सीमान्त वर्गको आवाजे
यतिबेला, मधेस आन्दोलन ‘स्थगन’को ट्याग झुन्ड्याएर फुर्सदको क्षणमा छ । पाँच महिनासम्म तन्किएको मधेस आन्दोलनले उपलब्धिका कति किलो सिमलतरुलहरू उधिने ? मधेसी मोर्चाका अगुवाहरू लेखाजोखा गर्दै होलान् । तर, मधेसको विम्ब सतहमा तैरिनेबित्तिकै दुई खालका मधेस निश्चित रूपमा देखिन्छन् । एउटा, शीतलहरले कठ्यांग्रिएर मर्नेहरू । अर्को, शीतलहरले कुनै पनि छेउबाट नछुनेहरूको मधेस । केही दिनअघि मात्रै रोकिएको मधेस आन्दोलनका सञ्चालकहरू दोस्रो तहका तिनै मधेसीहरू थिए, जसलाई शीतलहरको कहरले जिन्दगीको कुनै पनि पलमा बिथोलेन, चिस्याएन ।
कवि/कथाकार अमर शाहले दुई फरक मधेसलाई राम्ररी नै बुझेका छन् । ‘शीतलहर’ कवितामा उनले मधेसमा हप्तौंसम्म घाम नउदाउँदा थुरथुर काँप्ने ननकौं धोबीको पीडालाई राम्रोसँग पर्गेलेका छन् भने शुक्ला, मिश्राजस्ता मधेसका सम्भ्रान्त जमिनदार वर्गको ऐसआरामलाई पनि राम्रैसँग बुझेका छन् । शाहको मूल्यांकन छ, ‘चीसोले छेड्यो फुसका छानाहरू/र, सजिलै पार गर्यो/नर्कटका पातला भित्ताहरू झोपडीका/कामिरहे लुगलुग/डोम, चिडिमार र चमार/बादी, थारू र बन्जारा/हेर्दै शुक्ला, मिश्रा र सिंहहरूका/बस्तीबीचका ठूलाठूला कोठारहरू ।’
अभाव, गरिबी, उत्पीडन, शोषणमा पिल्सिएका आम नेपाली जनताको पीडासँग साक्षात्कार गर्न सफल कविता लेख्ने शाहले चार दशकभन्दा लामो आफ्नो साहित्य यात्राका क्रममा सिर्जित रचनाहरूलाई ‘यात्रा र घुम्तीहरू’ काव्यकृतिमार्फत बाहिर ल्याएका छन् ।
‘जीवनको उत्तराद्र्धमा’ ले जीवनप्रति गर्व र त्रास, दुवै पक्षको रेखांकन गरेको छ । अर्थपूर्ण जीवन बाँच्नेहरूले बितेको जीवन यात्राप्रति गर्वानुभूति गर्ने र अर्थहीन जीवन बाँच्नेहरूले भने नैराश्य प्रकट गर्दछन् । कविले यही पक्षलाई उठाउन चाहेका छन् । ‘हनोई २०१४’ वर्तमानको भियतनामी समाजलाई हेर्ने आँखीझ्याल बन्न पुगेको छ । विगतका भियतनामका जनताले अमेरिकी साम्राज्यवादविरुद्ध लामो युद्ध लडे र लाखौं भियतनामीहरूले जीवन आहूति पनि दिए । तर, अचेलका भियतनामी युवाहरू भने विगतलाई बिर्सेर साम्राज्यवादीहरूले विस्तार गरेका बहुराष्ट्रिय कम्पनीका उत्पादनहरूमा झुमिरहेका छन् । भियतनामी समाजमा आएको तीव्र परिवर्तन र साम्राज्यवादप्रति सेलाएको घृणाभावलाई यो कविताले इंगित गर्न चहेको छ । त्यस्तै, ‘गाउँको माया’ले नोस्टाल्जिक गराउँछ भने ‘साथी भेटेपछि’ मा उनले साथीहरूसँगको सामीप्य, प्रगाढपन र उठबसले जीवनलाई सार्थक र गतिशील तुल्याउने यथार्थ पक्ष उघार्न चाहेका छन् ।
अझै पनि देशका कतिपय भूभागहरू चरम अभाव, गरिबी र संकट झेलेर बेचिरहेका छन् । नीति निर्माताहरूले गरिबी न्यूनीकरण गर्ने नारा फलाके पनि कर्णाली, सुदूर र मध्य पश्चिमका कतिपय भूभागका नेपालीहरू अभाव र पीडाको जिन्दगी झेल्न अभिषप्त छन् । ‘कर्णालीको झिंगा’मा उनले कर्णालीमा व्याप्त गरिबीलाई मेटाउन दातृ निकायहरूले चालेको अप्रभावकारी कदमप्रति व्यंग्य गर्न चाहेका छन् भने ‘जाजरकोट खलंगा : २०४०’ मा मध्यपश्चिमी पहाडको तीन दशकअघिको तस्बिर खिचिएको छ । तत्कालीन समयमा खलंगामा व्याप्त विकृतिलाई उजिल्याउन यो कविता सक्षम देखिएको छ । त्यस्तै, क्षेत्रीय समस्या र मुद्दालाई उठान गर्ने क्रममा यी कविता लेखे पनि कर्णालीको सुन्दरता मानिने रारामाथि लेखिएको ‘रारा’ र ‘सुर्खेत छोड्दा’ मा त्यस भेगको सौन्दर्यको व्यापक चर्चा गरिएको छ ।
कुनचाहिँ सन्तान आफ्नी आमाको मृत्युमा भावविह्वल नहोला र ? ‘आमाको सम्झनामा’ मृत्युवरण गर्न पुगेकी आमाको न्यास्रोपनले सताएको एउटा सन्तानको पीडा अभिव्यक्त भएको छ । ‘पुरानो साथीसँग’ मा भने कविले स्मृतिका पदचिह्नहरू पछ्याउने जमर्को गरेका छन् भने ‘पुनर्मिलन’ मा चाहिँ वर्षौंदेखि कुनै चिरपरिचित पात्रसँग भेट्दा साटिने अनुभूति, माया र आवेगलाई रेखांकित गर्न खोजिएको छ ।
‘तपाईंहरूको सम्झना’ मा नयाँ संसार रच्न हिँडेका परिवर्तनकामी शक्ति र पात्रहरूप्रति भरोसा व्यक्त गरिएको छ । ‘तिनीहरू, जो आउँदै छन्’ मा पनि कविले परिवर्तनको दिशामा अग्रसर रहेकाहरूप्रति सहयोग, सद्भाव अर्पण गर्नुहुने उद्घोष गरेका छन् । उनी लेख्छन्, ‘पेटीहरू लिपपोत गर/र, आँगनमा दुबोहरू उमार/सुनिन्छ उज्यालोको राँको बोकेर/अँध्यारो चिर्दै जो अघि बढिरहनेछन्/अब हाम्रै घर, पेटीमा आउँदै छन् ।’
२०६२/६३ को जनआन्दोलनले देशमा गणतन्त्र स्थापना गर्यो र राजतन्त्रलाई बिदाइ गर्यो । तर, राजतन्त्रको अन्त्य भएर राजाको शासन सकिए पनि सत्ताको शीर्षासनमा रहेकाहरूले आफूलाई राजा ठान्ने भ्रम र परिपाटीको भने अन्त्य भएन । ‘राजाहरू’ मा उनले आफूलाई राजा ठान्ने प्रवृत्ति राजनीतिक दलका नेताहरूमा मौलाइरहेको पक्षलाई उजागर गर्न चाहेका छन् । ‘मखुन्डो’ मा चाहिँ कविले छद्मभेषी प्रवृत्ति बोकेकाहरूले जनतालाई कसरी झुक्याइरहेका छन् भन्ने पाटोलाई उजिल्याउन खोजिएको छ ।
मूलत: हामी बाँचिरहेको समाज र परिवेशका विसंगत चेहराहरूलाई लेखनको विषय बनाउन सक्षम कवि शाहका कविताहरूले देशको सीमान्त तह र वर्गको आवाज र संवेदना टिप्न चाहेको प्रतीत हुन्छ । कर्णालीको पीडाबाट आहत हुने कविले सहरका मध्यम वर्गको मानसिकतालाई पनि उत्तिकै तन्मयतापूर्वक पर्गेल्न चाहेका छन् । देश, समाज र जनताका पीडालाई एकीकृत रूपमा पस्किने खुबी नै उनको लेखनको विशेषता मान्न सकिन्छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply