अखिलको अधिवेशन र अबको विद्यार्थी आन्दोलन
अनेरास्ववियु नेपालको राजनीतिक आन्दोलको इतिहासमा प्रगतिशील, लोकतान्त्रिक र गणतान्त्रिक आन्दालनको एउटा योद्धा संगठन हो । अनेरास्ववियुसँग आबद्ध विद्यार्थीहरूको मात्र होइन, अन्य सबै विद्यार्थी संगठनहरूको नेता संगठनका रूपमा यसले आफूलाई स्थापित गर्दै आएको तथ्य हाम्रा अगाडि छ । यसले शिक्षा क्षेत्रको प्रगतिशील रूपान्तरण, सामाजिक विभेदहरूको अन्त्य, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रजातान्त्रिक मूल्य, मान्यताको पक्षमा आफूलाई उभ्याउँदै नेपाललाई सम्पूर्ण निरंकुशताबाट अन्त्य गर्ने र जनताको शासन व्यवस्था लोकतान्त्रिक गणतन्त्र स्थापित गर्ने काममा अहं भूमिका निर्वाह गरेको तथ्य कसैका सामु छिपेको छैन । यद्यपि, नेपालको विद्यार्थी आन्दोलनको मूल्यांकन गर्दा यसलाई पञ्चायतकालीन अवस्थामा पञ्चायती व्यवस्था विरोधी आन्दोलनको नेता संगठनका रूपमा हेर्न सकिन्छ । यसले पञ्चायती शासन व्यवस्थाले लादेका जनविरोधी र निरंकुश प्रवृत्तिहरूको विरोध गर्दै पञ्चायतको अन्त्य गरौं, लोकतान्त्रिकको स्थापना गरौं भन्ने कुरालाई मूल विषय बनाएर संघर्ष गरेको यसको इतिहास छ ।
पञ्चायतको अन्त र लोकतन्त्रको स्थापनापछि नेपाली कांग्रेसको नेतृत्वको सरकारले सञ्चालन गरेका अतिवादी, यथास्थितिवादी र सत्ता केन्द्रित राजनीतिबाट मुक्त गर्ने र शिक्षा क्षेत्रलाई सबैको पहुँचको विषय बनाउने र शिक्षा क्षेत्रलाई आधुनिक, वैज्ञानिक र रोजगारमूलक बनाउने कुरालाई जोड दिँदै अनेरास्ववियु अगाडि बढ्यो । माओवादीले अगाडि सारेको निरंकुश उग्रवामपन्थलाई पनि यसले विरोध गर्यो । हतियार बलमा शासन व्यवस्था स्थापना गर्ने युग अहिलेको युग होइन, शान्तिपूर्ण आन्दोलनबाटै प्रजातान्त्रिक आन्दोलन सम्पन्न गर्न सकिन्छ, राजनीतिक क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने मूल्य मान्यतालाई यसले अंगीकार गर्दै अगाडि बढयो । तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनको स्थापनापछि अनेरास्ववियुकै अगुवाइमा सम्पूर्ण विद्यार्थी संगठनहरूलाई गोलबन्द गर्दै सामूहिक आन्दोलनको माध्यमबाट राजतन्त्र र समान्तवादको समूल अन्त्य गर्ने, लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने राजनीतिक उद्देश्यलाई स्पष्ट गर्दै सबैलाई संगठित गर्ने र आन्दोलित गर्ने काम पनि अनेरास्ववियुकै पहलकदमीमा भएको यथार्थ हाम्रो बीचमा छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापनापछि फेरि हाम्रो अगाडि नयाँ चुनौतीहरू देखा परे । अनेरास्ववियुले २०६२/६३ को क्रान्तिलाई नेपालको इतिहासमा एउटा युगीन क्रान्तिका रूपमा, जनवादी राजनीतिक क्रान्तिका रूपमा आत्मसात् गर्यो । तर, हाम्रा अगाडि त्यो राजनीतिक क्रान्तिलाई संस्थागत गर्ने चुनौती कायमै थियो । पहिलो संविधानसभाको निर्वाचनपछि यो राजनीतिक क्रान्ति संस्थागत हुन्छ भन्ने सम्पन्न गर्नुपर्दछ भन्ने मान्यताका साथ पहिलो संविधानसभामा यसले आफ्नो भूमिकालाई स्थापित गर्यो । तराईमा लगाइएको एक मधेस एक प्रदेशको नाराको विरोध गर्ने, एक मधेस एक प्रदेश नेपाली जनताको हितमा छैन भन्ने कुरालाई आम जनतालाई जागृत गराउने, आत्मनिर्णयको अधिकारसहितको एकल जातीय राज्य भन्ने विखण्डनकारी सोचको विपक्षमा खडा भएर त्यसले पार्न सक्ने नकरात्मक प्रभावलाई अन्त्य गर्न जनमत सिर्जना गर्ने, त्यस्ता कुराबाट उत्पन्न भ्रमहरूलाई समाप्त गर्नेदेखि लिएर सकेसम्म कम प्रदेश बनाउने, त्यसको वैज्ञानिक सीमांकन गर्ने र साझा नामांकनको माध्यमबाट जाने, सामाजिक सद्भाव र राष्ट्रिय एकता खल्बलिन नदिने, सिंहदरबारमा केन्द्रित अधिकारहरूलाई प्रदेशका माध्यमबाट जनताका बीचमा पुर्याउने शासन व्यवस्था स्थापनाका लागि अनेरास्ववियुले महत्त्वपूर्ण योगदान गर्दै आयो । यद्यपि, पहिलो संविधानसभाबाट संविधान बन्न सकेन । फेरि दोस्रो संविधानसभाबाट संविधान बनाउन सकिन्छ भन्ने विश्वासका साथ अनेरास्ववियु त्यसमा लागिरह्यो । जसको परिणाम हामीले प्राप्त गरिसकेका छौं ।
संविधान बनिसकेको छ । यहाँसम्म आइपुग्दा २०६२/६३ को राजनीतिक क्रान्तिलाई संस्थागत गर्ने विद्यार्थी आन्दोलनको जिम्मेवारी पुरा भएको छ । अब २०६२/६३ को राजनीतिक क्रान्तिलाई संस्थागत गर्ने काम पनि सम्पन्न भएको छ । त्यो संवैधानिक रूपले सम्पन्न भएको छ । कानुनी रूपले वैध भएको छ । यद्यपि, यो ठाउँसम्म आइपुग्दा अझै पनि प्रदेशहरूको सीमांकनको समस्या कायमै छ । एक मधेस दुई प्रदेशका नाममा सिंगो तराईलाई विभाजित गर्ने उद्देश्यमूलक अभियान कायमै छ । देशलाई विभाजन गर्ने सिके राउत प्रवृत्ति झाँगिएको छ, तराईमा सेना खडा गर्ने, तालिम दिने काम पनि भइरहेका छन् । यही बीचमा भारतीय शासक वर्गले हामीबीच लादेको अलोकतान्त्रिक र असल छिमेकी नाताले गर्नै नहुने नाकाबन्दी को मारमा हामी परेका छौं । पारवहन सुविधा हाम्रो हक हो । यो भारतले हामीलाई अनुदानमा दिएको वा भारत–नेपालबीच सम्झौता भएर प्राप्त भएको चिज होइन । यो अन्तर्राष्टिय कानुनबमोजिम हामीले प्राप्त गरेको अधिकार हो भनेर हामीले जनतालाई बताउनुपर्ने, त्यसका निम्ति जनतालाई संगठित गर्नुपर्ने आवश्यकता छ । यद्यपि, अनेरास्ववियुले विगत लामो समयदेखि भारतीय शासक वर्ग नेपाली जनता र नेपाल राष्ट्र्रको हितमा छैन भन्ने कुरा बुझेरै यसले सधैं राष्ट्रिय स्वाधीनताको आन्दोलन चलाउँदै आयो । कालापानीबाट भारतीय सेना हटाउनुपर्छ भन्दै कालापानी मार्च गर्ने, लक्ष्मणपुर बाँध भत्काउनुपर्छ भनेर लक्ष्ममणपुर मार्च गर्ने, महेशपुर, सुस्तामा भारतीयबाट भएको सीमा अतिक्रमण बन्द गर्नुपर्छ भनेर सुस्ता बचाउ अभियान चलाउने, पशुपतिनगरमा गरिएको अतिक्रमण अन्त्य गर्नुपर्छ भनेर पशुपतिनगर अभियान चलाउने र सँगसँगै काठमाडौंभित्र पनि थुप्रै रचनात्मक र सिर्जनात्मक काम गर्दै आयो । अनेरास्ववियुको हिजोका अभियान आज पुष्टि भएको छ । भारतले अहिले तेस्रो पटक हामीलाई नाकाबन्दी गरेको छ । हिजो उत्तरी सीमाबाट भारतीय चेकपोस्ट हटाएको नाममा नाकाबन्दी भयो । हिजो चीनबाट सस्तो मूल्यमा हतियार खरिद गरेको निहुँमा नाकाबन्दी भयो । आज हामीले संविधान बनाउन सफल भएकै कारण नाकाबन्दी गरियो । यी तीनै तथ्यले भारत नेपालको हितमा छैन भन्ने कुरालाई पुष्टि गरेको छ । सीमा क्षेत्रमा गरिएको अतिक्रमण, राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा गरिएको हस्तक्षेपको विरोध गर्दै अनेरास्ववियुले आफूलाई देशभक्त शक्तिका रूपमा स्थापित गरेको छ ।
अबको विद्यार्थी आन्दोलन कस्तो बनाउने ?
हामी अहिले अनेरास्ववियुको २२औं राष्ट्रिय महाधिवेशनको संघारमा छौं । विगतमा विद्यार्थी आन्दोलका माध्यमबाट यसले सञ्चालन गरेको शैक्षिक, राजनीतिक, देशभक्तिपूर्ण र न्याय र समनताको आन्दोलनहरूको समग्र मूल्यांकन गर्दै नयाँ राज्य व्यवस्था स्थापित भएको स्थितिमा आइपुग्दा अब यसले आफ्नो कार्यदिशालाई त्यही अनुरूप बदल्नुपर्ने आवश्यकता छ । अबको विद्यार्थी आन्दोलन कस्तो हुने भन्ने कुराको पहिलो आधार नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा पारित भएको नीति, सिद्धान्त र विचारलाई बनाउनुपर्दछ । नवौं महाधिवेशनले अब नेपाली समाजमा समाजवादका आर्थिक आधार तयार गर्ने राष्ट्रिय पुँजीको विकास गर्ने बाटो लिएको छ । हामीले देशमा रोजगारी सिर्जना गर्ने, उत्पादनशील पुँजीको विकास गर्ने उद्देश्य लिएका छौं । न्याय, समानतामा आधारित आर्थिक क्रान्तिलाई हामीले जोड दिएका छौं । यो कार्यदिशा नै नेपाली समाजको धेरै लामो वर्षसम्मको कार्यदिशा हो । त्यसकारण, अबको विद्यार्थी आन्दोलनले यो कार्यदिशा र राजनीतिक उद्देश्यलाई पूरा गर्न लाग्नुपर्छ । लामो समयसम्म अनेरास्ववियु राजनीतिक आन्दोलनमा केन्द्रित भएर लड्यो । तर, त्यो राजनीति उद्देश्य पूरा भइसकेको सन्दर्भमा अब उसको मुख्य उद्देश्य भनेको नेपालको शिक्षा क्षेत्रलाई बदल्ने नै हुनुपर्छ । नेपालमा समाजवादका आर्थिक आधार तयार गर्ने बाटो सुनिश्चित गर्न, नेपालबाट बेरोजगारी अन्त्य गर्न, नेपालमा सामाजिक सद्भाव बलियो बनाउन, राष्ट्रिय एकता बलियो बनाउन त्यसअनुकूलको दक्ष जनशक्ति निर्माण गर्ने शिक्षा प्रणाली गर्ने र त्यसका लागि हाम्रा विश्वविद्यायलयहरू, हाम्रो परीक्षा प्रणली, पाठ्यक्रम, शैक्षिक प्रणाली लगायतका कुरा बदल्ने दिशामा अबको विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्दछ । आजको संसार नेपालको सीमा क्षेत्रमा मात्र सीमित हुन सक्दैन । आजको समयमा नेपाल अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि छ । जब नेपाल अरू देशसँगको प्रतिस्पर्धामा जान चाहन्छ भने ती देशहरूको समर्थन प्राप्त गर्ने र सँगसँगै ती देशसँगको प्रतिस्पर्धामा जित्न सक्ने जनशक्ति उत्पादन गर्ने हाम्रा विश्वविद्यालयहरू बन्नुपर्दछ । विद्यार्थीहरूलाई किताबी किरो मात्र बनाउने होइन, रचनात्मक क्रियाशीलताको पक्षमा, देशभक्तिपूर्ण आन्दोलनका पक्षमा सञ्चालन गर्दै लैजानुपर्छ । उसले पढाइको कोर्स पूरा गर्दा आफ्नो देशलाई बुझ्न सक्ने, समाजको विविधता, समाजको असमानतालाई बुझ्न सक्ने बनाउन पनि अरू अभियानमा पनि विद्यार्थीलाई लगाउनुपर्छ ।
नेपालको लोकतन्त्र, नेपालको राष्ट्रिय स्वाधीनता बलियो हुन, नेपालको समृद्धिको ग्यारेन्टीका लागि पहिलो सर्त भनेको नेपालका राजीनितिक पार्टीहरू बलिया हुनुपर्दछ । ती पार्टीहरू कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । हाम्रो स्वाधीनता कमजोर हुनु हो । पार्टीहरू बलियो हुनुको मुख्य सर्त नेकपा एमाले बलियो हुनु हो । एमाले बलियो हुनु भनेको एमालेले आफ्नो महाधिवेशनबाट पास गरेका विचारअनुरूप पार्टीलाई अगाडि बढाउने, यसले अवलम्बन गरेको संगठनात्मक पद्धतिअनुरूप चल्ने, महाधिवेशनबाट निर्वाचित नेतृत्वको नेतृत्वमा सामूहिक निर्णयबाट अगाडि बढ्ने परिपाटीको विकास गर्ने पक्षलाई बलियो बनाउन अनेरास्ववियुले पनि त्यहीअनुरूप चल्नुपर्दछ । त्यसो भयो भने मात्र उसले अरू विद्यार्थी संगठनहरूलाई पनि गोलबन्द गर्न सक्छ । त्यसकारण, यो महाधिवेशनबाट आगामी दिनमा अनेरास्ववियुलाई शैक्षिक आन्दोलनको नेता बनाउने, रचनात्मक क्रियाशीलताको नेता बनाउने, देशभक्तिपूर्ण आन्दोलनको नेता बनाउने, सम्पूर्ण विद्यार्थी आन्दोलनको नेता बनाउने र सँगसँगै एमालेलाई यो देशको एक मात्र निर्विकल्प शक्तिका रूपमा स्थापित गर्न त्यसअनुसारको कार्यकर्ता पंक्ति उत्पादन गर्ने उद्देश्यका निम्ति आज अनेरास्ववियु र सिंगो विद्यार्थी आन्दोलनको आवश्यकता छ । अनेरास्ववियुले आफूलाई त्यो रूपमा स्थापित गर्न आवश्यक छ र त्यो भावना बोक्न सक्ने र भविष्य देख्न सक्ने नेतृत्व आजको आवश्यकता छ
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply