समाजको यथार्थ तस्बिर
द्वन्द्वकालीन समयमा व्याप्त त्रास, पीडा र तनावले हरेक नेपालीको मन, मस्तिष्कलाई खल्बल्याएको थियो । देशको अधिकांश भूभागमा कोरिएका युद्धका रेखाहरूले नेपालीजनलाई एक दशकसम्मै बिथोल्यो, गन्तव्यहीन तुल्यायो । युद्धलाई विसर्जन गर्ने नाममा राज्यले पनि आतंकको सहारा लियो । राज्य र विद्रोही पक्षबीच लामो समयसम्म चलेको युद्धले सामाजिक जीवनका तन्तुहरूलाई नराम्ररी तोड्ने काम मात्र गरेन, यसले संवेदनाका कैयौं तहहरूसमेत उभ्याउने कार्य गर्यो ।
कथाकार गायत्री विष्टको नयाँ कथाकृति ‘कामरेडको कथा’भित्रको एउटा सिर्जना ‘मनको अपहरण’ले द्वन्द्वकालीन समयमा राज्य पक्षबाट मानसिक प्रताडना बेहोर्नुपरेको एउटा परिवारको कथालाई उजागर गरेको छ । देशको दुर्गम भेगतिर विद्रोहीले फरक मत र आस्था राख्ने राजनीतिक दलका कार्यकर्ताहरूलाई सफाया गरिरहेका बेला काठमाडौंमा भने आफ्नो अन्तिम आयु गनिरहेको राजतन्त्रका चालकहरूले भने ‘कु’को सहारा लिएर सत्ता हत्याए । यो कथाले राजतन्त्रका पृष्ठपोषकहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि लगाएको अंकुशविरुद्ध आन्दोलित एउटा विद्यार्थी नेतालाई गिरफ्तार गर्दा उनकी पत्नीमा व्याप्त उकुसमुकुसपन, आशंका र अन्योललाई व्यक्त गर्न सफलता प्राप्त गरेको छ ।
‘मलाई मारेको भए’ इमानदार र बेइमान प्रवृत्तिका पात्रहरूबीचको अन्तरद्वन्द्वमा जेलिएको कथा हो । निष्ठाको मार्गमा पाइला बढाउनेहरूले जीवनमा कति हन्डर खानुपर्छ र बेइमान र स्वार्थको सहारा लिनेहरूले कसरी आफूलाई प्रगति–उन्मुख तुल्याउँछन् भनेर दृष्टान्त पस्किन सक्षम यो कथाले नेपाली समाज, राजनीति र कर्मचारीतन्त्रभित्र पन्पिइरहेको स्वेच्छाचारी प्रवृत्ति, चाकडी प्रथा र इमानदार छवि बनाएकाहरूको गिर्दो आर्थिक हैसियतलाई एकमुष्ठ रूपमा उठाउन खोजिएको छ । ०७२ सालको सुरुआतमा नै नेपालीहरूले भूकम्पजस्तो प्राकृतिक विपत्तिको सामना गर्नुपर्यो । देशको मध्य भूभागलाई भूकम्पले थिल्थिलो तुल्यायो । भूकम्पपछिको उद्धार र राहत कार्यमा विभिन्न राजनीतिक दल र तिनका भ्रातृसंगठनहरूले तत्परता देखाए । ‘च्याउहरूको समारोह’ भूकम्पपछि पुनर्निर्माण कार्यमा खटिएका कम्युनिस्ट पार्टीका कार्यकर्ताले पार्टीभित्र व्याप्त गुटबन्दी, अराजकता र सुविधाभोगी प्रवृत्तिका व्यक्तिहरूप्रति दर्साएको टिप्पणीमा आधारित कथा हो । पार्टीभित्र इमानदार कार्यकर्ताहरू पाखा लाग्दै गएका र बर्से च्याउजस्तै उम्रिएका अवसरवादीहरूको भने हालीमुहाली चलिरहेको पक्षलाई यो कथाले उठाउन चाहेको छ ।
यतिबेला भारतले नेपालमा नाकाबन्दी लगाएको छ । तराई आन्दोलनलाई कारण देखाएर लगाएको नाकाबन्दी लामो समय बितिसक्दा पनि खुल्ने छाँटकाँट देखिँदैन । ‘भक्त हनुमानहरू’ कथाले छिमेकीको रवैया र त्यस्ता छिमेकीलाई सघाउने देशभित्रैका दलालहरूको पर्दाफास गर्न खोजेको छ । तराई क्षेत्रमा प्रेस सञ्चालन गरेर बसेका एक जना पुराना राजनीतिक कार्यकर्ताले नाकाबन्दीपछि आफ्नो व्यवसायमा भोग्नुपरेको असरलाई केन्द्रमा राखेर सिर्जित यो कथामा वर्तमान समयबोध झल्किन्छ । अर्को कथा ‘दरबन्दी’मा भने कर्मचारीतन्त्रभित्र व्याप्त विभेदको उत्खनन गरिएको छ । नेपालको कर्मचारीतन्त्रभित्र अरू क्षेत्रमा जस्तै विभेद, छलछाम र तिकडम व्याप्त छ । यही पक्षलाई कथाकारले उतार्न चाहेका छन् । ‘ढोका’मा भने सुरक्षाको प्रत्याभूतिबाट वञ्चित एउटी महिलाको मनोदशा केलाउन खोजिएको छ । मानिसहरू ढोकाले सुरक्षाको ग्यारेन्टी गर्ने सोचमा रहेका हुन्छन् तर ढोकाले कसैलाई पनि सुरक्षा दिन सक्दैन, केवल सुरक्षाको भ्रम मात्र दिन्छ भन्ने पक्षलाई यो कथाले उतार्न चाहेको छ । अर्को कथा ‘सुरक्षा’ले भने विगतको द्वन्द्वकालीन समयमा विद्रोही पक्षले प्रहरी चौकीमाथि आक्रमण गर्दा त्यसको प्रत्यक्षदर्शी एउटा पात्र उब्जिएको भयावहतालाई देखाउन खोजिएको छ । यो कथाले विगतको तस्बिर उजागर गर्न चाहेको छ ।
अन्तमा, प्रा.केशव सुवेदीको मूल्यांकनमा भनिएझैं विष्टका कथाहरू चरित्रको मनोसामाजिक अवस्थाको विश्लेषणमा आधारित छन् । सुवेदी लेख्छन्– ‘यहाँका सबैजसो कथा पात्रहरूका बीचको पारस्परिक संवादभन्दा बढी कथयिताका तर्फबाट गरिएको घटना वर्णनमा आधारित छन्, जसले गर्दा यी कथाले पाठकलाई कथात्मक आस्वादनका साथै वस्तुसत्यको विश्लेषणमार्फत पाठकको चेतना र विवेकलाई झक्झक्याउने काम पनि गरेका छन् ।’
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply