नयाँ शक्तिको प्रचार ग्रन्थ
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले करिब ३३ वर्ष एउटै राजनीतिक समूहमा बिताए । रोल्पा, भारत, पेरिस डाँडा वा जतासुकै होस्, उनीहरूले तीन दशकभन्दा लामो अवधि एउटै मोर्चामा गुजारे । कहिले सौदार्ह र कहिले कटुतापूर्ण सम्बन्ध–रेखाहरू छिचोल्दै नेपाली राजनीतिका यी दुई खेलाडीहरूले देशको कार्यकारी–प्रमुखको जिम्मेवारीसमेत सम्हाले÷सम्हाल्दै छन् । २०४० सालमा गोरखपुरमा आयोजित नेकपा (चौथो महाधिवेशन) को अधिवेशनका क्रममा पहिलोपटक यी दुई राजनीतिकर्मीबीच भेट हुँदा डा. भट्टराई भने राष्ट्रिय रूपमा परिचित अनुहार भइसकेका थिए भने प्रचण्ड भने त्यतिबेला आफ्नो राजनीतिक समूहभित्र मात्र चिनिन्थे । तर, गोरखपुरको भेटमा नै नजिकिएका यी दुई पात्र तीन दशकभन्दा लामो राजनीतिक सहकार्यमा अनेक अन्तरविरोध पार गर्दै यात्रारत रहे । पछिल्लो समय, एक वर्षअघि संविधान जारी भएपछि उनीहरूको सहकार्य र यात्राले बेग्लाबेग्लै मार्ग रोज्यो ।
युवा पत्रकार अनिल थापाकृत ‘अविराम बाबुराम’ मूलतः डा. भट्टराईको राजनीतिक जीवन–यात्रा, अध्ययन, पारिवारिक वृत्तलगायतका विषय वरिपरि घुमेका भए पनि प्रचण्डको उपस्थिति अकाट्य रूपमा देखिएको छ । किनकि, नेपाली राजनीतिमा उथलपुथल मच्चाउने यी दुई पात्रहरूले सहकार्य मात्र गरेनन्, एकअर्काबीच कटुता, वैमनश्य, दाउपेच, भौतिक अस्तित्व नै समाप्त पार्नेसम्मका हर्कतहरू पनि देखिए । पत्रकार थापाले एउटा छुट्टै खण्डमार्फत प्रचण्ड र बाबुरामबीचका अन्तरद्वन्द्व पस्किने चेष्टा गरेका छन् । पछिल्लो समय माओवादी केन्द्र परित्याग गरेर कम्युनिस्ट राजनीति र दर्शनभन्दा केही पर हटेर नयाँ शक्ति नेपाल नामक राजनीतिक दल गठन गरेका डा. भट्टराईका जीवनका उतारचढावहरूलाई पत्रकार थापाले स्वयं डा. भट्टराई, परिवारका सदस्यहरू, समकालीन राजनीतिहरूसँग संवाद गरेर त्यसैमा आधारित भई यो कृति ल्याएका हुन् । नेपाली राजनीतिमा डा. भट्टराई खुला किताबजस्तै भए पनि केही नौला पक्षलाई समेत बाहिर ल्याउने प्रयत्न गरिएको हुँदा पठनीय कृतिकै रूपमा स्वीकार्य हुने देखिन्छ ।
संविधान निर्माणमा उपल्लो तहमै रहेर क्रियाशील रहे पनि संविधान जारी भएको केही दिनपछि नै डा. भट्टराईले तीन दशकभन्दा लामो समयदेखि पसिना बगाएका माओवादी पार्टी परित्याग गरे । माओवादीभित्रका आफू निकटस्थ नेता एवं कार्यकर्ताहरूलाई कुनै सुइँको नदिई हठात् रूपमा पार्टी परित्याग गरेपछि आर्थिक समृद्धिलाई मूल ध्येय बनाउँदै उनले नयाँ शक्ति गठन गरे । यो कृति डा. भट्टराईले एक वर्षअघि माओवादी त्याग गरेर अर्कै राजनीतिक समूह गठन गरेको प्रसंगबाट प्रारम्भ भएको छ । त्यसपछि भने अन्य व्यक्तिका जीवनी झल्काउने सामान्य कृतिहरूकै ढाँचामा जीवनका प्रारम्भिक दिनहरूबाट डा. भट्टराईलाई चिनाउने प्रयत्न गरिएको छ ।
कुनै पनि व्यक्तिलाई राजनीतिक गतिविधिमा सक्रिय हुन राजनीतिक परिवेश र घटनाहरूले प्रभावित तुल्याउनुपर्दछ । २०२६ सालमा एसएलसीमा बोर्ड प्रथम भएर इन्जिनियरिङ अध्ययन गर्न काठमाडौं आएका उनलाई तत्कालीन समयमा सल्बलाइरहेको राजतन्त्रविरोधी आन्दोलनले थोरबहुत प्रभाव पारे पनि ठूलो प्रभाव भने भारतमा अध्ययन गर्न गएपछि भयो । भारतमा अध्ययनरत रहेकै बेला राजनीतिक चेतको विकास भइसकेका उनले विद्यार्थी संगठन गठन गरेर आफूलाई राजनीतिमा होम्ने निश्चय गरे । अग्रज कम्युनिस्ट नेता मोहनविक्रम सिंहले कम्युनिस्ट पार्टीको सदस्यता दिएका उनलाई नपत्याउँदो गरी राजनीतिको चस्का पसिसकेको थियो । र, २०४६ पछि सक्रिय राजनीतिमा आएका डा. भट्टराई जनयुद्धका सञ्चालकहरूमध्ये एक हुँदै शान्ति प्रक्रियामा आएपछि देशको कार्यकारी प्रमुखसमेत भए ।
डा. भट्टराईले विद्यावारिधिका लागि जुन शोधपत्र तयार पारेका थिए, त्यसकै आधारमा नेपालमा जनयुद्धको थालनी भएको लेखकको दाबी छ– ‘माओवादी पार्टीले जनयुद्धको सुरु गर्दा उनकै शोधपत्रको अर्थराजनीतिक औचित्य ग्रहण गरेको थियो । जनयुद्धमा निर्माण गरिएको जनसत्ताको आधार पनि त्यही शोधपत्र थियो । शोधपत्रको ऐतिहासिक, क्षेत्रीय र भौगोलिक अध्ययनका आधारमा कमान्ड विभाजन गरिएको थियो ।’
आरोह÷अवरोह, खोप्लाङदेखि जेएनयूसम्म, जनयुद्धका मोडहरू, प्रचण्ड–बाबुराम टकराव, अविराम यात्रा गरी पाँच खण्डमा विभक्त ‘अविराम यात्रा’भित्र डा. भट्टराईकै भनाइका साथै विभिन्न दस्तावेज र उनीसँग सम्बन्धित तस्बिरहरू पनि राखिएका छन् । डा. भट्टराईका शुभचिन्तक र प्रतिस्पर्धीहरूका मतसमेत अटाइएको यो कृतिले उनको समग्र व्यक्तित्व झल्काउने कार्य त नगर्ला तर राजनीतिक मोर्चामा रहँदा उनीसँग अन्तरद्वन्द्व झेलेका व्यक्तिहरूका समेत भनाइले स्थान पाएको हुँदा यो कृति एकपक्षीय बन्नबाट भने अवश्य नै जोगिएको छ । तर, नयाँ शक्तिको प्रचार ग्रन्थ बन्नबाट जोगाउन सकिएको भए कृतिको गरिमा र उच्चता अझै रहने थियो ।
कृति ः अविराम बाबुराम
लेखक ः अनिल थापा
प्रकाशक ः सांग्रिला बुक्स
पृष्ठ ः ३३३
मूल्य ः ४४८।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply