नेपाली समाजको यथार्थ तस्बिर
नेपाली समाज अनेक अन्तरविरोध, जटिलता र समस्याहरू झेलेर बाँचिरहेको समाज हो । हामी बाँचिरहेको समाजभित्र चरम गरिबी छ, बेरोजगारी छ, पारिवारिक पीडा र व्यथाहरूको अथाह चाङ छ । तर पनि नेपालीहरू आफ्ना दुःख, पीडा, समस्याहरू झेलेरै भए पनि बाँचिरहेका छन्, आफ्नै श्रम र मिहिनेतमा रमाइरहेका छन् ।
प्रगतिशील स्रष्टा राम विनयको नयाँ कथाकृति ‘घर बिनाको घर’भित्रका कथाहरूले नेपाली समाजभित्रका विभिन्न घटना, पात्र र चरित्रहरूलाई चिनाउने प्रयत्न गरेका छन् । उनको ‘घर बिनाको घर’ कथाले त सिंगो र ऊर्जावान् समय जागिरमा व्यतीत गरेका एक कर्मचारीको व्यथा कहेको छ, जो अवकाश पाएपछि आफ्नो घर, परिवार र समाजमा रत्तिभर भिज्न सक्दैनन्, पूरै एक्लोपनाको महसुस गर्छ । जागिरे जीवनका सुरुवाती दिनहरूमा उसलाई मान, सम्मान गर्नेहरू, उसले ल्याइदिएका उपहारहरूलाई आत्मीयतापूर्वक स्विकार्नेहरूले अवकाशप्राप्त जिन्दगीमा भने त्यसको ठीक विपरीत व्यवहार भोग्नुपर्छ । यो कथाले नेपाली समाजमा अवकाशप्राप्त जीवन बिताउने पात्रहरूको मनोदशालाई मिहीन रूपले केलाउन खोजिएको छ । र, नेपाली समाजभित्रको एउटा गम्भीर पाटोलाई पनि उजिल्याउन चाहेको छ ।
नेपाली समाजभित्रकै कथा हो, ‘सुसाइ’ पनि । खासगरी, वृद्ध अवस्थामा पुगेका नागरिकलाई घर–परिवारले गर्ने निकृष्ट व्यवहारको तस्बिर उतार्न चाहेको छ, यो कथाले । चाहे सहरी भेग होस् वा ग्रामीण, परिवारका सदस्यबीच सम्पत्तिको वितरणमा झगडा, किचलो र मनमुटाव हुने गरेको यथार्थ सबैले बुझेको विषय हो । यो पाटो त छँदै छ, वृद्धावस्थाका दिनहरू गुजारिरहेका आमा–बुवालाई आफ्नै छोराछोरीले अवहेलना गर्ने कार्य पनि उत्तिकै हुने गरेका छन् । नेपाली समाजभित्रको यस्तो कुरूप पक्षलाई सतहमा ल्याउन यो कथा सक्षम ठहरिएको छ ।
‘जुनेलीको जुनी’ भने नितान्त प्रेमकथा हो । नेपालमा कृषि क्षेत्रमा अनुसन्धान गर्न आएका एक जापानी र परिवारबाट परित्याग गरेर माइतीमा बसिरहेकी जुनेलीबीचको प्रेम र प्रणय सम्बन्धलाई केन्द्रबिन्दुमा राखेर यो कथा लेखिएको छ । चितवनको एउटा ग्रामीण भेगमा झाँगिएको नेपाली चेली र जापानी नागरिकबीचको प्रेम ती जापानी नागरिक जापान जाने समयमा अन्त्य हुन्छ अर्थात् आफूलाई माया गर्ने एउटा विदेशी नागरिकले छाडेर जाने भएपछि जुनेलीको दुःखद मृत्यु हुन्छ । कथाको अन्त्य वियोगमा टुंगिएको हुँदा आरम्भतिरको उत्साह पाठकले अन्तिममा पाउँदैनन् ।
‘भियतकङको खोजी’ अमेरिका–भियतनाम युद्धको बेला भियतनामी जनताले देशको प्रतिरक्षाका लागि बहादुरीपूर्वक लडेको स्मरण गराउने कथा हो । अमेरिकी सैनिकविरुद्ध लडाइँ लडिरहेका भियतनामी योद्धाहरूलाई खोज्दै आएका अमेरिकी सेनालाई पसल सञ्चालन गरेर बस्ने एउटा सामान्य महिलाले कसरी झुक्याएर मुक्तिसेनाको क्याम्पमा पु¥याउन सफल हुन्छिन् ? यही सेरोफेरोमा कथा घुमेको छ ।
‘हस्तक्षेप’मा भने कर्मचारी वृत्तमा राजनीतिक दलका नेता र सांसदहरूले गर्ने गरेका हस्तक्षेप र त्यसका निम्ति स्वयं कर्मचारीहरू नै तल्लिन रहेको पक्षलाई उजिल्याउन खोजिएको छ । राजनीतिक स्वतन्त्रता प्राप्त भएपछि कर्मचारीतन्त्रमा देखिएको विकृतिलाई खोतल्न पनि यो कथा सक्षम ठहरिएको छ । तर, माथिल्लो तहमा रहेका कर्मचारीहरूले कर्मचारीहरूको वास्तविक समस्या सुन्न नचाहने र नेताहरूको दबाब आएपछि मात्र काम गर्ने प्रवृत्तिलाई पनि बाहिर ल्याउन चाहेको छ, यो कथाले । ‘सालिकहरूको आक्रोश’मा भने चाकडी, चाप्लुसीवादीहरूका कारण राजतन्त्रको जरा उखेलिएको तर चाकडीबाजहरूले राजाको सालिकलाई नै भए पनि चिल्लो घस्ने गरेको पक्षलाई रोचक ढंगले उठाएका छन् ।
मूलतः विनयका कथाहरूले नेपाली समाजका साथै विदेशी भूभागका सन्दर्भहरूलाई पनि आफ्नो विषय बनाएका छन् । समाजभित्र अनेकथरी पात्रहरू बस्छन्, उनीहरूका आ–आफ्नै रुचि, सौन्दर्यबोध र इच्छाहरू हुन्छन् । कतिपय पात्रले सुकर्ममा ध्यान दिन्छन् भने कतिपय पात्र समाज र पारिवारिक वृत्तमा घाँडो ठहरिन्छन् । विनयले समाजका यस्तै पात्रहरूलाई टिपेर उनीहरूको चरित्र चित्रण गर्न आफ्ना कथाहरूमार्फत सक्षमता देखाएका छन् ।
कृति ः घर बिनाको घर
विधा ः कथा
कथाकार ः राम विनय
प्रकाशक ः साझा प्रकाशन
पृष्ठ ः ८९
मूल्य ः १७५ ।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply