कवितामाथि विमर्श
नेपाली साहित्यका अनेक विधाहरूमा कविताको आफ्नै वैशिष्ट्य छ । साहित्यको परम्परागत इतिहासमा प्राचीन विधा भएको नाताले पनि कविताले आफ्नो विशिष्ट उचाइँ, गरिमा र स्वर आजपर्यन्त कायम राखेको छ । पछिल्ला अवधिमा कविताको स्वर सुक्दै गएको र आख्यान फस्टाएको बताइने गरिए पनि कविताको निरन्तर लय भने यथावत् नै रहेकोमा सायदै दुईमत होला ।
नेपाल प्रज्ञा प्रतिष्ठानले समयसमयमा नेपाली कवितामाथि विमर्श चलाउँदै आएको छ । कविताको विकास र यसको दीर्घ परम्परालाई कायम राख्न प्रज्ञा प्रतिष्ठानद्वारा बेलाबखत आयोजना गर्दै आएको गोष्ठी र ती गोष्ठीहरूमा कविता विधामा समालोचना गर्दै आएका प्राज्ञ, विद्वान्हरूका कार्यपत्रहरूलाई एउटै पुस्तकभित्र समेट्ने अभिप्रायस्वरूप हालै ‘काव्य विमर्श’ प्रकाशित भएको छ । प्राज्ञ डा. अमर गिरीद्वारा सम्पादित उक्त कृतिले कार्यपत्रहरूलाई समेटेर पनि गहन कृति प्रकाशन गर्न सकिन्छ भन्ने कुराको सबैलाई बोधसमेत गराएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको काव्य सिर्जना र प्रभृत्तिहरूमाथि धेरै विद्वान्ले कलम चलाएका छन् । कतिपयले देवकोटाकै काव्य संसार पहिल्याएर विद्यावारिधिसमेत गरेका छन् । डा. गोविन्दराज भट्टराईले भने ‘महाकविको त्रि–स्तरीय मानस–भूगोल र तज्जन्य सिर्जना स्वरूप’ शीर्षकमा देवकोटाकै १०६औं जन्मजयन्तीका बेला प्रस्तुत कार्यपत्र कृतिमा अटाइएको छ । देवकोटालाई ‘नेपाली जातिका सर्वोच्च निधिका रूपमा’ अथ्र्याउँदै डा. भट्टराईले लेखेका छन्– ‘महाकविको भावनामा पूर्वीयता नै एउटा ठूलो आलम्ब थियो । यसैको प्रेमले, यसैको प्रशंसामा, यसैको महानताको गुण गाउँदै उहाँले विशिष्ट कृतिको रचना गर्नुभयो ।’
नेपाली प्रगतिवादी काव्य–आन्दोलनमा युद्धप्रसाद मिश्रले पुर्याएको अतुलनीय योगदानलाई सबै विचार बोक्नेहरूले स्मरण गर्छन्, सम्मान गर्छन् । देवकोटाकै पालामा प्रगतिशील साहित्य जगत्मा स्थापित मिश्रसँग डा. तुलसी भट्टराईले बनारसमा बिताएका क्षणहरूका साथै मिश्रको काव्यिक धरातल पहिल्याउने क्रममा ‘बनारसमा कवि युद्धप्रसाद मिश्र’ लेखेका थिए । बनारसको एउटा क्षणको सम्झना गर्दै भट्टराई लेख्छन्– ‘वरिष्ठ नेता पुष्पलाल श्रेष्ठकहाँ २०३० फागुनतिर कवि युद्धप्रसाद मिश्रसँगै गएको थिएँ । कविजीलाई देख्नेबित्तिकै पुष्पलालज्यूले आफ्नो कुर्सीबाट उठेर नमस्कार गर्दै छेउको कुर्सीमा बसाल्नुभयो । बडो आदर सम्मानसाथ कविजीसँग कुराकानी गर्नुभएको थियो ।’
डा. नेत्र एटमले पचासदेखि सत्तरीको दशकसम्म लेखिएका कविताहरूले नेपाली साहित्यमा कस्तो प्रभाव छाड्न सफल रह्यो ? यो पक्षलाई उनले ‘समकालीन नेपाली कविताका स्वरहरू’मार्फत उजिल्याउने प्रयत्न गरेका छन् भने डा. मुरारी पराजुलीले भने गणतन्त्र स्थापना भएपछि लेखिएका कविताहरूबारे प्रस्ट पार्ने कार्य गरेका छन् । गणतन्त्र स्थापना भएको सात/आठ वर्षको दौरानमा नेपाली राजनीति, समाज, आर्थिक, सांस्कृतिक क्षेत्रमा आएका तरंगहरूलाई केलाउँदै उनले यो अवधिमा कवितामा भित्रिएका स्वरहरू छाम्न चाहेका छन् । उनी लेख्छन्– ‘गणतन्त्रोत्तर नेपाली कवितामा देशको राजनीतिमा देखा परेको असंगति मूल मुद्दा बनेर आएको छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको चलखेल र हस्तक्षेपलाई पनि कविहरूले कविताका विषय बनाएका छन् । नेपाली सीमामाथिको अतिक्रमण एवं स्वाभिमान र स्वाधीनतामाथिको बाह्य प्रहारलाई कविहरूले उठाएका छन् ।’
डा. रामप्रसाद ज्ञवालीले वर्तमान सन्दर्भमा महाकवि देवकोटाको काव्यमाथि विमर्श चलाउन चाहेका छन् भने डा. लक्ष्मणप्रसाद गौतमले भने ‘उत्तरवर्ती नेपाली कवितामा सांस्कृतिक चेतना’ शीर्षक कार्यपत्रमा उत्तरवर्ती नेपाली कवितामा प्रतिविम्बित सांस्कृतिक चेतनाका प्रमुख पक्षहरूको निरूपण गर्न खोजेका छन् । लेखेका छन्– ‘उत्तरवर्ती नेपाली कवितामा बहुविषयक पठनीयता सशक्त छ र सांस्कृतिक/संस्कृतिपरक पठनीयता पनि निकै सबल र प्रभावपूर्ण देखिन्छ ।’ हेमनाथ पौडेलको ‘नेपाली कवितामा राष्ट्रिय स्वाधीनता चेत’मा उनले राष्ट्रिय स्वाधीनता चेत कविता परम्परासँगै प्रारम्भ भएको उल्लेख गरेका छन् । पौडेलले लेखेका छन्– ‘नेपाल सधैं एक स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रका रूपमा रहेको भए पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा यसले वैदेशिक हस्तक्षेपलाई बेहोर्नुपरेकाले नवऔपनिवेशिकताको प्रभावबाट यो मुक्त रहन सकेको छैन ।’
कृति : काव्य विमर्श
विधा : कार्यपत्र सँगालो
सम्पादक : डा. अमर गिरी
प्रकाशक : नेपाल प्रज्ञा प्रतिष्ठान
पृष्ठ : २०४
मूल्य : २१५।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply