नुन अभावको हल्ला मात्र
काठमाडौं । छिमेकी मुलुक भारतमा हजार र ५ सय दरका नोटमाथि प्रतिबन्ध लागेसँगै नेपालमा नुन अभाव हुने हल्ला फैलिएको छ । जनताको अत्यावश्यक दैनिक उपभोग्य वस्तु नुनको कारोबारको एकाधिकार पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भने उक्त हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । अझै नेपालमा ६ महिनालाई पुग्ने ‘स्टक’ नुन साल्ट ट्रेडिङसंग भएकाले नआत्तिन साल्ट टे«डिङले सर्वसाधारणलाई आग्रह गरेको हो । तर, बजारमा नुनको अभाव भएको भन्दै उपभोक्ता त्रसित भएका छन् । त्यति मात्र होइन, यही हल्लाको मौका छापेर कालो बजारी गर्नेहरू सल्बलाउन सक्ने हुनाले पनि प्रभावकारी अनुगमनको खाँचो महसुस गरिएको छ । सरकारले भने यसलाई कृत्रिम अभावको संज्ञा दिएको छ ।
कसरी भयो अभावको हल्ला ?
भारतसँग सीमा जोडिएका तराईका जिल्लामा नुन अभावको हल्ला चर्किएपछि काठमाडौंको बजारसम्मै यसको असर देखिएको हो । पहाडी क्षेत्रमा बजारमा पनि नुन ‘सर्टेज’ भएको भन्दै पसलहरूमा एकैपटक ठूलो परिमाणमा नुन खरिद गर्नेहरू बढेका थिए । भारतीय नोटमा प्रतिबन्ध लागेपछि भारतमा फैलिएको एकपछि अर्को अफवाहले तनाव बढाएको थियो । नोटमा प्रतिबन्ध लगाएपछि भारतमा नुन सकिएको समाचार फैलिएसँगै पसलहरूमा मानिसहरूको भीड लागेको बताइन्छ । विशेष गरी नेपालसँग सिमाना जोडिएका उत्तर प्रदेश र उत्तराखण्डमा नुन सकिएको हल्ला फैलिएपछि पसलमा मानिसहरू नुनका लागि हारालुछ गर्न थालेका थिए । सरकारले नुनको कुनै अभाव नभएको बताइरहे पनि बजारमा भने उत्तिकै भीड र महँगो मूल्यमा बिक्री जारी रहेको छ । नुन सकिएको अफवाह फैलाइएपछि दुवै प्रदेशको सरकारले मानिसलाई अफवाहमा ध्यान नदिन आग्रह गरिरहेको तर नुन पसलमा भीड घट्नुको साटो झन् बढिरहेको बताइन्छ । दुवै प्रदेशले सबै जिल्ला अधिकारी र पुलिसका कमान्डरलाई सचेत गराएर यस्तो अफवाह फैलाउनेको खोजी गरी कारबाही थाल्न निर्देशन दिएको छ । गत शुक्रबार साँझ नुन बिक्री बन्द हुने अफवाहले ती दुवै प्रदेशमा हंगामा मच्चिएको थियो ।
नेपालमै २० रुपैयाँ किलो पर्ने नुन भारतमा शुक्रबार साँझदेखि ४ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री हुन थालेपछि उक्त हल्लाको असर नेपालमा पनि परेको बताइन्छ । शुक्रबार साँझदेखि लखनउसमेत उत्तर प्रदेशका कैयौं जिल्लामा नुनको अभाव हुने खबर फैलिएपछि क्षणभरमै तनावको अवस्था पैदा भएको थियो । त्यसपछि नुनका अलावा चिनी र दालको भाउले पनि आकाश छोएको थियो । मुरादाबादमा तनाव बढेपछि पुलिसले बजार नै बन्द गर्नुपर्ने अवस्था बनेको थियो । शुक्रबार साँझ नै प्रशासन सक्रिय भएर हल्ला फैलाउनेलाई गिरफ्तार पनि गरेको बताइएको छ । सरकारी प्रवक्ताले प्रदेशमा नुनको कुनै कमी नभएको बताएर सरकारले सबै जिल्ला अधिकारीलाई यसबारे कडा निगरानी राख्न पनि निर्देशन दिएपछि अवस्था केही सामान्य बनेको थियो ।
साल्ट टेडिङ भन्छ– कम्तीमा ६ महिनालाई पुग्छ
यस्ता हल्लाको पछि नलाग्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका विभागीय प्रबन्धक बज्रेशकुमार झाले सबै उपभोक्तालाई आग्रह गरेका छन् । ‘हामीसँग अझै ६ महिनालाई पुग्ने नुन मौज्दात छ, त्यसैले नेपाली बजारमा कुनै पनि बहानामा नुन अभाव हुन सक्दैन,’ झाले भने, ‘यदि कसैले नुन अभाव गराएको छ भने त्यो कृत्रिम मात्र हो ।’
त्यस्तो हल्लाको खेती गर्नेलाई पहिचार गरी कारबाही गर्ने र जनजीवन सहज बनाउने प्रशासनको दायित्व भएको झाको भनाइ छ । भन्छन्– ‘स्थानीय प्रशासनले त्यसविरुद्ध कारबाही थाल्दा हुन्छ ।’ उनका अनुसार अझै देशभर झन्डै ९० हजार मेट्रिक टनभन्दा बढी नुन मौज्दात छ । उनका अनुसार नेपालको कुल जनसंख्यालाई वार्षिक १ लाख ८२ हजार मेट्रिक टन नुन आवश्यक हुन्छ । अहिले साल्ट ट्रेडिङसँग १ लाख ३ सय ३१ मेट्रिक टन नुन मौज्दात छ भने ३५ हजार ३ सय ७१ मेट्रिक टन नुन लोड भइसकेकाले १० दिनभित्र नेपाल आइपुग्छ । बाटोमा ल्याइँदै गरेको उक्त नुनसमेतको हिसाब जोड्दा अहिले साल्ट ट्रेडिङले बढीमा आठ महिना आयात ठप्प भए पनि थेग्न सक्ने उनको दाबी छ ।
डिलरसिप निलम्बनसम्म हुने
भारतको उत्तर प्रदेशमा नुनको कृत्रिम अभाव गराएपछि नेपाली बजारमा पनि नुन अभावको हल्ला फैलिएको हो । हल्ला फैलाइएसँग एकाध ठाउँमा बढी मूल्य लिन थालेको गुनासो पनि साल्ट ट्रेडिङ आउन थालेको छ । तर, मूल्यवृद्धिको अनुगमन गर्ने वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालयलगायतको काम हो । तैपनि, प्रमाणित भए डिलरसिप निलम्बन साल्ट टेडिङले गर्ने उनले बताए । पश्चिमी तराईका जिल्लाहरूमा अहिले नुन किन्नेहरूको ठूलो भीड पसलहरूमा देखिएको छ । बजारमा नुन किन्नेहरूको भीड लागेपछि कालोबजारी गर्नेहरू सक्रिय भएका छन् । उनीहरूले बजारबाट नुन किनेर लगेर गाउँ–गाउँमा महँगोमा बेच्न थालेको समेत बताइन्छ । काठमाडौंमा पनि पसलहरूमा एकैपटक धेरै किलो नुन किन्ने उपभोक्ताहरू बढेका छन् । अभावको हल्ला भ्रामक भएको भन्दै साल्ट ट्रेडिङले नआत्तिन र आवश्यक परिमाणमै नुन खरिद गर्न आग्रह गरे पनि उपभोक्ताहरू विश्वस्त हुन सकेका छैनन् ।
केजीको भारतमा ३०, नेपालमा १८
साल्ट टे«डिङले उपलब्ध गराउँदै आएको नुन नेपालमा भन्दा भारतमा निकै महँगो पर्ने गरेको छ । एक केजीको आयो नुन प्रतिपाकेट नेपालमा १८ रुपैयाँ भएजस्तै भारतमा त्यस्तै गुणस्तरको नुन ३० देखि ३२ रुपैयाँ प्रतिकेजी पर्ने बताइन्छ । भारतबाटै नेपालमा ल्याएको नुन यहाँसम्म ढुवानी गर्दा सस्तो पर्नु र उहाँ भने महँगो पर्नुको कारण राज्यको उत्तरदायित्वकै कारण भएको बताइन्छ । भारतमा विभिन्न अन्य निजी कम्पनीहरूले प्रतिस्पर्धात्मक बजारबाट यसको कारोबार गर्छन् भने नेपालमा साल्ट टे«डिङको मात्र एकलौटी बजार छ । साल्ट ट्रेडिङ सरकारी स्वामित्व समेतको र जनताप्रति उत्तरदायित्ववोध गर्ने कम्पनी भएकाले ढुवानी तथा अन्य राज्यले दिने सहुलियतका कारण नै जनतालाई सस्तो र सुलभ मूल्यमा प्राप्त भएको हो । नेपालमा खासगरी ढिके नुन, क्रस साल्ट र आयो नुन गरी तीन खालका नुन खपत गर्ने गरिन्छ । त्यसमध्ये अझै पनि दुर्गम गाउँहरूमा ढिकेकै चल्ती छ । मानिसहरूको ‘फुड ह्याबिट’ भइसकेकाले त्यसलाई विस्थापित गर्न कठिन भएको बताइन्छ । त्यस्ताखाले नुनमा आयोडिन तुलनात्मक रूपमा कम हुने र विभिन्न कारण नष्ट हुँदै जाने खतरा छ । त्यस्तै, क्रस साल्टका रूपमा एक–एक किलोका शक्ति, भानु र तेज ब्रान्डका नुन प्रयोगमा आइरहेको छ ।
यो नुन खासगरी दुर्गम २२ जिल्लामा र केही हल्का सहरी र केही तराईका जिल्लामा पाइन्छ । दुर्गम जिल्लाहरूमा सरकारले ढुवानी सहुलियत दिएका कारण यो नुन प्रतिकिलो १३ रुपैयाँका दरले उपभोक्तासम्म पुग्ने गरेको छ । त्यस्तै, आयो नुन भने ९९ प्रतिशत आयोडिन मिसिएको र पूर्ण प्रशोधन गरिएको स्वास्थ्यवर्धक नुन हो, जुन मुख्य सहरी तथा बजार क्षेत्रमा प्रतिपाकेट १८ रुपैयाँमा पाइन्छ । सन् १९६५ मा युनिसेफ र भारत सरकारको सहयोगमा गरिएको अनुसन्धानमा ५५ प्रतिशत जनता आयोडिनको कमिले सुस्त मनस्थिति, बहिरा, लुला, लंगडा र गलगाँडले ग्रस्त हुने गरेकामा यसको उपयोगपछि हालका दिनमा पूर्णतया नियन्त्रणमा आएको बताइन्छ ।
२०२० सालमा पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा स्थापना भएको पहिलो संस्था साल्ट ट्रेडिङमा सुरुमा उत्तरी नाका तिब्बत र दक्षिणी नाका भारतबाट नुनको कारोबार गरिरहेको निजी स्तरका व्यापारीहरूलाई समेटेर स्थापना गरिएको थियो । राष्ट्र बैंकले विगत केही वर्षयता गर्दै आएको आर्थिक सर्वेक्षणले पनि लामो समयदेखि मूल्य स्थिर भइरहने वस्तुमा नुनलाई औंल्याएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply