नेता सुध्रे सबै कुरा सुध्रन्छ
यतिखेर ०६२÷६३ को आन्दोलनका घोषित माग र त्यसपछि देशमा उजागर गरिएका थप राजनीतिक, आर्थिक, सामाजिक आदि मुद्दाहरूलाई निकास दिन र व्यवस्थापन गर्न नेपालका राजनीतिक दलहरूलाई फलामको च्युरा चपाएजत्तिकै कठिन भइरहेको छ । त्यो आन्दोलन असफल पार्न दिलोज्यानले लागेकादेखि आन्दोलनलाई अझ अगाडि लैजान खोजिरहेका शक्तिहरूसमेत परिवर्तन व्यवस्थापन गर्ने क्रममा आ–आफ्ना माग र अडान लिएर सक्रियतापूर्वक लागिरहेकाले यो व्यवस्थापन यति कठिन भएको हो । त्यति मात्र होइन, त्यो आन्दोलन पछिका विभिन्न प्रसंगमा नयाँ र जटिल विषयहरू पनि देशी–विदेशी विभिन्न तŒवले प्रत्यक्ष र परोक्ष रूपमा नेपालको राजनीतिक प्लेटफर्ममा प्रवेश गराइएकाले पनि यो व्यवस्थापन यति कठिन भएको हो । आन्दोलनको नेतृत्व गर्ने प्रमुख दलहरूबीच समझदारी कायम रहिरहेको भए निश्चित रूपमा यो व्यवस्थापन यति चुनौतीपूर्ण हुने थिएन । यहाँ त त्यसो नभई यी दलहरू स्वयं नै अलग–अलग बाटो हिँड्न थालेपछि अवस्था यति जटिल बन्न गएको हो ।
आन्दोलन सफल भएपछि देशको राजनीति चौराहामा खडा भएका बेला बाह्य शक्तिहरूले नेपालको राजनीतिक व्यवस्था र त्यसअन्तर्गतका विभिन्न कडीलाई आफ्नो अनुकूल बनाउने उद्देश्यले दलहरूबीचको समझदारी बिगार्न सक्रियतापूर्वक लागिरहे र दलहरूले पनि उनीहरूलाई प्रश्रय दिए । प्रमुख दलहरूबीच संविधान निर्माण टुंग्याउने बेलाको जस्तो समझदारी कायम रहिरहेको भए भित्री–बाहिरी कुनै पनि शक्ति नेपालको आन्तरिक मामिलामा भड्किन पाउने थिएन र अहिलेसम्म धेरै कुरा मिलेर चुनाव समेत भइसकेको हुने थियो । त्यहाँनेर दलहरूले र विशेषगरी नेपाली कांग्रेसले गम्भीर गल्ती गर्नाले प्रमुख दलहरूबीच असमझदारी बढ्यो र राजनीतिक गतिरोध देखाप¥यो, जुन कहिलेसम्म कायम रहने हो भन्न सकिने अवस्था छैन । यसमा बाह्य शक्तिको निर्णायक भूमिका रहेको कुरा सबैले थाहा पाएको कुरा हो । नेपाली कांग्रेस जिम्मेवार नभइदिनाले नेपालले अहिले यो अवस्था भोग्नुपरिरहेको छ ।
संविधानसभाले अत्यन्त प्रगतिशील, लोकतान्त्रिक र समावेशी संविधान बनाएको थियो । त्यसले संघीयतालाई आत्मसात् गरेको थियो र नेपालमा पहिलोपटक संघीयताजस्तो निर्माण र व्यवस्थापन गर्न अत्यन्त कठिन संरचनालाई स्थापित गर्न अनेक चुनौतीहरू थिए र छन् । यस्तो अवस्थामा प्रमुख दलहरूबीच सौहार्दतापूर्ण समझदारीको आवश्यकता थियो । यो सबैले अनुभूत गरेको र चाहिरहेको कुरा थियो । तर, नेपालका लागि दुर्भाग्य यही भयो कि दलहरूबीच त्यस्तो समझदारी कायम रहन सकेन । फलस्वरूप अहिले संविधान कार्यान्वयन नै हुन नसकी अलपत्र पर्ने हो कि भन्ने चिन्ता सर्वत्र व्याप्त भएको छ । यदि दलहरूले विवादै विवादका बीच संविधानलाई बचाउन सकेनन् भने देश कुन हालतमा पुग्ला, जनता गम्भीर चिन्तामा छन् ।
यो सम्पूर्ण राजनीतिक उहापोहबीच एउटा के कुरा महसुस भइरहेको छ भने यस्तो गम्भीर, दूरगामी र महŒवपूर्ण राजनीतिक परिवर्तनलाई सफलतापूर्वक व्यवस्थापन र संस्थागत गर्न आन्दोलनको नेतृत्व गरेको एउटा वा केही टावरिङ व्यक्तित्व वा व्यक्तित्वहरूको आवश्यकता थियो । ०४६ सालको परिवर्तनलाई गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई र मदन भण्डारीजस्ता ऐतिहासिक व्यक्तित्वहरूले सहज रूपमा व्यवस्थापन र संस्थागत गरेका थिए । ०६२÷६३ सालको आन्दोलन र त्यस पछिको केही समय पुरानो पुस्ताका एकजना गिरिजाप्रसाद कोइराला थिए, उनी पनि संविधान बन्नुअगाडि नै बिदा भए । अहिले देशमा सबैले नभए तापनि धेरैले मान्ने, सबै दलहरूलाई मिलाएर लैजान सक्ने, देश र जनताप्रति गम्भीर र जिम्मेवार भएर हेर्ने र अत्यन्त नभए पनि केही दूरदृष्टि भएको टावरिङ व्यक्तित्वको अभाव देखिएको छ । अहिले अग्रपंक्तिमा रहेका नेताहरू सबै समवयका छन् । राजनीतिक संघर्ष र योगदानमा पनि मात्रात्मक मात्र घटीबढी होला । विलक्षण प्रतिभाका धनी कोही पनि छैनन् । त्यसैले, उनीहरू देश, जनता, संविधान र व्यवस्थाको सबलीकरणका लागि भन्दा आफू र आफ्नो पार्टीको सवलीकरणका बारेमा बढी लागि पर्दछन् । त्यसैले, बातैपिच्छे विवाद हुन्छ, अरूका राम्रा कुरा पनि स्वीकार गर्दैनन्, समझदारी बढाउनेतिर भन्दा बिगार्नेतिर लाग्दछन्, सम्हाल्नेतिर भन्दा भाँड्नेतिर बल गर्दछन् । आरोप–प्रत्यारोपमा उत्रन रमाइलो मान्छन् । सबैजना एकअर्काका प्रमुख प्रतिस्पर्धी छन् । अनि, कसरी राजनीतिक गाँठो फुस्किन्छ ? कसरी राजनीतिक गतिरोधले निकास पाउँछ र संक्रमणकाल टुंगिन्छ ?
धेरै मुलुकमा ऐतिहासिक राजनीतिक परिवर्तनपछि यस्तै टावरिङ व्यक्तित्वले परिवर्तनलाई व्यवस्थित रूपमा संस्थागत गरेको पाइन्छ । चीन, भारत, इजिप्ट, सिंगापुर, दक्षिण अफ्रिका आदि त्यसका केही उदाहरण हुन् । तर, नेपालमा नभएको कुरा खोजेर कहाँ पाउन सकिन्छ र ! वर्तमानमा भएकै नेताहरूबाट देशले निकास पाउनेछ, संक्रमणकाल टुंग्याइनेछ र देश अगाडि बढ्नेछ भनेर आशा गर्नुबाहेक अरू विकल्प छैन । छोरीका बाबुले कन्यादान गरेर छोरीलाई बिदा गर्दा ज्वाइँलाई पाले पुण्य मारे पाप भनेजस्तो । तैपनि, नेताहरूमा जिम्मेवारी र दायित्वबोध बढोस्, गम्भीरता र संवेदनशीलता पलाओस् भनेर कामना गर्नैपर्ने हुन्छ ।
नेपाली जनताले नेताहरूबाट आशा गरेको एउटा मात्र कुरा के हो भने कम्तीमा देशभित्र आपसमा जति विवाद र झगडा गरे पनि बाह्य शक्तिबाट प्रभावित नहुनोस् वा अप्रभावित रहनोस् । बाह्य शक्तिका कुरा सुनेर देशभित्र विवाद नगर्नोस् । प्रधानमन्त्री बनाइदिन्छु भन्दा भैगो म आफ्नै प्रयत्नबाट हुन सक्छु वा हुने कोसिस गर्दछु, तिमीले चलखेल गर्न थाल्यौ भने बरु म नहुन सक्छु भन्ने आँट गर्नोस् । बाह्य शक्तिले म तिमीलाई प्रधानमन्त्री बनाइदिन्छु, प्रधानमन्त्री भएपछि हाम्रो यो माग पूरा गरी देऊ भन्दा यो सम्भव छैन भनेर ठाडै अस्वीकार गर्ने साहस देखाउनोस् । तपाईंहरूबाट यति मात्र हुन सक्यो भने नेपालमा सबै कुरा ठाउँमा आउनेछ । राजनीतिक स्थिरता कायम हुनेछ । सरकार प्रभावकारी हुनेछ । विकासले गति लिनेछ र जटिलभन्दा जटिल समस्या पनि समाधान हुँदै जानेछन् । यो ग्यारेन्टी छ ।
यहाँ कुरा बिग्रेको र बिग्रने कारण के हो भने बाह्य शक्तिले प्रधानमन्त्री बनाइदिन्छु भन्दा तत्कालै ¥याल काढिहाल्ने, लम्पसार परिहाल्ने र उसले मागेको जे पनि दिन तयार हुने । अर्थात्, विदेशीलाई देशको अस्मिता सुम्पेर भए पनि प्रधानमन्त्री बन्न तयार हुने । त्यसरी प्राप्त गरेको प्रधानमन्त्रीको पद ८÷१० महिनाभन्दा बढीको हुँदैन भन्ने कुरा बुझ्दाबुझ्दै पनि बन्न तयार हुने । अच्छा खासा ढंगले चलिरहेको सरकार ढाली आफू प्रधानमन्त्री बन्न बाह्य शक्ति गुहार्ने, प्रधानमन्त्री बनेको भोलिपल्टदेखि देश र जनताका लागि के गरौं भनेर लाग्नेभन्दा बाह्य शक्तिलाई कसरी खुसी पार्ने भन्नेतिर लाग्ने गरेकाले नै देशको यो हविगत भएको हो । यसो भएपछि बाह्य शक्तिले हाम्रा नेताको मन पेट थाहा पाउने नै भए । को कति पानीमा छ भनेर बुझ्ने नै भए । अनि हरेकपटक यही हतकण्डा अपनाएर बाह्य शक्तिले नेपालको राजनीति र राजनीतिमार्फत प्रशासन यन्त्रलाई आफ्नो इसारा र निर्देशनमा चल्ने बनाएको छ । यो कुरा प्रत्येक सचेत नेपालीलाई थाहा भएको छ । त्यसैले, नेता भन्नासाथ उनीहरू मुन्टो बटार्दछन् । अतः नेताहरूलाई हार्दिक आग्रह छ यसो गर्न आजैदेखि छोडिदिनुभयो भने हरेक नेपाली परिवारले तपार्इंको तस्बिर शयनकक्षमा सजाएर राख्नेछन् । यो पक्का छ । आगे यहाँहरूकै जो मर्जी ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply