टाट पल्टिन थाले क्यासिनोहरू
काठमाडौं । एकताका राजधानीमा खुबै फस्टाएको र कमाइको प्रमुख आधार मानिएको जुवाघर अर्थात् क्यासिनो आफैं टाट पल्टँदै गएका छन् । पछिल्लो समय भारु ५ सय र १ हजारका नोटमा लगाइएको प्रतिबन्धपछि यो व्यवसायमा झनै संकट आएको व्यवसायीहरू बताउँछन् । लामो समययता मजदुर आन्दोलन र माओवादी नेताहरूका दादागिरीका कारण जेनतेन चलिरहेका क्यासिनोहरू नवीकरणमा कडाइ गरेसँगै अप्ठ्यारोमा परेका थिए । लामो समय माओवादीका प्रभावशाली नेताका दानापानी, कार्यक्रम खर्च, खाजा, भत्ता सबै क्यासिनोबाट भरथेग गर्ने गरिन्थ्यो । अधिकांश नेता मजदुर बनेर क्यासिनो छिरी मालिक बनेर निस्किएका थिए । यसले पनि समस्या पारेको बताइन्छ ।तर, पछिल्लो संकटले पाँचतारे होटेलमा सञ्चालित क्यासिनोदेखि अरू तारे होटेलमा चलेका मिनी क्यासिनो अर्थात् इलेक्ट्रोनिक गेमिङमा समेत यसको प्रत्यक्ष प्रभाव परेको बताइन्छ ।
हुन त नेपाली नागरिकले क्यासिनोमा जुवा खेल्न पाउँदैनन् । पश्चिमा देशका पर्यटक पनि क्यासिनोका ग्राहक कमै मात्र हुन्छन् । क्यासिनोका प्रमुख ग्राहक भारतीय नै भएको बताइन्छ । तर, भारु नोट प्रतिबन्धसँगै भारतीय पर्यटक आगमन घट्दो छ । एक महिनायता भारतीय पर्यटक आगमनमा ८० प्रतिशतले कमी आएको अध्यागमन विभागको तथ्यांक छ । यही अनुपातमा क्यासिनोको पनि व्यापार स्वतः घटेको सञ्चालकहरू बताउँछन् । नोट प्रतिबन्धको सबैभन्दा ठूलो प्रभाव क्यासिनोमा परेको बताइन्छ । नेपाली क्यासिनोको मुख्य ग्राहक भनेकै भारतीय हुन् । तर, नोटमा प्रतिबन्धसँगै पैसावाल भारतीयले जुवा खेल्न पैसा साट्न पाएका छैनन् ।
कालोधन पनि एक कारण
क्यासिनोको व्यापार कालो धनसँग पनि छ । कालो धन हुने क्यासिनोका राम्रा ग्राहक मानिन्छन् । भारतमा ठूला नोट प्रतिबन्ध गर्नुको मुख्य उद्देश्य कालो धनलाई नियन्त्रणमा लिनुका रूपमा व्याख्या गरिएको छ । त्यसैले पनि नेपालका क्यासिनोमाथि जोखिम बढेको बताइन्छ । विगतमा भारतमा अवैधानिक रूपमा कमाएको पैसा नेपालको क्यासिनोसम्म आइपुग्ने गथ्र्यो । तर, व्यवसायीहरू भन्छन्, ‘भारु नोटकै प्रतिबन्धले यस्तो रकम अहिले क्यासिनोमा आउने अवस्था छैन ।’ हुन त क्यासिनोमा भारु नोटकै कारोबार नभए पनि क्यासिनोमा आउने ग्राहकले आफैं नोट सटही गरेर आउँथे । तर, अहिले भारु नोट सटहीमा आएको समस्याले क्यासिनोमा प्रत्यक्ष असर देखिएको सञ्चालकहरू बताउँछन् ।
सीमाक्षेत्रमा झनै समस्या
क्यासिनोमा पहिले पनि भारु प्रतिबन्ध नभएको होइन । तर, भारु प्रतिबन्ध भए पनि भारतीय पर्यटक आफैं सटही गरेर क्यासिनोमा जुवा खेल्न आउने गर्थे । ‘अहिले भारतमै भारु सटही हुने अवस्था छैन, कसरी उनीहरू क्यासिनो आउने ?’ व्यवसायीहरूको प्रश्न छ ।
खासगरी राजधानीका क्यासिनोमा लुकिछिपी नेपालीहरू पनि जान्थे, तर सीमा क्षेत्रका क्यासिनोका शतप्रतिशत ग्राहक नै भारतीय हुन् । उक्त क्षेत्रमा त अहिले व्यापार ८० प्रतिशत कम भएको छ । भारु नोट प्रतिबन्धपछि खोल्नका लागि खोल्ने र बन्द गर्ने काम मात्र भइरहेको र व्यापार नगण्य मात्र भएको उनीहरूको गुनासो छ । व्यवसायीहरूका अनुसार मिनी क्यासिनोमा समेत दैनिक १० लाख रुपैयाँसम्मको खेल हुन्थ्यो । नोट प्रतिबन्धअघि दिनमा ७ लाखसम्मको व्यापार हुने गथ्र्यो । अहिले डेढ लाख पनि पुगेको छैन । क्लबमा भारु ५ सय र हजारको नोट कारोबार नभए पनि सय र ५० को भने कारोबार हुन्छ ।
‘बन्द गर्नुको विकल्प छैन’
खेलाडी नै क्यासिनो आउन छोडेपछि मासिक खर्च कसरी व्यवस्थापन गर्ने भने विषयमा व्यवसायीहरू चिन्तित रहेको बताइन्छ । नेपालमा सञ्चालन भएका ठूला क्यासिनोमा मासिक खर्च नै सरदर ३ करोड रुपैयाँ लाग्ने गरेको थियो । नोट प्रतिबन्धको असर लामो समय रहने हो भने क्यासिनो बन्द गर्नुको विकल्प नभएको व्यवसायीहरू बताउँछन् । नियमित आउने पूर्वराजदूत र नेपालमै व्यवसाय गरेर बसेका भारतीय व्यापारीहरू मात्र अहिले जुवा खेल्न आइरहेको बताइन्छ । सांग्रिला होटेलमा सञ्चालन भएको क्यासिनोमा भारतीय ग्राहकको हिस्सा भने ५० प्रतिशत थियो । त्यसका सञ्चालक कांग्रेस कार्यकर्ता राजेन्द्र बजगाईं हुन् ।
सोल्टीको व्यापार १० प्रतिशतमा झ¥यो
सोल्टी होटेलको क्यासिनो माजोङको व्यापार १० प्रतिशतमा खुम्चिएको छ । ९० प्रतिशत व्यापार भारु नोट प्रतिबन्धले गुमेको छ । क्यासिनोका भारतीयबाहेक अन्य देशका ग्राहकको हिस्सा भनेको १० प्रतिशत पनि छैन । त्यसमा पनि चिनियाँ खेलाडीले ठूला खेल खेल्दैनन् । रमाइलो गर्दै ठूला खेल खेल्ने भनेकै भारतीय नागरिक हुन् । क्यासिनो सञ्चालन गर्दा व्यवस्थापनदेखि राज्यलाई तिर्ने रोयल्टीसम्म गरी मासिक ३ करोड खर्च हुन्छ । व्यवसाय नै बन्द हुने अवस्थामा पुगेपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बढेको बताइन्छ । केही व्यवसायीले लामो समय नचलाई केही महिनाअघिबाट मात्र पुनः सञ्चालन गरेका थिए । दुई महिनामै व्यवसायमा यस्तो समस्या देख्दा अब के गर्ने भनेर सोच्न नसकेको उनीहरूको चिन्ता छ ।
विस्थापित मजदुरलाई झनै समस्या
त्यसो त ४७ वर्षदेखि चलिरहेका क्यासिनोहरू दुई वर्षअघि एक्कासि बन्द भएपछि हजारौं मजदुर विस्थापित भएका थिए । जुवा ऐन २०२० सामयिक नभएको भन्दै सरकारले लागू गराएको नयाँ नियमावलीपछि नेपालका १० क्यासिनो बन्द भएका थिए । परिमार्जित नियमावली पालना गरेर क्यासिनो चलाउन नसक्ने ठहर गर्दै सञ्चालकले क्यासिनो बन्द गराएका थिए । क्यासिनो बन्द भएपछि त्यसमा प्रत्यक्ष रोजगार पाइरहेका झन्डै ६ हजार मजदुर बिचल्लीमा परेका थिए । नयाँ नियमावलीले कडा रूपमा आर्थिक प्रावधान अघि सारेको थियो । क्यासिनोले वार्षिक २ करोड रुपैयाँ रोयल्टी तिर्नुपर्ने तथा नवीकरण निवेदन शुल्क ५ लाख रुपैयाँ र हरेक क्यासिनो सञ्चालकले एकमुष्ट २५ करोड रुपैयाँ धरौटी बुझाउनुपर्ने प्रावधान छ । यस्तो प्रावधान कार्यान्वयन गरेर ‘चल्नै नसक्ने’ भएकाले बन्द गर्नुको विकल्प नरहेको भन्दै सञ्चालकहरूले क्यासिनो बन्द गरे पनि केही पछि चलाउन थालेका थिए । अहिले व्यापार घटेको भन्दै सञ्चालकहरूले मजदुर कटौती गर्न थालेका छन् । यसले समस्या बढेको बताइन्छ ।
कति थिए क्यासिनो ?
नेपालमा क्यासिनो सोल्टी (माझोङ), सांग्रिला (मिलिनियर्स), एभरेस्ट, स्टार, भेनस, ¥याड, रोयल, अन्ना, पोखरा ग्रान्ड र फूलबारी गरी १० क्यासिनो सञ्चालित थिए । ०७१ साल लाग्नासाथ पहिलो हप्ताबाट ती सबै बन्द भएका थिए । खिलराज रेग्मी सरकारका पर्यटनमन्त्री रामकुमार श्रेष्ठले बन्द गर्ने नियतले नै त्यस्तो नियमावली पारित गरी लागू गरेको व्यवसायीको आरोप छ ।
मजदुर मात्रै ६ हजार
एकताका क्यासिनो माझोङमा ८ सय, सांग्रिलामा ४ सय ५०, एभरेस्टमा ६ सय, स्टारमा ५ सय ५०, भेनसमा ५ सय, ¥याडमा ६ सय, रोयलमा ७ सय २७, फुलबारीमा १ सय २५, अन्नामा ९ सय र पोखरा ग्रान्डमा २ सय २५ मजदुर कार्यरत थिए । नेपाल रिक्रिएसन सेन्टरले सञ्चालन गर्दै आएको क्यासिनो ताराले राज्यलाई २६ करोड तिर्न बाँकी छ । तर, कर्मचारीलाई तिर्न भने बाँकी नभएको बताइन्छ । माझोङको नाममा सञ्चालन भएपछि भने मजदुरले त्यसयताको १ करोड रुपैयाँ पाउन बाँकी छ । सांग्रिला क्यासिनोले ६ महिनाअघि नै तालाबन्दी गरी कर्मचारी निकालेको थियो । सो अवधिसमेत गणना गर्दा तलब भत्ता ६ करोड र १० महिनाको सञ्चयकोष ६० लाख गरी ६ करोड ६० लाख मजदुरलाई तिर्न बाँकी रहेको मजदुरहरूको दाबी छ । यता, एभरेस्टले मजदुरको तलबभत्ताबापत २३ करोड १७ लाख ९१ हजार, स्टारले ५ करोड ६४ लाख २५ हजार, भेनसले ६ करोड १ लाख २५ हजार, ¥याडले १२ करोड ६८ लाख, रोयलले ५ करोड, अन्नाले २० करोड २६ लाख २४ हजार, पोखरा ग्रान्डले १ करोड २५ लाख मजदुरलाई तिर्न थियो । फूलबारीले पनि केहीलाई बक्यौता दिएर बन्द गरे पनि केहीलाई तलबभत्ता र अन्य सुविधा नदिई बिदा गरेकाले मुद्दा छ । यी सबै अंक जोड्दा अहिले क्यासिनोबाट मजदुरले पाउनुपर्ने रकम करिब ८२ करोड रहेकामा धेरैले क्रमशः फिर्ता गरिसकेर पुनः व्यवसाय थालेका थिए । तर, भारु नोटको आतंकले क्यासिनो व्यवसायीलाई एक्कासि आतंक फैलाइदिएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply