अझै सुध्रिएन वायुसेवा निगम
काठमाडौं । करिब ६ दशकदेखि सञ्चालनमा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम समयानुकूल सुधार गर्ने कुरा गफमै सीमित हुन पुगेको छ । २०१५ सालमा स्थापना भएको पूर्ण सरकारी निकाय निगम यति लामो अवधिसम्म उस्तै स्वरूपमा सञ्चालन हुँदा प्रतिफल दिन नसक्ने ‘सेतो हात्ती’मा सीमित हुन पुगेको छ । सरकारले योजना बनाएर निगम सुधारमा लैजाने भन्दै आए पनि अहिलेसम्म पर्यटन मन्त्रालयले निगम सुधारका लागि प्रभावकारी कार्ययोजना ल्याउन नसकेकाले नै यो अवस्था उत्पन्न हुनपुगेको बताइन्छ ।
११ अर्ब ऋण
आर्थिक वर्ष ०७१/७२ को प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनअनुसार निगममाथि कुल ११ अर्ब ८४ करोड १३ लाख ऋण भएको देखिन्छ । तर, ती ऋण रकम अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी फरकफरक समयमा तिर्नुपर्ने खालका रहेका छन् । सो रकममध्ये अधिकांश हिस्सा भने निगमले नयाँ विमान खरिदका लागि सरकार जमानी बसेर लिएको ऋण हो भने केही आफ्नै सम्पत्ति धितो राखेर लिइएको ऋण हो । कर्मचारी सञ्चय कोषसँग मात्र निगमले १० अर्ब ५६ करोड ऋण लिएको छ । यो ऋणमा वार्षिक १२ प्रतिशत ब्याज बुझाउनुपर्ने हुन्छ । यसमध्ये निगमले कोषलाई अहिलेसम्ममा २३ करोड ९७ लाख ९८ हजार ब्याज रकम मात्र बुझाएको छ ।
१९ विमान घटेर ९ मा आयो
एउटा डकोटा विमानबाट सेवा सुरु गरेको निगमले एकताका १९ वटासम्म विमान सञ्चालनमा ल्याएको थियो । ०४६ सालअघिसम्म त्यो अवस्था भए पनि निगममा भएका चर्चित लाउडा, चेज एयर, बोइङ र एयर बस काण्डका कारण निगम क्रमश: धराशायी हुँदै आएको हो । हाल निगमसँग चारवटा जेट विमान, तीनवटा ट्विनटर र दुईवटा चिनियाँ विमान छन् । पछिल्लोपटक दुईवटा एयरबस खरिद गर्नुअघि त यसको हालत झनै दयालाग्दो थियो । २० वर्षभन्दा बढी पुराना दुईवटा जेट विमान लिएर निगमले लामो समयसम्म अन्तर्राष्ट्रिय उडान सेवामा आफ्नो नाम मात्रको उपस्थिति जनाएको थियो । जसका कारण सन् २०१५ को सेप्टेम्बरमा ग्लोबल एयरलाइन्स रेटिङ सेवा जीएआरएसले निगमलाई विश्वकै सबैभन्दा खराब विमान सेवामध्येको एकमा सूचीकृत गर्यो । चीनले अनुदानमा दिएका विमान पनि आम्दानीभन्दा खर्च बढी गर्नुपर्ने भएका कारण निगमलाई त्यति प्रभावकारी नभएको बताइन्छ ।
बैंकको मोडेलले सुधार हुने अपेक्षा
खराब अवस्थामा पुगिसकेका कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड अहिले अन्य वाणिज्य बैंकहरूसँग प्रतिस्पर्धा गर्ने अवस्थामा मात्र नभई बोनस खुवाउन सक्ने अवस्थामा पुगिसकेका छन् । यसको एक मात्र कारण भनेको व्यवस्थापन सुधार नै भएको बताइन्छ । त्यसैले, व्यवस्थापन सुधार गर्ने हो भने निगम पनि उँभो लगाउन सकिने विज्ञहरूको राय छ । निगमको वित्तीय व्यवस्थापन, उडान सञ्चालनको कमजोर अवस्था र निगमभित्रको कार्यशैली हेर्दा अहिले निगमको टाउकोमा रहेको ऋणले नै निगमको अस्तित्व संकटपूर्ण भएको मान्न सकिन्छ । तर, व्यवस्थापन सुधारका लागि राज्यले ती बैंकहरूमा जस्तो अर्बौंको विदेशी ऋण र आन्तरिक स्रोत परिचालन गर्ने हो भने असम्भव नभएको बताइन्छ । सन् १९७० पछि निगम सुधारका लागि विभिन्न कार्यदल बनेर अध्ययन प्रतिवेदन बनाइए पनि सो प्रतिवेदनअनुसार कुनै सिन्को नभाँचिएकाले निगमको यो हालत भएको कर्मचारीहरू बताउँछन् । सन् १९७० मा इयर फ्रान्सलाई निगम व्यस्थापन करारमा दिइयो । तर, त्यसको तीन वर्षपछि नै बिदा गरियो । सोही अवधिमा निगमले पहिलो जेट विमान बोइङ ७२७ खरिद गरेको हो । गत वर्ष जर्मनीको प्रसिद्ध विमान सेवा लुफ्थान्सा समूहलाई निगमको रणनीतिक साझेदारका रूपमा भित्र्याउने कुरा आयो र सरकार पनि सकारात्मक देखियो, तर निगमले नै बाहिरी व्यवस्थापनमा नजाने बरु आफैं सुधार गर्ने प्रतिबद्धता जनायो, तर प्रतिबद्धताअनुसार काम नभएपछि अहिलेको अवस्था झनै गिर्दो छ ।
ग्राउन्ड ह्यान्डलिङले धानेको छ जेनतेन
निगमले अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवाको जिम्मेवारी पाइरहेको छ । निगमकै केही अवकाशप्राप्त कर्मचारी कम लगानी गरेर बढी नाफा हुने उक्त काम निगमबाट खोस्न कस्सिएर लागे पनि अहिलेसम्म सरकारले निगमलाई नै उक्त काम दिइरहेको छ । निजी क्षेत्रलाई सो काम दिनुपर्ने भनेर लामो समयदेखि लबिङ हुँदै आएको छ । तर, सम्झौताको म्याद सकिए पनि नागरिक उड्डयन प्राधिकरणले सो काम निगमलाई नै दिने म्याद थप गरिरहँदा कम्तीमा निगमका कर्मचारीहरूले तलब भने समयमै खान पाएका छन् । उडान सेवाबाट निगमलाई हरेक वर्ष घाटा भएको देखिन्छ भने ग्राउन्ड ह्यान्डलिङ सेवाबाट नाफा भएको देखिन्छ । आर्थिक वर्ष ०७१/७२ को प्रतिवेदनअनुसाार निगम ६ करोड ४३ लाखभन्दा केही बढीको खुद नाफामा रहेको तथ्यांक छ । अघिल्लो वर्ष यस्तो नाफा १ करोड ९६ लाख थियो । तर, ग्राउन्ड ह्यान्डलिङ सेवाबाट उक्त वर्ष निगमलाई प्राप्त भएको ३ अर्ब ३७ करोड ७ लाख कटाउने हो भने उडान सेवाबाट त्यो वर्ष निगमलाई ३ अर्ब ३० करोड ६४ लाख घाटा भएको तथ्यांक देखिन्छ ।
यस्तो छ पूर्वअध्यक्षको सुझाव
नेपाल वायुसेवा निगमलाई राम्रोसँग बुझेका अर्थशास्त्रीसमेत रहेका निगमका पूर्वअध्यक्ष डा. गोविन्दबहादुर थापाले निगम सुधारका लागि केही सुझाव प्रस्तुत गरेका छन् । उनले निगमलाई पब्लिक कम्पनी लिमिटेडका रूपमा पुन:संरचना गरी सेयरको केही अंश निजी क्षेत्रलाई बिक्री गर्नुपर्ने धारणा राखेका छन् ।
केही दिनअघि सार्वजनिक संस्थानका कर्मचारी संगठनको एक कार्यक्रममा विस्तृत कार्यपत्र प्रस्तुत गर्दै डा. थापाले निगमको कुल सेयरको केही अंश बिक्री गरी अनुभवी र प्रतिष्ठित विमान सेवालाई रणनीतिक साझेदारका रूपमा भित्र्याउन सुझाव दिएका थिए । उनले यो हालतमा निगम चल्न गाह्रो पर्ने बताउँदै यस्तो राय दिएका हुन् । अब कसरी अघि बढ्ने भन्ने ६ बुँदे उनको सुझावमा निगममा संरचनात्मक सुधार कार्यक्रम लागू गर्नुपर्ने, विभिन्न उच्चस्तरीय विशेषज्ञहरूको टोलीद्वारा निगमको समग्र पक्षको मूल्याङ्कन गरी अध्ययन गरिनुपर्ने र टोलीले प्रस्तुत गरेको तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका कार्यलाई सरकार, सम्बन्धित मन्त्रालय, निगम सञ्चालक समिति र निगम व्यवस्थापनले कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
Leave a Reply