विमानस्थलबाट सुन तस्करी तोड्न नसकेको सेटिङ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कर्मचारीको मिलेमतोमा पटक–पटक सुन तस्करी हुँदै आएको छ । गत बिहीबार मात्र साढे ३३ किलो सुनसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ परेका तीन युवकले यो कुराको रहस्य खोलेका छन् ।
विगतमा पनि विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी हुने गरेको बताइएको छ । सीआईबी स्रोतका अनुसार उनीहरूले कम्तीमा ८–१० पटक विमानस्थलबाट अवैध सुन भिœयाइसकेका छन् । यो तथ्यले विमानस्थलका भन्सार कर्मचारी तथा प्रहरीको मिलेमतोमै सुन तस्करी हुँदै आएको प्रस्ट भएको छ । यसअघि यस्ता मुद्दामा जफत सुनसहित राजस्व अनुसन्धान विभागमा बुझाउने गरिन्थ्यो । दुई वा बढी व्यक्ति अपराधमा संलग्न हुने र त्यसलाई निरन्तरता दिने घटनामा संगठित अपराध निवारण ऐन २०६९ अनुसार मुद्दा चलाउन सकिन्छ । यस घटनालाई प्रहरीले त्यही रूपमा लिएको छ ।
तथ्य यस्तो छ
पक्राउ परेका गोपालबहादुर शाहीले तीन महिनामा पाँचपटक दुबईबाट सुन ल्याइसकेका थिए । बयानका क्रममा उनले दुबईबाट पटक–पटक सुन ल्याएको बताएका छन् । तस्करहरूले नै भिजिट भिसामा उनलाई दुबई पठाई सुन ओसारपसारमा प्रयोग गर्दै आएका थिए । शाहीको पासपोर्टमा उनी पटक–पटक दुबई गएको देखिन्छ ।
भन्सार कर्मचारीको मिलेमतोविना असम्भव
सीआईबीका निर्देशक डीआईजी नवराज सिलवालका अनुसार प्रारम्भिक अनुसन्धानमा विगतमा पनि विमानस्थलबाट अवैध सुन भित्रिएको देखिन्छ । पटक–पटक भित्रिनु र विमानस्थलमा कहिल्यै बरामद नहुनुले तस्करीमा विमानस्थलका भन्सार कर्मचारीको मिलेमतो प्रस्ट भएको छ ।
विमानस्थलको आवागमनमा प्रहरीलाई चेकजाँचको अधिकार नभएकाले भन्सारसँग तस्करहरूले सेटिङ मिलाउने गरेका हुन् । यद्यपि, प्रहरीको पनि त्यसमा मिलेमतो हुन सक्ने आशंकामा छानबिन अघि बढाइएको छ ।
मुख्य तस्कर गुपचुप
सीआईबीले सुन लिएर आएका शाही तथा सुन लिन गएका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो । थापा र काफ्लेको साथबाट सुन बरामदसमेत भएको थियो । उक्त सुन पनि विमानस्थलबाटै तस्करी भई आएको खुलेको छ । तर, प्रहरीले मुख्य तस्करलाई अझै पहिचान गर्न सकेको छैन । सुटकेसभित्र बोतल आकारको फलामको डिब्बाभित्र कार्बन पेपर र कालो टेपले बेरेर सुन भिœयाइएको थियो । थापा र काफ्लेबाट बरामद सुन शाहीले ल्याएको शैलीमा प्याक गरिएका थिए । पटक–पटक सुन भित्रिनुले यसमा भन्सारका उच्च कर्मचारीकै मिलेमतो रहेको देखाएको छ । यसमा ठूलै तहको मिलेमतो भएको प्रहरीको आशंका छ ।
तस्करीमा अन्तर्राष्ट्रिय गिरोह
सुन तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न रहेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । दुबई, भारत र नेपालमा गरी तीन तहको गिरोहले सुन तस्करी गर्दै आएको छ । दुबईमा रहेको समूहले विभिन्न सामानभित्र लुकाएर सुन सुटकेसमा प्याक गर्ने र शाहीलगायत नेपाली युवाहरूले लिएर आउने गरेको प्रहरीको भनाइ छ । उनीहरूले काठमाडौंमा आएर अर्काे भरियालाई सुन दिन्थे, जसले उक्त सुन मालिककोमा पु¥याउँथे । सोही सुन नेपालका सुन पसल तथा भारतीय बजारसम्म पुग्दथ्यो । तर, हालसम्म मुख्य कारोबारी प्रस्ट भइनसकेको डीआईजी सिलवालले बताए । एक महिनापछि घर जान लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शुक्रबार बिहान सीआईबी कार्यालय पुगेर भरिया मात्र नभई सुनका मुख्य तस्करलाई नै पक्राउ गर्न निर्देशन दिएका छन् । एयरपोर्टमा प्रहरीको गल्ती भेटिए प्रहरीमाथि समेत कारबाही गर्ने उनको भनाइ छ । आईजीपीको निर्देशनपछि पक्राउ परेका तीन युवकउपर थुनामा राखेर सीआईबीले संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएको छ । यसअघि सुन बरामद हुँदा तत्कालै राजस्व अनुसन्धान विभागमा पठाउने गरिएको थियो । बिहीबार पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंले थुनामा राख्न पाँच दिनको म्याद दिएको छ । संगठित अपराध मुद्दामा प्रहरीले तीन महिनासम्म थुनामा राखेर अनुसन्धान गर्न सक्छ ।
कर्मचारी जिम्मेवारमुक्त, छानबिन समिति गठन
भन्सार विभागले एयरपोर्टमा कार्यरत २९ कर्मचारीलाई जिम्मेवारीबाट मुक्त गरी छानबिन अघि बढाएको छ । विभागका उपमहानिर्देशक सुमन दाहालको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो । समितिमा विभागका तीनजना र कानुन मन्त्रालयका एक उपसचिव सदस्य छन् । त्यस्तै, एयरपोर्ट विमानस्थलको चेकिङ तथा स्क्रिनिङमा कार्यरत कर्मचारीलाई बिहीबारदेखि जिम्मेवारीमुक्त बनाइएको छ । तस्करीमा उनीहरूको मिलेमतो हुन सक्ने भएकाले जिम्मेवारीमुक्त गरिएको एयरपोर्ट भन्सार कार्यालयले बताएको छ । सीसीटिभी फुटेजमा उनीहरूले चेकिङमा लापरबाही गरेको देखिएको छ । कर्मचारीमाथि विस्तृत अनुसन्धान हुने र दोषी पाइए विभागीय कारबाही हुने बताइएको छ ।
सुन तस्करीले अर्थतन्त्रमा चुनौती
भारतमा सुनको माग उच्च रहेकाले नेपालको बाटो हँुदै सुन त्यतातिर पठाउने गरिएको पाइन्छ । यदि प्रहरीले नेपालका प्रमुख नाकाहरूमा कडाइ गर्नुका साथै राजस्व अनुसन्धान विभागको सक्रियतामा मुख्य सुुन बजारमा नियमित अनुगमन र सूक्ष्म निगरानी गर्न सकियो भने हालको सुन तस्करी कमी भई देशको अर्थतन्त्रमा पनि यसले सकारात्मक प्रभाव पार्न सक्ने निश्चित रहेको विज्ञहरू बताउँछन् । भूकम्पपछि तातोपानी नाकाको त्यती चहलपहल छैन । नत्र, त्यतातिर हरेक महिनाजसो तस्करीका ठूलो परिणामका सुन फेला पर्ने गरेको थियो । यसबाहेक देशका अन्य नाकाहरूबाट पनि अवैध सुन नेपाल भित्रिने क्रम रोकिएको छैन । तस्करहरूले भरियालाई माध्यम बनाउँदै विभिन्न बहानामा सुन ओसार्ने गरेका छन् । प्रहरीले चेकजाँच र सुराकीकै आधारमा सुनलगायतका अन्य अवैध सामान बरामद गर्दै आए पनि पछिल्ला दिनहरूमा यस्तो कार्य नरोकिएकाले यो प्रहरीका लागि ठूलै टाउकोदुखाइको विषय भएको छ । भारतमा सुनको माग उच्च रहेकाले नेपालको बाटो हँुदै सुन त्यतातिर पठाउने गरिएको पाइन्छ । तातोपानी नाका बन्द भएपछि तस्करले रसुवालाई नयाँ रुट बनाएका हुन् ।
स्रोतका अनुसार महानिरीक्षक अर्यालका रुममेट तथा पूर्वडीआईजी गोपाल भण्डारी, एआईजी विज्ञानराज शर्मा र त्यसपछिका विवादास्पद डीआईजी विजयलाल कायस्थलगायतका सबैको सुन तस्करीका माफियासँग राम्रै हिमचिम थियो र हालसम्म पनि छ । यस्तै, पूर्वएआईजीहरू कल्याणकुमार तिमल्सिना, नवराज ढकाल र पूर्वडीआईजी केशव अधिकारी सुन तस्करीका नाइकेको विवाहदेखि पास्नीसम्मका भोजमा देखिन्छन् । यस्तो अवस्थामा प्रहरीको नाइके खोज्ने अभियान प्रभावित हुने त होइन भन्ने आशंका देखिएको छ । तर, अहिलेसम्म राम्रो छवि निर्माण गरेका डीआईजी सिलवालले आफ्नो करिअरको अन्तिम चरणमा पनि कसैसंग सम्झौता नगर्ने अनुमान गर्न सकिन्छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply