एमालेका ३१ वटै विभागले पूर्णता पाए
काठमाडौं । नेकपा एमालेका ३१ वटै केन्द्रीय विभागले पूर्णता पाएका छन् । महासचिव ईश्वर पोखरेल नेतृत्वको तीन सदस्यीय कार्यदलले लगातारको छलफलबाट सबै विभागको नाम टुंगो लगाएको हो । सोमबार र मंगलबारको छलफलपछि संगठन विभागमा रहने सदस्यहरूको नाम पनि टुंगिएसँगै सबै विभागको नाम टुंगो लागेको कार्यदल सदस्य तथा संगठन विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । कार्यदलमा सचिव तथा संगठन विभाग गुरुङ र अर्का सचिव गोकर्ण विष्ट सदस्य छन् ।
‘सबै विभागको नाम टुंगिसकेको छ, संगठन विभागमा रहने सदस्यहरूको पनि टुंगो लागिसकेकाले अब एकैपटक अन्तरपार्टी निर्देशन जारी हुन्छ,’ गुरुङले भने, ‘विभागका उपप्रमुख भानुभक्त ढकाल प्रमुख सचेतकको हैसियतमा संसदीय काममा व्यस्त रहनुभएकाले उहाँसमेतको उपस्थितिमा प्रमुख, उपप्रमुखले हस्ताक्षर गरेपछि सबै विभागको नाम अपानीमार्फत जारी हुनेछ ।’ गत ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले एक साताभित्र विभागीय सदस्यहरूको नाम टुंगो लगाउने गरी महासचिव पोखरेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो । तर, कार्यव्यस्तता जनाएर कार्यदलको बैठकै बस्न नसकेपछि डेढ महिनापछि मात्रै सबै विभागको नाममा टुंगो लागेको हो । विभाग गठनमा ढिलाइ हुँदै गएकोमा एमालेभित्र नेतृत्वको तीव्र आलोचना हुँदै आएको छ ।
यसअघि गत शुक्रबार कार्यदलले विदेश, भौतिक योजना तथा पूर्वाधार, कृषि, ऊर्जा, सहरी विकास, निर्वाचन र वन विभागलाई पूर्णता दिएको थियो । विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल छन् । विभाग टुंगो लगाउन नेपालसँग कार्यदलले शुक्रबार धुम्बाराही पार्टी कार्यालयमा छलफल गरेको थियो । विधानअनुसार प्रमुखसहित एमालेको केन्द्रीय विभागमा २५ सदस्य हुन्छन् ।
संगठन विभागमा थियो मुख्य विवाद
एमालेका ३१ वटा विभागमा संगठन विभागलाई सबैभन्दा महत्त्वपूर्ण विभागका रूपमा लिने गरिन्छ । पार्टी सदस्यको स्वीकृति दिने विभागमा संस्थापन पक्षबाट सचिव पृथ्बीसुब्बा गुरुङ, उपप्रमुखमा भानुभक्त ढकाल र सचिव ज्ञानबहादुर भुजेल रहेकाले वरिष्ठ नेता माधवकुमार नेपालले विभागमा आन्तरिक समीकरणलाई ख्याल नगरिए मान्य नहुने बताउँदै आएका थिए । गत चैत तेस्रो साता सम्पन्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा संगठन विभागमा रहने सदस्यहरूबारे विवाद भएपछि एमालेले कार्यदल गठन गरेको थियो । विभागमा रहने सदस्यहरूबारे केन्द्रीय सचिवालयमै छलफल नगरी सीधै स्थायी समितिमा नाम प्रवेश गराउन खोजेको तथा विशेषत: संगठन विभागमा रहने सदस्यहरूमा संस्थापनले एकलौटी गर्न खोजेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराईलगायतका नेताहरूले आपत्ति जनाएका थिए । विवादपछि पहिले विभागीय प्रमुख र उपप्रमुखको सहमतिमा अन्य विभागमा रहने सदस्यहरू टुंगो लगाएपछि अन्तिममा संगठन विभागको नाम टुंगो लगाउने र त्यसका लागि महासचिव पोखरेलको नेतृत्वमा छुट्टै कार्यदल बनाउने नेताहरूबीच सहमति भएको थियो । कार्यदलका सदस्य तथा सचिव विष्टले सबै विभागको नाम सर्वसम्मत र सौहार्दपूर्ण रूपमा टुंगो लागेको जानकारी दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply