विद्यार्थीले उठाउनैपर्ने तीन मुद्दा
अनेरास्ववियुको २२औं राष्ट्रिय महधिवेशन यही माघको २७ गतेदेखि काठमाडौंमा सुरु हँुदै छ । मुलुक इतिहासकै जटिल र संवेदनशील घडीमा उभिएका बेला हुन लागेको यो महाधिवेशनलाई सबै पक्ष र क्षेत्रले विशेष चासोका रूपमा हेरेका छन् । यतिबेला राष्ट्र गम्भीर दुर्घटनातर्फ अगाडि बढिरहेको छ । चिन्ता, निराशा र आक्रोश सर्वत्र व्याप्त छ । नेपाली राष्ट्रिय स्वाभिमान, अखण्डता, स्वतन्त्रता र सम्प्रभुता कमजोर बनाउन साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरू लागिरहेका छन् । वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले पुर्याएको मानवीय तथा भौतिक क्षति एउटा सार्वभौमसत्ता मुलुकप्रति भारतले गरेको अमानवीय नाकाबन्दीको पीडा सहँदै सिंगो राष्ट्र र राष्ट्रिय स्वाभिमानको पक्षमा कष्ट र अभावै सहेर भए पनि लडिरहेका छन् । मधेस केन्द्रित दलहरूको बारम्बारको आन्दोलन धर्नाा हडतालले सबै क्षेत्र अस्तव्यस्त बन्न पुगेका छन् । तराई मधेसका शैक्षिक संस्थाहरू अझैसम्म पूर्ण रूपमा सुचारु हुन सकेका छैनन् भने इन्धन लगायतका अत्यावश्यक वस्तुहरूको अभावका कारण अन्य ठाउँहरूमा समेत विद्यार्थीहरू नियमित स्कुल/कलेजहरू जान सकेका छैनन् । कालोबजारी मौलाएको छ, हत्या, हिंसा, लुटपाट, भ्रष्टाचार झन्झन् बढिरहेको छ । सरकार यस्ता क्रियाकलाप रोक्न विफल देखिएको छ । विधिको शासन भन्न सुहाउने एउटै काम हुन सकेको छैन । यो परिस्थितिमा सम्पन्न हुन गइरहेको अनेरास्ववियुको यो महाअधिवेशनमा आम समुदायको ध्यान केन्द्रित हुनु स्वाभाविकै हो । अनेरास्ववियुको इतिहास गर्विलो छ । अग्रजहरूको त्याग, समर्पण र बलिदानले भरिएको जीवनगाथा छ । हिजोका दिनमा सामाजिक, राजनीतिक, शैक्षिक, साँस्कृतिक र रचनात्मक आन्दोलनको क्षेत्रमा यसले खेलेको भूमिका अझै पनि निर्वाह गर्न सक्छ भन्ने मान्यता अझै पनि रहेका कारण यसको महाधिवेशनलाई विशेष चासोका रूपमा हेरिएको छ । तसर्थ, अनेरास्ववियुको महाधिवेशनमा केही मुद्दा उठाउन
जरुरी खेखिन्छ ।
पहिलो : शैक्षिक मुद्दा
मूलत: अनेरास्ववियु शैक्षिक आन्दोलनको नेता संगठन हो । राजनीतिक क्रान्ति पूरा भएको अवस्थामा अब संगठनले शैक्षिक क्षेत्रमा नै आफ्नो ध्यान केन्द्रित गर्न जरुरी देखिन्छ । यतिबेला शिक्षासँग सरोकार राख्नेहरूको एउटै गुनासो छ । निजी विद्यालय, सामुदायिक विद्यालय, विश्वविद्यालयहरू अस्तव्यस्त बनिरहेका छन् । निजी शैक्षिक संस्थाहरू नाफामुखी भए । निजी क्षेत्रले शिक्षामा गरिरहेको शैक्षिक व्यापारीकरणले डरलाग्दो रूप लिँदै छ । यसलाई रोक्ने, नियन्त्रण र अनुगमन गर्ने प्रभावकारी संयन्त्र भएन । निजी शैक्षिक संस्था सञ्चालकहरू विभिन्न पार्टीलाई मोटो रकम दिई राज्य नै सञ्चालन गर्ने नीति निर्माण गर्ने ठाउँहरूमा नै पुगे । राजनीतिक पार्टीहरूका नेताहरूलाई नै प्रभावमा लिएर मनोमानी ढंगबाट अगाडि बढेका छन् भने सामुदायिक विद्यालयको शैक्षिक अवस्था अत्यन्त कमजोर छ । सरकारको अदूरदर्शी शिक्षा नीति सत्ता हस्तक्षेप, सरकारी लापरबाही, जिम्मेवारी बोधको अभाव निरीक्षण, मूूल्यांकन, अनुगमन भौतिक पूर्वाधार, शैक्षिक वातावरण विषयगत जनशक्तिको अभाव विद्यमान छ । केही प्राविधिक क्षेत्रबाहेक अन्य क्षेत्रमा विद्यार्थीहरूको आकर्षण छैन । मेडिकल इन्जिनियरिङ लगायतका क्षेत्रमा समेत सिट संख्या न्यून छ । यतिबेला आम समुदायको एउटै प्रश्न छ । अहिले निजी क्षेत्रमा ५०औं लाख तिरेर विद्यार्थीहरू पढ्न बाध्य छन् । शिक्षा मन्त्रालयले निर्धारण गरेको मापदण्डसमेत मान्दैनन् यसबारे विद्यार्थी संगठनहरूले आवाज उठाउने कि नउठाउने ? शैक्षिक क्षेत्रमा भएका अव्यवस्था, राजनीतिकरण, व्यापारीकरण, खुलेआमको लुटतन्त्र सबैलाई थाहा छ तर किन आवाज उठाउन आन्दोलन गर्न सक्दैनन् विद्यार्थी संगठनहरू ? यो संवेदनशील प्रश्न विद्यार्थी आन्दोलनमा तेर्सिन पुगेको छ । अबको समग्र ध्यान शैक्षिक क्षेत्रमा नै पुर्याउनुपर्ने देखिन्छ ।
दोस्रो : नेतृत्व चयन
विचारमा योग्य व्यवहारमा सक्षम अखिलका कार्यकर्ताहरू विचारमा योग्य र व्यवहारमा सक्षम हुनैपर्छ । समाजवादी मूल्य र वैज्ञानिक चेतनायुक्त संगठन निर्माण गर्न सक्नु संगठन सञ्चालन र मर्यादित बनाउने आधार हुन् । काम सिन्को नभाँच्ने, संकट र चुनौतीपूर्ण घडीमा नदेखिने परिभाषित जिम्मेवारी पूरा नगर्ने, चिया पसल र गल्लीहरूमा बसी नेताहरूको बदख्याइँ गर्ने, कमजोरी गर्ने कमजोरी ढाकछोप गर्न गुटको पुच्छर समात्ने, क्याम्पस प्रशासनसँग मिलेर आर्थिक चलखेल गर्ने, गुन्डागर्दी गर्ने, ठेक्कापट्टामा सहभागी बन्ने, उत्पादनशील कार्यमा नलाग्ने विभिन्न कार्यक्रमको बहानामा अखिलको लेटरप्याड र सहयोग रसिद बोकेर विभिन्न संघ/संस्थामा जबर्जस्ती धम्क्याएर चन्दा उठाउँदै हिँड्ने प्रवृत्ति स्विकारे पनि नस्विकारे पनि देखिएको छ । तसर्थ, यो महाधिवेशनले यस्ता कमजोरी हटाउने प्रण गर्न सक्ने वैचारीक नेतृत्व चयन गर्नपर्छ ।
तेस्रो : शैक्षिक योग्यता र उमेरको मापदण्ड
हुन त अनेरास्ववियुको विधान सम्मेलन सकिसकेको छ । विगत लामो समयदेखि उठेको आम बुद्धिजीवी र शुभचिन्तकहरूले दिएको सुझावलाई मनन गर्ने हो भने अखिलमा काम गर्ने, नेतृत्व गर्ने व्यक्तिको शैक्षिक योग्यता निर्धारण गर्नैपर्ने हुन्छ । २०औं वर्ष पहिला एसएलसी गरेका कलेजहरूमा नियमित अध्ययन नगरेका भोट हाल्न र उम्मेदवार बन्न मात्र भर्ना भएका विद्यार्थी नेताहरूले शैक्षिक आन्दोलनको नेतृत्व गर्न सक्दैनन् । आफू विद्यार्थी नेता हुने, कुन कलेज भन्यो भने फलाना कलेज भन्ने, आफ्नै छोराछोरीले उच्च शिक्षा उत्तीर्ण गर्दासम्म विद्यार्थी संगठनमा नै बस्ने, १५ वर्षपहिला कलेज छाडेका र उमेरले ४० काटेका व्यक्ति अबका विद्यार्थी नेता हुन सक्दैनन् । यो विषयमा अबको नेतृत्वले ध्यान दिनैपर्छ । उमेर ३० वर्ष नकाटेको नेता बनाउने कोसिस गर्नु जरुरी देखिन्छ । त्यसको एकमना एकताका साथ अगाडि बढ्नैपर्छ ।
अनेरास्ववियु धेरै खोलाहरूको संगम हो । यसको संस्कृति भनेकै एकता हो । जब फराकिलो छाती, सहिष्णु मनका साथ अगाडि बढ्न सकिँदैन, तबसम्म अनेरास्ववियु अगाडि बढ्न सक्दैन । हुन त यो बेला यस्ता विषय उठाउने होइन र सच्याई उजागर गर्यो भने त्यो अग्रगतिको स्रोत बन्न सक्छ । वास्तवमा भन्ने हो भने अनेरास्ववियुको पछिल्लो केही समयक्रमको इतिहास डरलाग्दो गुटबन्दीको इतिहास छ । एउटाको भेलामा अर्को पक्ष नजाने, समानान्तर कमिटी बनाउने, विधि र पद्धतिलाई खिल्ली उडाउँदै बाटाबाटै कमिटी दिने व्यक्तिका मान्छेहरू निर्माण गर्ने, बाटोमा भेट्दा समेत एउटै संगठनका नेता कार्यकर्ता राम्रोसँग नबोल्ने कहिले, कसको, कहिले, कसको शक्ति केन्द्र धाउने, यो अनेरास्ववियुभित्रको महारोग हो । यो महारोग नियन्त्रण गर्न अनेरास्ववियुले यो महाधिवेशनमा ध्यान पुर्याइनैपर्छ । तसर्थ, गुटबन्दी गर्ने समय होइन । यो समय त भूकम्पको क्षति भोगेका, नाकाबन्दीले थिलथिलो भएका नेपाली जनतालाई नयाँ उत्साहसहितका जीवन उपहार दिने समय हो । जिम्मेवार संगठनका नेताहरू संयमित भई अगाडि बढ्नुपर्छ । गुटबन्दीले कसैको पनि भलो गर्दैन । अहिलेको विद्यार्थी आन्दोलनले संगठनमा नवीनताको खोजी गरिरहेको छ । त्यसका निम्ति राजनीतिक परिवर्तनको योद्धा, सामाजिक परिवर्तनको संवाहक, न्याय तथा समानताका पक्षपाती, आर्थिक समृद्धिका नेता बन्न सक्ने नेतृत्व चयन गर्न यो महाधिवेशन सफल हुनैपर्छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply