साँस्कृतिक रुपान्तरणमा नयाँ दृष्टि
‘साँस्कृतिक रुपान्तरण’ प्रायः सुनाइने तर पालना नगरिए पनि हुने सवाल जस्तो बनेको छ । समाजले राजनीतिक, आर्थिक वा अन्य स्थितिमा प्रगति प्राप्ति गरिसके पनि साँस्कृतिक रुपान्तरणको गति धीमा हुने आम प्रवृत्ति छ । अझ कतिपय मुलुकमा राजनीतिक परिवर्तन र समाजको नयाँ आयाम अनुकूल साँस्कृतिक रुपान्तरणको गति सही रुपमा अघि बढ्न नसकेमा त्यसले राजनीतिक परिवर्तनलाई नै धरापमा पार्ने वा प्रतिगमन निम्त्याउने खतरा रहिरहन्छ ।
यही चिन्तालाई आफ्नो कर्म र लेखनीबाट व्यक्त गर्दै आउनुभएका साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीद्वारा लिखित ‘साँस्कृतिक रुपान्तरण एक विमर्श’ माथि यहाँ संक्षेपमा परिचर्चा गर्न खोजिएको छ । विद्यमान पुँजीवादी र उपभोक्तावादी संस्कृतिले ग्रस्त समाज र समस्याको आलोकमा हेर्दा साँस्कृतिक रुपान्तरण आफैमा बेवारिस, ओझेल परेको वा पारिएको सवाल बनेको छ । त्यसैले भनिन्छ, नेपालबाट राजतन्त्रको अन्त्य भए पनि घर, समाजका छोटे राजा वा त्यस प्रवृत्तिको समुल अन्त्य भइसकेको छैन, जसले गर्दा गणतन्त्र प्राप्तिको आन्दोलनको लक्ष्य गन्तव्यमा पुग्न अझै समय लाग्नेछ । पञ्चायतकालमा शीतविन्दूका नामले साहित्य सिर्जना गर्ने ज्ञवालीले यही वास्तविकता र तीतो यथार्थलाई पुस्तकमा आलोचनात्मक र विवेचनात्मक रुपमा पर्गेल्न खोजेका छन् ।
जुनसुकै मुलुकमा राजनीतिक क्रान्ति र सुधार हुँदै शासकीय व्यवस्थामा परिवर्तनसँगै साँस्कृतिक रुपान्तरणको माग समाजले गर्छ । समाजको अधिरचनाको एउटा खम्बा नै संस्कृति हो । संस्कृतिबिना समाजको पहिचान हुँदैन भने खराब र विकृत संस्कृति त्यागेर असल तथा प्रगतिशील वैज्ञानिक संस्कृतिलाई अँगाल्दै हिँड्न नसक्ने समाज पछौटेपनबाट माथि उठ्न सक्दैन ।
‘साँस्कृतिक रुपान्तरण एक विमर्श’ यस्तो समयमा प्रकाशनमा आएको छ, जतिबेला मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनको चरणमा रहेको छ भने राष्ट्रिय स्वाधीनताको आन्दोलन पनि जागेको छ । वैदेशिक हस्तक्षेपसँग जोडिएको साँस्कृतिक साम्राज्यवाद र आन्तरिक पराधिनताले घर गरेको अनि समाजमा पुरानो विकृत संस्कृतिको जग नहल्लिएको अवस्था छ । जन्मदेखि मृत्युसँगका संस्कार, कर्म, चाड पर्व, रहनसहन र भेषभूषा र त्यसलाई हेर्ने दृष्टिकोणबारे ज्ञवालीले वैज्ञानिक र आधुनिक अवधारणा पस्केका छन् । हुन त पुस्तकले पाउनुपर्ने जति चर्चा पाएन । यद्यपि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओल्ािबाट साझा प्रकाशन परिसर पुल्चोकमा यसको लोकार्पण भएको थियो । पुस्तकले साहित्यिक समीक्षामा पनि सोचेजति स्थान पाएन । सायद यसको अर्थ हो, समाज र हामी अझै साँस्कृतिक रुपान्तरणका लागि पूर्ण तयार छैनौँ वा त्यसप्रति कुनै पर्वाह गर्दैनौँ ।
समाजको संस्कृतिमा परिवर्तन नभए राजनीतिक परिवर्तनले मात्रै समाजमा परिवर्तन अनुभूत हुन नसक्ने यथार्थलाई पुस्तकले जुन रुपमा समेटेको छ, त्यसको गहिराइ प्रथमतः राजनीतिक नेतृत्व र यस क्षेत्रका कार्यकर्ताले बुझ्नुपर्ने हो तर यहाँ राजनीति नै ठेक्कापट्टा र सत्तारोहण तथा नातावाद अनि कृपावादमा लिप्त छ । इमान र जनपक्षीय तथा राष्ट्रिय हित अनुकूलको राजनीतिले प्रश्रय पाउन नेपाली समाजले अझै कति समय कुर्नु पर्ने हो ? पुस्तकले यो प्रश्नलाई गतिलोसँग उठाएको छ ।
पुस्तकको लोकार्पणमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भने झैं संस्कृति परिवर्तन बिनाको राजनीतिक परिवर्तन रसहीन जीवनजस्तै हुन्छ । लेखक ज्ञवालीले भने राजनीतिक क्षेत्रमा ठूला–ठूला परिवर्तन भए पनि समाजमा अग्राह्य संस्कृति परिवर्तन हुन नसक्नुका कारणहरु पुस्तकमा खोतलेका छन् । ‘राजनीतिक क्षेत्रमा ठूला परिवर्तन भइसक्दा पनि समाजका कतिपय ग्रहण गर्नै नसकिने संस्कृतिमा परिर्वतन किन नभएको होला ?’ ज्ञवालीको प्रश्न छ, ‘समाजमा ठूला–ठूला परिवर्तन भइसक्दा पनि महिला र दलितलाई दोस्रो दर्जामा हेरिने चलन किन परिवर्तन हुन नसकेको ?’ यो प्रश्नले बहसको माग गरे झैं बौद्धिक जगत्ले भाग लिएमा पक्कै पनि साँस्कृतिक रुपान्तरणमा बल प्रदान गर्नेछ ।
पुस्तकमा साँस्कृतिक रुपान्तरणको कार्यसूची, त्यसका विकल्पहरु, चुनौती र हाम्रो अभिभारा, परिवर्तित सन्दर्भमा सौन्दर्यको व्याख्या, बहुलवादका साँस्कृतिक आधार, राष्ट्रिय संस्कृति निर्माणको प्रश्न, नायकत्वको निर्माणबारे चिन्तनको प्रवाह छ भने संस्कार सुधार, बदलिँदो समाजका चाडपर्व, लैङ्गिक समविकास, साँस्कृतिक आन्दोलनबारे विमर्श गरिएको छ । यस्तै साहित्य, राजनीति, राष्ट्रको एकीकरण, हिंसा, क्रान्ति र नैतिक मूल्य, मदन भण्डारी र जबज, विपी र समाजवादसम्बन्धी लेखकका अनुभूति र अध्ययनका सारलाई समावेश गरिएको छ । पुस्तकका मुख्य आलेखहरु लेखकले विभिन्न समयमा प्रस्तुत गरेका कार्यपत्र र लेखका परिस्कृत रुप हुन् तर सन्दर्भ सूची समावेश गरेर पुस्तकाकारको महत्ता दिइएको छ । आफूलाई ठूलो प्रजातान्त्रिक पार्टी दाबी गर्ने पार्टी, जो विपीको समाजवादलाई आदर्श मान्छ, त्यसका कार्यकर्ताले ज्योतिषीकहाँ गएर भाग्य हेराउने तथा टाउकोमा अण्डा फुटाएर वा विगुत लगाएर ढुक्क हुन्छन् भन्ने विषयलाई लेखकले राजनीतिक चिन्तन र व्यवहारसँग तालमेल गर्न खोजेका छन् । विश्वविख्यात विद्वान्का अभिव्यक्तिहरुलाई विषय सन्दर्भमा उद्घृत गरेर पुस्तकलाई पठनीय बनाइएको छ । यसका अतिरिक्त ती आलेखहरु कुन मितिमा तयार गरिएको हो वा पूर्व प्रकाशित भएकाको हकमा त्यसलाई उल्लेख गरिदिइएको भए थप अध्येताका लागि अझ सन्दर्भ सामग्री अवश्य हुने थियो ।
कृति ः सांस्कृतिक रुपान्तरण ः एक विमर्श
विधा ः चिन्तन, अध्ययन
लेखक ः प्रदीप ज्ञवाली
प्रकाशक ः साझा प्रकाशन
मूल्य ः रु २५०
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply