ललितकलामा रागिनीको दादागिरी
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायको मनपरी चलेको छ । उनी प्रतिष्ठानमा मनपरी ढंगले अघि बढेपछि उपकुलपति, सदस्य–सचिवलगायतले त्यसलाई रोक्न माग गर्दै पत्रकार सम्मेलनसमेत गर्नुपरेको छ ।
प्रतिष्ठानको सातौं प्राज्ञ सभाको बैठक विधिवत् रूपमा ०७३ पुस २४ गते समुद्घाटन भई मिति ०७३ पुस २९ गते समापन भएको थियो । सो प्राज्ञ सभा सम्पन्न भएको एक हप्तापछि पुनः कुलपति रागिनी उपाध्यायले माघ ६ गते प्राज्ञ सभा बैठकको निरन्तरता भनी आफूहरूसँग कुनै सरसल्लाहविना र गैरकानुनी रूपमा पुनः बैठक बोलाएको प्रति सदस्य–सचिव नवराज भट्ट र उपकुलपति शारदा चित्रकारले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले ६ दिनसम्म निरन्तर रूपमा चलेर गहन छलफलपश्चात् निर्णय भइसकेका विषयहरू माघ ६ गते बसेको बैठकले उल्ट्याएको चर्चा गर्दै माघ ६ गते बसेको बैठकको कानुनी र वैधानिक हैसियत नभएको जिकिर गरे । ०७३ माघ १९ गते होटल हार्दिक बागबजारमा पत्रकार भेटघाट कार्यक्रम गर्दै प्राज्ञ सभाको बैठक ६ महिनामा एकपटक बस्ने तथा प्राज्ञ सभाको मिति, समय र स्थान तोक्ने अधिकार कुलपतिलाई भए पनि बैठकका लागि पत्राचार गर्ने तथा माइन्युटमा निर्णय लेख्ने तथा प्रमाणित गर्ने सदस्य–सचिवको अधिकार नै हनन हुने गरी अधिकांश पदाधिकारीहरू तथा प्राज्ञ सभा सदस्यहरूलाई थाहा नै नदिई कुनै सरसल्लाहविना प्राज्ञ सभाको बैठक बोलाएको भन्दै आश्चर्य व्यक्ति गरे । उनीहरूले छुट्टै माइन्युट खडा गरी कुलपतिले आफूखुसी निर्णय गराई निरंकुशता लाद्न खोजेकाले आफुहरूलाई सो कुनै पनि हालतमा मान्य नहुने दाबी गरेका छन् । सो कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शारदा चित्रकार, सदस्य–सचिव नवराज भट्ट, प्राज्ञ परिषद् सदस्यहरू एवं प्राज्ञ सभा सदस्यहरूको उपस्थिति थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको ऐन २०६४ को नियमानुसार विशेष बैठक बाहेक प्रतिष्ठानका कुलपति उपाध्यायले विगत लामो समयदेखि प्रतिष्ठानको ऐन–नियम तथा हितविपरीत विभिन्न कार्य गर्दै आइरहेको आरोप छ । कुलपतिले आफ्नै निर्देशनमा अख्तियारमा प्रतिष्ठानका महŒवपूर्ण फाइलहरू पठाएको, बंगलादेशसँगको सम्झौता प्राज्ञ–परिषद् बैठकमा छलफल नै नगरी एकलौटी ढंगले गरेको, भूमाफियाहरूको मिलोमतोमा प्रतिष्ठानको नक्सालस्थित १५ रोपनी जग्गा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई दिलाउन दोहोरो भूमिका खेलेको, सदस्य–सचिव नवराज भट्टलाई करारका कर्मचारीजस्तो गरी आफ्नो आदेश नमानेको भनेर पदबाटै हटाउने षड्यन्त्र गर्दै नेपाली कांग्रेस, एमालेलगायत विभिन्न पार्टीका उच्च तहका नेताहरूका घरघरमा गई सदस्य–सचिवविरुद्ध कुरा काट्ने गरेको बताइएको छ । प्रतिष्ठानले गति लिन नसक्नुमा कुलपति उपाध्याय नै बाधक भएको बताउँदै सदस्य–सचिव भट्टले नयाँ कार्यसमिति गठन भएको एक वर्ष राम्रैसँग चले पनि विगत एक वर्षदेखि कुलपतिले आफ्नो निजी स्वार्थका लागि विभिन्न निर्णय गर्न सदस्य–सचिवलाई दबाब दिने गरेको र त्यसो नगरेकोमा विभिन्न किसिमका आरोपहरू लगाई पदबाट हटाउन विभिन्न प्रयास गर्दै आएको बताए ।
आफू प्रमुख भएको प्रतिष्ठानको प्रतिष्ठामा आँच आउने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीसँग गोप्य साँठगाँठ गरी सदस्य–सचिव तथा अन्य मन नपरेका तीन प्राज्ञ–परिषद् सदस्यविरुद्ध आफ्नो विश्वासिलो अधिकृत स्तरको कर्मचारीमार्फत उजुरी हाल्न लगाई छानबिन गर्न लगाएको बताइएको छ ।
अख्तियारमा उजुरी हाल्ने र तेस्रो दिन नै छापामार शैलीमा अख्तियारका कर्मचारीहरू सुरक्षा गार्ड तथा गाडीसहित आएर प्रतिष्ठानका सबै सक्कल फाइल, निर्णय गरिएका माइन्युटलगायत सबै सक्कल फाइल राख्न लगाएर प्रतिष्ठानको सबै गतिविधि ठप्प पार्ने काम भएको थियो । प्राज्ञ–परिषद् बैठक बोलाउन उपकुलपति, सदस्य–सचिवलगायतका बहुमत पदाधिकारीहरूले पटक–पटक मौखिक तथा लिखित रूपमा माग गर्दा पनि नियमित रूपमा बोलाउनुपर्ने (ऐन तथा नियमानुसार दुई महिनामा कम्तीमा एकपटक बोलाउनै पर्ने) बैठक सात–सात महिनासम्म नबोलाएर कुलपतिले प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाएको, साथै संस्थाको प्रमुख भएर त्यही संस्थाको हितविरुद्ध काम गरेको, विभिन्न शक्ति केन्द्रसँग साँठगाँठ गरी आफ्ना मन नपरेका पदाधिकारीहरूविरुद्ध तिनीहरूलाई प्रयोग गरेको र बनावटी रूपमा अनावश्यक आरोप लगाई आफ्नै सदस्य–सचिवलाई पदबाटै हटाउन अनेकौं षड्यन्त्र गरेको, आफ्नो पदीय हैसियत र मर्यादाविपरीत गई कार्य गरेको, प्रतिष्ठानमा सधैं एकलौटी हैकमवाद कायम गर्न खोजेको र निरंकुशतापूर्ण व्यवहार प्रदर्शन गर्दै आइरहेको बताइन्छ । कुलपति रागिनी उपाध्यायले प्रतिष्ठानमा पदाधिकारीहरू तथा कर्मचारीहरूबीच फुट गराई गुट–उपगुट बनाएको, प्रतिष्ठानभन्दा बाहिर गई नियमित रूपमा गोप्य बैठक बसी प्रतिष्ठानविरोधी गतिविधिहरू गरेको, प्रतिष्ठानको सवै गोप्य दस्तावेजहरू र सूचनाहरू प्रतिष्ठान हितविपरीत हुने गरी विभिन्न ठाउँमा र मिडियाहरूमा वितरण गरेको, कूटनीतिक मर्यादालाई नाघेर मित्रराष्ट्र चीनको एक चीन नीतिमा असर पर्ने गरी गतिविधि गरेको, दलाई लामासम्बन्धी विवादास्पद चित्रको प्रदर्शनी गरेको यसमा प्रतिष्ठानको नामसमेत मुछेको, प्रतिष्ठानको कुलपति भएको साढे दुई वर्ष भइसक्दा पनि नेपाल भारत बीपी फाउन्डेसन नछाडेको तथा दोहोरो सुविधा लिएको, त्यहाँको कार्यक्रम तथा बजेट आफ्ना आसेपासेलाई दिलाई खर्च दुरुपयोग गर्दै आएको, पदीय दायित्व तथा अधिकार मिचेर विभिन्न स्थानमा पत्राचार गर्दै हिँडेको, प्रतिष्ठानको स्वायत्त संस्थाको अस्तित्व संकटमा पार्ने गरी गतिविधि गरेको, प्रतिष्ठानका तर्फबाट कुलपतिको हैसियतमा मन्त्रालयलगायतमा प्रतिनिधित्व गर्दा निर्णायकमा रहँदा नेपाल सरकारबाट बर्सेनि प्रदान गरिने विभिन्न पुरस्कारमा व्यापक धाँधली गरेको आरोप लगाइएको छ । त्यस्तै, उनले आसेपासेलाई पुरस्कार बाँडेको तथा योग्य र सक्षम कलाकारहरूलाई विभिन्न कार्यविधि बनाई पुरस्कारबाट वञ्चित गरेको आरोप सदस्य सचिव भट्टले लगाएका छन् ।
यस्तै कुलपति रागिनी उपाध्यायले गत वर्षको असोजमा अन्य दुईवटा प्रतिष्ठानहरू नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानका कुलपतिहरूसँग पटक–पटक गोप्य बैठक बसी ललितकला संस्थाको नाममा रहेको र ललितकला संस्थाले ५२ वर्षदेखि भोगचलन गर्दै आएको नक्सालस्थित जग्गामध्ये १५ रोपनी जग्गा दिने सहमति जनाएकोमा अन्य पदाधिकारीहरूको आपत्ति छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply