सामान्य नागरिकको कथा
देशको उच्च तहमा रहेका मानिस हुन् वा कुनै ग्रामीण भेगमा सामान्य जीवन बिताइरहेका नागरिक नै किन नहुन्, सबैको जीवनका आ–आफ्नै भोगाइ हुन्छन् । तर, हरेक नागरिकका आ–आफ्नै भोगाइ भए पनि पछिल्लो पुस्ताका निम्ति भने अग्रजहरूका भोगाइ मार्गदर्शन बन्न सक्छ । तसर्थ, नुवाकोटका वेददेव पाण्डे कुनै ठूलो ओहदामा पुगेका मानिस थिएनन् । आम नेपाली सोसरह नै उनले जीवन बिताए । जीवनको लामो अवधि ग्रामीण भेगमा नै गुजारे । १ सय २ वर्ष बाँचेर मृत्युवरण गरेका पाण्डेको जीवनका खास–खास अनुभव र अनुभूतिहरूलाई समेटेर लेखिएको ‘एक शताब्दीको यात्रा’ ले पूर्ववर्ती नेपाली समाजका विभिन्न पाटालाई उधिन्ने काम भने निश्चय नै गरेको छ ।
२०७२ साल वैशाख १२ गते महाभूकम्प आउँदा पाण्डे काठमाडौं, लैनचौरस्थित आफ्ना छोराका घरमा थिए । भूकम्पले धर्ती कम्पायमान हुँदा उनलाई सपनाजस्तै लाग्यो । भूकम्प थामिएपछि उनलाई घरबाट बाहिर ल्याइयो र लैनचौरस्थित समाजकल्याण परिषद्को परिसरमा केही दिन गुजारे । जीवनको उत्तराद्र्धतिर भूकम्पको कहर खेप्न बाध्य पाण्डेले १९९० सालको भूकम्प पनि झेलेका थिए । त्यतिबेला उनी १९ वर्षका लक्का जवान थिए । नब्बे सालको भूकम्पको अनुभवलाई उनले यसरी लिपिबद्ध गरेका छन्, ‘त्यस भूकम्पमा धरहरा ढल्यो, घण्टाघर दुई टुक्रा भयो, ललितपुरको पाटन स्कुल पनि ढल्यो । अरू त अरू, दरबार हाईस्कुल पनि ध्वस्त भयो । उपत्यकाका मुख्यमुख्य धरोहर एक झड्कामा सखाप भए । तर, त्यो खबर थाहा पाउन पनि हामीलाई महिनौं लाग्यो । त्यतिखेर गएर देखेर आएका मानिसले भनेका आधारमा समाचार थाहा पाउने जमाना थियो ।’
भूकम्प आउने हल्ला त २०१८ सालमा पनि चलेको रहेछ । तर, हल्ला चलेअनुसार भूकम्प आएन । भूकम्प आउँदैन भन्ने ठोकुवा गर्ने प्राणनाथलाई त्यतिबेला सरकारले जेल हालेको रहेछ । तर, भूकम्प नआएपछि प्राणनाथलाई पुरस्कृत गरिएछ र भूकम्प आउने हल्ला चलाउनेलाई चाहिँ जेल हालिएछ । ०१८ सालको भूकम्प आउने हल्लाको बयान पाण्डेले अन्त्यन्तै रोचक ढंगले गरेका छन् । ००७ सालमा प्रजातन्त्र आएपछि मजदुरहरूको समस्या समाधान गर्न साम्वदेव पाण्डेको संयोजकत्वमा कमिसन गठन गरिएको थियो । कमिसनका प्रमुख पाण्डे विराटनगरको मजदुरहरूको समस्या पहिचान गर्न विराटनगर जाँदा उनी पनि सँगै गएका थिए । पाण्डेको सहयोगी बनेर उनले काम गरे । त्यही समय उनलाई बीपी कोइरालाका बहिनीहरूको रखबारी गर्ने जिम्मेवारी पनि आइप¥यो । उनले लेखेका छन्, ‘विश्वेश्वरप्रसाद कोइराला तीनताक राजनीतिमा पुरै होमिएका थिए । घरबाट निस्केपछि कहिले फर्किने हो, टुंगै हुँदैनथ्यो । गिरिजाप्रसादको पनि त्यस्तै अवस्था थियो । उनीहरूको घरमा त कहिलेकाहीँ मात्र बास हुन्थ्यो । तसर्थ, घरको रखबारी र इन्दिरा, नलिनी, सौभाग्यसुन्दरी र बुनु भनिने विजयालक्ष्मीको हेरचाह र सुरक्षाका निम्ति मलाई त्यहाँ राखिएको थियो । उनीहरू बाहिरफेर निस्किँदा म पनि सँगसँगै जानुपथ्र्यो ।’
नुवाकोटको सिक्रे गाउँमा पाण्डेले धेरै नै आधुनिक प्रविधिहरू पनि भित्र्याएका थिए । गाउँमा पहिलोपटक प्लास्टिकको पाइप, सिमेन्ट, रेडियो, ग्रामोफोन, सखर, चिया र काँचको गिलासका साथै असारे धान, गोबरग्याँस र भारतबाट भैंसी पनि उनले नै भित्र्याएका थिए । तर, गाउँमै रहेर सामाजिक कार्यहरूमा संलग्नता देखाए पनि काठमाडौंसितको सम्बन्ध पनि उनको रहि नै रह्यो । पाशुपत छापाखानाका मालिक नरदेव पाण्डे उनका काका थिए र सोही छापाखानाबाट गोरखापत्रका सुरुका अंकहरू निस्किएका थिए । उनी लेख्छन्, ‘पाशुपत छापाखाना हाम्रो परिवारकै सान थियो । अहिलेसम्मै पनि हामीलाई छापाखाने खलक भन्छन् । राजा–महाराजादेखि लेखक कविहरू हाम्रो परिवारलाई चिन्दथे । नरदेव काकाकहाँ त लेखक कविहरूको दिनहुँ जमघट पनि हुन्थ्यो ।’पाण्डेले अमेरिकामा पनि केही समय बिताए । उनका माइला छोरा माधव पाण्डे अमेरिकामा समुद्री तुफानसँग सम्बन्धित विशेषज्ञ थिए र छोराकै आग्रहमा उनी अमेरिका घुमेका थिए । गाउँ, काठमाडौं, अमेरिकासम्म जीवनका क्षणहरू व्यतीत गरेर शताब्दी यात्रा पूरा गरी देहावसान भएका पाण्डेको यो संस्मरणात्मक कृतिको माध्यमबाट तत्कालीन समाजको छायाचित्र छर्लङ्गै उतारिएको अनुभूत हुन्छ ।
कृति ः एक शताब्दीको यात्रा
विधा ः संस्मरण
लेखक ः वेददेव पाण्डे
प्रकाशक ः माधव पाण्डे
पृष्ठ ः १५२
मूल्य ः रु. २००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply