दुई दशकको काव्य–पहिचान
विद्रोह, कवि अनिल श्रेष्ठको काव्यिक–मैदानको मूल स्वर हो, मूल पहिचान पनि हो । विद्रोहले नै संसारका यावत् मूल्य–मान्यताहरूलाई संस्थागत गर्न सक्छ भन्ने निचोड नै उनका कविताको सार्वभौमिकता हो । राज्ययन्त्रका कुरूप कलपुर्जाहरूलाई बदलेर नयाँ, सुन्दर र सारगर्भित यन्त्रशाला निर्माण गर्नुपर्ने मान्यता र सैद्धान्तिक धरातलमा उभिएका श्रेष्ठका हरेक कविताले नेपाली समाज, राजनीति, सांस्कृतिक, आर्थिकलगायतका पक्षहरूमा जमेर बसेका विसंगत पक्षहरूलाई बढारकुाडार पार्ने सोद्देश्यता सँगालेका हुन्छन् । उनका कविता ग्रामीण बस्तीका झुप्राहरूदेखि सिंहदरबारका शासकीय सानसौकतसम्मका विकृत पक्षहरूलाई पर्गेल्न सक्षम छन् ।
धेरै वर्षपूर्व, भारत, पश्चिम बंगालका कवि नवारुण भट्टाचार्यले लेखेका थिए– ‘मृत्यु उपत्यका होइन, मेरो देश ।’ लगभग त्यही कविताकै झल्को दिने कविता लेख्ने मुडमा अनिल उभिएका छन् । उनले सिंगो देशलाई नै घानमा त हालेका छैनन्, तर देशको शासन सत्ता सञ्चालन गर्ने सत्ताधीशहरूको व्यवहारबाट दिक्क भएका संकेत भने उनले ‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो, सिंहदरबार’बाट दिन चाहेका छन् । देशकै मुख्य शासकीय, प्रशासनिक केन्द्रप्रति उनी किन यति आक्रोशित भए र लेखे कविता ? उनकै काव्य–हरफका सहारा लिनु उपयुक्त होला– ‘हामी ओतौंला जसरी पनि/जाडोको यो शीत/सहौंला यो साँझको/नांगो ठिही/जब चिसोले कराइरहनेछन्/हाम्रा केटाकेटीहरू/चिरनिद्रामा हाम्रै अघिल्तिर/मस्तले निदाइरहेको/मुर्दाघरको त्यो उज्यालोलाई/देखाउँदै आफ्ना नानीहरूलाई/हामी सुनाउँला/यो देशको एउटा/दुर्दान्त कथा ।’
अनिल माटोसँग जोडिएका कवि हुन् । माटो अर्थात् श्रमजीवी जनताका पसिनाद्वारा सिञ्चित जमिनलाई जीवनको मुख्य आधार ठान्ने कवि हुन् उनी । ‘म कुँडुलेटार’ले देशका हजारौं जनताको भावना र पीडाको प्रतिनिधित्व गरेको छ । आज पनि देशका हजारौं कुँडुलेटारहरूले सिाचाइको अभावमा बाँझो पल्टिनुपरिरहेको छ र देशका शासकहरूले उत्पादनशील भूभागहरूमा सिाचाइको सुविधा उपलब्ध गराएर उत्पादकत्वमा वृद्धि ल्याउने भन्ने चासो दिन छाडेका छन् । त्यसो त विम्बात्मक भाषा खेलाउन सिपालु अनिलका कविताले आम जनतालाई झट्टै अपिल गर्न सक्दैनन् । उनी यतिबिघ्न विम्बको सहारा लिन्छन्, कतिपयलाई बुझ्नै कठिन हुन्छ । तर, ‘हँसियाहरू खिएपछि’मा भने जति धेरै विम्ब भए पनि राष्ट्रियताप्रति प्रतिबद्ध कुनै पनि व्यक्तिले उनको कविताको भावभूमि सहजै पत्ता लगाउन सक्छन् । उनले राष्ट्रियताप्रति प्रतिबद्ध हुनेहरूलाई हँसियाका रूपमा उभ्याउन चाहेका छन् । तर, अचेल त्यही हँसियामा खिया लाग्न थालेको, धारविहीन हुने क्रममा जुटेको र सामान्यभन्दा पनि सामान्य चिज काट्न असक्षम रहेकोप्रति उनको दुखेसो व्याप्त भएको देखिन्छ ।
स्थानीय थलो, त्यसवरिपरि कष्टप्रद जीवनयापन गरिरहेका जनजीवन, प्राकृतिक सुन्दरतालाई काव्यको विषय बनाएर लेख्ने शिल्पका धनी अनिलले कुनै बेला छिम्का लेकबारे एउटा सुन्दर कविता लेखेका थिए–‘ त्यो छिम्का लेक पनि अग्लो–अग्लोझैं लाग्छ ।’ स्थानीय परिवेश समातेर लेखिएका भए पनि यो जनयुद्धले सहज बाटाहरू नापिरहेका बेला लेखिएको कविता थियो । युद्धप्रति सकारात्मक भाव पोखिएको यो कविता लेख्ने कविले आज भने अलि बेग्लै कविता लेख्न रुचि देखाइरहेका छन् । ‘विसर्जन’मा उनी बदलिँदो राजनीतिक सन्दर्भलाई यसरी व्यक्त गर्छन्– ‘सिंहदरबारका काला छतहरूको/कडा निगरानीले/घेरिएको छ मेरो अँगेना/र, प्रधानमन्त्रीको कार्यकक्षमा जडित/टेलिभिजनका ऐनाहरूले/मेरो अँगेनाको अभिलेख दुरुस्त राखिरहेछन्/किनकि सिंहदरबारका/नयाँ प्रधानमन्त्रीको आँखाहरूलाई/मेरो अँगेनाको राप मन पर्दैन ।’
२०५१ सालमा ‘राष्ट्रले शोकधुन बजाएको छ’ जस्ता सशक्त काव्यसंग्रह ल्याएका अनिलले अहिलेसम्म पाँच थान कवितासंग्रह ल्याइसकेका छन् । ‘अनिल श्रेष्ठका प्रतिनिधि कविता’चाहिँ उनको काव्ययात्राका क्रममा जारी ती पाँचवटै कवितासंग्रहका सम्भवत: चर्चित र उत्कृष्ट कविताहरूको सञ्चयन हो । तसर्थ, यो संग्रहबाट जनयुद्धकालीन समयदेखि गणतन्त्र आएसम्मका अवधिमा कवि अनिलको काव्यधरालतले बेहोरेका उतारचढावबारे सहजै बुझ्न मद्दत पुर्याउने अपेक्षा सँगाल्न सकिन्छ ।
कृति : अनिल श्रेष्ठ प्रतिनिधि कविता
विधा : कविता सञ्चयन
कवि : अनिल श्रेष्ठ
प्रकाशक : बुक्ससेलर, काठमाडौं
पृष्ठ : १९२
मूल्य : रु. २५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply