झल्किन्छ मानचित्र स्मृतिको/मभित्रको मेरो देश ।’
वर्तमान राजनीतिलाई विसंगतिबोधले च्यापेको छ । राजनीति, केही व्यक्तिहरूका स्वार्थ साँध्ने माध्यममात्र बनिरहेको छ । कविले सत्तालिप्सामा व्यग्र रहेकाहरूलाई जुकाको संज्ञा दिएका छन् । त्यस्ता जुकाहरूप्रति उनको क्षोभ व्यक्त भएको छ । त्यसो त, आफू जन्मिएको भूगोलप्रति गद्दार दृष्टिकोढा राख्नेहरूप्रति पनि कविको आक्रोश छ । लेख्छन्– ‘नैतिकता गुमाएर डकारिएको इज्जत/अमानवीयतामा जोडिएको भौतिकता/बाँधेर जन्जिरमा मान्छेको अस्मिता/कहाँ खोजिन्छ मान्छेको अर्थ/कसले बुझ्छ जननीको पीडा/न ब्युँतिएको काखभित्र खोज्दै गए/आफूभित्रको आफ्नो देश ।’
एउटा लामो र केही छोटा कविताहरूले संग्रहित ‘मभित्रको मेरो देश’ भित्रको अर्को कविता ‘कहिले’मा परिश्रममा रमाउने जनताप्रति नेताहरूले देखाएको उपेक्षा भा र तिरस्कारको तह देखाउन खोजिएको छ । आफ्नै परिश्रमको संसारमा रमाउने सामान्यजनहरूले राजनीतिका ठूला र मोटा मोटा कुराहरू बुझ्दैनन् । ‘हिसाब’ मा पनि उनले जनतालाई सपना बाँड्ने नेतृत्वप्रति गुनासो व्यक्त गरेका छन् । परिवर्तनको पुडिया बाँड्नेहरूप्रति उनी लेख्छन्–‘वर्षौदेखि अनिँदोमा बितेको रात/तनावमा बितेको दिन/भोकमा बितेको ऊर्जाशील समयको/कसले तिर्छ क्षतिपूर्ति/त्रासमा बिताएको/समयको हिसाब मागिनेछ/इतिहाससँग ।’
‘लेख्दिन भो कविता’मा कविले लेखनले मात्र सामाजिक परिवर्तनको दैलो नउघारिने यथार्थ टिपोट गरेका छन् भने ‘यो घृतराष्ट्रको शासन’मा राजनीतिक विसंगति र विकृतिप्रति क्षोभ प्रकट गरेका छन् । ‘आभा खोज्दैछु’मा भने उनले परिवर्तनको चाहना राख्नेहरूप्रति आशावादी दृष्टिकोण पस्किन चाहेका छन् । लेख्छन्– ‘आमा † म चाहन्छु एक अप्रिय क्रान्ति/जसले बदलोस् समय/आमा † म तिम्रो मुहारमा कान्तिमय आभा खोज्दैछु ।’ त्यस्तै, कविले ‘आमा’ शीर्षकको कवितामा भने एउटा सन्तानले आमाप्रति गर्ने अपेक्षा र सद्भाव व्यक्त गरिएको छ ।
‘नाटक मञ्चन हुँदैछ’ देशप्रेमप्रति गहन चिन्तन र सरोकारले भरिएको कविता हो । कविले देशको लास लडेको, राष्ट्रियता र शान्ति मुर्छा परेको र स्वाभिमान बिदेसिएको जस्ता विम्ब प्रयोग गरेर देशप्रति सम्मान भाव र देशलाई भयावह स्थितितिर धकेल्नेप्रति आक्रोश व्यक्त गरेका छन् । अन्तत: कवि अतृप्तयात्रीका कविताहरू समीक्षक डा.भागवत आचार्यले भनेझैं आभासित हुन्छ– ‘कवि आफ्नो दृष्टिकोणमा स्पष्ट छन् । समाज र राष्ट्रका समस्यासँग परिचित छन् । हाम्रा कर्तव्य र दायित्वप्रति सचेत छन् ।’
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply