यसकारण हो मेरो दाबेदारी
हामी अनेरास्ववियुको गौरवमय पचास वर्षमा छौं । गएको वैशाख १२ गतेको महाविनाशकारी भूकम्पका कारण हामीले यसबीचमा स्वर्ण जयन्ती मनाउन सकेनौं । आधा शताब्दी लामो विद्यार्थी आन्दोलनको यात्रामा हामीले अनेकौं उतारचढावपूर्ण समय व्यतीत गर्यौं । पञ्चायती निरंकुशताका विरुद्ध मोर्चामा उत्रिएका जुझारु विद्यार्थीहरूले स्थापना गरेको अनेरास्ववियु बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापनाको आन्दोलनको अगुवाइ गर्न समर्थ रह्यो । जनताको राजनीतिक व्यवस्था परिवर्तनको मुद्दालाई नेतृत्व गर्दै करिब डेढ दशकको अन्तरालमा संघीय गणतन्त्र नेपालको स्थापनामा राजनीतिक दलहरूलाई सडकमा घिसार्ने काममा अनेरास्ववियु सफल रह्यो र हामी गणतान्त्रिक युगमा प्रवेश गर्यौं । संविधानसभाबाट संविधान घोषणा भएको ऐतिहासिक घडी पनि हाम्रा लागि उल्लासमय हुन सकेन । एकातिर भूकम्पले थिलथिलो बनाएको हाम्रो अर्थतन्त्र भारतीय नाकाबन्दीले अत्यन्त नाजुक अवस्थामा पुगेको छ । जनताले चुलो बाल्न नसकेको अवस्था, विद्यार्थीहरू सहज ढंगबाट विद्यालय/कलेज पुग्न नसक्ने अवस्था यथार्थमा राष्ट्रिय संकटको घडीमाझ हामी २२औं राष्ट्रिय महाधिवेशनको संघारमा उपस्थित भएका छौं । राष्ट्रिय स्वाधीनताको आन्दोलनको औचित्य यसपटक स्पष्ट ढंगबाट पुष्टि भएको छ । हामी विद्यार्थी आन्दोलनलाई शैक्षिक आन्दोलनसँग मात्र जोडेर अगाडि बढ्न सक्ने अवस्थामा रहेन ।
आजका विद्यार्थीहरू भोलिका युवा हुन् र देशलाई आवश्यक जनशक्ति निर्माण गर्ने कारखाना हुन् हाम्रा विद्यालय र विश्वविद्यालयहरू । अनेरास्ववियु राजनीतिक कार्यकर्ता उत्पादन गर्ने भट्टी हो, तसर्थ भोलिको नेपालको नेतृत्व निर्माण गर्ने आधारस्तम्भ पनि हो । यसकारण हाम्रो महाधिवेशन समग्र राष्ट्रिय चासो बन्नु स्वाभाविक छ । खासगरी १८औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयनको सन्दर्भमा हामीले लोकतान्त्रिक पद्धतिका अनेक सुन्दर पक्षहरूका बाबजुद नेतृत्व चयनका सवालमा अस्वस्थ प्रतिस्पर्धा, विचार र एजेन्डाभन्दा माथिको बहसको सट्टा आत्मकेन्द्रित चिन्तनको आधारमा गुटहरूको निर्माण जस्ता समस्याहरूबाट हामी अछुतो हुन सक्नेछांै । जसका कारण संगठनको एकता, आन्दोलनको गति र समग्र विद्यार्थी आन्दोलन नै अस्तित्व रक्षाको अवस्था हाम्रो तीतो यथार्थ हो ।
आज जनता प्रश्न गरिरहेका छन् विद्यार्थी संगठनको आवश्यकता किन ? विश्वविद्यालय, स्कुल/कलेजमा विद्यार्थी संगठनको भूमिका के ? के विद्यार्थी संगठनको काम कर्मकाण्डी पारामा इन्धनको मूल्य वृद्धिको विरोधमा २/४ दिन सडकमा धर्ना दिनु मात्र हो ? विद्यार्थी संगठनमा आबद्ध नेता र कार्यकर्ता पंक्तिको आचरण, आर्थिक हैसियत र गतिविधिमाथि पनि विभिन्न कोणबाट प्रश्नहरू उठिरहेका छन् । हामी २२औं महाधिवेशन नेतृत्व चयनका लागि मात्र गर्न गइरहेका छैनांै । समग्र विद्यार्थी आन्दोलनको दिशा निर्माण गर्ने नीतिको बहस पनि हाम्रो मुख्य कार्यभार हो ।
हाम्रा विश्वविद्यालयहरू धराशायी छन् । प्राध्यापक आफ्नो पेसाप्रति जिम्मेवार छैनन् । राज्य शिक्षामा लगानी बिस्तार गर्न अनिच्छुक छ । भएका विश्वविद्यालयका पूर्वाधारहरू जीर्ण छन् । हाम्रा पाठ्यपुस्तकहरू समयअनुकूल परिमार्जित हुन सकेका छैनन् । परिमाणत: विश्वविद्यालयका उत्पादनहरू सर्टिफिकेट लगेजमा थन्काएर खाडी मुलुकमा सस्तो काम बेच्न विवश छन् । अलि दक्ष जनशक्ति स्थायी रूपमा पलायन भइरहेका छन्, देशमा रोजगारीको अवस्था विकराल छ । किन हाम्रा विद्यार्थीहरू आफैं रोजगारी सिर्जना गर्ने खालको उत्पादनको प्रक्रियासँग जोडिन सकिरहेका छैनन् । अनेरास्ववियुको महाधिवेशनको बहस यस दिशामा केन्द्रित हुनु आवश्यक छ । आज जनतामा समग्र, राजनीतिक पार्टीहरूप्रति वितृषित हँुदै छन् । जननिर्वाचित संसद्, मन्त्री तथा राज्यका विभिन्न निकायका जिम्मेवार व्याक्तिहरूको गतिविधि र उनीहरूको अपारदर्शी जीवनशैलीले राज्यका सम्पूर्ण निकायहरू प्यारालाइज्ड छन् । देशको प्रधानमन्त्री समयमा काम गर्न नसक्ने एउटा मन्त्रालयको सचिवलाई नियमानुसार कारबाही गर्न हिचकिचाउनुपर्ने दयनीय अवस्था हाम्रो राज्य सञ्चालनमा देखा पर्दैछ ।
किन जिम्मेवारी अख्तियारी गरेका व्याक्तिहरू नै निर्लज्ज ढंगबाट आफ्नो ओहोदाको दुरुपयोग गर्न उद्यत छन् । के हामी समग्र राज्य संयन्त्रको पुनर्गठन गर्नुपर्ने अवस्थामा आइपुगेकै हो त ? यिनै जल्दाबल्दा राष्ट्रिय मुद्दाहरू हाम्रा महाधिवेशनको बहसका विषय हुनु जरुरी छ । यथार्थ, तीतो छ तर यो सत्य छ कि हामी मूलभूत मुद्दाहरू भन्दा बाहिर को नेता बन्ने भन्ने लिगलिगे दौडमा सामेल भएका छांै । हामी जवाफ दिन सकिरहेका छैनौं किन हामी राजनीतिमा क्रियाशील छौं ? के विद्यार्थी संगठनको नेतृत्वमा पुग्नु, केही समय भाषण, गोष्ठी, सभा सम्मेलनमा बिताउन र केही राजनीतिक प्रोफाइलसहित राष्ट्रिय राजनीतिको मूलधारमा आफूलाई स्थापित गराउनु नै हाम्रो मूल ध्येय हो त ? आज छातीमा हात राखेर आफैंसँग प्रश्न गर्नुपर्ने बेला आएको छ कि मेरो राजनीतिक जीवनको औचित्य के र किन, म विद्यार्थी संगठनको नेतृत्व गर्न मैदानमा उत्रिँदै छु ? म भन्न चाहन्छु जवानीका १५ र २० वर्ष विद्यार्थी आन्दोलन व्यतीत गरेका व्यक्तिहरू बाँकी जीवन स्वार्थरहित राजनीतिमा बिताउन तयार छौं ? आजका अनेरास्ववियुका कार्यकर्ता नेता यदि यो संकल्प गर्न तयार छौं भने अबको राजनीतिको ट्रयाकलाई नेतृत्व गर्ने पंक्ति यही महाधिवेशनबाट चुनिने नेतृत्व हुनेछ । अबको केही दशकभित्र देशको राजनीतिक पद्धतिलाई सही ढंगबाट नियन्त्रण गर्ने र डेराको स्रोत साधनलाई उपयोग गर्दै राष्ट्रको समृद्धिमा भूमिका निर्वाह गर्ने पंक्ति यही संगठनबाट उत्पादन हुनेछ । यिनै ऐतिहासिक कार्यमा पूरा गर्ने संकल्पसहित २२औं महाधिवेशनबाट अध्यक्षको जिम्मेवारी लिने अठोटसहित म महाधिवेशनको सफलतामा केन्द्रित भएको छु । यो कुनै व्यक्तिगत मनोकांक्षामा भावावेशमा आएर लिएको निर्णय होइन । विद्यार्थी आन्दोलनको माग, राजनीतिक कार्यदिशाको अन्योलका बीच गुज्रिएको समय र राष्ट्रिय राजनीतिमा युवा विद्यार्थीहरूले निभाउनुपर्ने ऐतिहासिक कार्यभार नै मेरो नेतृत्वप्रतिको दाबेदारीका उत्प्रेरक कारण हुन् ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply