पत्रकारितामा जनसंघर्ष : एक फन्को
नेपालको लोकतान्त्रिक एवं प्रेस स्वतन्त्रताको पक्षमा सक्रिय व्यक्तिको नाम हो, बालकृष्ण चापागार्इं । बुटवलमा रहेर ‘जनसंघर्ष’ मार्फत क्रियाशील उनी मोफसलबाटै पत्रकारिताको संस्थागत र व्यावसायिक विकासका लागि पहल गरिरहेका छन् । विगत तिन दशकदेखि पत्रकारितामा लगातार होमिएका चापागाईंकै अगुवाइमा मोफसलको पत्रकारिताको राजधानी मानिने बुटवलमा जनसंघर्ष र अन्य केही मिडियाले ‘बिक्ने र टिक्ने गरी’ काम गरिरहेको देखिन्छ । ‘जनसंघर्ष’ २५ वर्ष पूरा भएको अवसरमा यो वर्ष रजत महोत्सवसमेत मनाइएको छ । ‘जनसंघर्ष’ २५ वर्षको वयस्क भइसक्दा जसरी बुटवलको तिनाउ नदीमा धेरै पानी बगे, त्यसैगरी जनसंघर्षमा पनि धेरै संघर्षका ज्वारभाटाहरू उठे । तर, अविचलित भएर जनसंघर्षको यात्रा अविरल बगिरह्यो ।
केही अघिसम्म हाइटेक प्रकाशन प्रालि र हाइटेक छापाखानाको पहलबाट प्रकाशन भइरहेको ‘जनसंघर्ष’ अहिले बुटवल प्रकाशन प्रालिका नामबाट साप्ताहिक रूपमा निस्कन्छ । यससँगै दैनिक पत्र दैनिक र स्वाधीन राष्ट्रिय मासिक पनि सोही प्रकाशन गृहले एकमुष्ट रूपमा प्रकाशन गरिरहेको छ । बुटवलमा स्थापित केही सञ्चार गृहको मर्जपछि यी तीनै प्रकाशन एकै छातामुनिबाट प्रकाशित हुन थालेका हुन् । विभिन्न ढंगले गोजीकरण भइरहेको मिडियालाई सामूहिक निजीकरणमा लैजान यो प्रयास सबैका लागि प्रेरणासमेत हुन सक्छ ।
यही प्रेरणादायी कामका सुरुवातकर्ता चापागार्इंकै प्रधान सम्पादकत्वमा जनसंघर्षका विगत गौरवशाली २५ वर्षका अद्योपान्त इतिहास ‘पत्रकारितामा जनसंघर्ष’ पुस्तकमा पाइन्छ । यति मात्र होइन, यो पुस्तककमा समेटिएका बुटवल क्षेत्रका अग्रज र दिग्गज व्यक्तित्वहरूका वजनदार लेखहरू, पत्रकारिता र आम सञ्चारसँग सम्बन्धित गहन र अनुसन्धानमूलक लेखको बृहत् सँगालो बनेको देखिन्छ ।
जनसंघर्षले प्रारम्भदेखि आफ्नो पत्रकारिताको यात्रालाई राजनीतिक मिसन र व्यावसायिक मिसनसँग जोड्दै आइरहेको छ । पत्रकारिता पेसा र व्यवसाय एकीकृत, संस्थागत र बलियो बनाउने प्रयासले जनसंघर्ष समूहले समयको आवश्यकता बोध गर्दै एकीकृत विकासका लागि नमुनायोग्य काम गरेको पाइन्छ । बुटवल मिडियाका छाता मातहतका यी तिन मिडियामध्ये जनसंघर्षको भने अलग्गै इतिहास छ । स्वतन्त्रता, समृद्धि र सामाजिक न्यायका पक्षमा लगातार कलम चलाउँदै आएको जनसंघर्ष दैनिक अहिले साप्ताहिक रूपमा प्रकाशन भए पनि यसले रजत वर्षको उपलक्ष्यमा आफ्नो इतिहासलाई दस्तावेजीकरण गर्ने काम गरेको हो ।
प्रस्तुत पुस्तकमा सुरुवातदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा जनसंघर्षको योगदान, २५ वर्षे यात्राको सिंहावलोकन, पत्रकारितामा जनसंघर्षका योगदान र रूपन्देहीको लोकतान्त्रिक आन्दोलनमा जनसंघर्षको योगदानजस्ता विषयमा जनसंघर्षमै आबद्ध तथा यसमा आबद्ध नरहे पनि नजिकबाट नियाल्दै आएका व्यक्तिहरूको लेख समावेश छ । त्यसैगरी, पुस्तकको अर्को खण्डमा जनसंघर्षभन्दा माथि उठेर सञ्चार र सूचना, लुम्बिनीको विकासका विविध आयाम, शिक्षा, अर्थतन्त्र, मिडियाको लगानी र व्यवस्थापनका पाटाबारे गहकिला लेख समावेश गरिएको छ, जसमा वजनदार र नामी हैसियत बनाउन सफल लेखकहरू, विषयविज्ञहरू तथा विद्यावारिधिधारीहरूको लेख समेटिएका छन् ।
पुस्तकमा लुम्बिनी तथा बौद्ध दर्शन विश्वविद्यालयबाट विद्यावारिधि गर्दै गरेका उनै चापागाईंदेखि विद्यावारिधिप्राप्त डा. माधव पन्थी, डा. हिरण्यलाल ज्ञवाली, डा. डुकुलराज घिमिरे, डा. टीकाराम पन्थी, डा. मोदनाथ प्रश्रित, डा. बाबुराम ज्ञवाली, डा. सुरेन्द्र केसी, डा. गितु गिरी, प्रा.डा. तुलसीराम वैद्य, डा. कपिलदेव लामिछाने, डा. देवी दुलाल क्षेत्री, प्राज्ञ गोपीरमण उपाध्याय, श्रीरामसिंह बस्नेत, विनय कसजु, रामचन्द्र भट्टराई, नारायणप्रसाद पौडेल, वन्दना राणा, मदनमणि दीक्षित, सोमनाथ घिमिरे, प्रा. चिरञ्जीवी खनाल, तिलक आचार्य, देवराज अर्याल, निर्मला आचार्य लगायतका लेखहरू समाविष्ट छन् ।
प्रेस चौतारी नेपालका अध्यक्ष, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष तथा उच्चस्तरीय मिडिया आयोगको सदस्यको हैसियतले मिडिया क्षेत्रमा समेत विशेष नेतृत्वदायी पहिचान बनाउन सफल चापागाईंले राजनीतिक आन्दोलनबाट प्रभावित भएर पत्रकारितासँग साइनो जोडेकाले निश्चय पनि उनको कलम र पत्रकारितासँग जोडिएका प्रयास केही न केही रूपमा राजनीतिक मिसनसँग नजोड्ने भन्ने प्रश्नै उठ्दैन । पत्रकारिताको यात्रामा लेखक, साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपाललाई गुरु र प्रेरणाको स्रोत मान्ने चापागाई २०३६/३७ सालतिर विद्यार्थी संगठनमा काम गर्थे । कलिलो उमेरमै राजनीतिमा होमिएका उनी पञ्चायत विरोधी भूमिगत राजनीति अघि बढाउने सिलसिलामा हस्तलिखित पत्रिकामा जोडिए । पछि प्रशासनले धरपकड र अवरोध गर्न थालेपछि त्यो यात्रामा निरन्तरता दिन सकेनन् । तत्कालीन समयमा भूमिगत कम्युनिस्ट पार्टीको सोच, धारणा जनतासम्म पुर्याउन हस्तलिखित रूपमा नै जनसंघर्ष संघर्षशील भइरह्यो । २०४५/४६ को जनआन्दोलनको सफलतासँगै चापागाईंले २०४७ असार ९ बाट यसको विधिवत् प्रकाशन थाले । त्यसयता मोफसलको एउटा सतिसाल भई जनसंघर्ष निरन्तर जनताको पक्षमा डटिरहेको छ ।
चापागाईंकै सम्पादकत्वमा प्रकाशित पत्रकारितामा जनसंघर्ष नामक कृति वास्तवमै महत्त्वपूर्ण र संग्रहणीय ग्रन्थ बनेको छ । विश्लेषणात्मक र अनुसन्धानात्मक यो कृति खासगरी जनसंघर्ष र बुटलवको पत्रकारिताबारे शोध तयार गर्नेहरूका लागि एक हदसम्म महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्न सक्छ । यसले पत्रकारिता क्षेत्रमा लामो समयदेखि प्राध्यापन गरिरहेका, सञ्चारका विज्ञको हैसियत बनाएका, स्वतन्त्र लेखनीमा पहिचान स्थापित गरेका र विभिन्न हिसाबले राजनीति र पत्रकारिताको आन्दोलनमा सँगसँगै जोडिएका विद्वान्हरूलाई एकै स्थानमा भेला पारेर नेपाली पत्रकारिता र सञ्चार क्षेत्रको ज्ञानको भण्डारलाई थप श्रीवृद्धि गरेको छ । यस्तो अपरिहार्य कार्य सबै क्षेत्र र स्थानबाट हुने हो भने पत्रकारिताको इतिहास थप व्यवस्थित हुन सक्थ्यो ।
अहिले नेपाल पत्रकार महासंघका संस्थापक को भन्ने विषयमा विवाद भइरहेको छ । इतिहासले नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईभन्दा पहिले नै संघ गठन भइसकेकाले संस्थापक भट्टराईलाई होइन, सत्यनारायण श्रेष्ठलाई मान्नुपर्ने कुरा उठिरहेको छ । प्राप्त तथ्य र इतिहासको लेख्य दस्तावेजलाई आधार मानेर अहिले यस्तो दाबी गर्ने अवस्थामा आइपुग्दा पत्रकारितामा जनसंघर्षजस्ता कृतिहरू थपिँदै जाँदा इतिहासमाथिको अपव्याख्या गर्ने पनि ठाउँ रहँदैनथ्यो । वरिष्ठ लेखक प्रदीप नेपाल कृतिबारे भन्छन्, ‘पत्रकारितामा जनसंघर्ष, रजत ग्रन्थका लागि प्राप्त विभिन्न विद्वान्, लेखक, अग्रज तथा नवोदित पत्रकारहरूको लेख, रचनाहरूको सर्सर्ती अध्ययन गर्दा प्रकाशित ग्रन्थ नेपाली पत्रकारिताको अभ्यास, शिक्षण र अनुसन्धानका लागि अत्यन्तै उपयोगी हुने मैले ठानेको छु ।’
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply