जग्गा बेचेर मोटाउने दाउ
काठमाडौं । अवैधानिक ठहर भइसकेको साझा प्रकाशनको सञ्चालक समितिले केही जग्गा लिजमा दिने र केही भने बिक्री गर्ने भित्रभित्रै तयारी गरिरहेको छ । पुनरावेदन अदालत पाटनले अवैधानिक ठहर गरिसकेको सञ्चालक समितिबाटै हुन लागेको त्यस्तो निर्णयका लागि अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा अहिले दिनरात मिहिनेत गरिरहेका छन् ।
ऋण र घाटा बेहोर्दै चलिरहेको साझालाई बचाउन केही जग्गा बेच्नुपर्ने कुरा अध्यक्ष शर्माले पटकपटक बताउँदै आएका छन् । तर, उनी अवैधानिक रूपले काम गरिरहेका छन् । अदालतले नै अवैध ठह¥याइसकेको अध्यक्ष र सञ्चालकहरूले अहिले पुल्चोकस्थित साझाको केन्द्रीय कार्यालयको पाँच रोपनी जग्गा एउटा व्यापारिक कम्पनीलाई लिजमा दिने आन्तरिक तयारी गरिरहेको बुझिएको छ । सस्तो दरमा लिजमा दिएर मोटो कमिसन बटुल्ने ध्याउन्नमा अध्यक्ष शर्मा अग्रसर भएका र केही सञ्चालकहरूले समेत त्यसमा सहमति जनाइसकेको बताइन्छ । अध्यक्ष शर्माले पनि पैसाको प्रलोभनमा पारेर केही सञ्चालकहरूबाट सहमति लिएको बुझिएको छ । अहिले अध्यक्ष शर्माको बाक्लो उठबस त्यही व्यापारिक कम्पनीका मालिकहरूसँग हुन थालेको बताइन्छ ।
यसैगरी, साझाको केही जग्गा बिक्री गर्ने गृहकार्यमा पनि अध्यक्ष शर्मा र केही सञ्चालकहरू कसरत गरिरहेका छन् । साझाका कर्मचारीहरूलाई तलब खुवाउन र ऋणबाट उक्सिनका लागि देशका विभिन्न ठाउँमा भएका जग्गामध्ये केही ठाउँको जग्गा बेच्ने तयारीमा सञ्चालक समिति लागेको बताइन्छ । अहिले साझाको महेन्द्रनगर, धनगढी, सुर्खेत, चितवन, नेपालगन्ज, वीरगन्ज, पोखरामा जग्गा रहेका छन् । धेरै मूल्य पर्ने ती जग्गाहरू कौडीकै दाममा बेच्ने सुरमा सञ्चालकहरू लागिपरेको बताइन्छ ।
त्यसो त अहिले साझाको केन्द्रीय कार्यालय अधिकृतविहीन बन्न पुगेको छ । २४ जना अधिकृतमध्ये २२ जनाले स्वैच्छिक अवकाश पाइसकेका छन् । बाँकी रहेका दुई अधिकृतमध्ये भेषराज घिमिरेलाई बिर्तामोड र होम भट्टराईलाई राजविराज सरुवा गरेपछि साझा अधिकृतविहीन बन्न पुगेको हो । घिमिरे र भट्टराईलाई अधिकृतको दरबन्दी नै नभएको बिर्तामोड र राजविराजमा सरुवा गरिएको बताइन्छ । असक्षम साबित भइसकेका अध्यक्ष शर्माले क्षमतावान् कर्मचारीहरूलाई धमाधम सरुवा गर्न थालेपछि कर्मचारीहरू पनि आक्रोशित बन्न पुगेका छन् ।
यसैबीच, साझाबाट प्रकाशित कक्षा ५ को सबैको नेपालीको हिसाबकिताब लेखकहरूले खोज्न थालेका छन् । हरेक वर्ष १ लाख ४० देखि ९० हजारसम्म बिक्री हुँदै आएको उक्त पुस्तक यो वर्ष साझाले ५० हजार छापे पनि धेरै पुस्तक गोदाममै थन्किएर बसेको छ । तर, साझाको गोदाममा उक्त पुस्तक थन्किएर रहे पनि देशभरिका विद्यालयहरूमा भने उक्त पुस्तक पुगिरहेको बताइन्छ । साझाले वितरण नगरे पनि कसरी देशैभर उक्त पुस्तक पर्याप्त रूपमा उपलब्ध भइरहेको छ ? उक्त पुस्तकका लेखकहरूले यसको खोजी गर्न थालेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply