सपनाहरूको मृत्यु हुन नदिने कि ?
मुलुक यतिबेला इतिहासको सबैभन्दा जटिल मोडबाट अगाडि बढेको छ । घटनाक्रमको विकासले राष्ट्रिय स्वाभिमान, सम्प्रभुता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भाव खल्बलिई राष्ट्र समाप्त भई देश विखण्डनको मार्गमा जाने त होइन भन्ने प्रश्न नेपाली जनताको अगाडि तेर्सिन पुगेको छ । विभिन्न बहानामा गरिने बारम्बारका आन्दोलन, बन्द, हडताल, आपसी घृणा, अविश्वास, सत्ता परिवर्तनको अस्वस्थ जोडघटाउजस्ता विषयवस्तुको पृष्ठभूमिमा संविधानको कार्यान्वयनमा आशंका उब्जिनु स्वाभाविकै हो । राजनीतिक पार्टीहरूले राष्ट्रिय सहमतिको वातावरण निर्माण गरी आफूहरूबीच बढ्दै गइरहेको दूरी कम गरी विश्वासको वातावरण निर्माण गरी आपसी समझदारी कायम गरी अगाडि बढ्न नसक्दा संविधानको कार्यान्वयन हुने कुरा आकाशका फल आँखा तरी मर भन्ने उखान चरितार्थ हुने त होइन ? भन्ने मनोविज्ञानले पनि काम गरिरहेको छ । लामो समय मधेसमा आन्दोलित भई अगाडि बढेका मधेसवादी दलहरूले संविधानप्रति असन्तुष्टि जनाउँदै पुन: यतिबेला काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । आन्दोलनको केन्दबिन्दु सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटारको गेटसम्मलाई बनाएका छन् । दिनहुँजसो सभा, जुलुस, धर्नालगायतका आन्दोलनका गतिविधिहरूका कारण जनतामा फेरि सन्त्रास फैलिन पुगेको छ । विगतमा एकातिर भूकम्पको पीडा, अर्कोतिर अघोषित नाकाबन्दीको पीडा झेलेका जनता मधेसवादी दलहरूले गरेको आन्दोलनलाई सहयोग गर्ने बहानामा भारतले पुन: नाकाबन्दी गर्ने हो कि भन्ने भय र त्रास अझै पनि नेपाली जनताको दिमागमा यथावतै छ ।
तीतो सच्चाइ, विगतको परिस्थिति नेपाली जनताका निम्ति पीडादायी बन्यो । महाविनाशकारी भूकम्पका कारण करिब ९ हजार व्यक्तिले ज्यान गुमाउनुपर्यो । २०औं हजार जनता अंगभंग बनी अझै पनि अस्पतालका शय्याहरूमा उपचार गरिरहेका छन् । १० लाखभन्दा बढी परिवार घरबारविहीन बनी त्रिपालमुनिको जिन्दगी बिताइरहेका छन््््््् । भूकम्पपीडितहरूलाई न्यूनतम ओत र आहारको व्यवस्थापन गर्न यो राज्यले सकिरहेको छैन । राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, विदेशी दातृ निकायहरू भूकम्प पीडितको सहयोगार्थ केही समय दौडधुप पनि गरे । विदेशी दाताहरूलाई बोलाएर नेपालमा पुनर्निर्माणसम्बन्धी सम्मेलन पनि गरियो । कागजी रूपमा जनतालाई राहत उपलब्ध गराउने ठूलाठूला योजनाहरू पनि बने । तर, ती योजना राजनीतिक अस्थिरता र खिचातानीका कारण कार्यान्वयन हुन सकेनन् । त्यो वास्तविकता हो । कति विदेशी गैरसरकारी संस्थाहरू आए ? कति प्रभावकारी कामहरू गरे ? कुनकुन जिल्लाहरूमा उनीहरूको उपस्थिति रह्यो ? वास्तविक पीडितहरूको पीडामा साथ दिए कि विभिन्न उद्देश्यका निम्ति दर्ता भएका गैरसरकारी संस्थाहरूसँग मिलेर भूकम्पको नाममा डलरको खेती गरे ? त्यसको अनुगमन गरिएको कुनै तथ्यांक सरकारसँग छ ? यो प्रश्न यतिबेला राज्यसामु अनुत्तरित बन्न पुगेको छ । टहरामा बस्ने पीडितहरूको दु:ख उस्तै छ । भत्किएका विद्यालयहरू अझै बन्न सकेका छैनन् । गाउँघरमा स्वास्थ्य चौकीका भवनहरू छैनन् । अस्थायी रूपमा बनाइएका विद्यालय, स्वास्थ्य चौकी भवनका संरचनाहरू सबै भत्किइसकेका छन् । मानवीय संवेदनाको सबैभन्दा महत्त्वपूर्ण स्वास्थ्य र शिक्षाजस्ता विषयमा खै सरकारको ध्यान जान सकेको ?
दिनहुँ समाचारहरू सम्प्ेरषित भइरहेका छन् । मूल्यवृद्धि उच्च बिन्दुमा पुगेको छ । भ्रष्टाचार झनै बढेको छ । कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरू बालुवाटार र सिंहदरबार वरिपरि प्रशासनिक पहुँच पुर्याएर निर्धक्क घुमिरहेका छन् । दुर्गम जिल्लाहरूमा खाद्यान्न अभाव भएका समाचारहरू दैनिकी बनेका छन् । हत्या, हिंसा, लुटपाटका घटनाहरू बढ्दो छ । विधिको शासन र कानुनी राज्य नाममा मात्र सीमित भएको छ । बारम्बारको बन्द, हडताल, आपसी घृणा, अविश्वास, सरकार बनाउने र ढाल्ने अस्वस्थ चलखेलजस्ता विषयवस्तुको पृष्ठभूमिमा जेजस्ता अभिव्यक्ति प्रधानमन्त्रीले दिइरहनुभएको छ, सामाजिक सञ्जालहरूमा पक्ष र विपक्ष भएर जेजस्ता क्रिया र प्रतिक्रिया सतहमा आइरहेका छन् । हामी माक्र्सवादी भएका हुनाले यसलाई द्वन्द्वात्मक ढंगले विश्लेषण गर्न जरुरी छ । वास्तविकता राष्ट्रिय स्वाभिमानको पक्षमा राष्ट्रियताका पहरेदार बनी राष्ट्रिय स्वाधीनताको पक्षमा प्रधानमन्त्रीले राख्नुभएको अडानलाई नेपाली जनताले मुक्तकण्ठले प्रशंसा गरेकै छन्, साथ दिएकै छन् । यो अडान इतिहासका पानाहरूमा पछिसम्म अवश्य लेखिनेछ । तर, केही सपना, केही उद्देश्य, केही इच्छाशक्ति केपी ओलीले प्रकट गरिरहनुभएको छ, ती कतिपय अभिव्यक्ति मजाकका विषय पनि बनिरहेका छन् । संसार बदल्न सपनाहरू देख्नुपर्छ । सकारात्मक सोच र देखिने सपनाले लक्ष्य भेदनमा अवश्य मद्दत गर्दछ । त्यसका लागि गतिशील, दूरगामी सोच राख्नैपर्छ । प्रेरणा, उत्साह, इच्छाशक्ति भएन भने कुनै पनि चिज सफल हुन सक्दैन । इच्छाशक्तिले हौसला र जाँगर जागृत गराइरहेको हुन्छ, त्यसका निम्ति आत्मविश्वास, निरन्तर गतिशील बन्नैपर्छ । केही गर्न सकिँदैन भन्ने मानसिकता बोकेर केही नगर्नुभन्दा केही प्रयास गर्नु र जनता र राष्ट्रका निम्ति सपना देख्नु रामै्र पक्षका रूपमा लिनुपर्छ । स्वयं लेनिनले भन्नुभएको छ, सपना देख, सपना देख, खुब सपना देख । आज हामी समाजका निम्ति असल कार्य गर्न सक्छौ भन्ने सपना देख्न छाड्दै त छैनौं ? नढाँटी भन्नुपर्दा, माक्र्सवाद र परिवर्तन उघारो सपनाको खेल होइन । हामीले वास्तविक र गर्न सक्ने रामा सपनाहरू देख्न सक्नुपर्छ । यसैलाई नै इच्छाशक्ति भनिन्छ ।
तर, सपनालाई विपनामा कार्यान्वयन गर्न सत्य, निष्ठा, इमानदारी र इच्छाशक्तिको खाँचो पर्छ । यो विषयमा विचार पुर्याउनैपर्छ । इतिहासको रेखा कहिल्यै पनि सोझो र सपाट हुँदै हुँदैन । निरन्तर गति, निरन्तर नवीकरण, निरन्तर परिवर्तनले नै यसलाई पूर्णता दिने हो । जबसम्म मुक्त मनले आफ्नो दिमागको ढोकालाई खुला राखेर स्वतन्त्रतापूर्वक आफू हुर्किरहेको परिवेश र परिस्थितिको अध्ययन गरिँदैन, तबसम्म सपनाहरू सत्यतामा परिणत नहुन पनि सक्छ । माक्र्सवादीहरू तथ्यमा आधारित सत्य बोल्नुपर्छ । सत्य कुरा कार्यान्वयन गर्नु पनि पर्छ । तथ्यबाट सत्य पत्ता लगाउने विधिलाई अझै पनि नेपालका कतिपय राजनीतिक दलहरूले स्विकार्न चाहँदैनन् । त्यो नेपाली समाजको वास्तविकता हो । तर, दूरदर्शी मानिस इच्छाशक्ति र योजनालाई प्रेम गर्दछन् । त्यसबाट नै त्यस्ता मानिसहरू इतिहासमा आदर्श पात्रको रूपमा दर्ज हुन्छन् ।
तपाईं जे कुरा भन्नुहुन्छ, त्यो गर्नुहुन्छ भने तपाईंलाई जति आलोचना भए पनि केही फरक पर्दैन । किनकि, आफूमा सही विकासद्वारा प्रेरित साहस भएकाले असल पुरुष आफ्ना अडानबाट पछि हट्दैनन् । साहसपूर्वक यसको पक्ष लिन्छ, यसलाई फिजाउँछ, यसका निम्ति लड्छ । यसो गर्दा उसले केही समय हानि खेप्न परे पनि धेरै जनाको विरोध र टीकाटिप्पणी सुन्न परे पनि ऊ निर्धक्कसँग सामना गर्न सक्छ । तर, बोल्नका निम्ति बोल्ने, संवेदनशील विषयहरूलाई मजाकको विषय बनाउने, जनताका सामान्य विषयहरूको सम्बोधन नहुने हो भने सपना देख्नुको के अर्थ हुन्छ ? यतिबेला भूकम्पले थिलथिलो बनेको, नाकाबन्दीले पीडा दिएको, विभिन्न घटनाक्रमले ठगिएर गरिबीको रेखामुनि दर्ज हुन पुगेका नेपाली जनतालाई नयाँ उत्साहसहित गाँस, बास र कपाससहितको जीवन उपहार दिने समय हो । सगरमाथा चढ्ने संकल्प गर्नेहरू सम्हालिएर अगाडि बढ्नुपर्छ । जनताका आवश्यकताहरूले पूर्णता नपाउने तर सपना सगरमाथा चढ्ने देख्ने हो भने हामी इतिहासमा हास्य पात्र पनि बन्न सक्छौं । बेलैमा सचेत भई सपनाहरूको मृत्यु हुन नदिने कि ?
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply