युवा–खुराक
युवा शक्ति परिवर्तनको आधारस्तम्भ हो । हरेक राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिकलगायत परिवर्तन वा क्रान्तिलाई सफलताको बिन्दुसम्म पु¥याउन युवाशक्तिकै अहं भूमिका रहँदै आएको छ । विश्वका कुनै पनि कुनामा परिवर्तनको उद्घोष हुँदा त्यसलाई सफलताको शिखरमा पु¥याउने युवाहरू नै हुन् । नेपालमा पनि हरेक आन्दोलनहरूले निर्णायक मोड लिन युवाहरूकै पहल र भूमिकालाई पछ्याउने गरिन्छ । परिवर्तनको वाहक मात्र होइन, राष्ट्र र समाजको ढुकढुकी पनि हो युवा वर्ग ।
देशको प्रभावशाली र सशक्त युवा संगठन युवा संघ, नेपालले प्रकाशन गरेको ‘आधार र कार्यभार’ युवाहरूलाई मार्गनिर्देशन गर्ने एउटा भरपर्दो पुस्तक हो । विश्वका कम्युनिस्ट आन्दोलनका अग्रज हस्तीहरूका साथै सामाजिक न्याय र समानताको पक्षमा उभिएका विश्वका महान् राजनेताहरूका अलावा नेपालको कम्युनिस्ट एवं युवा आन्दोलनमा सक्रिय उपस्थिति जनाएका नेताहरूका युवासम्बन्धी विचार समेटिएको यो पुस्तक युवाहरूलाई आफ्नो कर्तव्य, दायित्व र कार्यभार के हो भन्नेबारे प्रस्ट तुल्याउने सामग्रीहरूले भरिपूर्ण छ ।
प्राचीनकालीन दार्शनिक अरस्तुले उहिल्यै भनेका थिए, ‘युवाहरू मुख्य रूपले आशामा बाँच्ने गर्छन् । किनभने आशा भविष्यको हुन्छ भने सम्झना अतीतको हुन्छ र युवकको भविष्य लामो हुन्छ भने आशाको क्षेत्र असीमित हुन्छ । त्यही कारणले गर्दा उनीहरू सजिलैसित ठगिन्छन्, किनभने उनीहरू छिटो आशा गर्छन् ।’ युवाहरूको मनोवृृत्ति परापूर्वकालमै अरस्तुले जसरी पर्गेलेका थिए, विश्व क्रान्तिका नायक भ्ला. ई. लेनिनले भने केही बेग्लै ढंगले युवालाई चिन्न चाहेका थिए । लेनिनले भनेका थिए, ‘जुन पुस्ताका मानिसहरू अहिले अन्दाजी ५० वर्षको उमेरका छन्, तिनीहरूले साम्यवादी समाज देख्ने आशा राख्न सक्दैनन् । त्यसै बेलासम्म यस पुस्ताका मानिसहरू बाँचिरहने छैनन् । परन्तु जुन पुस्ताका मानिसहरूको उमेर अहिले १५ वर्षको छ, तिनीहरूले भने साम्यवादी सपना देख्न पाउनेछन् र उनीहरूले स्वयं यस समाजको निर्माण गर्नेछन् । यसै समाजको निर्माण गर्नु नै उनीहरूको जीवनको मुख्य कार्य हो भन्ने यस पुस्ताका मानिसहरूले थाहा पाउनु जरुरी छ ।’
चिनियाँ क्रान्तिका नायक माओत्से तुङ होस् वा भारतीय स्वतन्त्रता संग्रामका नायक महात्मा गान्धी नै किन नहोस्, सबैले युवा शक्तिमा भरोसा राखे र युवालाई परिचालित नगरी देश र समाजमा परिवर्तनको उज्यालो भित्रिँदैन भन्ने महसुस गरे । पुस्तकमा युवाकालमै अंग्रेज शासकविरुद्ध लडेर सहादत प्राप्त गरेका भगत सिंहको विचार पनि समेटिएको छ । सिंहले भनेका थिए, ‘ऊ महासागरका उत्ताल तरंगहरू समान उद्दण्ड हुन्छ । ऊ महाभारत भीष्म पर्वको पहिलो ललकारजस्तै विकराल हुन्छ, प्रथम मिलको स्फीत चुम्बनसरह हुन्छ, रावणको अहंकारसरह निर्भीक हुन्छ, प्रह्लादको सत्याग्रहजस्तै दृढ एवं अटल हुन्छ ।’
सो पुस्तकमा विश्व राजनीतिका महान् नेताहरू कार्ल माक्र्स, नेल्सन मण्डेला, सुभाषचन्द्र बोसदेखि नेपालका नेताहरू पुष्पलाल, मदन भण्डारी, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, युवराज ज्ञवाली, भीम रावल, ईश्वर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, केशव बडाल, प्रदीप नेपाललगायत अघिल्लो पुस्ताका साथै युवा पुस्ताका ५७ जना नेताहरूका युवासम्बन्धी विचारहरू समेटिएका छन् ।
सो पुस्तकको सम्पादन÷संकलन कार्यमा संलग्न युवा संघ, नेपालको प्रवक्ता प्रभातविक्रम कटवालले पुस्तक निकाल्नुको उद्देश्यबारे स्पष्ट पार्दै लेखेका छन्, ‘हिजो लड्न सिकाएका युवाहरूलाई अब काम गर्न र बहस गर्नतिर तान्न अझै यस्ता थुप्रै अध्ययन सामग्रीको जरुरी पर्दछ । त्यसका लागि युवा संघ, नेपालले हेक्का राखेकै छ । संविधान जारी भएपछि पहिलो अध्ययन सामग्रीका रूपमा यो पुस्तक प्रकाशन गरिएको छ । जसमा वर्तमान समाज, पार्टी तथा नीतिको आधार र अबको कार्यभार समेट्ने प्रयत्न गरिएको छ ।’
पुस्तक ः आधार र कार्यभार
विधा ः विचार–सँगालो
सम्पादक ः प्रभातविक्रम कटवाल
प्रकाशक ः युवा संघ, नेपाल
पृष्ठ ः ३५८
मूल्य ः रु. २५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply