अनुत्पादक लगानीले निम्त्यायो वित्तीय संकट
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गरेको कारण निम्तिएको तरलता संकुचनले विकराल रूप लिने देखिएको छ । पछिल्लो समय देखिएको तरलता संकुचनले ०५७ सालतिर उत्पन्न मन्दीकै रूप लिने आशंका गर्न थालिएको छ । अनुत्पादक क्षेत्रमा कर्जा विस्तार भएको हुँदा यसले दीर्घकालीन रूपमा वित्तीय स्थायित्व कायम नहुने पनि बताइन थालिएको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा विस्तार ह्वात्तै फैलिएको छ भने निक्षेप संकलनमा पूरै कमी आएको छ । यही कारण तरलता संकुचनको अवस्था झनै चोटिलो बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूले नेपाल राष्ट्र बैंकलाई तरलता संकुचनबाट पार लगाउन बारम्बार अनुरोध गर्दै आए पनि अहिलेसम्म कुनै त्यस्तो कदम उठाइएको छैन ।
तर, राष्ट्र बैंकले भने तरलता संकुचन उत्पन्न हुनुमा बैंक तथा वित्तीय संस्थाहरूले अनुत्पादक क्षेत्रमा अन्धाधुन्ध रूपले गरेको लगानीलाई नै प्रमुख कारण ठह¥याएको छ । त्यसमा एउटा कारणमध्ये अत्यधिक मात्रामा सवारीसाधनहरूको आयात रहेको बताइन्छ । पछिल्लो ५ महिनाको अवधिमा ४५ अर्ब रुपैयाँबराबरको सवारीसाधन भित्रिएका छन् । करिब २६ अर्ब रुपैयाँ त बैंक तथा वित्तीय संस्थाहरूले हाइयर पर्चेज शीर्षकमा लगानी गरेका छन् ।
ठूलो अनुपातमा देशमा सवारीसाधन भित्रिँदा तत्काल राजस्व बढेर फाइदै हुने भए पनि त्यसले अर्थतन्त्रको चक्रीय प्रणालीलाई भने असर पार्ने बताइन्छ । सवारीसाधनको आयातसँगै पेट्रोलियम पदार्थको आयात पनि स्वतः बढ्न पुग्छ र त्यसले अर्बौं रकम बिदेसिने अवस्था सिर्जना हुन्छ । यसले राष्ट्रिय अर्थतन्त्रलाई दीर्घकालीन रूपमै असर पार्ने देखिएको छ ।
अहिले तरलता संकुचन उत्पन्न हुनुमा घरजग्गा कारोबारमा अत्यधिक कर्जा प्रवाह हुनु पनि अर्को कारण मानिएको छ । विगतमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा कतिपय बैंक तथा वित्तीय संस्थाहरू धराशायी हुने अवस्थामा पुगेका हुँदा त्यसैलाई आधार बनाएर वित्तीय संस्थाहरूले सो शीर्षकमा कर्जा प्रवाह गर्न हिच्किचाउँदै आइरहेका छन् ।
तर, सिधै घरजग्गा क्षेत्रमा कर्जा प्रवाह नभए पनि विनाप्रयोजनको ऋण (ओडी) र व्यापारिक तथा अन्य शीर्षकका कर्जाबाट घरजग्गामा लगानी भएको अनुमान गरिएको छ । राष्ट्र बैंकको सूत्रका अनुसार पछिल्ला पाँच महिनाको अवधिमा ओडीमा मात्रै ८६ अर्ब कर्जा प्रवाह भएको छ । कतिपय व्यक्ति वा संस्थाहरूले ओडी वा अरू शीर्षकमा ऋण लिएर घरजग्गामा लगानी गरेको हुन सक्ने बताइन्छ ।
अहिले काठमाडौंमा मात्र होइन, काठमाडौं बाहिरका चितवन, पोखरालगायत मुख्य–मुख्य सहरहरूमा घरजग्गाको कारोबार निकै नै बढेको छ र मूल्यवृद्धि पनि चार गुनाले बढी हुन पुगेको छ । यसरी घरजग्गाको कारोबार वृद्धि हुनुमा त्यसमा बैंक तथा वित्तीय संस्थाहरूले घुमाउरो रूपले लगानी गरेको अनुमान लगाइएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले चालु पुँजीलाई हाइयर पर्चेज र ओडीमा समेत लगानी गर्न थालेपछि पनि तरलता संकुचन देखिएको बताइन्छ । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूले तरलता संकुचन रोक्न राष्ट्र बैंकसँग हारगुहार गरे पनि अनुत्पादक क्षेत्रमा अन्धाधुन्ध रूपमा गरिएको लगानीकै कारण अहिलेको संकट उत्पन्न भएको अनुमान लगाइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply