कोइरालाको बाटोमा पौडेल तगारो !
काठमाडौं । ‘म केटाकेटी भएर मेरो बोली तोते भएको होइन, यो उ भएर भएको हो । मान्छे बिमारी हुन्छ । तपाईंहरू ढुक्क हुनुहोस्, मै हो कांग्रेसमा ।’ सोमबार भक्तपुरको एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले व्यक्त गरेको धारणा हो यो । केही दिनअघि आसन्न महाधिवेशनमा सभापतिका अर्का प्रत्यासी उपसभापति रामचन्द्र पौडेलले स्वास्थ्यका कारण पनि यसपटक कोइरालाले आफूलाई सभापति छाड्ने बताएपछि त्यसको काउन्टरमा कोइरालाले यो अभिब्यक्ति दिएका हुन् ।
संस्थापन समूहभित्रैका यी दुई नेताको यो घोचपेचबाट सबैभन्दा ठूलो सन्तुष्टि सभापतिका अर्का बलिया दाबेदार शेरबहादुर देउवाले लिएका छन् । कोइराला र पौडेल मिल्दा पनि यसपटक देउवा कांग्रेसको सभापति हुने अनुमान बलियो बन्दै गएका बेला एउटै समूहका नेताहरूका यी अभिव्यक्तिले कांग्रेसको संस्थापन समूहकै कार्यकर्तालाई पनि अलमलमा पारिदिएको छ ।
कोइरालालाई पौडेल चुनौती
कांग्रेसवृत्तमा मात्र नभएर राजनीतिलाई नजिकबाट बुझ्ने सबैले जाने/बुझेको कुरा के हो भने कांग्रेसमा लामो समयदेखि एकछत्र राज गर्दै आएको कोइराला परिवार कांग्रेस नेतृत्वमा अझै केही वर्षसम्म पकड जमाउन चाहन्छ । त्यही भएर पार्टीभित्र आलोचना हुँदाहुँदै पनि मुखैमा आएको राष्ट्रपति नखाएर सभापति कोइराला प्रधानमन्त्रीमा उठ्न तयार भए । कांग्रेसको विरासत कोइराला परिवारमै राख्नका लागि अझै एक कार्यकाल सुशील नै सभापति हुनुपर्छ भन्ने मान्यताका कारण सुशीललाई राष्ट्रपति त्याग्न
परिवारभित्रैकै कोटरीले बाध्य पार्यो । यसपटक पनि कोइरालालाई सभापति बनाएर कोइराला परिवारकै एक सदस्यलाई चौधौं महाधिवेशनमा अध्यक्षका लागि तयार पार्ने योजना कोइराला परिवारको छ । तर, यसमा कोइराला परिवारका लागि देउवाभन्दा दर्शनढुंगाका रूपमा पौडेल देखा परेका छन् । यो महाधिवेशनमा आफू कुनै पनि हालतमा सभापति उठ्ने गरी पौडेलले अभियान तीव्र बनाएका छन् । अहिले पनि उनी देश दौडाहामा व्यस्त छन् । उनले हरेक मञ्चबाट ‘सभापतिको उम्मेदवार मै हुँ’ भन्दै आएका छन् । अघिल्लो महाधिवेशनमा सुशीललाई छाड्दा उनले आफ्ना लागि प्रधानमन्त्रीमा सहयोग नगरेको, प्रधानमन्त्री हुँदा कार्यबाहक सभापति नदिएको तोडका कारण पनि पौडेल कुनै पनि हालतमा कोइरालालाई नछाड्ने अडानमा रहेको बुझिएको छ । कोइरालालाई सघाउँदा उनीबाट नपाएको सहयोग देउवालाई सघाउँदा देउवाबाट पनि नपाइने हुनाले आफंै किन नउठ्ने भन्नेमा पौडेल छन् । उता, कोइराला आफू नछाड्ने अडानमा छन् । स्रोतका अनुसार अहिले कोइरालाले घुमाउरो र नरम पाराले बोले पनि सभापतिमा औपचारिक घोषणा गरिसकेका छैनन् । माघ १५ मा हुने नगर र गाउँ अधिवेशनको परिणाम हेरेर बल्ल धारणा बनाउने तयारीमा उनी रहेको बताइन्छ । ‘गाउँ र नगरको अधिवेशनबाट आफू हारिने जस्तो परिणाम आयो भने कोइरालाले पौडेललाई सघाउन सक्छन् नत्र आफैं उठ्छन्’– स्रोतले भन्यो ।
पैसा उठाउँदै पौडेल
सभापतिमा उठ्ने भन्दै पौडेलले विदेशमा बसोवास गरिरहेका नेपालीमार्फत अनलाइनबाट पैसा संकलन सुरु गरिसकेका छन् । पाँच दिनअघि सुरु भएको उनको यो अभियानमा अहिलेसम्म १० जनाले ३ सय ९० पाउन्ड अर्थात ६० हजार नेपाली रुपियाँ सहयोग गरिसकेका छन् ।डब्लूडब्लूडब्लू डट गो फन्ड मि डट कम मार्फत पैसा संकलन सुरु गरिएको हो । ‘आफ्नो मातृभूमिबाट विचलित भएर टाढा रहेको मनलाई यही नै पर्याप्त आधुनिक सेवा र सुविधा पुर्याई बसौं–बसौं बनाउन म राजनीतिमा लागेको हुँ’ भन्ने स्टाटस हालेर पौडेलले सहयोग मागेका छन् । उनलाई अहिलेसम्म अर्जुन लामिछानेले १ सय पाउन्ड, डा.बच्चुकैलाश कैनीले ५५ पाउन्ड, नारायाण घिमिरेले ५० पाउन्ड, अरुण थापाले ४० पाउन्ड, शक्तिशाली घिमिरेले १५ पाउन्ड, दिलीप श्रेष्ठ र केशव भट्टराईले २०–२० पाउन्ड रकम सहयोग गरेका छन् । पौडेलले यो अभियानअन्तर्गत ३० लाख रकम संकलन गर्ने बताएका छन् । उक्त रकम केमा खर्च गर्ने भन्ने कुरा पनि उनले त्यहाँ उल्लेख गरेका छन् । त्यहाँ उल्लेख भएअनुसार संकलित रकम देश दौडाहाको टिटक, कार भाडा, बस्न– खान र सामग्री प्रकाशनमा खर्च हुने बताएका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
Leave a Reply