डिग्रीमा होइन, प्राविधिक शिक्षामा जोड दिऔं
२०७० वैशाख १५ गते सदस्य–सचिवका रूपमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीमा कार्यभार सम्हालेका लामिछाने ०४६ साल चैतमा लेखा अधिकृतबाट सीटीईभीटीमा प्रवेश गरेका हुन् ।
मकवानपुर चित्लाङका लामिछानेसँग प्रशिक्षक, प्रमुख प्रशिक्षक हुँदै निर्देशक भएको अनुभव छ । काठमाण्डु विश्वविद्यालयबाट गरिब तथा विपन्न वर्गको प्राविधिक शिक्षामा पहुँच विषयमा विद्यावारिधि गरेका उनले अमेरिकाबाट एजुकेसन प्लानिङ एन्ड पोलिसीमा प्रोफेसनल कोर्षसमेत गरेका छन् । उनी मुलुकमा रहेका थोरै प्राविधिक तथा व्यावसायिक शिक्षाका ज्ञातामध्येमा पर्छन् । प्रस्तुत छ उनले परिषद् सम्हालेपछिका चुनौती र नयाँ योजनाबारे उनीसँग गरिएको कुराकानी :
० तपाईं सदस्य–सचिव भएर आएपछि गरेका कामहरू के–के हुन् ?
–अबको ४–५ वर्षमा राष्ट्रिय व्यावसायिक योग्यताका ढाँचाले हरेक प्राविधिक शिक्षा मापन गर्ने फ्रेमवर्क बनाउने तयारीमा छौं । हामीले स्विस विकास सहयोग नियोगसँग त्यो काम गर्दैछौं । त्यसैगरी, विभिन्न नयाँ परियोजनाहरू चलिरहेको छ । एडीबी, वल्र्ड बैंक, इयूसँग पनि मिलेर हामीले धेरै नयाँ कामहरू गर्दैछौं । सात वर्षदेखि कर्मचारी पदपूर्ति थिएन । पहिलोचोटि प्रथम चरणमा पदपूर्ति गर्यौं ।
० अहिले सीटीईभीटीले आफ्नो ध्यान केन्द्रित गरेको काम के हो ?
–हामीले मुख्य गरी ४ वटा काम गर्छौं । नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा सरकारलाई नीतिहरू परिवर्तन गर्न, नीति निर्माण गर्न, नयाँ–नयाँ परियोजनाहरूको पहिचान र विकास गर्न तथा कार्यान्वयनमा सहयोग गर्ने गरेका छौं । दोस्रो काम भनेको एकमहिने अवधिदेखि १ वर्षसम्मका विभिन्न व्यावसायिक तालिम देशैभरि सञ्चालन गर्ने, प्राविधिक तहको टीएसएलसी तथा डिप्लोमा तहका कोर्सहरू सञ्चालन गर्ने र आफैंले औपचारिक तथा अनौपचारिक रूपमा सिकेका सीपहरूलाई परीक्षण गरेर प्रमाणित गर्ने काम पनि सीटीईभीटीले गर्दै आएको छ ।
जसको परिणाम स्वरूप ०५० सालमा जम्मा ६–७ वटा टेक्निकल स्कुल भएको नेपालमा अहिले सरकारी तहमा झन्डै ४० वटा स्कुल, सामुदायिक विद्यालयहरूमा ७५ वटा स्कुल र निजी क्षेत्रमा झन्डै ५ सय वटा प्राविधिक शिक्षालय छन् ।
त्यसकारण अहिले सीटीईभीटीको नेटवर्क भनेको ज्यादै ठूलो छ । किनभने विभिन्न तहमा गरेर वर्षमा झन्डै १ लाख ग्रयाजुएट्सहरू उत्पादन हुन्छन् ।
० तपाईंहरूले तालिम दिएजति सबैले रोजगारी किन पाएका छैनन् ?
–त्यसको बेलाबेलामा हामीले अध्ययनहरू गरेका छौं । अहिले हेर्दा छोटो अवधिको प्राविधिक तालिममा लगभग ६० प्रतिशतले रोजगारी गरेका छन् । चाहे त्यो आफ्नै उद्यम तथा अरूको ज्यालामा जे होस् । र, टीएसएलसी तथा डिप्लोमा तहको कुरा गर्ने हो भने रोजगारीको प्रतिशत ८० प्रतिशतभन्दा माथि छ । तर, अहिले आएर अरू विषयमा रोजगारीको अवस्था एकदम राम्रो देखियो भने नर्सिङमा रोजगारी घटिरहेको छ । यो इन्ट्रेस्टिङ विषय छ ।
० नर्सिङमा किन रोजगारी खस्किएको होला त ?
–नेपालको बजारमा नर्सिङ रोजगारी घटिरहेको छ तर पढ्न आउने डिमान्ड चाहिँ बढिरहेको छ । २ वर्षदेखि भोलेन्टियर छौं । तलब पाइएन, पाँच हजारमा, दुई हजारमा काम गरिरहनुपरेको छ’ भनेर केही महिनाअघि हजारौं नर्सहरूले जुलुससमेत गरे ।
त्यत्रो खर्च गरेर पढेका थिए । बजारले एब्जर्ब गर्ने क्यापासिटी भन्दा उत्पादन बढी भएर यो समस्या आएको हो । हामी प्रोडक्सन रोक्न खोज्छौं तर मार्केट मान्दै मान्दैन । तर, अधिकांश पढ्न आउनेहरू विदेश जाने चाहनाले पनि पढ्न आएका छन् ।
नर्सिङको नेपालको श्रम बजारमा भर्खर ८–१० वर्षपछि पहिलोचोटि लोकसेवाले यो साल नर्सको भर्ना लियो । नत्र मागेकै थिएन । प्राइभेट हस्पिटलमा साँच्चै भन्ने हो भने श्रम शोषण छ नर्सका लागि । किनभने एक वर्षसम्म त उनीहरूले भोलिन्टियर नै गरेर बस्नुपर्छ ।
एक वर्षपछि सामान्यतया ८–१० हजार रुपियाँमा काम लगाउँछन् । हुन त स्थापित अस्पतालले त राम्रै तलब पनि दिएका छन् । तर, नर्सिङ पेसामा अहिले बढी उत्पादन भएको कारणले शोषण छ ।
अनमी मागिएको ठाउँमा स्टाफ नर्सले आवेदन दिइरहेका छन् । स्टाफ नर्स मागेको ठाउँमा बीएनले एमएनले आवेदन हालिरहेका छन् । त्यसकारण नर्सिङ ग्रयाजुएटहरू चाहिँ मार्केटमा धेरै तर तिनीहरूको जब एकदम कम छ । तर, अन्य क्षेत्रमा भने प्राविधिक पढाइको जागिर एकदम राम्रो छ ।
० अहिले सीटीईभीटीको समस्या र चुनौतीहरू के देखिएको छ ?
–अहिले पहिलो कुरा त दुर्गम क्षेत्रमा प्राविधिक शिक्षा फैलाउनका लागि हाम्रो काम केन्द्रित भएको छ । र, पिछडिएको वर्गलाई यो क्षेत्रमा पहुँच बढाउन हामीलाई कठिन भएको छ । किनकि साधन स्रोतको परिचालनमा समस्या छ ।
एकातिर अब नीति र कार्यक्रमहरूले प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको छ भनिएको छ तर बजेट त्यति आइरहेको छैन । सीटीईभीटीले दूरदराजमा प्राविधिक शिक्षा र व्यावसायिक तालिम दिने चाहना छ तर राज्यबाट बजेट नआएपछि त्यो तहमा दिन सक्दैन । त्यसकारण कहिलेकाहीँ सीटीईभीटीलाई आरोप पनि लाग्छ प्राइभेट क्षेत्रमा बढी गयो भनेर ।
सरकारले दुर्गम पिछडिएको क्षेत्रलाई चाहिँ जसरी पनि कम्तीमा पढाउन दिने भनेर बजेट दियो भने त प्राइभेट क्षेत्रमा धेरै जाँदै जाँदैन नि ।
कार्यक्रममा भन्ने तर पर्याप्त बजेट नदिने गरेपछि त समस्या हुन्छ । त्यसैले साधन–स्रोतको पहिलो समस्या छ भने दोस्रोमा टेक्नोलोजीको परिवर्तनसँगै हामीले हाम्रा पाठ्यक्रमहरू, हाम्रा प्रयोगशाला र हाम्रा प्राविधिक स्कुलको इक्विपमेन्टहरू परिवर्तन गर्न सक्या छैनौं । जसले गर्दा कता–कता डिमान्ड र सप्लाइको ग्याप भएको छ ।
त्यस्तै, दुर्गम क्षेत्रका प्राविधिक शिक्षालयमा योग्य प्रशिक्षकहरूलाई लान सकिएको छैन । अहिले जुम्लामा योग्य इन्जिनियर एग्रिकल्चरको बीएससी, एमएस्सी गर्या शिक्षकहरूलाई राख्नुपर्यो भने ठूलो कठिनाइ छ किनभने सहरी क्षेत्रमा नै उहाँहरूको अवसर धेरै भएको हुनाले दुर्गम क्षेत्रमा प्रशिक्षक जानै मान्दैनन् ।
अर्को सीटीईभीटीले भन्दा पनि राज्यले ध्यान दिनुपर्ने कुरा दक्ष कामदारलाई राज्यले देशमा राख्न सकेको नै छैन । उनीहरू बजारमा आएका छैनन् । बाहिर गइरहेका छन् ।
० नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई किन मतलब नदिएको होला ?
नेपालको समाजले अझै पनि सीपमूलक अर्थात् गरिखाने शिक्षालाई दोस्रो दर्जामा राखेको पाइन्छ । आम नागरिक युवा र अभिभावकहरूले आधारभूत तहको विद्यालय शिक्षापछि प्राविधिक तथा व्यावसायिक शिक्षा छान्नुपर्यो र त्यही विषय पढ्नुपर्यो । अर्थशास्त्र, अंग्रेजी विषय पढ्यो । त्यसमा अब्बल हुन्छ भने क्रिम अफ द क्रिमले मात्र एकेडेमिक क्षेत्रमा जाने हो । त्यसबाहेक सतही पढ्नेहरू प्राविधिकतिर लाग्नुपर्छ ।
बीए, एमए पढें भनेर मात्र हुँदैन । एमए गरेर तीन महिनाको व्यावसायिक तालिम लिन आउने परिपाटी छ । त्योभन्दा एसएलसीपछि आफ्नो योग्यता राम्रो भएन भने प्राविधिक शिक्षातर्फ मोडिनुपर्छ ।
हाम्रो सन्दर्भमा पाठ्यक्रममा समस्या छ, सिंगो शिक्षा नीतिमै समस्या छ । बेरोजगार उत्पादन गर्ने विश्वविद्यालयको डिग्रीमा होइन, प्राविधिक शिक्षामा जोड दिऔं । समाजले हेर्ने दृष्टिकोण पनि अब्बल दर्जामा राखिनुपर्यो ।
एउटा मोटर ग्यारेजमा काम गर्ने मेकानिक्सले अहिले महिनाको १ लाख कमाउँछ तर अर्को एमए गरेको बेरोजगार छ भने हाम्रो समाजमा छोरी दिनुपर्यो भने प्राविधिकलाई होइन, एमएम पढेको बेरोजगारलाई छान्छौं । त्यसो भएकाले समाजको दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्यो ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply