कोइरालाको बाटोमा पौडेल तगारो !

काठमाडौं । ‘म केटाकेटी भएर मेरो बोली तोते भएको होइन, यो उ भएर भएको हो । मान्छे बिमारी हुन्छ । तपाईंहरू ढुक्क हुनुहोस्, मै हो कांग्रेसमा ।’ सोमबार भक्तपुरको एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले व्यक्त गरेको धारणा हो यो । केही दिनअघि आसन्न महाधिवेशनमा सभापतिका अर्का प्रत्यासी उपसभापति रामचन्द्र पौडेलले स्वास्थ्यका कारण पनि यसपटक कोइरालाले आफूलाई सभापति छाड्ने बताएपछि त्यसको काउन्टरमा कोइरालाले यो अभिब्यक्ति दिएका हुन् ।
संस्थापन समूहभित्रैका यी दुई नेताको यो घोचपेचबाट सबैभन्दा ठूलो सन्तुष्टि सभापतिका अर्का बलिया दाबेदार शेरबहादुर देउवाले लिएका छन् । कोइराला र पौडेल मिल्दा पनि यसपटक देउवा कांग्रेसको सभापति हुने अनुमान बलियो बन्दै गएका बेला एउटै समूहका नेताहरूका यी अभिव्यक्तिले कांग्रेसको संस्थापन समूहकै कार्यकर्तालाई पनि अलमलमा पारिदिएको छ ।
कोइरालालाई पौडेल चुनौती
कांग्रेसवृत्तमा मात्र नभएर राजनीतिलाई नजिकबाट बुझ्ने सबैले जाने/बुझेको कुरा के हो भने कांग्रेसमा लामो समयदेखि एकछत्र राज गर्दै आएको कोइराला परिवार कांग्रेस नेतृत्वमा अझै केही वर्षसम्म पकड जमाउन चाहन्छ । त्यही भएर पार्टीभित्र आलोचना हुँदाहुँदै पनि मुखैमा आएको राष्ट्रपति नखाएर सभापति कोइराला प्रधानमन्त्रीमा उठ्न तयार भए । कांग्रेसको विरासत कोइराला परिवारमै राख्नका लागि अझै एक कार्यकाल सुशील नै सभापति हुनुपर्छ भन्ने मान्यताका कारण सुशीललाई राष्ट्रपति त्याग्न
परिवारभित्रैकै कोटरीले बाध्य पार्यो । यसपटक पनि कोइरालालाई सभापति बनाएर कोइराला परिवारकै एक सदस्यलाई चौधौं महाधिवेशनमा अध्यक्षका लागि तयार पार्ने योजना कोइराला परिवारको छ । तर, यसमा कोइराला परिवारका लागि देउवाभन्दा दर्शनढुंगाका रूपमा पौडेल देखा परेका छन् । यो महाधिवेशनमा आफू कुनै पनि हालतमा सभापति उठ्ने गरी पौडेलले अभियान तीव्र बनाएका छन् । अहिले पनि उनी देश दौडाहामा व्यस्त छन् । उनले हरेक मञ्चबाट ‘सभापतिको उम्मेदवार मै हुँ’ भन्दै आएका छन् । अघिल्लो महाधिवेशनमा सुशीललाई छाड्दा उनले आफ्ना लागि प्रधानमन्त्रीमा सहयोग नगरेको, प्रधानमन्त्री हुँदा कार्यबाहक सभापति नदिएको तोडका कारण पनि पौडेल कुनै पनि हालतमा कोइरालालाई नछाड्ने अडानमा रहेको बुझिएको छ । कोइरालालाई सघाउँदा उनीबाट नपाएको सहयोग देउवालाई सघाउँदा देउवाबाट पनि नपाइने हुनाले आफंै किन नउठ्ने भन्नेमा पौडेल छन् । उता, कोइराला आफू नछाड्ने अडानमा छन् । स्रोतका अनुसार अहिले कोइरालाले घुमाउरो र नरम पाराले बोले पनि सभापतिमा औपचारिक घोषणा गरिसकेका छैनन् । माघ १५ मा हुने नगर र गाउँ अधिवेशनको परिणाम हेरेर बल्ल धारणा बनाउने तयारीमा उनी रहेको बताइन्छ । ‘गाउँ र नगरको अधिवेशनबाट आफू हारिने जस्तो परिणाम आयो भने कोइरालाले पौडेललाई सघाउन सक्छन् नत्र आफैं उठ्छन्’– स्रोतले भन्यो ।
पैसा उठाउँदै पौडेल
सभापतिमा उठ्ने भन्दै पौडेलले विदेशमा बसोवास गरिरहेका नेपालीमार्फत अनलाइनबाट पैसा संकलन सुरु गरिसकेका छन् । पाँच दिनअघि सुरु भएको उनको यो अभियानमा अहिलेसम्म १० जनाले ३ सय ९० पाउन्ड अर्थात ६० हजार नेपाली रुपियाँ सहयोग गरिसकेका छन् ।डब्लूडब्लूडब्लू डट गो फन्ड मि डट कम मार्फत पैसा संकलन सुरु गरिएको हो । ‘आफ्नो मातृभूमिबाट विचलित भएर टाढा रहेको मनलाई यही नै पर्याप्त आधुनिक सेवा र सुविधा पुर्याई बसौं–बसौं बनाउन म राजनीतिमा लागेको हुँ’ भन्ने स्टाटस हालेर पौडेलले सहयोग मागेका छन् । उनलाई अहिलेसम्म अर्जुन लामिछानेले १ सय पाउन्ड, डा.बच्चुकैलाश कैनीले ५५ पाउन्ड, नारायाण घिमिरेले ५० पाउन्ड, अरुण थापाले ४० पाउन्ड, शक्तिशाली घिमिरेले १५ पाउन्ड, दिलीप श्रेष्ठ र केशव भट्टराईले २०–२० पाउन्ड रकम सहयोग गरेका छन् । पौडेलले यो अभियानअन्तर्गत ३० लाख रकम संकलन गर्ने बताएका छन् । उक्त रकम केमा खर्च गर्ने भन्ने कुरा पनि उनले त्यहाँ उल्लेख गरेका छन् । त्यहाँ उल्लेख भएअनुसार संकलित रकम देश दौडाहाको टिटक, कार भाडा, बस्न– खान र सामग्री प्रकाशनमा खर्च हुने बताएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply