नेपाली रंगमञ्चलाई चियाउने ऐना
पछिल्लो समय, नेपाली नाटक लेखन र निर्देशन क्षेत्रमा कृष्ण शाह यात्रीले आफ्नो उच्च क्षमता देखाइरहेका छन् । नेपाली नाट्य क्षेत्रका अग्रज पुस्ताहरूका पदचिह्न पछ्याउँदै यात्रीले नाटक लेखन, निर्देशन गर्दै नेपाली रंगमञ्चलाई समृद्ध तुल्याउन चाहिरहेका छन् । तर, नाटक लेखन र निर्देशनमा मात्र उनी सीमित छैनन् । नेपाली नाटकको इतिहासदेखि सैद्धान्तिक पक्षहरूलाई केलाउन पनि उनी उत्तिकै क्रियाशील देखिन्छन् । त्यसकै उपज हो, यात्रीले लेखेका नेपाली रंगमञ्चको इतिहास केलाउने पुस्तक– ‘नेपालको रंगमञ्च, विगत र आगत’ ।
लामो समय र अथक मिहिनेत गरेर तयार पारेको सो ग्रन्थमा उनले नेपाली रंगमञ्चबारे गहिराइमै पुगेर खोतल्ने प्रयत्न गरेका छन् । सात खण्डमा बाँडिएको सो कृतिको प्रारम्भमै उनले रंगमञ्चको सैद्धान्तिक स्वरूपबारे व्याख्या गरेका छन् । विश्वमा रंगमञ्चको थालनी कहिलेदेखि भयो ? इतिहास कोट्याउन चाहेका छन् उनले । त्यसपछिको खण्डमा भने नेपाली रंगमञ्चको प्रारम्भिक कालयात्राबारे उल्लेख गरेका छन् । उनका अनुसार नेपाली रंगमञ्चको प्रारम्भिक कालयात्रा लिच्छविकालदेखि सुरु भएको हो । उनी लेख्छन्, ‘प्राचीन नेपालमा लिच्छविकाल लगभग ३ सय ५० वर्षको इतिहास रहेको छ । कौटिल्यको अर्थशास्त्र र चिनियाँ यात्री वाङहुएनचेको यात्रा वृत्तान्तअनुसार वैशालीबाट आएकाहरूले किराँतहरूलाई विस्थापित गरी लिच्छवि वंशको स्थापना गरेका हुन् ।’
नेपाली रंगमञ्चको आधुनिक कालयात्राचाहिँ सन् १९९५ देखि सुरु भएको उनको मत छ । उक्त वर्ष नाट्यसम्राट बालकृष्ण समको ‘मुकुन्द–इन्दिरा’ को प्रदर्शनपछि आधुनिक नाटक प्रवेश भएको मानिन्छ । त्यसमा १९९५ देखि ०२९ सालसम्म आधुनिक रंगमञ्चको प्रथम चरण, ०३० देखि ०४६ सम्म द्वितीय चरण र ०४७ देखि ०७२ सालसम्मलाई तृतीय चरणको रूपमा यात्रीले रेखांकन गरेका छन् । यसका साथै उनले नेपाली रंगमञ्चमा भएका प्रयोगहरूबारे पनि उल्लेख गरेका छन् । खासमा, रंगमञ्चमा साहित्यका अरू विधाहरू कथा, कविता, निबन्ध, लघुकथाको मञ्चनका साथै सडक, गीति, कचहरी, संकेत नाटकबारे पनि उनले लेखेका छन् । त्यसो त सांकेतिक नाटकलाई नेपाली रंगमञ्चमा भिœयाउने श्रेय पनि लेखक यात्रीलाई नै जान्छ ।
नाटक प्रदर्शनकै क्रममा यात्रीले दुई दर्जनभन्दा बढी जिल्ला टेकिसकेका छन् । त्यही क्रममा उनले ती जिल्लाहरूमा रंगमञ्चको स्थिति कस्तो छ ? त्यसबारे पनि अध्ययन गरे । पूर्वमा इलामदेखि सुदूरपश्चिममा डोटी र कर्णालीको हुम्लालगायत देशका २५ जिल्लामा रंगमञ्चको स्थिति कस्तो रहेको छ भन्नेबारे उनले खुलासा गरेका छन् ।
नेपाली रंगमञ्चलाई समृद्ध, फराकिलो र जीवन्त बनाउने निर्देशकहरूका संक्षिप्त चिनारी पनि उनले राखेका छन् । बालकृष्ण समदेखि पछिल्लो पुस्ताका घिमिरे युवराजसम्मको नाट्य यात्राबारे उल्लेख गरेका छन् उनले । यसैगरी, नेपाली रंगमञ्चमा समर्पित कलाकारहरू रत्नदास प्रकाशदेखि पछिल्लो पुस्ताका दयाहाङ राई र महिला कलाकारतर्फ बुद्धिदेवी महर्जनदेखि सरस्वती चौधरीसम्मका संक्षिप्त नाट्य यात्राबारे पनि उल्लेख गरिएको छ ।
नेपाली रंगमञ्चबारे गहन अध्ययन र शोध गरेर लेखिएको यो कृति जन्माउन यात्रीलाई धेरै कुराले घच्घचाएको थियो । उनी लेख्छन्, ‘सत्तरीको दशकसम्म आइपुग्दा नेपाली रंगमञ्चमा थुप्रै महŒवपूर्ण काम हुन थालेको देखें । सबभन्दा ठूलो कुरा अहिले राजधानीमा विभिन्न नाटकघरमा नियमित नाटक मञ्चन भइरहेको छ । ०५० सालका महिनामा मुस्किलले १÷२ वटा नाटक हुने राजधानीमा एकैसाथ नयाँ र पुराना पुस्ताका नाटकहरू मञ्चन भइरहनु नेपाली रंगमञ्चमा देखिएको ठूलो परिवर्तन हो ।’
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply