एक श्रमजीवीको कथा
ताराबहादुर कुँवरको जीवन संघर्षको पर्याय हो, सायद । उनको संघर्षको गाथा आम मानिसको भन्दा पृथक् मात्र छैन, संघर्षकै गोरेटोमा यात्रारत रहँदा उनले जीवनमा सफलताका मीठा स्वादहरू पनि चाख्न पाएका छन् । करिब आधा शताब्दी उमेर छिचोल्नै लागेका उनले जीवनमा भरियादेखि सफल व्यवसायीसम्मको यात्रा तय गरेका छन् ।
‘हजुरलाई नमस्ते’ तिनै संघर्षशील व्यक्ति कुँवरको जीवनवृत्त हो । काभ्रेपलाञ्चोक जिल्लाको चौबासबाट प्रारम्भ भएको उनको यात्राले काठमाडौंका गल्ली, छिँडी र व्यस्त सडकहरूमात्रै नापेन, आफ्नै पौरख र चलाखीले नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा एक सफल व्यवसायीका रूपमा समेत स्थापित हुने आधार दिलाएको छ अहिले । नेपालका गिनेचुनेका सफल हेभी इक्विपमेन्ट व्यवसायीहरूको लहरमा पर्ने कुँवरले आफ्नो आत्मकथामा जीवनमा भोगेका कष्टप्रद दिनदेखि सफल व्यवसायीसम्मका अनुभवलाई लिपिबद्ध गर्न चाहेका छन् ।
सानै उमेरमा दाइलाई पछ्याएर काठमाडौं छिरेका कुँवर सुरुका दिनहरूमा अरूकै घरमा घरेलु श्रम गर्ने काममा अल्झिए । त्यही क्रममा नन्दी रात्रि माविमा अध्ययन पनि गरे । तर, कक्षा ७ भन्दा माथि उनले शिक्षा हासिल गर्ने अवसर जुरेन । तर, अरूका घरमा श्रम गर्दागर्दा आजित भएका उनले एक दिन टेकुलाई जक्सन बनाए र थाले शारीरिक श्रम गर्न । भारी बोक्ने, ठेला चलाउनेजस्ता काममा उनले दक्षता हासिल गर्दै गए । ती पुराना दिनहरूलाई उनले यसरी सम्झेका छन्, ‘मैले पहिलोपटक ठेल्न थालेको ठेलाचाहिँ एक ज्यापू दाइको थियो । उनलाई गाउँको एक हर्लिक्स घिउ दिएर पट्याएको थिएँ । दिनको १० रुपैयाँ ठेक्कामा उनको ठेला चलाउन थालें । दुईवटा ह्यान्डिल भएको त्यो ठेला अर्को तर्फबाट धकेल्न रामेछापतिरका एक साथीलाई पार्टनर बनाएँ ।’
आखिर, जिन्दगीमा कुँवरले नगरेका काम केही भएनन् । ठेला चलाउने, खासामा गएर कपडा ल्याई काठमाडौंमा बेच्ने, लुगा सिलाएर बेच्ने, चिया बेच्ने, भुस बेच्ने सबै काम भ्याएका उनले एक दिन भने रिक्सा चलाउन थाले । रिक्सा चलाउँदाचलाउँदै उनको मन टेम्पो चलाउनेतिर सोझियो । उनी लेख्छन्– ‘ट्याम्पो चलाउन थालेको ६ महिनाजति भएको थियो । ०४५ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाइहाल्यो । मरिचमान सिंह प्रधानमन्त्री हुनुहुन्थ्यो । भारतसँग कुनै हालतमा नझुक्ने भन्दै उहाँले जसोतसो तेलको आपूर्ति गरिरहनुभयो । हप्तामा ६ लिटर तेल पाइन्थ्यो । मैले त्यो ६ लिटर पेट्रोलबाट खटाईखटाई ट्याम्पो चलाउन थालें ।’
टेम्पो व्यवसायी भएकै बेला उनले काठमाडौंमा घडेरी किने र घरसमेत बनाए । त्यसपछि ट्रक किनेर बालुवा र ढुंगाको व्यवसाय गर्न थाले । ०५१ सालमा मिनी ट्रक किनेपछि त्यसको पछाडि ‘हजुरलाई नमस्ते’ लेखे । अहिले त्यही नामबाट बाफलस्थित आफ्नै घरसँगै रहेको कार्यालयको नाम राखेका छन्् उनले । र, किताबको नाम पनि त्यही राखिएको छ ।
०६३ सालदेखि हेभी इक्विपमेन्ट व्यवसायमा प्रवेश गरेका कुँवर हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्ष पनि हुन् । हेभी इक्विपमेन्ट व्यवसायमा प्रवेश गरेपछि आफूले पाएको सफलतालाई उनले यसरी लिपिबद्ध गरेका छन्, ‘ट्रकहरूभन्दा त हेभी इक्विपमेन्ट नै ठीक रहेछ भनेर क्रमसँगै म त्यसमा प्रवेश गरेँ । एक÷दुई वर्षको अन्तरमा १०÷१२ वटा हेभी इक्विपमेन्ट साधन जोडियो । त्यो किन्दा त बैंकले पनि पत्याउँदा रहेछन् । इज्जत, प्रतिष्ठा पनि हुँदो रहेछ । कम्पनीहरूले पनि विदेश भ्रमणमा लैजाँदा रहेछन् । भटाभट मेसिन किनियो ।’
अन्ततः हामीकहाँ राष्ट्रिय जीवनमा उच्च योगदान दिएका, उच्च ओहदामा पुगेकाहरूका जीवन कथा लेख्ने क्रम निकै फस्टाएको छ । तर, जीवनभर संघर्ष गरेका श्रमजीवि व्यक्तिहरूका जीवन कथा भने कमै लेखिएका छन्, पढिएका छन् । कुँवरको यो आत्मकथाले भारी बोक्नेदेखि करोडौंका हेभी इक्विपमेन्टको मालिक बनेकाको रोचक र प्रेरणादायी पाटो उधिन्न मद्दत पु¥याएको छ ।
कृति ः हजुरलाई नमस्ते
विधा ः आत्मकथा
लेखक ः ताराबहादुर कुँवर
प्रकाशक ः घोस्ट राइटिङ नेपाल प्रा.लि.
पृष्ठ ः २५४
मूल्य ः रु. ५००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply