राजनीतिक उतारचढावको नालीबेली
तीसको मध्य दशकदेखि राजनीतिक पत्रकारिता गर्न थालेका वरिष्ठ पत्रकार हरिहर विरहीको सिंगो परिचय नै पत्रकार हो । खासगरी, पछिल्लो पुस्ताले विरहीलाई पत्रकारका रूपमा मात्र चिन्छन् । पञ्चायतका आखिरी वर्षहरूका साथै बहुदलीय व्यवस्था स्थापना भएपछि पत्रकारिता क्षेत्रमा समर्पित विरहीले थुप्रै साप्ताहिक पत्रिकाहरू सम्पादन गरे, अन्तर्वार्ता लिए र राजनीतिक टिप्पणीहरू लेखे । त्यही कारण उनलाई सबैले पत्रकारकै रूपमा चिन्छन् । तर, पत्रकारितामा सक्रिय हुनुअघि उनको जीवन राजनीतिका काँढे मैदानहरूबीच गुज्रिएको थियो भन्ने कुरा कमैलाई थाहा छ ।
वरिष्ठ पत्रकार विरहीको पहिलो संस्मरणात्मक कृति ‘आगो निभेको छैन’ उनको राजनीतिक जीवन–यात्राको दस्तावेज हो । बीसको अन्तिम दशकतिर जनकपुरमा विद्यार्थी रहँदा नेपाली कांग्रेसको राजनीतिप्रति आकर्षित भएका विरहीले करिब एक दशकजति विभिन्न राजनीतिक गतिविधिमा सक्रियता देखाए । पाँच वर्ष जेल र तीन वर्ष निर्वासनमा बिताएका विरहीले पञ्चायती व्यवस्थाका कठोर यन्त्रणा भोगे । राजनीतिक यात्राकै क्रममा नेपाली कांग्रेसका नेताहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, बोधप्रसाद उपाध्याय, सरोज कोइरालालगायतको संगत र सान्निध्य पाएका उनी कम्युनिस्ट पार्टीका नेताहरू पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीहरूसँग पनि नजिक भए ।
जनकपुरमा पढ्दै गर्दा उनमा राजनीतिप्रति मोह जागिसकेको थियो । राजा महेन्द्रले प्रजातन्त्र मासेर निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि तत्कालीन व्यवस्थाविरुद्ध युवा–पंक्तिहरू भित्रभित्रै सल्बलाइरहेका थिए । जनकपुरमा छँदाका सहयात्री केशव कोइराला र उनी मिलेर राजा महेन्द्रको सालिकमा कालोमोसो पोतेपछि उनले राजनीतिको अप्ठ्यारो बाटो समाते । त्यसपछि जनकपुरमै भएको एउटा कार्यक्रममा पञ्चायती व्यवस्थाविरुद्ध नारा लगाएपछि उनीमाथि धरपकड गरियो र उनको जेलयात्रा सुरु भयो । जेल जीवनका क्रममा उनले थुप्रै राजनीतिक बन्दीहरूलाई भेटे । सेन्ट्रल जेलमा रहँदा कृष्णप्रसाद भट्टराईलाई भेटेका उनले लेखेका छन्– ‘मान्छेको अगाडि अति सकारात्मक र उदार तथा त्यो मान्छे कोल्टे पर्नासाथ ज्यादै नकारात्मक र कटु टिप्पणी गर्ने उहाँको स्वभाव पार्टी सभापति र प्रधानमन्त्री हुँदासमेत कायम रह्यो । धेरै ठूल्ठूला जमघट र भेलाहरूमा पनि उहाँ ठट्यौली शैलीमा यसो गर्नुहुन्थ्यो ।’
जेलबाट छुटेपछि तीन वर्ष उनी भारतमा निर्वासित भए । निर्वासनमा नेपाली कांग्रेसका तत्कालीन सभापति बीपीदेखि कांग्रेसका अधिकांश नेता–कार्यकर्ता थिए । निर्वासनमा रहँदा उनले बीपीलगायत कांग्रेसका अरू नेता, कार्यकर्ताहरूलाई नजिकैबाट चिन्ने मौकासमेत पाए । उनी लेख्छन्, ‘बीपी र प्रदीप गिरीको सम्बन्ध अरू साथीहरूको भन्दा अलि भिन्न प्रकारको थियो । बीपीको प्रदीपप्रति स्नेह देखिन्थ्यो । उहाँ उनको बौद्धिकता, तीक्ष्णता तथा प्रभावोत्पादक खुबीको धीमा स्वरले चर्चा गर्नुहुन्थ्यो । मायामिश्रित स्वरले गुनासो पोख्नुहुन्थ्यो । तर, दुवैजना जति नजिक थिए, त्यति नै टाढा पनि थिए । यो टाढापन र तिक्तताको पछाडि राजनीतिकभन्दा अराजनीतिक पक्ष कारक रहेको अनुमान गर्न सकिन्छ ।’
त्यसो त स्वास्थ्य उपचार गर्न अमेरिका गएका बीपीले फर्केर आएपछि राजा वीरेन्द्रलाई भेट्न चाहे पनि त्यो अवसर नमिलेको कुरा पनि विरहीले लेखेका छन् । उनी लेख्छन्– ‘बीपीले अमेरिकाबाट फर्केर राजालाई भेट्ने प्रयत्न गर्नुभयो । उहाँले संविधान संशोधन गरेर जनमतको परिणामका दृष्टिले पनि अपर्याप्त भएको बताउँदै यसबारे राजासँग कुरा गरेर कुनै विकल्प खोज्ने विचार व्यक्त गर्नुभयो । तर, पञ्च र दरबारियाहरूले राजालाई बीपीसँग भेट्न दिएनन् ।’
बहुदल आएपछि राजा वीरेन्द्रलाई एक पत्रकारको नाताले विरहीले भेटे पनि यो पुस्तकमा पत्रकारिता जीवनका आरोहअवरोह भने समेटिएका छैनन् । राजनीति गर्दा भोगेका दुःख, कष्ट, विभिन्न व्यक्तिसितको सान्निध्य आदिलाई नै यो पुस्तकमा समेट्न खोजिएको छ । विरहीको यो पुस्तक अध्ययन गर्नेले तीसको दशकयता नेपाली राजनीति कसरी गुज्रिएका थिए भन्ने पाटोलाई राम्ररी पर्गेल्न सक्नेछन् ।
कृति ः आगो निभेको छैन
लेखक ः हरिहर विरही
विधा ः संस्मरण
प्रकाशक ः फाइनप्रिन्ट
पृष्ठ ः ३२३
मूल्य ः रु. ४९८।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply