उच्च राजनीतिक चेतनाको परिणाम
पहाडको स्याङ्जा जिल्ला किचनाश गाउँबाट बसाइँ सरेर नवलपरासी जिल्लाको गैंडाकोटको आसपासमा बसोबास गर्ने समुदायको पहलमा २०६८ सालमा स्याङ्aजा किचनाश कल्याणकारी समाजको गठन गरेपश्चात् एउटा स्मरणीय तथा गहकिलो काम गर्ने सिलसिलामा २०७२ पुसमा एउटा ‘किचनाश विम्ब’ नामक स्मारिका प्रकाशन भएछ । यस स्मारिकाको परिकल्पनादेखि प्रकाशित भएर विमोचन हुने दिनसम्म म पनि कुनै न कुनै रूपमा संलग्न रहें । कामका सन्दर्भमा यति गहकिलो प्रकाशन तयार हुन्छ भन्ने मलाई लाग्दै लागेको थिएन । हुनसक्छ पत्रिका या स्मारिकाको प्रकाशन एउटा कर्मकाण्ड जस्तै घटना बन्ने छ भन्ने नै मेरो मूल विचार थियो । त्यो कुरा अहिले असत्य सावित भएको छ ।
कुरा मैले सोचेजस्तो रहेन । यसको प्रकाशनका दौरानमा यसमा समाविष्ट सबै लेख रचनाहरूलाई छुट्टाछुट्टै रूपमा कैयौंपटक अध्ययन गर्ने बाध्यात्मक अवस्था रह्यो । यी सबै लेखहरूलाई एकत्रित पारेर जब स्मारिकामा समाविष्ट गरिए त्यसपछिको अवस्थामा यो ‘किचनाश विम्ब’ नामक स्मारिका साँच्चै राष्ट्रिय स्तरको कुनै कुशल सम्पादकहरूले प्रकाशन गरेको अत्यन्त उच्चस्तरको गहकिलो प्रकाशनभन्दा कम छैन । किनभने यसमा कतिपय लेखहरू यति महत्त्वपूर्ण छन्, जसले किचनाश र त्यसआसपास क्षेत्रको राजनीतिक अधिकार प्राप्तिका लागि गरिएको जीवित आन्दोलनको इतिहास अंकित भएको छ । किनभने कतिपय यस्ता व्यक्तित्वहरूको परिचर्चा विभिन्न लेखहरूमार्फत् अभिव्यक्त भएका छन्, ती सबैले आफ्नो राजनीतिक जीवनका मर्मान्तक पीडाहरु सहेर पनि सिर्जनात्मक सोंचहरूका आधारमा काम गर्ने, विभिन्न आन्दोलनहरूमा गरिएका क्रियाकलापहरूको सजीव दस्तावेज नै बनेको छ । यसै प्रसंगमा रामचन्द्र चापागाईंले आफ्नो जीवनको अनुभूतिहरूमा भन्नुहुन्छ– ‘गणतन्त्रको स्थापना गर्ने पृष्ठभूमिमा किचनाशबाट धेरै नेताहरू भए । कांग्ेरसीतर्फ दण्डापाणि शर्मा, डिल्लीरमण न्यौपाने (लौसी) एकनारायण वाग्ले (दह) दण्डपाणि न्यौपान (लौसी), चक्रबहादुर खान र हरिप्रसाद शर्मा (सामडाँडा), शिवप्रसाद वाग्ले, तारापति वाग्ले, भीमबहादुर क्याप्टन, चित्तराम्जन न्यौपाने आदि रहे । त्यस्तै कम्युनिस्टतर्फ दीपक अधिकारी, टंकप्रसाद चापागार्इं, लीलाधर चापागाईं, चिमलाल पोखरेल, धनप्रसाद सुनार, तारिणीदत्त वाग्ले, रामचन्द्र चापागाईं, धर्मदत्त, भक्ति शर्मा, यदु वाग्ले, झगरिलाल वाग्ले, टंकप्रसाद पोखरेल, कल्याण पोखरेल, ठाकुर पोखरेल, चन्द्रकुमार उपाध्याय, प्राज्ञ गोपीमरण उपाध्याय, नीलकण्ठ वाग्ले, घनश्याम, ठाकुरप्रसाद वाग्ले थिए ।’ (किचनाश विम्ब, पृष्ठ ६५)
उहाँको यस लेखमा किचनाशका नेता, बुद्धिजीवीहरूले नेपाल राष्ट्रकै बौद्धिक र राजनीतिक आन्दोलनमा अत्यन्त दूरगामी प्रभाव पारेको विषयलाई त्यति नै भरपर्दो तथ्य तथ्यांक दिएर प्रस्तुत गर्नुभएको छ । सुरुमा त्यस क्षेत्र वरिपरिमध्ये राजनीतिक सचेतनता हिसाब सबैभन्दा अग्रणी रहेको विषयलाई प्रस्तुत गर्दै चन्द्रकुमार शर्मा भन्नुहुन्छ– ‘देशभरको जनआन्दोलनको लहरमा स्याङ्जा किचनाश पनि अछूतो रहेन । पार्टी नेता तथा कार्यकर्ताहरूको नेतृत्वमा स्याङ्जा पोखरा हुँदै राजधानी काठमाडौंसम्म जनलहर उर्लिएर गएको थियो । सो आन्दोलनमा नेपाली कांग्ेरसबाट नेतृत्वपंक्तिमा रहेर जनतालाई गोलबन्द गर्दै अहम् भूमिका निर्वाह गर्नुहुने व्यक्तिहरूमा हरिकिशोर उपाध्याय, दण्डपाणि न्यौपाने आदि … र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पनि सोही अनुसारको भूमिका निर्वाह भएको हो । जसमा कल्याणकुमार पोखरेल, अर्जुन मानन्धर (साल्डाँडा), रामप्रसाद चापागाईं (धारापानी) जसलाई प्रहरी प्रशासनले गिरफ्तार गरी नजरबन्दमा राख्यो भने सूर्यप्रसाद पौडेल, इन्द्रप्रसाद पौडेल, टंकप्रसाद शर्मा, नीलकण्ठ शर्मा, लोकेन्द्र राना, चन्द्रकुमार उपाध्याय, खडानन्द वाग्ले, मेघबहादुर क्षेत्रीलगायतका थुपै्रथुप्रै नेता कार्यकर्ताहरूको संलग्नता रहेको थियो । (किचनाश विम्ब, पृष्ठ २१)
यसैगरी डिल्लीरमण शर्माको लेख– मेरो जीवनका पैंतालीस वर्षका स्मृति विम्बहरू’मा उहाँले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा लाग्दा उहाँले भोग्नुपरेका दुर्दान्त यातनाको चित्रणले एउटा मानिसको आफ्नो सैद्धान्तिक मान्यताको रक्षाका निम्ति कुन हदसम्म पीडा सहन तत्पर हुन्छ भन्ने विषय पनि यस लेखमार्फत् प्रस्ट भएको छ । यसै लेखमा डिल्लीमरण शर्मा भन्नुहुन्छ– ‘२००७ सालको एउटा उपलब्धि च्यूत गरिएका श्री ५ राजा त्रिभुवनलाई गद्दी र अधिकारविहीन नेपाली जनतालाई सार्वभौम राज्य अधिकार प्राप्त भएको थियो । यदि राजाले जनताको अधिकार खोस्ने हो भने जनताले पनि राजाको निरंकुशता चाहन्नौं भने के हुन्छ सर ? भनेको मात्र थिएँ मलाई भुइँबाट उचालेर कटबाँसका सिठ्ठाबाट कोर्रा लगाउन थालियो । घोडा पिट्ने छालाको कोर्राले हानेर सुरुवालै च्यातियो र खुट्टा रगताम्मे भए । इन्स्पेक्टर धनबहादुरले अब पिरौंलामा पुग्यो । उँधोमुन्टो झुन्ड्याएर पैंतालामा ३६५ कोर्रा हान † माघको जाडो नुवाकोटको डाँडो चिसोपानी खन्याउँदै पैंतालामा पिट्दा टाउकामा झरेको रगतले ताल परेको थियो । मलाई कपालबाट घिसार्दै लगेर बेहोस अवस्थामा चउरमा सुताएका रहेछन्– (किचनाश विम्ब, पृ. ७१)
यस प्रकारको दुर्दान्त यातना सहेर पनि डिल्लीरमणले आफ्नो राजनीतिक आस्थालाई विचलित पारेनन् र जीवनभर प्रजातान्त्रिक मूल्य मान्यताका लागि आफूलाई समर्पण गर्ने र अहिले गणतन्त्र प्राप्तिपछि पनि डिल्लीरमणले आफ्नो अटल आस्था र निष्ठालाई बचाएको आफ्नो अनुभव सिंगो भावी पुस्तालाई एउटा प्ेररणा लिनुपर्ने पाठक रूपमा प्रस्तुत गर्नुभएको छ ।
किचनाश विम्बको अर्को विशेषता भनेको यस गाउँमा राणाकालीन समयदेखि आजसम्मको शैक्षिक विकासको इतिहास पनि यथोचित रुपमा प्रस्तुत गरिएको छ । शैक्षिक चेतनासँगै राजनीतिक अधिकार प्राप्तिको सवालमा हाम्रा अग्रजहरू दण्डपाणी शर्मा, चक्रबहादुर खान, ठाकुरप्रसाद पोखरेल, हरिप्रसाद उपाध्याय, चन्द्रकुमार उपाध्याय, रामचन्द्र चापागाईं, टंक चापागाईं हादि महानुभावले खेलेको भूमिकाले गर्दा सम्भव हुन गएको हो र अहिले आएर त्यहाँको शैक्षिक अवस्थाको किचनाश गाविस अन्तर्गतका विद्यालयहरुको सचित्र परिचय ‘किचनाशमा विद्यालयहरूको स्थिति’ नामक सचित्र लेखले स्पष्ट पारेको छ । यसमा संग्रहित तीनवटा शैक्षिक विकासको गतिविधिसम्बन्धी रचनाहरुले प्रत्येक कालखण्डमा त्यसगाउँका शैक्षिक फाँटमा काम गर्ने अगुवाले केकस्ता संघर्षहरू गर्नुपरेको थियो भन्ने लेखहरू पढ्दा वर्तमान पुस्ता लाभान्वित हुन सक्छ र थप उन्नतिका लागि अघि बढ्ने प्ेररणा प्राप्त गर्न सक्छ । जसअन्तर्गत ठाकुर पोखरेलको ‘शैक्षिक झलक’, चक्रबहादुर खाणको किचनाशको शैक्षिक विकास र वर्तमान अवस्थाले पनि थप स्पष्ट पारेका छन् ।
यस किचनाश विम्बमा खाली किचनाश राजनीतिक र शैक्षिक विषयका लेखहरूमात्र नभएर त्यहाँको भौगोलिक एवं ऐतिहासिक जानकारी प्रदान गर्ने लेखदेखि लिएर त्यहाँको विकासका सम्भावनाहरूका के–के छन्, वन तथा वातावरणको अवस्था, जडिबुटीद्वारा कसरी उपचार गरिन्छ र तिनको उपयोगिताका विषयमा पनि जानकारीमूलक लेखहरू समाविष्ट रहेको देखिन्छ । सांस्कृतिक विविधताका विषयमा विभिन्न विद्वान लेखकहरुले यसमा आफ्ना अनुभव र भावनाहरु प्रस्तुत गरेका छन् ।
पाका पुराना व्यक्तिहरुदेखि लिएर प्रतिभाहरुले पनि यसमा उत्तिकै स्थान प्राप्त गरेका छन् । चन्द्रकुमार उपाध्याय, प्रधान सम्पादक भएर प्रकाशन गर्नुभएको यो किचनाश विम्ब साँच्चै नै आफ्नो उद्देश्यप्राप्त गर्न पूर्णरुपमा सफल रहेको देखिन्छ ।
कुनै पनि कुरा राम्रै राम्रो मात्र हुँदैन तिनमा कतिपय कमीकमजोरीहरू देखिएका छन् । त्यस्ता प्रकारका कमजोरीहरु आगामी दिनका प्रकाशनहरुमा भरसक रहन दिनुहुँदैन । त्यसतर्फ बढी चर्चा नगर्दा नै वेश हुन्छ किनभने यस किचनाश विम्बले जति महत्त्वपूर्ण ऐतिहासिक महत्व बोक्न सफल भएको छ त्यसमा रहेका केहमी मात्राका कमीकमजोरीहरू नगन्य छन् तिनको गणना एवम् चर्चा गरिरहनु कुनै आवश्यकता छैन । यस्तो संकल न प्रकाशन गर्न दत्तचित्त भएर लाग्नु हुने मेरो किचनाशका सबै बन्धु बान्धवहरूप्रति आभार व्यक्त गर्दछु र यो काम तपाईंहरुको उच्च राजनीतिक चेतनाको प्रतिफल हो भन्ने महसुस गरेको छु ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply